१६ बैशाख २०८१, आईतवार

अथक विप्लव सीको अविष्मरणीय जुम्ला र कालिकोट यात्रा !

0

हसिलो मुहार अनि दृढ विश्वास छोटो कद उचो विचार र नरम बोली भएको नाम हो विप्लव सी । यो नाम चिरपरिचित नाम हो । आम जनताको मुखमा सहजै ओठ्मा उच्चारण हुन सक्ने र विश्वास गर्न सक्ने सार अनि रुपको एक व्यक्ति नेकपाका महासचिव विप्लव सी हुनुहुन्छ । नेपाली राजनीतिमा इमान्दार, नैतिकवान र माक्र्सवादी चिन्तकको नाम हो । नयाँ प्रयोगको रुप अनि सारमा हेरिएका असल र सरल नेता हुनुहुन्छ । नेपाली राजनीतिको वृतमा वैकल्पिक शक्तिको रुपमा हेरिएका एकमात्र सच्चा कम्युनिस्ट नेता र हामी युवाहरुको प्रेरणा र आदर्शको रुपमा चिरपरिचित राजनीतिज्ञ हुनुहुन्छ ।
२०८० फाल्गुण २५ गते दैलेखको राकम कर्णालीमा जुम्ला यात्राको क्रममा खाना खाने समयमा मध्य कर्णाली व्युरो इन्चार्ज कमरेड विवेक सी, दैलेख इन्चार्ज कलम सी र हामीले उहाँको टिमलाई स्वागत गर्यौ र साथमा रहेका स्थायी समिति सदस्य भरत सी, पिविएम द्घोय असल सी, आदर्स सी, सिसिएम अडिग सी र पत्रकार वसन्त सी लगायतको टिम थियो । विप्लव आउने कुरा थाहा भए पछि राकमका नेपाली कांग्रेसका स्थानीय नेताहरुले उत्साहका साथ महासचिव विप्लवलाई खादा लगाई स्वागत गरे । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले स्याउ जुम्ला र कालिकोटमा रोप्न खोज्दा संघीय सरकार र प्रदेश सरकारले असहयोग गरेको कुरालाई सविस्तार राख्नु भयो । छोटो र मिठो भनाई राखि खाना खाई सकेपछि टोली जुम्ला तिर लाग्यो । कालिकोट भर्ताका युवाहरु महासचिव विप्लवलाई स्वागतका लागि दहीखोला पर्खीरहेका थिए । यो कालिकोट र दैलेखको सीमा क्षेत्रपनि हो । महासचिवलाई स्वागत गर्न गुराँसका फुलमाला सजाएर जोस र जागरका साथ महासचिवलाई गुराँसका माला पहिरिदै स्वागत गरे । कलाकार झुसेको क्यामरामा केही तस्विर कैद गर्दै युवाहरुमाझ महासचिव विप्लव लगायतको टिम र हामी कालिकोटको मान्म हुइकियौ । मान्ममा कालिकोट जिल्ला इन्चार्ज बलवान् सी, कर्णाली मुक्ति मोर्चा, नेपालका संयोजक क.