२४ बैशाख २०८१, सोमबार

समाजवादले मात्र अमेरिकी सेना नेपाल आउने कुरा रोक्न सक्छः विप्लव सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्र अमेरिकी सेना नेपाल आउने कुरा रोक्न सक्ने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले शुक्रवार नेपालगन्जमा आयोजना गरेको ‘बैदेशिक हस्तक्षेप र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।

उनले भने ‘अमेरिकी सेना नेपाल आउने कुरा भयानाक छ, एमसीसी,एसपीपी वा कुनै पनि माध्यमबाट अमेरिकाले आफ्नो सेना नेपाल भित्र्याउन चाहेको छ, केही जिल्लामा आफ्नो व्यारेक राख्ने समेत प्रस्ताव गरेको कुरा आएको छ, यो कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।’

समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका महासचिव विप्लवले अमेरिकी सेना नेपाल आउने कुराले चिनियाँ सेना पनि नेपाल आउने निश्चित भएको भन्दै यसले नेपाल अन्ततःयुक्रेनको हालतमा पुग्ने टिप्पणी गरे । उनले अहिले विश्व एकध्रुवीय विश्व नभएको खुलासा गर्दै अमेरिका विरुद्ध अरु ध्रु्रवपनि खडा भएकाले विश्व बहुध्र्रुवमा गएको स्पष्ट पारे । महासचिव विप्लवले विदेशी हस्तक्षेप बढेर गएको बेला देश र जनताको रक्षा गर्न समाजवाद जरुरी हुने जिकिर गरे ।

‘अमेरिकी सेना नेपालमा नआउने बातावरण बनाउनु पर्छ,उ प्रजातन्त्रको नाममा विश्वमा आतंंक मच्चाउदै आएको छ’ उनले भने, ‘धर्मका नाममा विदेशी हस्तक्षेप छ, कम्युनिष्टलाई फुटाएर समाजवाद विरुद्ध उचालिदैछ, साम्राज्यवादको यो धर्म राजनीतिका विरुद्ध सबै कम्युनिष्टहरु एकतावद्ध हुनुको विकल्प छैन ।’

महासचिव विप्लवले नेपालको दलाल पुँजीवादको अन्त्य नगरेसम्म नेपालमा राष्ट्रिय स्वाधीनता स्थापित नहुने र नेपाली जनताले शान्तिको सास फेर्न नपाउने ठोकुवा गरे ।
‘नेपालको अर्थतन्त्र जनतातिर फर्किएको छैन,निश्चित मान्छेको हातमा कव्जा भएका कारण कम्युनिष्टहरु सरकारमा गएर पनि सुधार गर्न सकिरहेका छैनन्,यसलाई जनतातिर फर्काउनु पर्छ’ उनले भने, ‘नेपालमा वित्तीय दलाल पुँजीवाद छ, यसले विदेशी पैसा ल्याउने र देशमा चर्को व्याजमा लगानी गरेर जनताको पैसा थुत्ने र देश कंगाल बनाउने काम गरेको छ, यसले देशलाई आर्थिक संकटतिर धकेलेको छ, यस विरुद्ध पनि लड्नै पर्छ ।’

उनले नेपालमा जनयुद्धलाई अपराधीकरण गर्न खोजे त्यो आफ्नो पार्टीलाई स्वीकारे नहुने चेतावनी दिए । महासचिव विप्लवले जनयुद्धको बेला सफल समाजवादी अभ्यास भएको भन्दै जनअदालत, जनकम्युन, जनसत्ताका माध्यमबाट जनतामा सफल काम गरेको दाबी गरे । उनले जनयुद्धको बेला रोल्पाको नुवागाउँदेखि धवाङ सम्म ९२ किलोमिटर सड्क समेत दुईबर्षमा खनेर समाजवादको सफल अभ्यास गरेको दाबी गरे ।

उनले माओवादी जनयुद्ध र जनआन्दोलन कारण गणतन्त्र आएको जिकिर गर्दै यसमा टिकेर अग्रगामी निकासको तत्कालिन संक्रमणकालिन बाटो नेपाली विशेषताको समाजवाद हुने ठोकुवा गरे ।

उनले समाजवादका बारे कोही पनि भ्रममा नपर्न अपिल गर्दै कम्युनिष्टको समाजवाद बैज्ञानिक समाजवाद भएको स्पष्ट पारे । उनले तत्कालका लागि सबै कम्युनिष्ट,वामपन्थी,देशभक्त र गणतन्त्रवादी शक्तिहरु एक भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र राजनीतिक संकटको अग्रगामी निकास दिन नेपाली विशेषताको समाजवाद चार दलिय समाजवादी मोर्चाले ल्याएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।