२ कार्तिक २०८१, शुक्रबार

संसदीय व्यवस्थाले जनताको प्रतिनिधित्व गर्न सकेन अब समाजवादमा जाऔँ : विकल्प

0

नेपाल कम्युनिस्ट पार्टी दाेलखाकाे वैत्यश्वर गाउँपालिकाको प्रथम बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । एजेन्डा अनुसार उपस्थित सबै सदस्यहरुले रिपोर्टिङ राखेका थिए । बैठकले गाउँपालिका स्तरीय जवसकाे कार्य विभाजनसहित ९ वटै वडामा संयाेजक पनि ताेकेकाे छ । बैठकमा प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य तथा दाेलखा जिल्ला इन्चार्ज विकल्प सीले गाउँपालिकामा सबै वामपन्थीहरू र लाेकतान्त्रिक शक्तिहरु र कम्युनिस्टहरुकाे एकता र ध्रुवीकरणमा जाेड दिए । अबकाे एक मात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएकोले सबै शक्तिहरु पार्टीको एकीकृत जनक्रान्तिमा गाेलबद्व हुन आह्वान पनि गरे । नेपाली विशेषताकाे समाजवादबारे गाउँगाउँमा गएर जनतालाई बुझाउनु पर्ने र संगठित पनि गर्नुपर्ने बताए ।
नेता विकल्पले ०८४ को निर्वाचनलाई पार्टीको संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने समेत बताए । ‘नेकपाले चुनाव प्रयोग गर्ने भनेपछि राजनीति तरंगित बनिरहेको छ ।’, बैठकमा बोल्दै उनले भने, ‘संसदीय चुनावलाई नेपालका कम्युनिस्टहरुले परम्परागत ढंगले मात्रै बुझिरहेका छन् । यहाँका कम्युनिस्टहरुले चुनावलाई बहिष्कार र प्रयोगबाट मात्रै बुझेका छन् । प्रयोग भनेपछि चुनावबाट मात्रै सम्भव छ भन्ने अनि अन्त्यमा संसोधनवादी बाटो हुँदै यहि संसदीय सत्तामा विसर्जन हुने खतरा छ भने अर्को फेरि बहिष्कारको नाममा क्रान्तिका ठुला कुरा गर्ने तर जनतामा जान नसक्ने वा जड, यान्त्रिक बन्ने खतरा पनि छ तर हाम्रो पार्टीले चुनावलाई हेर्ने दृष्टिकोण बदलेकाे छ । आजको दुनियाँमा चुनावलाई कार्यनीति र रणनीतिको मात्रै बिषय नबनाएर यसलाई क्रान्तिको समग्र मोर्चाको रुपमा बुझ्नुपर्दछ । त्यसैले पार्टी नेताकार्यकर्ता कोहिपनि भ्रमित हुनुपर्दैन चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्दछ ।’

यी संसदवादीहरु रातदिन विदेशी मालिकको सेवा गर्दै देश बेच्न बाहेक अरु जानेका छैनन् उनले भने, ‘अब जनता यो झगडा हेरेर बस्नेवाला छैनन् । हामीले भनेको सहि सावित भएन त ? यो व्यवस्था चल्दैन भनेका थियौँ, आज घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले समस्याको समाधान पनि दिएका छौँ । यो संसदीय व्यवस्थाले जनताको प्रतिनिधित्व गर्न सक्दै सकेन अब समाजवादमा जाऔँ ।’

नेता विकल्पले संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद स्थापना अनिवार्य भएको ठोकुवा गरे ।
बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सीकाे पनि अतिथिकाे रुपमा उपस्थित थिए भने बैठक अध्यक्षता तथा सन्चालन वैतेश्वर गाउँपालिका इन्चार्ज भक्तले गरे ।
बैठकले गाउँपालिका स्तरीय २७ जनाकाे कमिटि पनि चयन गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।