विराट सी लगायतका स्थानीय नेता कार्यकर्ताहरु स्वागतका लागि गुराँसको फुलमाला बोकेर पर्खिरहेका थिए । कर्णाली राजमार्गको धुवा, धुलो खाल्डा र खुल्डी छिचोल्दै कालिकोट पार्टीको स्वागतमा महासचिव लगायतको टिम सरिक भयो । महासचिव विप्लवले गुराँसको फुलमाला घाँटीमा पहिरिरहदा उहाँको सरलता,गम्भिरता र मिजासिलो स्वभाव देख्दा सवैले टुलु – टुलु हेरिरहेका थिए । मालामा उनिएका गुराँसका गुच्छाहरुले महासचिव विप्लवलाई नजिकबाट साक्षात्कार गरिरहेका थिए । स्वागत पछि पत्रकार भरतराज विस्टले आफ्नो पेशालाई नबिर्सीकन महासचिव विप्लवलाई किन कर्णाली यात्रामा आउनु भएको होला ? भनि प्रश्न सोध्न थाले र महासचिवले उत्तर दिन थाल्नु भयो र भन्नुभयोः “ आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता कार्यकर्ता, आत्मानिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्य सहित जुम्ला र कालिकोटमा स्याउ रोप्न थालेको प्रस्ट पार्नु भयो । पत्रकार विष्टले तपाईहरुको काम सफल रहोस र यात्रा शुभ होस भन्दै प्रश्नको विट मार्दै भिडियो खिच्न थाले । हामी हतार –हतार गाडी चढ्दै जुम्लाको बाटो लाग्यौ ।


कर्णाली राजमार्गको तल पट्टी तिला र कर्णाली नदि आफ्नो गतिमा दौडिरहेको थियो । हामी कर्णाली नदिलाई छोड्दै तिलाको किनारमा जुम्लाको धाचु पुग्न हतार –हतार गाडीमा कुदिरहेका थियौ । २०६२ साउन २३ गते तत्कालीन शाही नेपाली सेनाको व्यारेकमा जनमुक्ति सेनाले कव्जा गरेको ऐतिहासिक पिलि क्षेत्रमा पुग्यौ । महासचिव विप्लवले केही समय अवोलकन गर्नु भयो । यो पंक्तिकार पनि त्यो लडाईमा सहभागी भएका कारण विगत जनयुद्धका झ–झल्का आउन थाले । स्मरणमा आदरणीय सहिद कमरेड लोकेश, हरियाली लगायतका कमरेडहरुलाई गुमाउदाको त्यो क्षण मानसपटलमा सरसर्ती भर्खर झै लाग्न थाल्यो । पिलि लडाईमा घाइतेको उपचारको व्यवस्था, संचारको तिव्र गतिको भूमिका, सहिदहरुको लासको पहिचान र व्यवस्थापन लगायतका काम निर्वाह गर्नु परेको थियो । पिलि मोर्चा जित पछि हामी पछि हट्यौ रातभरको खटन – पटनले होला म विरामी भएर थलापरेको थिए । तत्कालीन शाही नेपाली सेनाले ठाउँ – ठाउँमा सेना झार्यो र हाम्रो पिछा गरेको थियो । साथीहरुले मलाई पिठ्युँमा बोकेर चिलखाया हुदै डिल्लिकोटको जंगलमा पुर्याए र औषधी खाने व्यवस्था मिल्यो । बल्ल हिड्न सकेको थिए । पिलि बजार पुग्दा लडाई लडेको विगतलाई स्मरण गरायो । अहिले पिलिलाई युद्घ पर्यटन क्षेत्र बनाउदै छन रे !
