२० मंसिर २०८१, बिहीबार

नेपाली विशेषताको समाजवाद

0

           सन्देश सी

 

भूमिका
समाजवाद विगत पाँचसय वर्षयता सर्वाधिक बहसमा रहेको विषय हो । काल्पनिक समाजवाददेखि वैज्ञानिक समाजवादसम्म आइपुग्दा यो बारेको बहस चर्चाको शिखरमा रह्यो । कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्सले वैज्ञानिक समाजवाद र साम्यवादबारे संश्लेषण गर्दै सन् १९८४मा पहिलो पटक कम्युनिस्ट घोषणापत्र जारी गरेपछि विश्व जनमतको ध्यान समाजवादमा केन्द्रित रह्यो । पेरिस कम्युन हुँदै अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि त विश्वका दुई तिहाइ जनमतले समाजवादी सत्ताको प्रत्यक्ष अभ्यासमा सहभागिता पनि जनायो । अन्ततः ती समाजवादी सत्ताहरू टिकेनन् र पुनः पुँजीवादको विकास भयो । किन यस्तो भयो ? के कारणले समाजवाद ढल्यो ? के अब समाजवादको उदय संभव छ त ? छ भने कसरी आउँछ समाजवाद ? र, कस्तो समाजवादआदि विषयमा नै यो प्रारम्भिक अवधारणा पेश गरिएको छ ।

के कारणले ढले समाजवादी सत्ताहरू ?
निश्चित रुपमा पुँजीवादको तुलनामा कैयौं गुणा सुन्दर, वैज्ञानिक र जीवनोपयोगी थियो समाजवाद । पुँजीवादले दिन नसकेको महिला र श्रमिक जनतालाई सङ्गठित हुने अधिकार, जनताको गास, बास, कपासको सुनिश्चितता, शिक्षा र स्वास्थमा विशेष अधिकार, ८ घण्टा काम, जीवन उपयोगी पारिश्रमिक, बच्चा र बुढाबुढीको स्याहार–सम्भारको सुनिश्चितता ग¥यो । राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्रको गुणात्मक विकास ग¥यो । प्रकृतिसँग समन्वय गर्दै नयाँ खोज र अनुसन्धान ग¥यो । विज्ञान र प्रविधिमा गुणात्मक विकास ग¥यो । कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएका प्राय सबै अधिकारलाई सुनिश्चित ग¥यो । जनताले नयाँ शोषणविहिन सुन्दर र वैज्ञानिक समाजको प्रत्यक्ष अनुभूती गरे । यी सबै सकारात्मक विषयका बावजुद पनि समाजवाद टिकेन । यसका खास दुई कारणहरू छन् :
१. वस्तुगत कारण
वस्तुत समाजवाद पुँजीवाद र साम्यवादबिचको संक्रमणकालीन समाज हो । त्यसैले त्यहाँ सङ्घर्ष जारी रहन्छ । त्यसो भनेको हारजितको दुवै संभावना रहिरहन्छ । त्यसैले समाजवादमा हारको सम्भावना पनि वस्तुगत आधार नै हुन्छ ।
क) वस्तुत मुद्रा, पुँजी निजी स्वायत्तको विशेषताले पुँजीवाद जन्माउने आधार खडा ग¥यो ।
ख) समाजवाद विश्व पुँजीवादको घेराबन्दीमा प¥यो ।
ग) अधिकार खोसिएका बुर्जुवा वर्ग सयौं नयाँ तरिका अपनाउँदै पुनः आफै सत्तामा स्थापित हुन कोशिस ग¥यो ।
घ) पुँजीवादले चलाखिपुर्ण ढङ्गले सारतत्व पुँजीवाद नै कायम राखी समाजवादको केही विशेषतालाई आफूमा समाहित ग¥यो र लोककल्याणकारी पुँजीवादमा परिणत ग¥यो तर समाजवादले पुँजीवादको प्रतिस्पर्धाको सकारात्मक विशेषतालाई आफूमा समाहित गर्न सकेन ।
