१७ बैशाख २०८१, सोमबार

नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

0

४ फागुन, पोखरा । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । एसिया कप खेल्ने नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । सेमिफाइनलमा नेपालले तुलनात्मक रुपमा केही सहज विपक्षी टोलीलाई पाएको छ । थाइल्यान्ड र युएईसँग पर्दा केही कठिन हुन सक्थ्यो ।

पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । पछिल्लो समय नेपाली क्रिकेट क्रिकेटको स्तर खस्किदै गएको छ । जसले लोकप्रियता पनि घटेको देखिन्छ । त्यसैले आज मलेसियालाई हराउन सके महिला टोलीले माहोल पुनः फर्काउन सक्छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।
उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् ।

आफ्नो करिअरको अन्तिम समयतिर आएका यी दुई खेलाडीको लागि पनि ठूलो अवसर हो । उच्च लयमा रहेका सीता र रुविनाले महत्वपूर्ण खेलमा उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

कप्तान इन्दु बर्मा, डली भट्ट, कविता जोशी र अप्सरी बेगमले ब्याटिङमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ । बलिङमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले सुरुवात विकेट दिलाउन आवश्यक पर्दछ । पुजा महतोले अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।

मलेसिया घरेलु मैदान र कन्डिसनको भरपूर फाइदा उठाउने सोचमा छ । मलेसियाकी वान जुलिया र विनिफ्रेड दुराईसिंघम प्रमुख दुई ब्याटर हुन् । कप्तान विनिफ्रेडको विकेट निकै महत्वपूर्ण हुनेछ । इल्सा हन्टर र मास एलिसा मध्यक्रमका ब्याटर हुन् । मास एलिसा र इजाती इस्लामी दुई प्रमुख बलर मानिन्छन् ।

यस प्रतियोगितामा नेपाल र मलेसिया दुबै अपराजित छन् । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।