
पारिजात
धेरै अघि एक साँझ
चराहरू निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहरूले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्त हो भनेर ।
मृत्युको कुरालाई धर्म ग्रन्थहरूबाट
जस्ताको तस्तै ग्रहण गरेकी छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरूबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मुख लुकाउने दष्प्रयास गरेकि छु
तथापि मसँग मृत्युको केही साक्षात कथा छ ।
भटमास दिएर नून साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो–टिङ्गो हिँडिरहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृत्यु भयो
ज्वरोको धङ–धङीमै ठालुले जोताको
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असंतुलित भएर भूईंमा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ साइडतिर हाँकिरहेको
महानगरको एउटा सफेद पोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मा¥यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरू भए
खान नपाउनेहरूको
अधिकार खोज्नेहरूको
दुई पाइलो जग्गा माग्नेहरूको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एउटा कविता लेख्न मन लागेको छ
मृत्यु विसङ्गति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरूबिच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरूको मानसमा सम्झना भएर
अन्यायमा परेर मरेका मृत्युहरू
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै फुँकार गरी हिँड्दा रहेछन्
मृत्यु त सङ्गठन भएर
अङ्गालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरूतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र
भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरू
उनीहरूका मृत्यु त
सङ्घर्ष गर्न तमतयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने सङ्घर्षकारीहरूको
पाखुरी पाखुरीमा
मु्ठ्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्
मृत्यु त सङ्गीन भएर
वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किंदा रहेछन् ।