३० आश्विन २०८१, बुधबार

चीनिया आधुनिक साहित्यका पिता -लुसुन

“नभत्काई निर्माण हुन्न, बाँध नबाँधी प्रहार आउदैन, अनि स्थिरता नभई गति पनि आउँदैन ।”

0

व्यक्तित्व
— श्यामकृष्ण खुलिमुलि
लुसुन
नामः लुसुन
नागरिकः चीन
क्षेत्रः सहित्य
विशेषताः चीनिया आधुनिक साहित्यका पिता
जन्मः २५ सेप्टेम्बर, १८८१
मृत्युः १९ अक्टोबर, १९३६

“नभत्काई निर्माण हुन्न, बाँध नबाँधी प्रहार आउदैन, अनि स्थिरता नभई गति पनि आउँदैन ।”
एक विदेशी युवा चिकित्सा विज्ञान पढ्ने क्रममा जापानको एक मेडिकल कलेजमा भर्ना भए । त्यस बेला रुस र जापानबीच लडाईं चलिरहेको थियो । कलेजमा पनि युद्धकै फिल्महरु देखाईन्थ्यो । एक दिन एउटा फिल्म हेरिरहँदा एक जना चीनियालाई रुसीहरुको जासुसको आरोपमा हात बाँधेर मैदानमा उभ्याईयो । जापानी सैनिकहरुले त्यस चीनियालाई टाउको काटेर मार्न लागे । कुनै पनि चीनियाले जापानविरुद्ध जासुसी गर्न नसकोस् भनेर उनलाई मार्न लगिएको थियो । मैदानमा थुप्रै चीनियाहरु घेरा हालेर उभिए ।बलिया बाङ्गा थिए, ती । तर सबै भावनाशुन्य । त्यस दृश्यबाट युवक यति प्रभावित भए कि उनले चिकित्सा विज्ञान पढ्न थालेको दुई वर्ष पनि नपुगी बीचैमा छाडे । उनले मानिसहरुको भावना र चेतनालाई बदल्न साहित्य सिर्जनालाई रोजे ।
एउटा फिल्म हेरेकै भरमा जीवनको लक्ष्य परिवर्तन गर्ने युवक थिए, लुसुन । उनको जन्म चीनको चच्याङ प्रान्तको साओसिङमा खानदानी परिवामा भयो । उनको बाल्यकालको नाम चाउ सुजेन थियो । उनी सानै छँदा आफ्नो देशलाई स्वदेशी र विदेशी शत्रुबाट बचाउने उपाय खोज्थे । सन् १८९८ मा उनी नानकिङको एक विद्यालयमा भर्ना भए ।
उनका पिता लामो समय सम्म बिरामी भएकाले लुसुन घरेलु सामान र लत्ताकपडा साहुमहाजनकहाँ बन्धकी राखी औषधी गर्थे । जतिसुकै उपचार गरे पनि उनले बाबुलाई बचाउन सकेनन् । बाबुबाजे राम्रो उपचारको अभावमा मरेकाले उनलाई डाक्टर हुने इच्छा पलायो । डाक्टर बन्ने अठोट गरी उनले औषधी उपचार नपाएकालाई सेवा गर्ने विचार गरे । उनकी आमाले सरकारी जागिर खान अध्ययनमै जोड दिइन् ।
उनी सन १९०४मा जापान गई सेनडाई मेडिकल कलेजमा चिकित्सा शास्त्र पढ्न भर्ना भए । त्यहाँ जापानीहरुले चीनियाहरुलाई अन्याय गरिरहेको चलचित्र हेरपछि उनले साहित्यलाई हतियारको रुपमा प्रयोग गरी संघर्ष गर्ने ठहर गरे । त्यहाँ चीनिया विद्यार्थीहरु चीनको मंचु सरकारको विरोधमा लागि रहे । लुसुन पनि त्यसमा सामेल भए । उनी अध्ययनमा डुब्न थाले । वाइरन, शेली, पुस्किन, पेटोफो, किमिविज, लेमेन्टफ, आदि साहित्यकारबाट उनी खुबै प्रभावित भए । जापानमै बसेर उनले ‘नयाँ जुनी’ नामक पत्रिका निकाल्न खोजे तर आर्थिक अभावमा त्यो पूरा भएन । जनतालाई चेतनशील पार्न उनी साहित्यमा उत्रे । उनले प्रशिद्ध साहित्यकारका रचना अनुवाद गरे । यसका साथै उनले आफ्नै मौलिक रचना पनि लेखे ।