ङ) विज्ञान र प्रविधिको उपयोग समाजवादले गर्न सकेन । त्यसलाई पुँजीवादले श्रमिक जनताको हित विपरित दुरुपयोग गर्न सफल भयो ।
च) पुँजीवादले आफैभित्रको क्रान्तिलाई स्वीकार ग¥यो । तर समाजवादले त्यसो गर्न नसक्दा समाजवाद रुसी स्वरुपको समाजवादमा सीमित भयो । तर प्रतिक्रियावादी पुँजीवादले आफूलाई लोककल्याणकारी पुँजीवादमा विकास ग¥यो जसले गर्दा परम्परागत रुसी स्वरुपको समाजवादको तुलनामा लोककल्याणकारी पुँजीवाद जनताका लागि प्रिय लाग्न थाल्यो । जसले गर्दा समाजवाद ढल्ने वस्तुगत आधार तयार पा¥यो ।
२. आत्मगत कारण
क) सर्वहारा जनवादको प्रयोगमा कमी ः सोभियत स्वरुपका समाजवादमा उन्नत जनवादको अभ्यासहरू भए तर क्रान्तिको रापताप सेलाउँदै जाँदा समाजवाद ‘डमी’ जनवादमा परिणत भयो । पार्टीएकाधिकार हुँदै नेताहरूको एकाधिकारमा परिणत भयो । अन्ततः सबै विषय केही नेतृत्वमा केन्द्रीकरण भयो । जसलाई जनता र पार्टीले स्वभाविक मान्दै जाँदा नेतृत्वमा आएको विचलनसँगै सजिलै प्रतिक्रान्ति भयो । जसले गर्दा समाजवादमा श्रमिक समुदायको जनवादलाई नयाँ र प्रभावकारी ढङ्गले संस्थागत नगरी सर्वाहारा जनवादलाई प्रभावकारी बनाउन सकिँदैन ।
ख) विचारधारात्मक तथा साँस्कृतिक रुपान्तरणमा उदासिनता : क्रान्तिपश्चात् राजनीतिक र संरचनामा फेरबदल हुन्छ र साँस्कृतिक रुपान्तरण तत्कालै बदलिंदैन । बुर्जुवा संस्कृतिले फैलाएका र झाङ्गियका जराहरूले बिस्तारै आर्थिक–राजनीतिक परिवर्तनलाई पछाडि तान्न्न खोज्दछ । त्यसबेला पर्याप्त ध्यान र पहल नपुग्दा बिस्तारै प्रतिक्रान्तिको आधार तयार पार्दै जान्छ । ठीक त्यसैगरी क्रान्तिपश्चात् विचारधाराको कामलाई कम महत्व र आर्थिक विकासलाई मात्र ध्यान दिंदा नेता–कार्यकर्ताको वैचारिक धरातल कमजोर हुन्छ । त्यसले सत्ता र पार्टीमा आउने स्खलनलाई जनताले पनि सजिलै खबरदारी गर्न सक्दैनन् । ठीक त्यसैबेला मौका छोपेर बसेको अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवादले नयाँ–नयाँ तरिकाबाट भीषण हमला गर्दछ । जसको प्रतिरोध गर्न नेता–कार्यकर्ता र जनता सबै चुक्दछन् । जसले गर्दा सजिलै अर्थात् बिनारक्तपात नै प्रतिक्रान्ति हुन्छ । यसलाई समाधान गर्न क्रान्तिपश्चात् मात्रै हैन, पार्टी निर्माणको प्रारम्भिक प्रक्रियादेखि नै विचारधारात्मक साँस्कृतिक अभियान चलाउनु पर्दछ । प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवादलाई जीवन व्यवहारमा अविछिन्न रुपले लागू गर्नु पर्दछ ।

समाजवाद फेरि आउँछ ?
