१५ बैशाख २०८१, शनिबार

विप्लव स्याउ रोप्न कर्णाली पुग्दा त्यसको राजनीतिक कम्पन काठमाडौंमा

0

          अडिग बोगटी 

 

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको निर्णय कार्यन्वयन गर्न महासचिव  विप्लव सीको नेतृत्वमा फाल्गुन २२ गते काठमाडौंबाट जुम्ला-कालिकोट स्याउ रोप्नका लागि  महासचिव विप्लवको साथमा पश्चिम नेपाल कर्णाली प्रदेशको यात्रा शुरु भयो । काठमाडौंबाट पहिलो दिनको यात्रा हाम्रो कपिलवस्तु केन्द्रीय कार्यलयसम्म भयो । २३ गते बिहानको खाना खाएर यात्रा शुरु भयो, करिब ६ घण्टाको यात्रा पछि हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर पुग्यौँ ।सुर्खेत पार्टीले हाम्रो टिमलाई स्वागत गर्यो, त्यो दिन हामी सुर्खेतमा नै बास बस्यौं । २४ गतेको हाम्रो यात्रा जुम्लातिर अगाडि बढ्यो, बिहानको चिया खाएर हामी जुम्लातिर लाग्यौं दैलेख-कालिकोट हुँदै हामी २४ गते नै जुम्ला पुग्नु पर्ने थियोे । सुर्खेतबाट करिब ४ घण्टाको यात्रा हामी दैलेखको राकम कर्णाली पुग्यौं । २४ गतेको बिहानको खानाको व्यवस्था राकममा थियोे । आजको हाम्रो यात्रामा महासचिव विप्लव, स्थायी समिति सदस्य भरत सी, पोलिट ब्युरो सदस्य असल सी, आर्दश सी, कर्णाली ब्युरो इन्चार्ज विवेक सी, सिसिएम दिनेश सी लगायत कार्यलयको टिम खाना खाने समयमा दैलेख जिल्ला पार्टी र स्थानीय जनता विभिन्न पार्टीका कार्यकर्ताहरुले महासचिव लगायत नेता कार्यकर्तालाई निक‌ै आत्मियताका साथ स्वागत गरिरहेका थिए । महासचिवले स्वागत गर्ने सबै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिनु भयो । देश र राजनीतिक घटनाक्रमका विषयमा सबै पार्टीका नेता कार्यकर्ताहरुले एकजुट भएर सोच्नुपर्ने कुरा राख्नु भएको थियोे । खाना खाएर हाम्रो यात्रा अगाडि बढ्यो । कालिकोटको सिमाना दैखोलामा कालिकोटका युवाहरूले लालिगुरासको मालाले हाम्रो टिमलाई  स्वागत गरे । केही समय युवाहरूसँगको भलाकुसारीपछि यात्रालाई निरन्तरता दिदै ३ बजे हामी कालिकोटको सदरमुकाम मान्मा पुग्यौं । कालिकोट जिल्ला पार्टीले  भव्य स्वागत गर्यो । महासचिव विप्लव कालिकोट हुँदै जुम्ला जाने खबरले कालिकोट जिल्लाका पत्रकारहरु पनि स्वागत तथा भेटघाट गर्न आइपुगेका थिए । पत्रकारहरुले जुम्ला यात्राबारे महासचिवलाई प्रश्न गरे,-तपाईंको जुम्लासम्म के उदेश्यका लागि हिड्नु भयो ?  महासचिवले हाँस्दै हामी जुम्लामा स्याउ रोप्न हिँडेको बताउनुभयो । पार्टी र देशलाई आत्मर्निभर बनाउनका लागि जुम्ला र कालिकोटका पाखाहरुमा स्याउ रोपेर देशमा नै रोजगारीको ग्यारेन्टी गर्ने र देशलाई आत्मनिर्भर बनाउने अभियान रहेको सन्देश दिन जुम्ला-कालिकोट स्याउ रोप्न प्रतिक्रियाले पत्रकारहरु समेत उत्साहित देखिन्थे ।

