१६ बैशाख २०८१, आईतवार

अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवादबाट खोजौंः विप्लव सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बर्तमान देशको संकटको निकास नेपाली विशेषताको समाजवादबाट खोज्नुको विकल्प भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको कुमालगाउँमा आयोजना गरेको बृहत जनसभा तथा युवा संगठन नेपालको चौथों जिल्ला सम्मेलनको संयूक्त उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै वर्तमान देशको संकटको निकास नेपाली विशेषताको समाजवाद एकमात्र विकल्प भएको बताएका हुन ।

महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाको १८ बर्षको प्रयोगले जनताको काम गर्न असफल सिद्ध भएको दाबी गर्दै यो व्यवस्थाबाट नेपालका युवा,महिला,किसान,मजुदर,श्रमिक,उद्योगी व्यवसायीहरुको समस्या समाधान नहुने ठोकुवा गरे ।

उनले भने ‘यो व्यवस्था चोरेर खाने,ठगेर खाने,भ्रष्टाचारी जन्माउने व्यवस्था भयो,सिंहदरवारमा भ्रष्टाचारी जन्माउने मेसिन रहेछ, त्यो भ्रष्टाचारी दलाल जन्माउने मेसिन नहटाए सम्म जनताको व्यवस्था आउदैन,सबैले समाजवाद भनिरहेको बेला देशलाई नेपाली विशेषताको समाजवादमा बदल्नुको विकल्प छैन ।’

उनले देशमा संसदीय व्यवस्था असफल भयो भन्नेमा धेरैजसो राजनीतिक दलहरु सहमतिमा आएको तर निकासको लागि प्रतिगामी र यथास्थितिवादीहरुले ०४७ साल फर्काउन खोजेको वा यहि व्यवस्थालाई रगंरोदन गरेर भईहाल्छ भन्दै परिवर्तनलाई रोक्न खोजेको टिप्पणी गरे ।
महासचिव विप्लवल भने ‘नेपाली विशेषताको समाजवादको लागि जनताको सहयोग चाहियो,कम्युनिष्टहरु एकतावद्ध हुनु पर्यो,माओवादीहरु एकतावद्ध हुनु पर्यो, नत्र एमसीसीको माध्यमवाट देशलाई विदेशीहरुले कब्जा गर्न खोजिरहेका छन,त्यसबाट देशलाई बचाउनु पर्यो ।’

‘देशमा गणतन्त्र ल्याउनेकाम मुख्यत माओवादीले गरेको हो, आज एकथरी माओवादीहरुलाई गणतन्त्रको नाममा दलाल पुँजीवादी गणतन्त्रमा लगियो र भ्रष्ट बनाईयो ,यो बाट माओवादीहरु रुपान्तरण हुन जरुरी छ उनले भने,‘माओवादीको रुपान्तरण विना र समाजवादमा जाने सहमति विना एकता हुदैन ।’

उनले आफूहरु कुर्सी नपाएर र अवसर नपाएर क्रान्तिमा लागेको नभई मन्त्री सांसद भएका मान्छेहरु बरु मन्त्री र अवसर छोडेर जनताको पूर्ण मुक्ति र अधिकारका लागि क्रान्तिमा लागेको बताए ।

उनले युवाहरु यो दलाल व्यवस्थाका कारण निरास भएर विदेश जाने हावा चलेको भन्दै कालिकोटे युवाहरुले निरास भएका युवाहरुलाई आसाबादीको संदेश दिन अपिल गरे ।
उनले कालिकोटका गाउँ डाँडा पाखाहरुमा सहिदहरुको रगतले सिन्चित भएको भन्दै सहिदहरुको सपना र जनयुद्धको सपना अझै पुरा नभएकोले एकीकृत जनक्रान्तिमा लाग्न आहावान गरे । उनले नरहरिनाथ गाउँपालिकाको नाम नरहरिनाथ राखिएकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले भने ’गाउँपालिकाको नाम राख्दा पनि प्रतिक्रान्ति भयो , यो जिल्लामा रोल्पा पछि धेरै सहिद भएका छन किन नरहरिनाथ गाउँपालिका नै नाम राखियो त ? रोल्पाले सुनिल परिवर्तन गाँउपालिका राख्न सक्ने तपाईहरुले नसक्ने ? यहाँपनि वहुवीर,योद्धा लगायतका ठुला नेता र कमाण्डरहरुका रगत बगेको छ,बलिदान भएको छ, नरहरिनाथ त राष्ट्रिय रुपमा सम्मानीत छदै थिए । यहाँ त हाम्रो पाटीले सहिद स्मृति गाउँपालिका राख्न सुझाव दिएको थियो । तर कार्यान्वय गरिएन । यो पनि दलाल व्यवस्थाको उपच हो । जनयुद्धको उपलव्धीहरु नस्वीकार्ने प्रवृति हो ।’

उनले केन्द्रमा जनयुद्धलाई अपराधिकरण गर्न खोज्नु पालिकामा नाम समेत सहिद स्मृति राख्न नचाहानु गलत भएको बताए ।
महासचिव विप्लवले माओवादी कुनै पनि हालतमा नसकिएको र आवश्यक परे सहिदहरुका चिहानबाट माओवादीहरु जाग्ने बताए । उनले कालिकोटे जनता र युवाहरुलाई दलाल तथा भ्रष्टहरुको हातमा गाउँ जिम्मा दिएर विदेश नजान विशेष अनुरोध पनि गरे ।

महासचिव विप्लवले भने ‘कालिकोटमा जनयुद्धकालमा धेरै बसिएको छ, प्रत्येक जनताको घरमा एकछाक थप खाना नपाकेको दिन थिएन,जनताको ठुलो त्याग तपस्या र बलिदान छ, यसलाई कुनै पनि हालमा धोका दिन सकिदैन,हामीले पुरा गर्ने प्रतिवद्धता गरेका छौ । हामी अरु राजनीतिक दल र नेता जस्तो होइनौ । भन्ने र व्यवहारमा लागु गर्ने मान्छे हौ ।’

उनले नेपालका नेताहरु श्रम र उत्पादनसंग नजोडिएकाले भ्रष्टाचारमा जेल जानु परेको बताए । उनले कांग्रेस एमालेको कुरा त परैछ आज माओवादीका नेता समेत भ्रष्टाचारमा जेल गएको सुन्न पाउदा लाज लाग्ने गरेको भन्दै यो सबै कुरा श्रम र उत्पादनमा नजोडिदा र जनताको हितमा आफूलाई समर्पित नगर्दाको परिणाम भएको बताए ।

महासचिव विप्लवले नेपालमा केही परिवर्तन भएको भएपनि नेपाली जनताले चाहे जस्तो परिवर्तन नभएको बताए । उनले जनताले चाहे जस्तो परिवर्तन ल्याउन नेपाली विशेषताको समाजवादले मात्र सम्भव हुने जिकीर गरे । कार्यक्रमा नेकपाका स्थायी समिति सदस्य भरत सी र युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमा नेकपाका पिविएम आदर्श सी,असल सी,केन्द्रीय सदस्य विराट सी,विवेक सी,बलवान सी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।  कोटवाडा,माल्कोट रुप्सा,कुमालगाउँ,लालुु लगायतका ठाउँहरुबाट नारा जुलुसी सहित कार्यक्रम स्थलमा उल्लेखिय जनता आएका थिए ।कार्यक्रमा विभिन्न सांस्कृति झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको अध्यक्षता पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहासी सीले गरेका थिए भने संचालन पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।