प्रतिक्रान्तिपछि पुँजीवादी शासकहरूले समाजवाद ढल्यो, माक्र्सवाद ढल्यो, अब यो कहिल्यै आउँदैन, विश्व एक ध्रुवीय भयो, पुँजीवादसँग प्रतिस्पर्धा गर्न सक्दैन जस्ता तर्क गर्न थाले । पूर्वी युरोप र खासगरी बर्लिनको पर्खाल ढलेपछि रुस र चीनमा प्रतिक्रान्ति भएपछि, पेरुमा गोन्जालोको गिरफ्तारी र नेपालमा जनयुद्धको उद्देश्यप्रति धोका भएपछि विश्वव्यापी रुपमा निराशा पैदा भए । साम्राज्यवाद र तिनका पिठ्ठुहरू खुसिले उन्मक्त भए । श्रमिक जनता र तिनका प्रतिनिधिहरूलाई होच्याउन थाले । समाज विज्ञानमा एउटा नयाँ बहस सिर्जना भयो । नयाँ–नयाँ अन्वेषण अगाडि बढे । विज्ञानको सबै शाखाहरूमा भएको विकास, विज्ञान र प्रविधिमा भएको विकास र त्यसले समाजमा विकास भएको प्रभाब र मनोविज्ञान पुँजीवादको टार्नै नसक्ने सङ्कट, जनताले गर्न थालेको नयाँ सामाजिक सम्बन्धको खोजि मुख्यतया समग्र उत्पादन प्रणालीमा भएको विकास हेर्दा पुँजीवादको अवसान अनिवार्य बनेको र त्यसको एकमात्र अनिवार्य विकल्प समाजवाद बनेको प्रष्ट देख्न सकिन्छ । त्यसलाई निम्न बुदँमा बुझ्न सकिन्छ :
क) पुँजीवादमा देखा परेको वित्तीय सङ्कट हल गर्न मुख्यतया तेस्रो मुलुकमाथि थप शोषण बढाउनुपर्ने अनिवार्य हुन जान्छ । तेसो विश्वका जनताको चेतनाले अब त्यो संभव नै छैन । जसले गर्दा अनिवार्य रुपमा युद्धमा जानू पुँजीवादको बाध्यता बन्दछ । जुन पुँजीवादको मृत्युको आधार हो ।
ख) अमेरिकाको नेतृत्वमा एक ध्रुवीय विश्व खडा गरी शोषणको लुट मच्चाइरहेको सम्राज्यवादलाई विभिन्न आयामबाट (अर्थ, हतियार, प्रविधि र साँस्कृतिक चुनौती दिंदै बहुध्रुवीय विश्व निर्माण भएको छ । जसले एकलौटी शोषणलाई कडा चुनौती दिइरहेको छ । अमेरिका र उसको सहयोगीहरू एकपछि अर्को सङ्कटमा फस्दै गएका छन् । जसले गर्दा तेस्रो विश्व र मध्यम स्तरको विकसित देशहरूमा परिवर्तनको आँधिबेहरी मौलाउँदै गएको छ । यो सबै परिस्थितिको एकमात्रै समाधान चाहे जुनसुकै विधि वा तरिका प्रयोग गरेर होस्, समाजवादमै पुग्नु अनिवार्य बन्दै गएको छ ।
ग) पुँजीवादी देशहरूको आफ्नो स्वार्थको कारणले अबको विश्वमा कुनै पनि देशमा जुनै एक साम्राज्यवादीे देशले मात्रै सजिलै हस्तक्षेप गर्न नपाउने स्थिति छ । जुन अन्तरविरोधको जगमा आन्तरिक रुपले विकास भइरहको समाजवादी सत्ताको भ्रूणले अनिवार्य संक्रमण गर्दछ ।