 पार्टीका साथीहरू र पत्रकारहरुको एकैछिनको भलाकुसारीपछि हामी जुम्लातिर लाग्यौं । बाटोमा तिलागुफा नगरपालिकाले हाम्रो टिमलाई भव्य स्वागत गर्यो । स्वागतको लागि नगरपालिकाको टिमलाई महासचिव विप्लवले धन्यवाद दिनु भयो । समसामयिक राष्ट्रिय राजनीतिको बारेमा केही समय नगरपालिकाका कर्मचारीसँग समेत छलफल गर्नु भयो । भेटघाटपछि यात्रा सुरु भयो २४ गते साँझ ८ बजे जुम्लाको नाग्म पुग्यौं । जुम्ला जिल्लाको पार्टीले स्वागत गर्यो ।  केही समयको भेटघाट र छलफलपछि  जुम्लाको धाँचु गाउँको लागि यात्रा अगाडि बढ्यो ।  राति १० बजे हामी धाँचु गाउँमा पुग्यौं ।  गाउँमा स्थानीय जनता र पार्टी नेता कार्यकर्ताको भव्य उपस्थिति थियो । राति अबेरसम्म पनि जनताको भव्य सहभागिताले मन कता उत्साहित भएको थियोे भने जनता पनि खुसी हुँदै हामीलाई स्वागत गरिरहनु भएको थियोे ।

जुम्लामा चिसो थियोे तर जनताको उपस्थितिमा जुम्लाको चिसोलाई हामीले कुनै प्रवाह नगरी पञ्चेबाजामा रमायौं । त्यो दिनको हाम्रो सेल्टर धाँचु गाउँमा थियो ।  २५ गते बिहान चिसोचिसो हिउँको सिरेटोसँगै उकालो यात्रा अगाडि बढ्यो । धाँचु गाउँ भन्दा माथि कुडु गाउँमा २५ गते बिहानको खाजा खाने तयारी थियो ।  गाउँमा जनताले तयार पारेको खाजासँगै जनताको भव्य स्वागत अनि जुम्लाको अर्गानिक खाना फापर, कोदो, आलुको तरकारी र महँ निकै मिठोसँग खायौं ।

खाजापछि झण्डै ३ घण्टाको बाटो हिम पहाडहरुसँग रमाउँदै हामी स्याउ रोपन गर्ने ठाउँ पाथरखोलाको हाडुल्के पुग्यौं । त्यहाँ अगाडिदेखि नै काममा खटिरहेको टिमले हामीलाई  स्वागत गर्यो । केही समयको छलफलपछि खाना खायौं । हिम पहाडको चिसोचिसो हावाले पनि स्वागत र माया गरिरहेको थियोे । खानापछि हामी स्याउ रोप्नतिर लाग्यौं ।

राता झण्डा र ब्यानर फहराउँदै कम्युनिस्ट पार्टीका नारा लगाउँदै जुम्लाका रमाइला पाटनमा फुजि स्याउ रोपन कार्यक्रम महासचिव कमरेड विप्लव सीको प्रमुख आतिथ्यता, स्थायी समिति सदस्य भरत सी, पिबिएम असल सी, आर्दश सी, सीसीएम विराट सी, विवेक सी, बलवान सी, योद्धा सी प्रभाजित सी, दिनेश सी, समाज सी, कृष्ण सीलगायत प्रतिनिधि समिति सदस्य विमर्श सीलगायत केन्द्रीय कार्यलयको टिम, जुम्ला, मुगु, हुम्लाको पार्टी कमिटी, जुम्ला सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल, वडा अध्यक्ष, बुद्धिजीवी, समाजसेवी, जिल्लाका पत्रकार  साथीहरुको उपस्थितिमा ५ सय बिरुवा रोपन कार्यक्रम सुरु गरियो । तराईमा धान, तोरी,आलु र  पहाडी जिल्लामा सुन्तला साथै  हिमाली जिल्लामा स्याउ खेतीले पार्टीलाई मात्रै होइन देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने धारणा उद्घाटनको क्रममा महासचिवले राख्नु भयो ।

स्याउ रोपन कार्यक्रमलाई राष्ट्रिय तथा स्थानीय मिडिया, युट्वहरुले निकै महत्त्वका साथ प्रशारण गरे । महासचिवले कार्यक्रममा भव्य बनाउन सहयोग गर्ने पार्टी पंक्ति, अन्य शुभेच्छुक साथै  सबै सञ्चार मिडियाहरुलाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्षले स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने र यस्तो काममा कुनैपनि पार्टी नेताहरुले नसोचेकोले नेपाल कम्युनिस्ट पार्टीले यो कामको थालनी गरेकोमा आफू निकै खुशी भएको बताउँदै जुम्लाबासी जनसमुदायलाई राम्रो काम गर्ने पार्टीलाई साथ दिन अनुरोध पनि गर्नु भयो । हामीले दुई दिन २५ र २६ गते जुम्लामा स्याउ रोपन गर्यौँ अनि हाम्रो यात्रा पाथरखोलातिर अगाडि बढ्यो ।

