२२ बैशाख २०८१, शनिबार

अरुको देशमा जेपनि गर्न तयार हुने र आफ्नो देशमा कृषि गर्न लाज मान्ने संस्कारको अन्त्य गर्नुपर्छ : सम्झना सी

0

नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशनले उत्पादनको नीति पारित गरेपछि अहिले देशभर उत्पादनको काम भइरहेको छ । आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर देश भन्ने मूल नारासहित भइरहेका उत्पादनहरुमध्ये पुर्वी दाङ जिल्लामा भइरहेको उत्पादन अलिबढी चर्चामा छ । दाङमा भएको उत्पादनको काममा जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न क्षेत्रका उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिले त्यसलाई चर्चामा ल्याएको थियो । यो उत्पादन क्षेत्रको अहिले अवस्था के छ, यसलाई कसरी व्यवस्थित गरिरहनु भएको र उत्पादनलाई जनतासँग जोड्का लागि के–के गरिरहनुभएको छ ? लगायत सवालमा हामीले नेकपा केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।

दाङको उत्पादन एकदमै चर्चामा छ, यसलाई कसरी चलाइरहनु भएको छ ?

हामीले स्कुलको ६ विघा जमिनलाई लिजमा लिएर उत्पादनको काम गरिरहेका छौं । अहिले हामीले यसलाई व्यवस्थित गर्नुपर्यो भनेर सी कृषि फार्मको रुपमा दर्ता गरेर औपचारिकता दिएका छौं । यो एक बर्षभित्रमा हामीले धान र तोरि भित्र्याएका छौं भने आलु पनि भित्र्याउने तयारीमा छौं ।

यो कृषि उत्पादनको सुरुवात कसरी गर्नुभएको थियो, तपाईंलाई केही सम्झना छ ?

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले संस्लेषण गरेको उत्पादनको नीतिलाई हामीले व्यवहार त कार्यन्वयन गरेको कुरा हो । हाम्रो पार्टीले कृषि विदा दिएर नै नेता कार्यकर्तालाई उत्पादनमा जोड्ने कुराले प्रेरित गरेको छ । नेपाली युवाहरु विदेशीने, गाउँबाट बसाईसरेर सहर पस्ने, जमिन बाँझो रहने जुन प्रबृत्ति छ । यसले मानिसलाई निराशा बनाइरहेको छ । यसलाई उर्जा भरेर शक्ति पैदा गर्नुपर्छ, आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउनु पर्छ भन्ने महाधिवेशनको संस्लेषणलाई कार्यन्वय गर्नुपर्छ भन्ने विषयले हामीलाई प्रेरित गरेको छ । हामीले समाजवादको अभ्यासलाई व्यवहारत प्रयोग गर्नुपर्छ भन्ने उद्येश्यसहित उत्पादनको काम सुरु गरेका थियौं । एकीकृत स्वामित्वको आधारमा उत्पादनका काम थाल्ने पार्टीको जिल्ला कमिटी बैठकको निर्णयपछि यो प्रक्रिया सुरु भएको थियो ।

यहाँहरुले धान खेतिबाट उत्पादनको कामको सुरुवात गर्नुभएको थियो, आम्दानी कत्तिको भएको थियो ?

हामीले सोचेभन्दा राम्रो उत्पादन भयो । हामीले जमिन लिँदा व्यवस्थित थिएन, पहिला त्यसलाई खेत बनाउन मिहिनेत गर्यौं । जमिनमा विरुवाका लागि चाहिने तत्व ह्रास भइसकेको थियो । अहिले देशभरका जमिनहरुमा यो समस्या छ । यसरी मिहिनेत गर्दा पनि घाटा हुने हो की हाम्रो श्रम खेर जाने हो की भन्ने शंका थियो । तर हामी विद्यार्थी, युवा, महिला, मजदुर सबैमा उत्प्रेर्णा आवस, उर्जा आवस भनेर राम्रोसँग उद्घाटन गर्यौं । धानको विरुवाबाट हसिया हतौडाको आकार बनाएर हामीले उत्पादनको कामको उद्घाटन गरेका थियौं । यसले सबैमा आशा जगाइको थियो । त्यसको परिणाम राम्रो उत्पादन भयो । तोरीमा पनि हामीले राम्रो मिहिनेत गरेका थियौं, राम्रो फल्यो । अहिले आलु पनि राम्रो फलेको छ । अव हामी यसलाई बजारमा पठाउँदै छौं ।

यो उत्पादनको काम देखेर जनतामा कस्तो म्यासेज गएको छ ?