घ) २०औं शताब्दीसम्म साम्राज्यवादी तथा पुँजीवादीहरूको पहुँचमा रहेको विज्ञान र प्रविधि अब आम जनताको हातमा आइसकेको छ । जुन पुँजीवाद तथा साम्राज्यवादको चिहान खन्नको लागि बलियो आधार बनेको छ ।
ङ) विश्वमा मानिसलाई चाहिने उत्पादन यति प्रचुर मात्रामा विकास भएको छ, वस्तुको सञ्चितिको कारणले अर्थतन्त्र बलियो हुने पुरानो जमानको अन्त्य भएको छ । मानिसलाई चाहिने वस्तु अब सहज र सरल ढंगले पाउने वातावरण बनिसकेको छ । उत्पादनको हिसाबले मात्र हेर्ने हो भने वार्षिक उत्पादन मानव जातिलाई चाहिनेभन्दा बढी भइसकेको छ । त्यसले अब वितरणमा रहेको शोषणलाई ध्वस्त गर्ने बित्तिकै समाजवादी अर्थ व्यवस्था सजिलै हराभरा भएर अगाडि बढ्ने अवस्था रहेको छ ।
च) समाजवादी तथा साम्यवादीहरूको चेतानाको स्तर विगतमा अभ्यास गरिएको रुसी प्रयोगको सीमाबारे थाहा पाउने र सच्चाउने स्तरमा उठेको छ । रुपान्तरणको पहलकदमीको लागि यो एउटा बलियो आत्मगत कारण बनेको छ । नेपालको हकमा क. विप्लव सीले नेतृत्व गरेको नेकपाले त्यसलाई अभ्यासमा लगिसकेको छ । जुन नेपालमा र एकहदसम्म विश्वमा पनि गुणात्मक ढङ्गले विकास हुने अनिवार्य देखिन्छ । यी सबै तथ्यहरूलाई एक ठाउँमा ल्याउँदा अनिवार्य रुपमा समाजवाद पुनः उदय हुनेमा शतप्रतिशत विश्वस्त हुन सकिन्छ ।

कसरी ल्याउने नेपालमा समाजवाद ?
सामन्यतया संसारका सबै निर्णायक समाजिक परिवर्तन बल प्रयोगद्वारा नै स्थापित हुँदै आएको छ । नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट पुरानो दलाल संसदीय पुँजीवादी सत्ताको विघटन गरी वैज्ञानिक समाजवादको निर्माण हुनेछ । तर अहिले हामी वैज्ञानिक समाजवादमा पुग्नु अगाडि त्यसतर्फ उन्मुख हुँदै नेपाली विशेषतासहितको समाजवादमा पुग्ने रोडम्याप तयार गरिएको छ । जुन ३ तरिकाबाट स्थापित गर्न सकिन्छ ।
क) संविधानमा रहेको संसदीय लोकतन्त्रलाई हटाई समाजवादी गणतन्त्र स्थापन गर्ने, साथै यसै अवधारणामा आधारित भई आवश्यक सबै संविधानका धाराहरूलाई संसोधन गर्ने ।
ख) संसदीय पूँजीवादी जनमत संग्रह भनेर जनमत संग्रह गरेर
ग) जनताको बल प्रयोगद्वारा
कस्तो हुन्छ नेपाली विशेषताको समाजवाद ?

