
बुटवल । २६ औं प्रतिरोध सांस्कृतिक दिवस बुटवलमा सम्पन्न भएको छ । नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ पूर्वी लुम्बिनी ब्युरोद्धारा आयोजित कार्यक्रममा अनेकोट र भावाङमा सहादत महान सांस्कृतिक सहिदहरुको स्मरण गरिएको थियो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सीले जनयुद्धमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण योगदान भएको बताउदै उनीहरुको सपना नेपाली विशेषताको समाजवादबाट हुने बताए । उनले जनयुद्ध र जनक्रान्तिका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने बताए । नेकपा गुल्मी इन्चार्ज एवं साहित्यकार खोमा सीले तत्कालीन राजनीतिक नेतृत्वमा आएको गम्भीर विचलनका कारण देश चौतर्फी संकटमा परेको बताउदै यसको समाधान नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादद्धारा गर्नुपर्ने बताए ।
कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय सचिव जया सी, श्रमिक समुदाय मोर्चाका केन्द्रीय कोषाध्यक्ष जानकी सी, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश संयोजक खगेन्द्र सी, अखिल समाजवादी केन्द्रीय सदस्य विज्ञान सी, युवा संगठन नेपाल पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज भक्त सीलगायतले बोलेका थिए ।
ब्युरो संयोजक विहानी सीको संचालन र सहसंयोजक रेश्मी सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।