८ जेष्ठ २०८१, मंगलवार

नेकपा स्याङजाले गर्यो गल्याङमा अन्तरक्रिया 

0

स्याङजा/ नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्ला समितिको आयोजनामा स्याङजाको गल्याङमा अन्तरक्रिया सम्पन्न भएको छ । 

 ‘वर्तमान राजनितिक संकट, राष्ट्रघात, राज्यको षडयन्त्र र यसको समाधान विषयक अन्तरक्रिया गल्याङमा सम्पन्न भएको हो ।  अन्तरक्रियामा नेकपाका नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य एव पुर्वी गण्डकी ब्युरो इन्चार्ज आदर्श सीले  ‘राष्ट्रघात र राज्यको षडयन्त्र’ विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमार्फत जनघात र राष्ट्रघातको शृङ्खला नेपालमा विगतदेखि नै चलिरहेको बताएका छन् । एमसीसी राष्ट्रघातको पछिल्लो नमुना भएको भन्दै उनले अमेरिकाले आफ्नो केही थोरै पैसा छुट्याएर ऋण प्रवाह गर्ने र कमजोर राष्ट्रलाई कब्जा गर्ने रणनीति  अपनाएको बताए । उनले देश विकास गर्न ऋण लिन सकिने तर देश नै बेच्ने गरी देशलाई अरुको गुलामी बनाएर ऋण लिन नहुने बताए । नेता आदर्शले नेपालमार्फत चीन र दक्षिण एसियालाई कब्जा गर्न एमसीसी नेपाल आएको दाबी गरे  । उनले देशघाती अपर कर्णाली, कोशी, महाकाली लगायतका दु:खद सन्धी सम्झौताहरु तत्कालिन राजा,  एमाले र काङ्रेसहरुको पालामा भएको भन्दै अहिले आइपुग्दा कतै सुन काण्ड, एनसेल काण्ड, कतै शरणार्थी काण्ड, कतै सरकारी जग्गा कब्जा गर्ने जस्ता फोहोरी खेलमा नेताहरु मुसिएको बताए ।  

देशमा युवा पलायनता निकै दुखद कुरा भएको जोड्दै उनले एनसेलले पटकपटक कर छलिरहेको र पछिल्लो समय अर्बौ रुपैया छलेर कम्पनी बिक्री गरी देशलाई झुक्काएको बताए  । उनले कम्युनिष्ट पार्टी उत्पादनमा जोडिनुपर्ने र नेकपाले देशैभरी उत्पादन गरिरहेको पनि बताए ।  नेता आदर्शले समाजवादी मोर्चाले समाजवाद चाहने पार्टीहरुबिच मोर्चाबन्दी भएको र विचार मिल्ने वामपन्थीहरु एकजुट हुनुपर्ने बताउदै मोर्चा बनेपछि देशमा समाजवादबारे बहस सुरु भएको समेत बताए । 

यस्तै कार्यक्रममा उपस्थित अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य पश्चिम गण्डकका इन्चार्ज विप्लव सीले पटकपटकका आन्दोलनले फाल्न नसकेको राजतन्त्र जनयुद्धको जगमा फालेको हो,  हिजो राजा त फालियो तर जनताले आज हजारौ राजाहरु जन्मे भन्न थालेकाे भन्दै यो सोचनिय विषय भएको बताए । अहिलेको व्यवस्था बिचौलियाको व्यवस्था रहेको भन्दै उनले नागरिकको जीवन परिवर्तन गर्नको लागी यो व्यवस्था असफल भैसकेको बताए । उनले व्यवस्था परिवर्तनको लागी शान्तिपूर्ण रुपमा आफूहरुले प्रत्यत्न गरिरहेको बताउदै अहिले गठन भएको समाजवादी मोर्चापनि त्यही प्रयत्नको प्रतिफल भएको बताए । नेकपासँग भएको ३ बुँदे सहमति विपरित राज्यले नेकपाका राजबन्दी अहिले पनि नछोडेको, महासचिव विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने जस्ता राज्यको षड्यन्त्र भैरहेको उनले बताए । देशमा युवाहरुको पलायनता,  कृषिमा परनिर्भरता,  जनताको नैराश्यता चिर्दै नेकपाले आफैले आत्मनिर्भर उत्पादन गरिरहेको बताउदै देशलाई आत्मनिर्भर अर्थतन्त्र विकास गर्न उत्पादनलाई जोड दिनुपर्ने बताए । विचार मिल्नेहरु सबै एकै ठाउँमा आएर देश बनाउनेतर्फ सोच्नुपर्ने भन्दै नेता विप्लवले राष्ट्रहित चाहने,  देशभक्ति, वामपन्थीहरुसँग नेकपा हातेमालो गर्न तयार रहेको पनि बताए । नेपालमा सबैभन्दा धेरै समाजवादको सम्भावना रहेको भन्दै उनले त्यही सम्भावना देखेको कारण एमसीसीमार्फत अमेरिका नेपाल छिर्न चाहेको बताए । 

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक टङ्क खनालले अहिलेको राज्यव्यवस्था बाडेर खानेमात्रै भएको र यो अपुरो रहेको बताए । उनले समाजवादी मोर्चाले विगतका सहयोद्दाहरुलाई एकैठाउँमा ल्याइदिएको भन्दै उनले अहिलेसम्मको परिवर्तनकाे बाहक आफूहरु भएको भन्दै अबको परिवर्तनको नेतृत्व पनि माओवादीहरुले नै गर्नुपर्ने बताए । 

 यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष चित्र रानाले हामी सम्सदीय व्यवस्था रहुन्जेलसम्म जनताका सबै आकाक्षा पुरा गर्न सकिदैन तर जेजति प्राप्त भएका छ्न् यिनलाई लागू गर्दै जानुपर्ने बताए । रानाले विचार मिल्ने पार्टीहरुबिच एकता हुनुपर्ने धारणा राख्दै समाजवादमा जाने बाटो खुलिसकेको र सबै एकजुट भएर समाजवादमा जान एकबद्ध हुनुपर्ने बताए । 

अन्तरक्रिया कार्यक्रममा बुद्धिजीवि मकबुल मिया, शिक्षक इन्दीरा लुइटेल,  गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव श्रेष्ठ लगायतले देशमा आर्थिक र राजनीतिक संकट पैदा भएको भन्दै यसको समाधानको लागि सबै पार्टीहरु पार्टीगत स्वार्थभन्दा माथी उठेर एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । ध्रुव सीको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला इन्चार्ज सागर सीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।