१७ बैशाख २०८१, सोमबार

जनक्रान्तिका सहिदहरुको गाथा `बलिदान´ विमोचन

0

काठमाडौँ/ दलाल पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको उद्देश्यसहित नेपालमा सञ्चालित एकीकृत जनक्रान्तिका सहिदहरुको व्यक्तित्व र कृतित्वमा आधारित गाथा-`बलिदान´ विमोचन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा सोमबार  प्रज्ञाभवनमा आयोजित कार्यक्रममा महासचिव विप्लवले सहिद गाथाको विमोचन गरेका हुन् ।

राष्ट्रका लागि बलिदान नाम दिइएको उक्त रचनामा जनक्रान्तिको क्रममा सहिद भएका १५ जना योद्धाहरुको जीवनीमा आधारित रचना, सिर्जनामा आधारित रचना  खण्ड र फोटोहरुको सङ्ग्रह गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीद्वारा संयोजन- सम्पादन गरिएको उक्त रचनामा नेकपाका तत्कालीन पोलिट ब्युरो सदस्य वीरजङ्गबारे पोलिट ब्युरो सदस्य वसन्त सी (प्रज्वलन) ले उनको जीवनी लेखेका छन् । सहिद गाथामा प्रतिबन्धको क्रममा सर्लाहीमा राज्यद्वारा हत्या गरिएका जिल्ला इन्चार्ज कुमार पौडेलबारे केन्द्रिय जनप्रतिनिधि समिति सदस्य प्रकाश डुम्रे, गोकुल राना (महान) बारे केन्द्रिय सदस्य सविन सी, निरकुमार राई (प्रशान्त) बारे केन्द्रिय सदस्य त्रिलोचन सी, चन्द्रबहादुर सिंह (सनराइज) बारे भगतसिंह, प्रज्वल शाहीबारे भरत मल्ल र बीरबहादुर टमट्टाबारे  दानबहादुर सी (योद्दा) ले जीवनी लेखेका छन् ।

त्यस्तै सहिद दिपेन्द्रबारे विराट सी,  रामसिंहबारे भरत मल्ल, धनरुप बटालाबारे विवेक सी, जगेन्द्रबारे फिल्टर सी, निरन्तरबारे माइला सी, वीरबहादुर शाहीबारे बलवान् सी, राम कुमारबारे इन्द्र सी र भोजपुरका तिर्थ घिमिरेबारे त्रिलोचन सीले संक्षिप्त जीवनी लेखेका छन् ।

सहिद गाथाको रचना खण्डमा नेकपा प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य अनिल सी, सहिद वीरजङ्ग, सुरेन्द्र महर्जन, दिपेन्द्र वि सी, सहिद कुमार पौडेल, सहिद महान, सुमनसिंह,मार्क्सवादी श्रस्टा खेम थपलियाका सिर्जनाहरु र कवि अग्निराज पौडेल (अराप) को धमिलो तस्बिर शीर्षकको कविता राखिएको छ।

जनता, देश र परिवर्तनका लागि निस्वार्थ रूपमा जीवनलाई हाँसीहाँसी  यसरी प्राणोत्सर्ग गर्ने वीरवीरङ्ग्गनाहरुबारे संस्थागत रूपमा लिपिबद्द गर्ने कार्य निकै महत्त्वपूर्ण रहेको र यस्ता कामहरूलाई आगामी दिनहरुमा योजनाबद्ध रुपमा गर्न अपरिहार्य रहेको भन्दै विमोचन कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए । मार्क्सवादी श्रस्टा खेम थपलियाले यो काम महत्त्वपूर्ण र सकारात्मक भएको भएपनि सामाग्रीको गहनता र कलात्मकताका हिसाबले सिमाहरु रहनु स्वभाविक रहेको बताए ।

काम गर्दाका अनुभूतिबारे बोल्दै कार्यक्रमका सञ्चालक समेत रहेका नेकपा स्थायी समिति सदस्य अनिल सीले रचनाका लागि साधनश्रोतको अभाव, समय व्यवस्थापन र जनशक्ति एवम् रचनाकारहरुको कार्यक्षमता जस्ता कारणले केही सिमा रहनु स्वाभाविक भएको बताए भने विमोचन कार्यक्रममा नेकपा नेताहरू विषम सी, सुशील सी, कान्छाराम सी, माइला सी लगायत  नेताकार्यकर्ता, पत्रकार, लेखक साहित्यकारको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।