२१ बैशाख २०८१, शुक्रबार

समाजवादका लागि कम्युनिष्ट नेताहरुको व्यक्तिगत सम्पत्ति सामुहिक गरिनुपर्छः बक्ताहरु

0

सुर्खेत । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले कम्युनिष्ट नेताहरुको व्यक्तिगत सम्पत्ति सामुहिक गरिए मात्र देश समाजवादी दिशामा पुग्ने बताएका छन ।

समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेश समितिले विहिवार आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले नेपालमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट नेताहरुको व्यक्तिगत सम्पत्ति सामुहिक गरिनुपर्ने बताएका हुन ।
बक्ताहरुले सर्वहारा श्रमजीवी बर्गको नेता हुनेहरुले रातारात करोडौं सम्पत्ति थुपार्ने र सहरमा घरघडेरी किन्ने पैसा कहाँबाट आयो ? भनि आलोचना समेत गरेका छन ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद दुर्गबहादुर रावतले कम्युनिष्ट नेताहरुको सम्पत्ति पार्टीकरण नगरे सम्म जनता र कार्यकर्ताले विश्वास गर्ने आधार नहुने बताए । उनले नेताहरु र कार्यकर्ताको समाजवाद फरक हुन खोजेको चर्चा गर्दै कम्युनिष्टहरुको सामुहिक पुँजी कि व्यक्तिगत पुँजी कुन प्राथमिकता दिएको हो ? भनि प्रश्न गरे ।

नेकपा (माओवादी केन्द्र)का सदस्य टेकबहादुर बस्नेतले समाजवादका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए । उनले कम्युनिष्ट नेतामा विग्रिदै गएको व्यक्तिगत सम्पत्ति मोहलाई निरुत्साहित गर्नुपर्ने विचार राखे ।

नेकपा एकीकृत समाजवादीका नेता कुलदिप भट्टले कम्युनिष्टहरुले सिद्धान्त अनुसार व्यवहार गर्नुपर्ने सुझाव दिए । उनले भने ‘आज कम्युनिष्टहरुको सिद्धान्त अनुसार व्यवहार भएन,हामी विग्रियौ,भ्रष्टिकरण भयौं,समाजवादको आधार भएन, सबैले व्यवहारबाटै समाजवादको थालनी गरौं ।’


अर्का वक्ता हरी सीले केही कम्युनिष्ट भन्नेहरुबाटै कमाउ धन्धा भएकोमा कटाक्ष गरे । उनले नेपालमा ५०० र १००० का नोटहरु बन्द गर्नुपर्ने भन्दै अबैद्य कालो धन जनताका बिचमा सार्बजनिक हुने तर्क गरे । उनले कम्युनिष्ट एकता अनिवार्य भएको तर्क गर्दै कम्युनिष्टहरु पुरानो आधारमा नभई नयाँ आधारमा नयाँ एकता गर्नेतिर जानुपर्ने बताए ।

अर्को बक्ता युवा नेता मोहन शाहीले कम्युनिष्ट नेताहरुको व्यवहार र संस्कृति फरक हुने गरेको बताए । उनले व्यक्तिगत सम्पत्तिमा लुप्त हुने कम्युनिष्ट नेता हुन नसक्ने दाबी गरे । उनले भने ‘कम्युनिष्ट नेताको सम्पत्ति सामुहिक बनाऔं,राष्ट्रिय पुँजीको विकास गरौं, नेताहरुले बोल्ने एक गर्ने अर्काे नगरौं ।’


कार्यक्रममा प्राध्यापक हरी थापाले नेपालमा समाजवाद आवश्यक भएको जिकिर गरे । उनले समाजवादका लागि जागरण फैलाउनु पर्ने बताए । किसान हर्कबहादुर बुढाले कम्युनिष्ट भन्ने नेताहरुका महल लगाएको देख्दा दुख लागेको बताए ।


उनले सामुहिकतातिर भन्दा व्यक्तिगत पद प्रतिष्ठा र धनसम्पत्ति कमाउनेतिर केही नेताहरु लागेको भन्दै आलोचना गरे ।
स्वास्थ्यकर्मी विजय डाँगीले काल्पनिक समाजवादको घेरामा कम्युनिष्टहरु हुन नहुने भन्दै सचेत गराए । उनले भने ‘कसरी कमाउने ? कसरी ठुलो नेता हुने ? कसरी शासन सत्तामा पुग्ने ? भन्ने उपभोक्तावादी संस्कृति भयो । यसरी समाजवाद कसरी आउछ ? आफ्नो बानी सुधार गरौं ।’


उद्योगी व्यवसायीको तर्फबाट बक्ता सूर्यविक्रम थापाले व्यवसायीहरु यो व्यवस्थाले उठ्न नसक्ने भएको बताए । उनले बैङ्क तथा वित्तिय संस्थाहरुको चर्को व्याजले व्यवासायीहरु निकै मारमा परेको बताउदै यसको अन्त्य हुने समाजवाद चाहिएको बताए ।
कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, साहित्यकार गणेश भण्डारी,शिक्षक सर्पराजसिंहले बोल्दै निरन्तर बर्गसंघर्ष र क्रान्ति जरुरी भएको बताए । उनीहरुले माओवादी कम्युनिष्टहरु विचार र सिद्धान्तमा स्खलित हुदै गएकाले समाजवादमा पुग्न समस्या भएको विचार राखे ।


बक्ताहरुले नेपाली विशेषताको समाजवाद नेपालका लागि एकमात्र अग्रगामी विकल्प भएको तर्क गर्दै यसको प्राप्तिको लागि सबै कम्युनिष्टहरुको एकता सहकार्य र मोर्चा आवश्यक भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।