नेपालको कम्युनिष्ट आन्दोलनका सम्बन्धमा हामीले अहिले ३ ओटा विषय अगाडि सारेका छौं । पहिलो एकता, दोस्रो समाजवादी मोर्चा र तेस्रो कम्युनिष्ट र समाजवादीहरू बिच मोर्चाबन्दी र सहकार्य । यसको मुख्य आवश्यकता र कारण के हो भने नेपाल अहिले सर्वाधिक चुनौतिपूर्ण बिन्दुमा छ । हाम्रो देशको स्वाधिनता पनि अहिले निकै अफ्ठ्यारो ठाउँमा छ, अथवा खतरामा छ। अर्को कुरा के भने अहिले नेपाली जनताका अधिकारहरू एकपछि अर्को रूपमा छिनिने र हनन् हुने सम्भावना छ । नेपाली जनताले अहिलेसम्म जे जति उपलब्धी प्राप्त गरेका छन् जसलाई जनताले पूर्ण उपलब्धितिर लिएर जान चाहन्छन् ,त्यो पनि उल्टिने खतरा छ।यस्तो बेला देशलाई अग्रगामी दिशातिर डोर्याउन जरुरी छ। यो काम कसले पुरा गर्ने भन्ने कुरा हाम्रो अगाडिको प्रश्न हो।
विगतदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले देखेको प्रष्ट कुरा के हो भने देशलाई समस्या पर्दा, वा जनतामाथि उत्पीडन थोपरिदा काँध थाप्ने शक्ति भनेकै कम्युनिष्ट आन्दोलन र वामशक्ति हुन् । तर अहिले जसरी माओवादीहरुलाई छिन्न भिन्न पार्न प्रयत्न भएको छ, कम्युनिस्टहरुलाई टुक्रा-टुक्रा पारेर मिल्न नदिने जुन खेलहरु भैरहेका छन् त्यसबारे हामीले गम्भिर ढंगले समिक्षा गरेका छौं । र अब एउटा यस्तो समय आयो यो बेलामा सबै कम्युनिस्ट पार्टीहरु, नेताहरू, वृद्धिजीविहरू र विश्लेषकहरुले वस्तुवादी समिक्षा गर्ने र अग्रगामी निष्कर्ष निकाल्नु पर्छ, यो जनताको माग र देशको आवश्यकता हो । यसकारण नै हामीले नेपाली जनतालाई केन्द्रविन्द्रमा राखेर, नेपाली जनताको अधिकारलाई केन्द्रभागमा राखेर, हाम्रो समाजवाद र साम्यवादतिर जाने राजनैतिक लक्ष्यलाई केन्द्रमा राखेर, सबैको बिचको छलफल प्रक्रियाबाट अगाडि जानुपर्छ भन्ने हाम्रो सोचाइ छ। त्यसलाई पूर्ति कसरी गर्न सकिन्छ भन्दाखेरी कम्युनिस्ट पार्टीलाई फेरी एकचोटी २००६ सालको आधारमा खडा गरेर सबैसँग वैचारिक, राजनीतिक ,कार्यक्रमिक र संगठनात्मक ढंगले छलफल चलाउने र एकताबद्ध हुनेसँग एकता गर्दै जाने र अरुसँग मोर्चाबन्दी गर्ने भन्ने हाम्रो सोचाइ छ। यसकारणले हामीले यो दिशामा पहल अगाडि बढाएका हौं ।
यो कुरा आम नेपाली जनताको चाहना पनि हो। सबै कम्युनिस्टहरू एक भएर देशको नेतृत्व गरून भन्ने नेपाली जनताको चाहना छ। त्यो सम्भावना कमजोर पनि छैन । निकै ठूलो जनमत कम्युनिस्टको वरिपरी छ। नेपालमा ६५ देखि ७० प्रतिशत वरिपरि कम्युनिस्ट जनमत रहेको मानिन्छ। यद्यपि त्यो कहिलेकाँही थोरै तितरवितर पनि हुने गरेको छ तर सबै कम्युनिष्टहरू एक हुँदाखेरी त्यो जनमत केन्द्रित हुन्छ नै ।
नेपालको दलाल पुँजीवादी सत्ता संकटमा गयो, यसले जनता र देशको अगुवाई गर्न सक्दैन भन्ने कुरा सावित भैसकेको छ तर अब यसको निकास र समाधान के हो त भन्दा त्यो भनेको नेपाली विशेषताको समाजवाद अथवा वैज्ञानिक समाजवाद र साम्यवाद नै हो। तर वैज्ञानिक समाजवादमा अहिले नै सबै सहमति कायम गर्न सकिदैन बरु नेपाली विशेषताको समाजवादमा धेरै शक्तिहरू सहकार्य गरेर जाने आधारहरु छन्, त्यसकारणले नै हामीले यो मोर्चा र एकताको पहल अगाडि बढाएका हौँ ।