१) राजनीतिक विशेषता
क) वैज्ञानिक समाजवादको प्रमुख विशेषता यसले दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र यसको अधिनायकत्व समाप्त पारिदिन्छ । साथै सत्तालाई दलाल पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पु¥याई दिन्छ ।
ख) वैज्ञानिक समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य गर्नेछ । जनताले विचार, नीति, योजनाको आधारमा स्वच्छ प्रतिस्पर्धा गर्नेछन् । पैसाको बलमा चुनावी प्रतिस्पर्धा समाप्त हुने छ ।
ग) देशको राज्य व्यवस्था सञ्चालनमा भूमण्डलीकृत पुँजीवादको हस्तक्षेप अन्त्य गरिनेछ । सामाजिक रुपान्तरणको नेपाली जनताको चाहनालाई अवरोध पु¥याउने गरी हुने कुनै पनि प्रकारका घुसपैठ, चलखेल, प्रलोभन, आर्थिक लेनदेनलाई पूर्णरुपले बन्द गर्नेछ । त्यसैगरी देशभित्रको अन्तर्विरोध, सत्ता सङ्घर्ष, कुर्ची एवं पद हत्याउने खेल समाप्त पारिदिने छ ।
घ) समाजवादी व्यवस्थामा केन्द्रमा एक समाजवादी जनप्रतिनिधि सभा रहनेछ । यसको मुख्य जिम्मेवारी देशको कानुन निर्माण एवं कानुन अनुरुप कार्यकारी निकाय संचालित भए नभएको अनुगमन गर्नेछ । अन्य संरचनाहरू समाजवादी संविधानले निर्धारण गरे अनुरुपका हुने छन् । समाजवादी जनप्रतिनिधिहरू जनताको मतद्वारा निर्वाचित हुने छन् । तर सभामा श्रमिक जनता, किसान, मजदूर, दलित, महिला, जनजाति, बुद्धिजीवी, सेना, युवाको समानुपातिक प्रतिनिधित्व हुनेछ । पुँजीको बलमा केवल अभिजात वर्ग वा उसले रुचाएका प्रतिनिधिमात्र निर्वाचित हुने संसदीय ढाँचाको अन्त्य गरिदिने छ ।
ङ) वैज्ञानिक समाजवादको कार्यकारी प्रणाली अधिकतम् जनवादी अर्थात लोकतान्त्रिक हुनेछ । देशको कार्यकारी प्रमुख आम नागरिकहरूको प्रत्यक्ष मतद्वारा निर्वाचित गरिनेछ । तथापी यो जनउत्तरदायी, सामुहिक, एकीकृत हुनेछ । संस्थागत प्रणाली एवं व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तलाई अनुशरण गर्नेछ । जसले संसदीय अस्थिरता, अंकगणित, किनवेच सारालाई समाप्त पारिदिने छ ।
च) समाजवादमा राजनीतिक दल खोल्न, प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनेछ । जनताको प्रतिनिधि जनताकै मतद्वारा चुनिने पद्धतिलाई कडाइपूर्वक लागू गरिने छ । त्यसमा आम नागरिक एवं पार्टीहरूका बिचमा स्वच्छ प्रतिस्पर्धा लागु गरिने छ ।
छ) निजी एवं संस्थागत रूपले वाक, प्रदर्शन, सभा, प्रेस स्वतन्त्रता पूर्णरूपले लागु हुनेछन् । तथापि कुनै पनि अधिकारको प्रयोग निजी एवं संस्थागत स्वतन्त्रता र समाजवादी दायित्वसँग जोडेर गरिने छन् । जसले देशको स्वाधीनता र जनताको सामाजिक सम्वृद्धिलाई प्रत्यक्ष सघाउ पु¥याउने छन् ।
ज) वैज्ञानिक समाजवादले वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदायलाई सम्पूर्ण रुपले अधिकार सम्पन्न गराउँदै देशको सार्वभौमिकता, स्वतन्तत्रा, स्वाधीनता, एकता एवं अखण्डतालाई सर्वोपरि राख्ने छ ।