जुम्ली जनता महासचिवलाई स्वागत गर्न पर्खीरहेको सूचना आए पछि समयमै पुग्ने हतारमा हामी अघि बढ्यौ । महासचिव जुम्ला जाँदै गर्दा पूर्वी कालिकोटको मोल्फा र वालीमा सहिद परिवार स्थानीय जनता र पार्टीका समर्थक जनताले न्यानो स्वागतका साथ आफ्नो पीडा पोखिरहेका थिए । तिलागुफा नगरपालिकाले पनि महासचिव विप्लवलाई स्वागत कार्यक्रम राखेको रहेछ । वार्ड अध्यक्षहरु, स्वास्थ्य शाखा अधिकृत, नगरका कर्मचारी, माओवादी केन्द्रका स्थानीय नेता लगायतले खादा र मालाले हृदय देखि स्वागत गरे । महासचिव विप्लवलाई भेट्न पाउँदा उत्साहित र गर्व गरेको भाव प्रकट गर्दै थिए उपस्थित सबैले । महासचिव विप्लवले स्वागतलाई स्विकार्दै छोटो भनाई राख्दै सवैलाई धन्यवाद दिनु भयो । भनाईमा माओवादी र सम्पूर्ण कम्युनिस्टलाई एकतावद्घ गर्ने र नेपाली विशेषताको समाजवादमा मात्रै सम्पूर्ण नागरिकको हित र अधिकार सुनिश्चित हुने कुरा राख्नु भयो । चिसो मौसममा तातो चियाको चुस्की लियौ र महासचिवसंग सामूहिक तस्विर सवैका मोवाइलमा खिचिएसंगै हामी विदाई भयौं । समयले नेटो काटिसकेको थियो । साँझको त्यस्तै ७ः३० बजे हामी कालिकोट र जुम्लाको सिमाना नाग्ममा पुग्यौ । केन्द्रीय सदस्य अर्जुन सीको युवा टिमम, केन्द्रीय सदस्य प्रभाजित सी, पूर्वी कालिकोट सचिव रमेश सी लगायत नेता कार्यकर्ताले महासचिव र अन्य नेताहरुलाई अभिर, मालाले स्वागत गर्नु भयो । छोटो समयमा खाजा खायर हामी जुम्लाको धाचुगाँउ लाग्यौ । राती भैसकेको थियो तर पनि बाटो – बाटोमा महासचिवलाई स्वागतका लागि हुड्के स्थानीय वाजा लिएर दिउसो ३ः०० वजे देखि पर्खिरहेका रहेछन । हामी हिमा गाउँपालिकाको धाचुमा पुग्यौ । रातिको त्यस्तै ८ः०० बजिसकेको थियो । गाउँका स्थानीय जनताले स्वस्फूर्त रुपले स्वागत गरे । अच्चमत के भने साना –साना नानी बाबू पनि त्यतिन्जेल कुरेर बसिरहेका थिए महासचिवलाई हेर्नका लागि । साँझको खाना प्रभाजित सीको घरमा पकाइएको थियो खायौ र सुत्यौ ।


फाल्गुण २५ गते विहान सवेरै उठेर स्याउका बिरुवा काधमा राखेर महासचिव विप्लव, स्थायी समिति सदस्य भरत सी, पिविएम द्घोय असल सी आदर्श सी केन्द्रीय सदस्य कमरेडहरु, जनपत्रकार संगठनका केन्द्रीय सचिव पत्रकार वसन्त विक,कर्ण विक,खिम डिसी, स्थानीय नेता कार्यकर्ता र जनता हामी कुडगाँउमा पुग्यौ । कुडुमा विहानै जनताले महासचिव लगायत स्याउ रोप्ने टिमलाई स्वागत गरे पछि महासचिव विप्लवले जनतासंग भेट्घाट गर्नुका साथै पार्टीको उत्पादनको नीतिलाई सविस्तार राख्नु भयो । त्यतिन्जेल घाम झुल्किसकेको थिएन । कमरेडहरुले कुडुमा विहानको खाजा खुवाउनु भयो । कोदो र फापरको रोटी आलुको तरकारी साथमा मह र घ्यू अर्गानिक परिकार खाईसके पछि हामी स्याउ रोप्ने स्थान हाडुल्यको लेक तर्फ उकालो लाग्यौ । लोकल स्याउका बिरुवा बोकेर करिव ३ देखि ४ घण्टाको बाटो लाग्यौ ।
