२१ बैशाख २०८१, शुक्रबार

अग्रज टेकलाल डुम्रे रहेनन्

0

पिता टेकलाल डुम्रे २००५ साउन ७ गते वालिङ नपा–१२ (साविक सिर्सेकोट–१) डाँडाखर्कमा जन्मिएका हुन् । उनकी पत्नी राधिकाको २०६१ सालमा निधन भएको थियो । बुवा डुम्रे केही समय भारतमा काम गरे पनि लामो समय नेपालमा आफ्नै गाउँमा रहेका थिए । डाँडाखर्कस्थित भुडिकोटमा समाजसेवा गरेर जीवन व्यतित गरे । टेकलाल डुम्रे २०५४ सालको स्थानीय तहको निर्वाचनमा सिर्सेकोट–१को वडा सदस्य भएर समाजसेवामा सक्रिय भए । उनले विद्यालय व्यवस्थापन समिति, खानेपानी, सडकलगगायत विभिन्न समाज सेवाको काममा सहभागी भएर योगदान गरेका थिए । आध्यात्मिक चेतमा लगाव राख्ने डुम्रेले राजनीतिक चिन्तन र दर्शनमाथि गहिरो रुचि राख्दथे ।
जनयुद्धकालमा टेकलाल डुम्रेले माओवादीहरूलाई बास र सुरक्षामा सहयोग गर्दथे । उनका माइलो छोरा राजेश र कान्छो छोरा प्रकाश माओवादी विद्रोहमा सानैदेखि संलग्न थिए । कान्छो छोरा प्रकाश जनपक्षीय पत्रकारिता र नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य रहेका छन् । उनका पाँच छोरीहरू लक्ष्मी, तुलसा, माया, कला र शान्ति छन् । जेठो छोरा रामप्रसाद हुन् ।
टेकलालको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको थियो । उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो । निमोनियाको कारण फोक्सो र मृगौलामा समेत समस्या देखिएको थियो । त्यसकारण सघन उपचार कक्ष (क्ष्ऋग्)मा राखेर विशेष उपचार भइरहेको थियो । तर २०८० पुस ९ गते मध्यराती २ बजे उनको निधन भयो ।
पुस ९ गते कालीगण्डी नदीको किनार रामघाट (रामनदी धाम)मा अन्तिम श्रद्धाञ्जली सम्पन्न गरियो । सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक समिति सदस्य वसन्त श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य शरद वलीलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पिता टेकलालको मृत्यु भएको दुःखद खबरसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीको तर्फबाट शोक वक्तव्य जारी गरे । त्यसैगरी नेकपाका स्थायी समिति सदस्य अनिल सीले विज्ञप्तिमार्फत पार्टी र संस्थाको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारप्रति समवेदना प्रकट गरे । त्यसैगरी जनपत्रकार सङ्गठन र नेपाल पत्रकार महासंघ स्याङ्जाले पनि शोक विज्ञप्ति जारी गरेका थिए ।
पुस १७ गते नेकपा गण्डकी ब्युरोले मृतक बुवा टेकलालको स्मृतिमा शोक–सभाको आयोजना गरेको थियो । शोकसभाका प्रमुख अतिथि तथा नेकपाका स्थायी समिति सदस्य अनिल सीले ‘बुवा टेकलाल एकजना समाजसेवी भएको कारण समाज सेवाको कामलाई निरन्तरता दिनसकेमात्र टेकलालप्रति सच्चा सम्मान हुनसक्छ’ भनेका थिए । उक्त शोकसभामा नेकपाका केन्द्रीय सदस्य संजिव सी, कास्की सचिव परिवर्तन सी, पत्रकार शोभराज सीलगायतको उपस्थिति थियो । कार्यक्रम नेकपा स्याङ्जा सचिव शिव र अध्यक्षता कास्की सचिव परिवर्तनले गरेका थिए । प्रकाशन तथा सञ्चार विभाग र जनपत्रकार सङ्गठनले समवेदना पत्र हस्तान्तरण गरेका थिए ।
कान्छो छोरा प्रकाश डुम्रेले पिताको शोकको ११औं दिन समाज सेवामा खर्च गर्नेगरी रु. १ लाख रुपैयाँको टेकलाल–राधिका अक्षय कोष स्थापना गरेका छन् । सो अक्षय–कोषमा विभिन्न संस्था, आफन्त र पार्टी पङ्तिले रकम थप्ने क्रम चलिरहेको छ ।

स्राेत: जनपत्रिका आठाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।