२) आर्थिक विशेषता
क) वैज्ञानिक समाजवादभित्र आर्थिक प्रणालीको नेतृत्व राज्यले गर्नेछ । यसो गर्दा योजनावद्ध आर्थिक कार्यमा हर नागरिक सहभागि बन्नेछ । राज्यभित्रका हरेक संस्था, निकाय र कम्पनीहरू पूर्ण रूपले सक्रिय हुने छन् ।
ख) समाजवादी अर्थप्रणाली मूल रुपले समाज र हरेक नागरिकको जीवनप्रति उत्तरदायी हुनेछ । हरेक नागरिकका लागि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन, यातायात, सूचनाको अधिकार सुनिश्चित हुनेछ । कुनै पनि नागरिकलाई सक्नेले गर्ने, सक्ने बाँच्ने भन्ने पुँजीवादी सिद्धान्त अनुसार व्यवहार गर्ने छैन । अत्याधिक समृद्धि उसको क्षमता हो, तर न्युनतम जीवन व्यवस्थापनमा राज्यको दायित्व हुनेछ ।
ग) राज्यको नेतृत्वमा व्यक्तिगत स्वामित्वको स्वतन्त्रता लागू गरिने छ । समाजवादले हरेक नागरिकलाई शोषणरहित उत्पादनको अधिकार दिनेछ । नागरिकहरू आफ्नो क्षमताअनुसार उत्पादन, उपभोग र नियन्त्रण गर्न स्वतन्त्र हुने छन् । सामाजिक समृद्धिसँगै निजी समृद्धि पनि सम्बर्धित हुनेछ ।
घ) समाजवादभित्र कृषि उत्पादन र औद्योगिक उत्पादनलाई जोड दिइनेछ । कृषि उत्पादनद्वारा आत्मर्निभर बन्ने र औद्योगिक उत्पादनद्वारा समृद्धि बन्ने नीति प्रयोग गरिनेछ । कृषिमा अनुदान र विशेष सुविधा उपलब्ध गराइने छ भने उद्योगमा अधिकतम् प्रगतिशील कर प्रणाली लागु गरिनेछ ।
ङ) हरेक आर्थिक नीति, योजना एवं कार्यहरू राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गरिने छन् । अधिकतम रुपले स्वदेशी उत्पादन र पुँजी परिचालनमा जोड दिंदै देशलाई हित हुनेगरी विदेशी पुँजी लगानीलाई पनि भित्र्याइने छ ।
च) राज्यभित्रको जमिनमा राज्यको स्वामित्व कायम गरिने छ । जमिनमा हरेक नागरिकहरूको समान अधिकार हुनेछ । तर उद्यम–व्यवसायको आवश्यकताअनुसार व्यक्तिले पनि जमिनको उपभोग गर्न पाउने छ ।
छ) दक्ष उत्पादक शक्तिको विकासमा जोड दिनेछ । साथै हरेक नागरिकलाई उत्पादन कार्यमा सहभागि बन्ने अवसर प्रदान गर्नेछ ।
ज) राज्यले नागरिक, संस्था एवं उद्योगीहरूमा लगाउने कर प्रणाली अत्याधिक प्रगतिशील बनाउने छ ।
झ) बैकहरूलाई पुँजी उत्पादन मात्र होइन जनसेवामूलक पनि बनाइने छ ।
ञ) राज्य, बेैंक र वित्तिय संस्थाहरूबाट प्रवाह गरिने हरेक ऋणको व्याज प्रणाली सर्वसुलभ बनाइने छ ।
ट) भूमण्डलीकृत पुँजीवादद्वारा हाम्रा जस्ता देशमा केवल मुनाफा सोहर्नका लागि लगानी गर्न आउने र ल्याइने निगम पुँजी एवं एकाधिकार पुँजीलाई रोकिने छ ।

३) सामाजिक विशेषता
क) विरामी, असक्त नागरिकका लागि सुरक्षा भत्ताको व्यवस्था गरिने छ । पारिवारिक समस्या एवं सामाजिक स्रोतको अभावले गर्दा सामान्य जीवनयापन, स्वास्थ्य जस्ता समस्यामा परेका विरामी, असक्त नागरिकलाई राज्यले सेवा सुविधा उपलब्ध गराउनेछ ।