कम्युनिस्ट आन्दोलनको एकताको विषयमा अहिले हामीले धेरै भनेका छैनौं। दुइटा कुरालाई मुख्य विषय बनाएका छौं। हाम्रो देशको स्वाधिनतालाई आत्मसाथ गर्ने र नेपाली विशेषताको समाजवादमा जानुपर्छ भनेर विचार बनाउने अथवा दृष्टिकोण बनाउने हो भने कुनै पनि कम्युनिस्ट पार्टीकोबीचमा सहकार्य हुनसक्छ। सँगसँगै हामीले के पनि भनेका हौँ भने दलाल पुँजीवादी सत्ता, वित्तिय एकाधिकारवादी संस्थाहरू, कर्पोरेट हाउसहरू लगायत जो यावत कुराहरु छन्, त्यसको बारेमा पनि हाम्रो छलफल भइरहेको छ र हुन्छ । यसमा लगभग सबैको साझा बुझाइ पनि छ । तर मुख्य कुरा भनेको दलाल पुँजीवादलाई विस्थापन गरेर नेपाली विशेषताको समाजवादको स्थापनातिर जाने हो भने धेरै कुरा मिल्छ। कार्यदिशा पनि त्यहि अनुसार निर्धारण हुने कुरा हो। संगठनका संरचनाहरू पनि त्यसरी नै निर्माण र विकास गर्न सकिन्छ र हाम्रो, सहकार्य र एकता पनि त्यसरी नै निर्देशित हुन्छ। हामीले यसलाई नै मुख्य आधार बनाउनुपर्छ।
वस्तुगत रूपमा नेपालका कम्युनिस्ट पार्टीहरूबिच एकताको सम्भावना प्रवल बनेर आइसकेको छ। त्यसमा सबै नेताहरु र पार्टीहरूले आत्मसात गर्न बाँकी छ। तर यो बिचमा जे जति हाम्रो छलफल भएको छ, त्यहाँ मैले एकताबारे सकारात्मक सोचको विकास भएको नै पाउँछु । हामी समाजवादी मोर्चामा आबद्द पार्टी र नेताहरूमा पनि त्यो सोच र मनोविज्ञान नै पाउँछौ । एमाले नेताहरूसँगको कुराकानीमा पनि सकारात्मक धारणा नै पाएका छौं । अन्य वामपन्थी नेताहरूमा पनि त्यस्तै भावना देखिन्छ। यसबारे छलफल वहस त गर्नैपर्छ।
हामी कम्युनिस्ट पार्टीहरू कोहि सत्ता र कोहि संविधानभन्दा बाहिर वा भित्र जो जता भएपनि, उहाँहरु सरकार र यो व्यवस्था अन्तर्गत भएपनि, हामीहरुबिच केहि विषयमा साझा मनोविज्ञान र धारणा विकसित हुँदै गएको देखिन्छ । जस्तो यो चलिरहेको जुन व्यवस्था छ, यो यसरी नै चल्दैन भन्नेमा सबैले महसुस गरेको देखिन्छ। विद्यमान व्यवस्थाले अहिलेका आवश्यकता र समाजको नेतृत्व गर्न सक्दैन भन्ने नै देखिन्छ । यो व्यवस्थालाई बदलेर वा समाजवादी व्यवस्था निर्माणको दिशामा हामी जानुपर्छ भन्नेमा त करिब- करिब सहमति देखिन्छ। त्यो नै हाम्रो मुख्य मिलनबिन्दू र सहकार्यको आधार हो।
कम्युनिस्टहरुबिचको एकताबारे जहाँसम्म नेकपा एमालेको कुरा छ, उहाँहरु सकारात्मक नै देखिनुहुन्छ । एमालेभित्रको नयाँ पुस्ता र पुरानो पुस्ताका नेताहरुबिच पनि मैले सकारात्मक धारणा नै पाएको छु। यद्यपी कैयौ कुराहरु छलफल हुन बाँकी नै छन् तर मोटो कुराकानी हुँदाखेरी कम्युनिस्ट आन्दोलनबारे नयाँ ढंगले छलफल गर्ने बेला भयो र ध्रुवीकरण र एकताबारे नयाँ ढंगले सोच्ने बेला भयो भन्ने कुरा एमाले लगायत सबैतिर पाएको छु।
(नेकपाको कार्यालय बुद्धनगरमा फाल्गुन २०, २०८०मा गरिएको कुराकानीमा आधारित सामग्री ।प्रस्तुति: शेरबहादुर विश्वकर्मा)