चारै तिर सेताम्य हिँउका डाडा दन्त मुस्कान झै हासिरहेका थिए । चिसो मौसमले होला उकाली बाटो हिड्दा मुखवाट तातो वाफ निस्किरहेको थियो । पूर्वबाट उषाकिरण झुल्किरहेको थियो । लेकबाट हिँउपग्लेको चिसो पानी छन्– छन् बगिरहदा तनमन उमङगले साहित्यका शब्द मानसपटलमा खेल्न थाले । रमाइलो गफ गर्दै उकालो चढिरहयौ । विहानको समय भएर होला पाखा अनि सल्लिरुख सान्त देखिन्थे । पुग र कान्जिरुवाको हिमाल, पातारासी, महावु र डाँफेको हिमाल सेताम्य मनमोहक दृश्य हामी नियाली रहेका थियौ । महासचिव प्रफुल्ल र उत्साहित देखिनु हुन्थ्यो । सायद ! २०÷ २५ वर्ष पछिको त्यो भुगोलसंग महासचिव आम्ने साम्ने भएकोले हुनुपर्छ । जुम्ला सिजाको भुगोल बाटो र यात्रा नयाँ भने होईन फरक नयाँ परिवेशमा अहिले एकीकृत जनक्रान्तिको लडाईमा हिमालमा जडिबुटी र फलफुल रोप्न पुगेका थियौ । जनयुद्धमा त कर्णालीका जनतालाई मुक्त गर्न बन्दुक बोक्दै सामन्तवाद फाल्न महासचिब हिड्नु भएको थियो । तर अहिले सामन्तवाद ढले पनि सामन्तवादको विकसित रुप दलाल पुँजीवाद नेपालमा छ । हामी स्याउका खाल्डा मात्र खन्ने होईन कि दलाल पुँजीवादको खाल्डा खन्न पनि हिड्दै थियौ ।


ढकमक्क गुराँस फुलिरहेका थिए । महासचिव विप्लव स्थानीय कमरेडसंग कुरा गर्दै उकाली चढिरहनु भएको थियो । हामीसंगै एक जना वरिष्ठ हवल्दार र हवल्दार यात्रामै थिए । विप्लवको उकाली चढाइ देखेर निकै प्रभावित देखिन्थे । बरु हामीलाई हिड्न गाह्रो थियो । महासचिव विना थकित हसिलो मुहारमा हिउँ र चिप्लोवाटो छिचोल्दै उकालोमा लाठ्ठी टेक्दै पाईला चालिराख्नु भयो । असल सी, आदर्श सी अडिग सी, अर्जुन सी विमर्श सी विगुल सी सगरमाथा सी र म पनि बाटोमा हिउँ खेल्दै र हिउँले एक अर्कालाई हिर्काउदै रमाइलो गर्दै तस्विर खिच्दै डाँडामा पुग्यौ ।
स्याउ रोप्ने स्थानमा कमरेडहरुको स्वागत पछि खाना खाइयो । केही समय आराम पछि महासचिव लगायत टिम स्याउ रोप्न थाल्यौ । सेताम्य हिउँका डाडा हासिरहेका थिए । कोइलिका कुँहु – कँुहु आवाजले समाजवादका भाका गुन्जायमान भइरहेको आभास हुन्थ्यो । महासचिव विप्लव सी,स्थायी समिति सदस्य भरत सी, पिविएम आदर्श सी, असल सी,केन्द्रीय सदस्य विवेक सी, बलवान् सी, अडिग सी, विराट सी, अर्जुन सी, प्रभाजित सी, विगुल सी लगायत थुप्रै साथीहरु स्याउ रोप्न व्यस्त भयौ । पत्रकार बसन्तको टिमले पनि स्याउ रोपिरहेको थियो । हिमा गाउँ पालिकाका अध्यक्ष पूर्ण प्रसाद धिताल वार्ड अध्यक्ष तिर्थ ओड हामी संग सहभागी थिए । पत्रकारहरुको टीम, कृषि प्राविधिक लगायतको सहभागितामा स्याउ रोपाई भयो महासचिवको दुई दिन लेकको खर्कमै बास भयो ।