ख) सामन्ती व्यवस्थामा लादिएको अमानवीय जात व्यवस्थालाई उन्मूलन गरिने छ । राज्यको नेतृत्वमा नयाँ एवं समान मानव जातिको निर्माण गरिनेछ ।
ग) समाजमा सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वास, बोक्सी, धामी, झाँक्री प्रथालाई राज्यले उन्मूलन गर्नेछ । हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चालिने छ ।
घ) शिक्षा र स्वास्थ्य, यातायात, सूचना जस्ता विषयलाई राज्यले आफ्नो स्वामित्वमा लिनेछ । यी क्षेत्रका विभेद, असमानतालाई अन्त्य गर्नेछ ।
ङ) शिक्षा, स्वास्थ्यलाई व्यापारीकरणबाट मुक्त गरिने छ । साथै तीमाथि हरेक नागरिकका लागि आधारभूतरूपले समान अधिकार स्थापित गरिनेछ ।
च) शिक्षा, स्वास्थ्य, सूचना जस्ता विषयमा राज्यले आम नागरिकका लागि समान अवसर उपलब्ध गराउँदै वैज्ञानिकीकरण गर्दै जानेछ ।
छ) सुत्केरी आमा एवं बालबालिकाको सेवा, सुरक्षालाई राज्यले विशेष रेखदेख गर्नेछ । उनीहरूको स्वास्थ्य विकासमा जोड दिइनेछ ।
४) साँस्कृतिक विशेषता
क) वैज्ञानिक समाजवादी राज्यले वैज्ञानिक जनसंस्कृतिको सृजना, विकास र संरक्षण गर्नेछ ।
ख) नेपालको ऐतिहासिक विकासक्रममा जनताले निर्माण र विकास गरेका जनसंस्कृतिहरूको संरक्षण एवं सम्वर्धन गर्नेछ ।
ग) राज्यले समाजलाई कुप्रभाव पार्ने अन्धविश्वास, शोषण, विभेद, छाडा–अश्लिल, वेश्यावृत्ति, जुवातास, लागु पदार्थ बेचविखन, सेवन र चोरी डकैतिलाई रोक्नेछ ।
घ) हरेक नागरिकले समय र श्रमलाई अधिकतम् सदुपयोग गर्ने संस्कारको विकास गर्नेछ ।
ङ) दुःखी, विरामी, अशक्त, बुढापाका, पछिपरेका नागरिकलाई मानवीय भावना राखेर सेवा गर्ने संस्कारको निर्माण गर्नेछ ।
च) ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास गर्नेछ ।
छ) आफ्नो जनताको इतिहास, गौरव, पौरख, संस्कृतिको संरक्षण र विकास गर्ने गरी कार्यक्रमहरू विकास गर्नेछ ।
ज) विदेशीको चाकरी गर्ने, मागेर, हात पसारेर खाने पराश्रित आदत, संस्कारको अन्त्य गर्नेछ ।

५) सुरक्षा नीति र विशेषता
क) वैज्ञानिक समाजवादले आफ्नो देश र जनताको रक्षालाई केन्द्रमा राखेर सुरक्षा प्रणालीको योजना बनाउने छ । देशमाथि कुनै वैदेशिक हस्तक्षेप, अतिक्रम एवं हमला हुन दिनेछैन । देशको हित हुने वाहेकका सबै सन्धि–संझौताहरू खारेज गरेर समानता एवं पञ्चशीलका सिद्धान्त अनुसार नयाँ सन्धि संझौता गर्नेछ ।
ख) राज्यले देशको रक्षा गर्न योग्य जनशक्तिको विकास गर्न हरेक १६ वर्ष पुगेका युवालाई सैन्य तालिम दिनेछ । नियमित सेनाको संख्या ठीक्क राखेर ठूलो संख्यालाई जगेडा शक्तिको रुपमा तयार गर्नेछ ।
ग) आधुनिक विज्ञान–प्रविधि र वैज्ञानिकहरूको विकासमा जोड दिएर सुरक्षा प्रविधि स्वदेशमै उत्पादन गर्नेछ ।
घ) जन्मभूमिको स्वाधीनतालाई केन्द्रमा राखेर आम जनतालाई देशको रक्षकमा रूपान्तरण गर्ने चेतनाको विकास गर्नेछ ।