पाथरखोलामा जनतासँगको भेटघाटले हामीलाई निकै उत्साहित बनायो । पाथरखोलामा श्रमिक महिला दिवसको अवसरमा वडाले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रमा महासचिव विप्लवले शुभकामना मन्तव्य दिदै भन्नुभयो,-‘देशलाई संसदीय व्यवस्थाको उल्झनबाट समाजवादी व्यवस्थामा लैजानको लागि यो र त्यो पार्टी भनेर होइन, सबै नेपाली एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । पुनः २७ गते कालिकोटको फोई रावत बाडामा स्याउ रोपन कार्यक्रममा सहभागी भयौं । जिल्ला पार्टी, स्थानीय जनप्रतिनिधि  र सयौं जनताको साथ पञ्चेबाजासहितको भव्य स्वागतले हाम्रा मनहरुमा निकै उत्साह छाएको  थियोे । खाना खाईसकेपछि स्याउ रोपनको काम सुरु भयो । सयौं जनताको सहभागिताले नयाँ खालको उर्जा र अनुभव लिदै  त्यहाँ पनि  ४ सय फुजी स्याउको बिरुवा रोप्ने काम सम्पन्न गरियो ।

जनताको उत्साहले काम कति छिटो सम्पन्न भयो थाहा नै भएन । चारैतिर हिउँका पहाडहरुले पनि साथ दिई रहेका थियो ।२८ गते जुम्ला र कालिकोट जिल्लाको संयुक्त जनसभा कार्यक्रम नाग्मबजारमा सम्पन्न भयो । त्यो दिन हामी जुम्ला तातोपानी गयौं । त्यहाँका स्थानीय व्यवसायीहरुसंगको भेटघाटमा महासचिवले तातोपानीलाई आन्तरिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ रहेको र  पार्टीको तर्फबाट नेपाल सरकारलाई थप व्यवस्थापनको लागि पहल गर्ने कुरा राख्नु भयो । २९ गते सहिद परिवार र अन्य राजनीतिक पार्टीका स्थानीय नेता कार्यकर्तासंगको भेटघाट पश्चात् हामी कालिकोटको यात्रा अन्तर्गत नाग्ममा तिलागुफा नगरपालिका मेयरले स्वागत कार्यक्रम राख्नु भएको थियोे । उहाँको न्यानो स्वागतलाई ग्रहण गर्दै चिया पिएर हामीले यात्रालाई निरन्तरता दियौं । कालिकोटको दाहाँमा खाजा तयार थियोे । स्थानीय जनताले न्यानो मायाका साथ हामीलाई खाजाको व्यवस्थापन गरेका थिए । हाम्रो खानाको व्यवस्थापन पनि त्यहीँ नजिकै थियोे । महासचिवको सचिवालयमा कार्यरत कमरेड विमर्श सीको दिदीको घरमा खाना खायौं । जब  छुट्टिने बेला भयो दिदीको आत्मियता निकै भावनात्मक  थियो, दिदीको गहभरी आशुले निकै मन छोएको थियोे । हामी मान्मा सदरमुकाम पुग्यौं । त्यहाँ पत्रकार सम्मेलन आयोजना गरिएको थियोे । जिल्लाका पत्रकार साथीहरू केन्द्रीत हुनुहुन्थ्यो । केहि समयको आराम पश्चात् कार्यक्रम शुरु भयो महासचिवले जुम्ला कालिकोटको आफ्नो यात्रा बारेमा प्रष्ट पार्नु भयो । हाम्रो यात्रा केवल यात्राको लागि होइन हामीले उदेश्य बोकेका छौँ, हाम्रो देशलाई आत्मनिर्भर बनाउने त्यो जुम्ला कालिकोटका पाखैभरि हजारौं हजार स्याउ रोप्यौँ भने तराईका बाझाे जमिनमा धान खेती र बन्द रहेका उद्योग सञ्चालन गर्यौँ भने देशलाई आत्मनिर्भर बनाउन सकिने बताउँदै उक्त कार्य गर्ने पार्टीको उदेश्य रहेको बताउनु भयो । पत्रकार सम्मेलन पछाडि त्यो दिनको