त्यसपछि महासचिव विप्लव कालिकोटको फोईमा फागुन २७ गते स्याउ रोप्नका लागि पुगे । फोईका जनताले पनि बाजा गाजा बजाएर भव्य स्वागत गरे । एक दिनमै स्याउ रोप्ने काम सम्पन्न भयो । हामी सबैले जनतासंग महासचिवलाई जोड्न नाग्ममा जनसभाको आयोजना गरेका थियौ । फागुन २८ गते कालिकोटको नाग्ममा जनसभा भयो । दलाल पुँजीवाद व्यवस्था नफाले सम्म जुम्ला कालिकोट तथा देशभरका जनताको राज्यसत्ता नआउने महासचिव विप्लवले उद्घोष गर्नु भयो । जनसभामा पिविएम आदर्श सीले पटक– पटक अरु पार्टीलाई हेरेका जनतालाई एकपटक विप्लवलाई टेस्ट गर्न अपिल गर्नु भयो । त्यसपछि भरत सीको शव्दमा रहेको देउडा गीतमा महासचिवले जनतासंगै देउडा खेल्नु भयो । त्यसपछि महासचिव साँझरित जुम्लाको तातोपानी नुहाउन तथ वास बस्नु पुग्नु भयो । त्यो ठाउँ पर्यटकिए स्थल पनि थियो । फागुन २९ गते कालिकोटको मान्ममा पत्रकार सम्मेलन राखिएको थियो । सहभागी हुन पनि महासचिव सहितको टिम विहान कालिकोट तिर लाग्यो । पत्रकार सम्मेलन सुरु भयो । पत्रकारको प्रश्नको जवाफ दिदै जुम्ला र कालिकोट आउनाको उद्देश्य महासचिवले प्रस्ट्याउदै प्रश्न र जवाफको विट मार्दै सम्पन्न भयो । मान्ममा राजनीतिक पार्टी, विभिन्न व्यक्तित्व कर्मचारी लगायतसंग भेटघाटमा व्यस्त हुनु भयो । २९ गते साँझ महासचिव विप्लव मान्मनै वास बस्नु भयो भने केही टिम कुमालगाउँमा हुने जनसभाका लागि प्रस्तान गर्यो । फाल्गुन ३० गते महासचिव विप्लव युवा संगठन नेपाल कालिकोटको चौथो जिल्ला सम्मेलनको उट्घाटन तथा जनसभालाई संवोधन गर्न सहिद स्मृति गापाको कुमालगाउमा निस्किनु भयो । कोटवाडाको चौथिकोटमा जनता, सहिद परिवार र नेता कर्याकर्ताले महासचिवलाई भव्य स्वागत गरे । साथै नास्ता र खाना खाएपछि महासचिव आधारभूमीको जनतासंग रमाउनु भयो । केही समयपछि महासचिव विप्लव जनताको र्यालिमा सहभागी हुदै कार्यक्रम स्थल मञ्चमा सहभागी हुनु भयो । जनता र युवाहरु महासचिवको भाषण सुन्न आतुर देखिन्थे । घण्टौ हिडेर लालु, रुप्सा, उच्छव, कोट्वाडा, माल्कोट, खुलालुवाट जनता कार्यक्रममा सहभागी भएका थिए ।
महासचिव विप्लव प्रतिकर्णालीका जनताको आशा र भरोसा छ । नेकपालाई साथ दिदै आएका छन । जनयुद्ध होस या एकीकृत जनक्रान्ति कालिकोटका जनताहरुले क्रान्तिलाई पकड्दै आएका छन । कर्णाली यात्रामा महासचिव विप्लवलाई सहिद परिवार, घाइते योद्घा, राजनीतिक पार्टी,मित्र शक्ति, शुभ चिन्तक र जनताले अरु त त्यस्तै हुन तपाईहरुको नै आशा छ धोका नदिनु भनेर सुझाव सल्लाह र हौसला दिएका छन । पक्कै महासचिव विप्लवले कर्णाली यात्रामा नयाँ अनुभूति र थप हौसला हासिल गर्नु भएको होला अथक विप्लव सी कालिकोटबाट विदाई भएर अछाम हुँदै कपिलवस्तु लाग्नु भयो यो पंक्तिकार कैलालीतिर !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।