६) कानुनी विशेषता
क) वैज्ञानिक समाजवादी राज्यको अवधारणा अनुसार समाजवादी मूल कानुन निर्माण गरिनेछ ।
ख) केन्द्रदेखि स्थानीय गाउँ तहसम्म कानुनी व्यवस्था अनुसारका न्यायालयहरू निर्माण गरिनेछ ।
ग) हरेक कानुनहरू नागरिकहरूको सुविधालाई केन्द्रमा राखेर निर्माण गरिने छन् ।
घ) हरेक नागरिकका लागि न्याय निःशुल्क एवं सर्वसुलभ हुनेछ ।
(७) अन्तर्राष्ट्रिय नीति
क) वैज्ञानिक समाजवादी राज्यले सबै मित्र एवं छिमेकी देशहरूसँग पञ्चशीलको सिद्धान्तका आधारमा मैत्री सम्बन्ध कायम गर्नेछ ।
ख) भारतसँग विगतमा गरिएका असमान सन्धि सझौताहरू खारेज गर्नेछ ।
ग) विश्वभरका श्रमिक जनताको न्यायपूर्ण सङ्घर्षलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछ ।
घ) भूमण्डलीकृत पुँजीवादले विश्वका कुनै पनि देशमा गर्ने राजनीतिक, आर्थिक, सैनिक, साँस्कृतिक अतिक्रमण र हस्तक्षेपको विरोध गर्नेछ ।
ङ) विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एवं समृद्धिका पक्षमा सहकार्य गर्नेछ ।
८) शैक्षिक र स्वास्थ्यका विशेषताहरू
क) वैज्ञानिक समाजवादले शिक्षा र स्वास्थ्यलाई राज्यले आफ्नो स्वामित्व एवं दायित्वभित्र लिनेछ । यसले शिक्षा र स्वास्थ्य माथिको वर्गीयता एवं विविध चरित्रलाई अन्त्य गरी एकरुप, समानतामा ल्याउनेछ ।
ख) शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क उपलब्ध गराउनेछ । हरेक नागरिकले आफूले चाहेको शिक्षा समान रूपले हासिल गर्न पाउनेछ ।
ग) शिक्षा वैज्ञानिक, प्राविधिक, जीवनपयोगी बनाउनेछ । यसले शिक्षित बेरोजगारिता एवं अदक्षतालाई समाप्त पारिदिने छ ।
९) प्राकृतिक साधन स्रोत
क) वैज्ञानिक समाजवादले देशको प्राकृतिक स्रोत साधनको अध्ययन, अनुसन्धान, संरक्षण र परिचालन गर्दै अधिकतम् रुपले आफ्नै उन्नती, समृद्धिका लागि सदुपयोग गर्नेछ ।
ख) प्राकृतिक स्रोत साधनमाथि स्थानीय जनताको अधिकार सुनिश्चित गर्दै उनीहरूको हित र उन्नतीका लागि उपयोग गर्नेछ ।
ग) देशको प्राकृतिक स्रोत साधनको असुरक्षित, अनियन्त्रित एवं अराजक दोहन गर्न प्रवेश गर्ने विदेशी निगम पुँजीवादी एवं एकाधिकार पुँजीवादीहरूलाई रोक्नेछ । लगानी भित्र्याउनु परेमा राष्ट्रहित हुने गरी उनीहरूलाई नियमन गर्नेछ ।
१०) सूचना–सञ्चारका विशेषता
क) वैज्ञानिक समाजवादमा हरेक नागरिकका लागि सूचना प्राप्त गर्ने र प्रदान गर्ने हक सुनिश्चित गरिनेछ ।
ख) निष्पक्ष, स्वतन्त्र, तथ्यसङ्गत सूचना प्रवाहलाई जोड दिइनेछ ।
ग) सूचना प्रवाह गर्दा जनता र देशको हित, स्वतन्त्रता, स्वाधीनतालाई केन्द्रमा राख्नु पर्नेछ ।
घ) देश, संस्था, व्यक्तिलाई लाञ्छित गर्ने गरी तयार पारिने बनावटी, प्रायोजित, झूठा, भ्रामक एवम् अश्लील सूचना प्रचारलाई रोक लगाइनेछ ।

स्राेत: जनपत्रिका आठाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।