सन १९०९ मा उनी आफ्नै देश चीन फर्के । सन १९११ मा सनयात्सेनको नेतृत्वमा चीनमा क्रान्ति भयो । मंचु सरकार ढल्यो तर पनि जनताले न्याय पाउन सकेनन् । उनले ‘लुसुन’ भन्ने गुप्त राखी लेख छपाए । सन १९१८ मा उनले ‘एक बहुलाको डायरी‘ शिर्षकको लेख ‘न्यु युथ‘ पत्रिकामा छपाए । उनका लेख रचनाले चीनिया जनतामा जनचेतना जगाउन ठूलो भुमिका खेल्यो । त्यसैले उनलाई चीनमा आधुनिक साहित्यका पिता मानिन्छ ।
उनी कलमका साथै संघर्षको मैदानमा पनि जान्थे । उनी व्यवहारका पक्का थिए । विभिन्न संघर्षमा उनी सक्रियतापूर्वक सहभागी भए । चीनिया जनताको मुक्तिका लागि उनले सारा जीवन अर्पे । सन १९१९ मा भएको ‘४ मई‘ को आन्दोलनमा पनि उनी सक्रिय रुपमा सहभागि भए । साम्राज्यवादी एवं सामन्तवादी संस्कृतिका विरुद्धमा उनी चर्काे संघर्षमा उत्रे । उनी कहिल्यै नझुक्ने, दृढ चरित्रवान, उत्साही र इमान्दार लेखक थिए । पूरानो समाज र संस्कृतिका विरुद्धमा उनी सशक्त रुपमा लडे । उनी “क्रान्तिकारीहरुले लेख्न शुरु गरे पछि क्रान्तिकारी साहित्यको जन्म हुन्छ ।”
सन १९२७ मा कोमिन्ताङ्ग सरकारको श्वेत आतंक थियो । त्यस समयमा जनतामाथि क्रुर दमन हुँदा उनले १३० भन्दा बढी उपनाम राखी प्रतिक्रियावादी नीतिको भण्डाफोर गरे । उनले २०० भन्दा बढी निबन्ध छपाए । सन १९२८ मा उनले साँघाईबाट ‘भेल’ (पेन लिउ) नामक पत्रिका निकाले । त्यहीबेला उनी रिभ्युलुशनरी म्याचुअल एण्ड सोसाइटी का सदस्य पनि बने । सन १९३० मा उनले स्वतन्त्र चीन लिगको स्थापना गरे । उनी माक्र्सवाद र लेनिनवादको गहिरो अध्ययनमा लागे । कम्युनिष्ट बनेर उनले प्रतिक्रियावादीका विरुद्धमा सशक्त कलम चलाए ।चीनिया क्रान्तिमा उनले उर्जा थप्ने काम गरे ।
माओत्से तुङले लुसुनका बारेमा भने,–“उनी चीनको साँस्कृतिक क्रान्तिका प्रमुख कमाण्डर थिए । उनी महान् शिक्षक मात्र होइन, एक जना विचारक र क्रान्तिकारी पनि थिए ।”
जीवनको अन्तिम घडीमा उनी सांघाईमा थिए । बिरामी अवस्थामा पनि उनले लेख्ने कामलाई रोकेनन्, आराम लिन सल्लाह दिँदा उनले भने,–“म निष्कृय भएर धेरै वर्ष वाँच्नु भन्दा सक्रिय भएर थोरै वर्ष बाँच्न चाहन्छु ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।