हामीले सामुहिक खेति गर्ने भनेपछि यहाँको जनतामा एकखालको उत्साह देखिएको थियो । केहीले त पार्टीले पनि खेतिपाती गर्ने के फण्डा हो पनि भनेका थिए । हामीले धान रोप्ने बेलामा समाजका बौद्धिक व्यक्तित्व, पत्रकार, समाजसेवी आएर हामीलाई उत्साहित बनाउनु भयो । गाउँका जनताहरु, आमाहरु, बुढापाकाहरुले हामीलाई खेतमा आएर बधाई दिने, धानको जमरा लगाइदिने, पार्टीले यसरी काम गरेको हामीले पहिलो पटक देखेका छौं भनेर हौसला प्रदान गर्नुभयो । धान काट्ने बेलामा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु पोखरेल धान काट्न खेतमै आएर धान काटिदिनु भयो । यसले नेपालमा कृषिको आवश्यकता छ भन्नेखालको म्यासेज गयो । हामीले गरेका काममा पनि हौसला थपियो । खेतमा काम गर्न अवश्य दुःख त हुन्छ तर धान भित्र्याएर सेता बोराहरु देख्दा ति दुःखहरु बिर्सिने रहेछन् । काममा खटिने साथीहरुको आर्थिक अवस्था हेरेर घर–घरमै धानका बोराहरु पुग्दा उहाँहरुले प्राप्त गरेको खुशीले हामीलाई झन् उत्साहित बनायो । ‘राजनीतिलाई हामीले जीवन दियौं, राजनीतिले हामीलाई के दियो ?’ भन्नेहरुलाई हामीले हाम्रा साथीहरुको घरघरमा ट्याक्टरबाट धानका बोराहरु झार्दा जवाफ पुगेको छ । समाजवाद प्राप्तीका लागि हामीले गरेको संघर्षले केही दियो भन्ने अनुभूति उहाँहरुमा भएको छ ।

यहाँहरुले पहिलो बर्ष उत्पादनका काम गर्दा कस्ता खातका अनुभूतिहरुको पाउनु भयो ? आगामी दिनमा यसलाई कसरी अगाडि बढाउनु हुन्छ ?

नेपालमा बेरोजगारी समस्या अन्त्य गर्नका लागि कृषि अनिवार्य छ । विदेश पलायन हुने भाई, बहिनी, दाई, दिदी सबैलाई आफ्नो उत्पादनले राम्रो गर्न सकिन्छ भन्ने विश्वासको संकट पैदा भइरहेको छ । अरुको देशमा जे पनि गर्न तयार हुने र आफ्नो देशमा कृषि गर्न लाजमान्ने संस्कारको विकास भएको छ । दलाल पुँजीवादले विदेशमा पैसा फल्छ भने जसरी नेपाली युवाहरुलाई भ्रममा पारिरहेको छ । यसको अन्त्य गर्न पनि कृषि उत्पादन हो भन्ने अनुभूति भएको छ । हामी पराम्परागत खेतिपाती भन्दा आधुनिक तरिकाको उत्पादनमा जोडिदा समृद्ध हुन सकिन्छ । गर्न सक्यो भने, हाम्रो जमिन, हाम्रो डाँडा पाखा सबलाई हराबरा बनाउन सकिन्छ । देशमै रोजगारी सृजना गर्न सकिन्छ । यो उत्पादनका काममा जोडिएपछि हरकुरा सम्भव छ भन्नेखालको अनुभूति दिएको छ ।

समस्याहरु के-के पाउनु भयो ?

यो क्षेत्रमा थुप्रै समस्याहरु छन् । समयमा मल पाइदैन, सिंचाईका लागि सुविधा छैन, अनुदानमा विचौलियाको कब्जा छ, कृर्षि सामाग्री र विउ पनि समयमा पाइदैन । उत्पादित बस्तले बजार पाउँदैछ । समस्याहरु धेरै छन् । तर हामी यी समस्याबाट पन्छिन मिल्दैन । हामीले यी समस्याहरुको समाधानका लागि उत्पादनको नीति लिएर अगाडि बढेका छौं । समस्या आउँदा लडेर समाधान गर्नुपर्छ ।

सरकारले किसानका लागि के गरिदिए हुन्थ्यो भन्ने लागेको छ यहाँलाई ?

सरकारले कृषिमा लगानी नगरेको होइन । हामीले सरकारी फायल हेयौं भने प्रसस्त लगानी भएको छ, तर यो लगानी नक्कली किसानमा भएको छ । जसले वास्तविक काम गरिरहेको छ त्यो किसान कहाँ पैसा पुगेका छैन । सरकारले गरेको लगानी सालो, भाई, भतिजा, आफ्नो पार्टीको कार्यकर्तालाई झोलामा लगानी गरिरहेको छ । पल्लो घरको बाख्रो ल्याएर आफ्नो भनेको छ, वल्लो घरको भैसी ल्याएर फोटो खिचेर लगेको छ । बेइमानी गरेर नक्कली किर्षकहरुले पैसा ल्याएर खाइरहेका छन् । साँच्चिकै दुःख गर्ने, बाख्रा पाल्ने, भैसी पाल्ने किसानले अनुदान पाएको छैन । सरकारले गरेको लगानी वास्तविक किसानमा गयो भने हराएको उर्जालाई फिर्ता गर्न सकिन्छ, नेपालमा केही हुन्न भन्ने निराशालाई आशामा रुपान्तरण गर्न सकिन्छ । राज्यले गर्ने लगानी वास्तविक किसानमा गर्नुपर्छ, हामीलाई पनि राज्यले अनुदान, कृषि औजार, बिउ, मल उपलब्ध गराउनुपर्छ । हामी साँच्चै देशलाई अर्को ठाउँमा पुर्याछौं । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।