बास बस्ने व्यवस्थापन सदरमुकाममा नै थियो । ३० गते नरहरिनाथ गाउँपालिकामा जनसभा आयोजना गरिएको थियोे । हामी त्यतातिरको यात्रामा लाग्यौं, सदरमुकामबाट ३ घण्टाको यात्रापछि कोडवाडा पुग्यौं, जिल्ला पार्टी जनताको उपस्थितिमा भव्य स्वागत र छलफलपछि हामी त्यहाँबाट समेत अगाडि बढ्यौं । हाम्रो खाना कुमालगाउँमा थियौ जहाँ कार्यलयको स्टाप कमरेड ध्रुव सीको दिदीको घर हो । कार्यक्रमको स्थान गाउँपालिकाको कार्यलयको फिल्डमा थियाे । हामी तयारीमा थियौँ र हजारौं जनताको उपस्थिति भइसकेको थियोे । पालिकाका सबै वडाबाट नारा जुलुस बाजासहित जनताको  निकै उत्साहपूर्ण उपस्थिति भइरहेको थियो । एउटा जुलुस बाजा गाजासहित हामीसँगै गयौं । गाउँपालिकाको फिल्ड जनताको उपस्थितिले भरिएको थियो । महासचिवको आगमनलाई ताली र हुटिङले स्वागत गरिएको थियोे । कर्णाली प्रदेशको निकै लोकप्रिय हुड्के नाच देउडा खेलको प्रस्तुतिलाई महासचिवले निकै रोचकपूर्ण नियाली रहनु भएको थियो । देउडामा खुशीयाली र भावनात्मक दुबै भाव देखिन्थ्यो ।  साना साना नानीहरुको देउडा गीतमा महासचिव कमरेड भावुक भएर हेरिरहनु भएको थियोे  । सोही कार्यक्रममा महासचिवले सम्बोधन गर्दै भन्नू भयो, अब देशलाई स्थिरता चाहिएको छ, दलाल पुजीवादी संसदीय व्यवस्थाले देशलाई अस्थिरतातिर धकेल्दैछ, अब सबै पार्टीका नेता कार्यकर्ताले सोच्ने बेला आएको र दश वर्षे जनयुद्धका उपलब्धिहरुलाई रक्षा गर्दै  गणतन्त्रलाई स्थापित गर्ने जिम्मेवारी सबै माओवादीहरुको काँधमा आएको  जिकिर गर्नुभएको थियोे । विप्लवले अबको निकाश भनेको नेपाली विशेषताको समाजवाद भएको धारणा राख्नु भयो । कार्यक्रमको अन्तिममा अब देशमा विप्लव चाहिया छ देउडा गीतमा हजारौं जनताको साथमा महासचिव आफैले देउडा खेल्नु भयो । आजको हाम्रो बसाईको व्यवस्थापन कार्यक्रम स्थलनजिकै यतै थियोे । स्थानीय कार्यकर्ता गणेश सीको घरमा । चैत्र १ गते हाम्रो यात्रा सुर्खेतको लागि थियोे, बाटोमा अछाम जिल्लाले खानाको व्यवस्थापन गरेकोे थियो । जिल्ला कार्यकर्ता भेटघाट र स्कुलले गरेको स्वागत कार्यक्रमपछि हामी सुर्खेततिर लाग्यौं । साँझको व्यवस्थापन सुर्खेतमा नै थियो । २ गते सुर्खेतमा पत्रकार सम्मेलन थियोे । पत्रकार सम्मेलनमा जुम्ला कालिकोटको स्याउ रोपन कार्यक्रम, जनसभाहरु निकै उत्साहजनक रहेको र राजनीतिक पार्टीका नेताहरु भाषण गर्ने मात्रै होइन  मुख्य नेताहरू नै श्रममा जोडिएर राजनीतिलाई सँगसँगै अगाडि बढाउदा जनतामा नयाँ खालको विश्वास पैदा भएको महसुस आफुले गरेको र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको धारणा राख्नु भयो । करिब दुई हप्ताको हाम्रो जुम्ला कालिकोटको स्याउ रोपन र जनसभा कार्यक्रमले थप उत्साहित बनाएको छ ।

महासचिवसँगैका अभियान यात्रीको अनुभूति


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।