२० बैशाख २०८१, बिहीबार

बृहत समाजवादी मोर्चाको बहस चलाएका विप्लव जब चैते धानको बीउ काढ्न खेतमा पुगे

0

काठमाडौं/ चैत्र २० गते दिउँसो राष्ट्रिय सभागृहबाट नेपालका सम्पूर्ण कम्युनिस्ट, प्रगतिशील, देशभक्तहरुलाई एक ठाउँमा ल्याउने र इमानदारीपूर्वक जनताको मनोभावना बुझ्दै देशको नेतृत्व गर्ने उद्घोष गरिरहदा विप्लवलाई बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनालले चासो र उत्साहका हेरिरहेका थिए ।
सभागृहमा विप्लवको अध्यक्षतामा नेपाली विशेषताको समाजवाद विषयक बृहत अन्तरक्रिया कार्यक्रममा विप्लवले देश बनाउने अवधारणा राखिरहदा विप्लव सँगैको मञ्चमा केही मन्त्री, बुद्धिजीवीहरु, दर्जनौं मिडिया र हलमा खचाखच नेता कार्यकर्ता उपस्थित थिए ।
पटकपटक देशको कार्यकारी नेतृत्व गरिरहेका प्रचण्ड, माधवकुमार, झलनाथ, उपेन्द्र यादव अध्यक्ष रहेका पार्टीहरु सम्मिलित मोर्चाको संयोजक रहेका विप्लवले बलियो कम्युनिस्ट घटक एमालेलाई समेत समाजवादी मोर्चामा ल्याउने प्रयास गरिरहेका छन् । एमाले मात्रै होइन साना वाम घटकहरुलाई समेत छलफल, अन्तरक्रिया गर्दै समाजवादी मोर्चामा समावेश गर्ने र बृहत कम्युनिस्टहरुको मोर्चा बनाउदै निराशामा गएको देशलाई आशा र उत्साहमा बदल्ने हुटहुटी विप्लवका अभिव्यक्ति र कार्यक्रमहरुमा देखिन्छ ।
फाल्गुनको पछिल्लो साता जुम्लामा स्याउ रोप्न पुगेका विप्लव चैत्र पहिलो हप्ता काठमाडौँ आइपुगे ।
नेपाली राजनीतिका अगुवाहरुसंग छलफल बहस गरे, सत्ताधारी लगायत प्रतिपक्ष दलका नेताहरूलाई भेट्दै देशलाई नयाँ ढंगले लैजाने यसमा छलफल र सहकार्य गर्दै अगाडि बढ्ने प्रस्ताव पेश गरे ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेर नेपाली राजनीतिका जटिलताहरु समाधानका विकल्पहरुमा कुरा राखे । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, मसालका महामन्त्री मोहनविक्रम सिंह लगायतका नेताहरूलाई भेटेर विप्लवले समाजवादी मोर्चाको बृहत अवधारणा पेश गर्दै छलफल र बहस गरिरहेका थिए ।
काठमाडौंको व्यस्त दैनिकीको बिच विप्लव २१ गते बिहानै कपिलवस्तु लागे, पछिल्लो हप्ता पार्टी निकट युवा संगठन नेपालको धनगढीमा आयोजित राष्ट्रिय सम्मेलनमा जाने कार्यक्रममा रहेका विप्लव दिउँसो भैरहवा, लुम्बिनी र कपिलवस्तुका केही भेटघाट सकेर बुधबार अवेर कपिलवस्तु केन्द्रीय कार्यलय पुगे ।
कार्यलय नजिकै कार्यकर्ताहरुसँगै खाजा खाएर विप्लवले चैते धानको बीउ उखेल्न खेतमा पुगे ।
पार्टीको केन्द्रीय जनकम्युनले कपिलवस्तुमा केही बिगाहा खेत लिएर खेतीपाती समेत गरेको छ ।
पार्टीका बैठक, भेला र कार्यक्रमहरुमा समेत जनकम्युनमा उत्पादन भएको धानको चामल खानको लागि प्रयोग गरिन्छ भने माछा, मासु समेत कम्युनमा उत्पादित भएको प्रयोग गरिएको हुन्छ ।
काठमाडौंमा बसेर राजनीतिक गतिविधि गर्ने आधारभूत राजनीति हैसियत भएका जो कोही नेता कार्यकर्तालाई खाना खाने फुर्सद नहोला, कार्यकर्ता भेटघाट यताउता समय नहोला । तर नेकपाका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव राजनीतिक व्यस्ततालाई व्यवस्थापन गर्दै धान रोप्न, गोड्न, गहुँ/तोरी छर्न खेतीपातीमा खेतमा खटिरहेका हुन्छन् । जबसम्म उत्पादनलाई प्राथमिकतामा राखिदैन तबसम्म देश बन्दैन भन्ने निष्कर्षमा रहेका विप्लवले देशका विभिन्न ठाउँमा व्यवस्थित कृषि र पशुपालनको नमुना जनकम्युन चलाएका छन् । दाङ, चितवन, बर्दिया लगायतका तराईका जिल्लामा भूगोल सुहाउँदो खेती गरिरहेका विप्लव नेतृत्वको नेकपाले जुम्ला, कालिकोट लगायतका जिल्लामा भने स्याउ, सुन्तला लगाउदै छन् ।
पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्य अनुसार कृषि र उद्योगमा संलग्न भएर अगाडि बढ्ने कार्यक्रम अनुसार महासचिव विप्लव आफैं खेतबारीमा पुग्ने गर्छन् । महासचिव विप्लवसँगै झण्डै ३ सय नेता कार्यकर्ता आलोपालो निरन्तर कृषि र पशुपालन कार्यमा सक्रिय देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।