२ मंसिर २०८१, आईतवार

जीवनी लेखन कसरी ?

0

भूमिका
एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा १५ जनाको बलिदान भएको छ । तिनै १५ जना सहिदको व्यक्तित्व र कृतित्व झल्कने गरी ‘राष्ट्रका लागि बलिदान’ कृति प्रकाशित भएको छ । त्यही कृतिमा आधारित भएर यो समीक्षात्मक आलेख तयार गरिएको छ ।
जीवनी लेखन
इतिहास र मान्छेको अवस्था बुझ्न जीवनीले सहयोग गर्दछ । यो इतिहास र पाठकलाई जोड्ने साँघु हो । जीवनी लेख्दा लेखकको समय, उर्जा र पैसा खर्च हुन्छ । जीवनी लेखन (Boigraphy) का पिता भनिने अमेरिकी लेखक काई वर्डले आणविक बमका आविष्कारक जे. रोवर्ट ओपनहाइमर (१९०४–१९६७, अमेरिका)को मृत्यु भएको ३८ वर्षपछि जीवनी लेखेका थिए । जसको शिर्षक ‘अमेरिकन प्रोमीथिअस: दी ट्रिम्फ एण्ड ट्राजेडी अफ जे. रोवर्ट ओपनहाइमर’ थियो । ओपनहाइमरलाई आणविक उर्जाका पिता भनिन्छ । जीवनी लेखनको सन्दर्भमा काई वर्ड भन्छन्, “इतिहास मात्रै पढ्दा कहिलेकाहीं साह्रै अल्छिलाग्दो, निरस हुन्छ । तर जीवनी चाहिं उच्च तहको गन्थनमन्थन (High Level Gossip) हो । आखिर मान्छेको स्वभाव नै हो; उनीहरू गफ सुन्न वा गन्थनमन्थन (Gossip) पढ्न मन पराउँछन् ।” अल्छिलाग्दो हुनबाट बचाउने र तथ्यहरूले समृद्ध पार्नुपर्छ । जसमा समय र समाज आउनु पर्दछ ।
लेखकले लेख्दा दबावमा लेख्नु हुँदैन । “म के लेख्छु भन्ने कुरामा अरुको अधिकार हुँदैन” लेखक काई वर्ड भन्छन् । यसको कृतिप्रति आउन सक्ने प्रतिक्रिया हेरेर लेखन प्रभावित हुनु हुँदैन । त्यसैले मौनता नसाँधी लेखिएको लेखन राम्रो लेखन (No reservation is good writing) भनिएको छ । तर जतिसुकै मेहनत गरे पनि लेखक पात्रको हृदयभित्र प्रवेश गर्न सक्दैन । त्यसैले गर्दा लेखक वर्ड भन्छन्, “वैज्ञानिक ओपनहाइमरको मस्तिष्कभित्र प्रवेश गर्न चाहिं सक्दिन ।” पात्र र पाठकको नजिक पुगेर लेख्न सक्नुपर्ने चुनौति रहेको हुन्छ । त्यसको लागि सरल र सहज होस् भन्ने उद्देश्यले हामीले निर्देशिकासमेत लेखकहरूलाई पठाएका थियौं । यसको विषयमा विस्तृत छलफल आवश्यक छ ।
जीवनी लेखनको लागि प्रशस्त समय खर्चिनु पर्दछ । यात्रा गर्नुपर्छ । त्यसो गर्नको लागि खर्चको आवश्यकता पर्दछ रात–दिन, थकाई नभनी जीवनको उर्जा खर्च गर्नु पर्दछ । आर्थिक अभावको कारण खुम्चिनु प¥यो । समय मिलाउन पनि सजिलो थिएन । छापाखाना, टङ्कन र अन्य खर्च गर्न कृतिको विक्रिमा मात्रै भर पर्नु प¥यो । आजको स्वार्थी र उपभोक्तावादी समाजमा यो सजिलो काम होइन । एकै जनाले लेख्न आर्थिक र समयको अभावका कारण सामूहिक रुपमा लेख्ने निर्णय गर्नुप¥यो । नयाँ लेखकलाई जिम्मेवारी दिंदा आउन सक्ने समस्यालाई सम्बोधन गर्न ‘सहिदगाथा लेखन निर्देशिका–२०८०’ पठाइएको थियो । त्यति हुँदाहुँदै पनि दक्षता, गम्भीरता र समय अभावका कारण कतिपय जीवनी कमजोर रहन गए । कतिपय जिम्मा लिएका लेखकले भूमिका निर्वाह नगरेका कारण अर्को लेखक खोज्दा समयमा कृति तयार गर्न सकिएन । अपेक्षा गरिएको र आश्वासन पाएका क्षेत्रबाट आर्थिक सहयोग प्राप्त नहुँदा सहिद दिवसमा नै कृति तयार गर्न सकिएन । यस्ता सबै समस्या र जटिलताबिच कमजोर संरचनामा नै भए पनि कृति प्रकाशित भएको छ ।
कृति संरचना
यो कृतिलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड, जीवनी खण्ड हो । वसन्त सी प्रज्वलन, प्रकाश डुम्रे, सविन सी, त्रिलोचन सी, भगतसिंह सी डबल, भरत मल्ल, योद्धा, विराट सी, विवेक सी, फिल्टर सी, माइला लामा, बलवान सी र इन्द्र श्रेष्ठद्वारा लिखित जीवनी रहेका छन् । त्यसैगरी दोस्रो खण्ड, सिर्जना खण्ड छ । यसमा नेकपाका प्रवक्ता प्रकाण्ड सी, नेकपाका स्थायी समिति सदस्य अनिल सीसहित वीरजङ्गको डायरी, घाइते सुरेन्द्र महर्जनको संस्मरण, सहिद दीपेन्द्र वि. सी.को दूर्लभ चिठ्ठी, सहिद कुमार पौडेलको लेख, सहिद महान्ले अर्का सहिद तिर्थराज ‘राजु’को विषयमा लेख्नुभएको संस्मरण, सुमनसिंहको संस्मरण, खेम थपलियाकृत विश्लेषणात्मक लेख र ‘अराप’ले लेख्नुभएको कविता समावेश गरिएको छ । तेस्रो खण्ड, तस्बिर खण्ड रहेको छ । तस्बिर खण्डमा छानिएका तस्बिरहरू समावेश छन् । आउनै पर्ने तस्बिरहरू पटक–पटक ताकेता गर्दा पनि प्राप्त भएनन् । केही तस्बिरहरू ढिलो प्राप्त भएका हुनाले समावेश गर्न सकिएन ।
समालोचनाको दृष्टिमा कृति
‘गीत गाउने भए आ–आफ्नो
हाँगाबाट गाइहाल गायकहरू
म यसबेला आग्रह गर्दैछु
भन्दैछु गीत रोकिनु हुन्न
मुर्दाहरू मात्र गीत गाउन सक्दैनन्
गीत किन रोकिएको छ ?
यसबेला पनि गीत गाउन झिँजो मान्ने
कण्ठहरू मेरो अगाडिबाट सुइकुच्चा ठोक
गीत किन रोकिएको छ ?
भन्दै म एउटा गीत गाउँछु
त्यही सूर्यको गीत
जसलाई गाएर मान्छेहरूले
रगत पोखे धरतीमा
त्यही रक्तिम गीत ।’
वरिष्ठ कवि पूर्ण विरामद्वारा लेखिएको कवितांशमा सबै समीक्षक–टिप्पणीकारको ध्यान एकोहोरिएको थियो । चैत १९ गते काठमाडौं, कमलादीस्थित लोकार्पण कार्यक्रममा हामी थियौं । कवि पूर्णविरामले भनेझैं सहिदहरूले बलिदान गरे, तर उनीहरू युगको दस्तावेज भएका छन् । कवितांश छ –
‘नराधमहरूले जस्तोसुकै ढुङ्ग्राहरू लिएर
जति बल प्रयोग गरेर फुके पनि
निभाउन नसक्ने एउटा मैनबत्ती भएर म¥यौ
कोष्ठभित्र रहेकाहरूको एउटा पनि
नाम–नामेसी नफट्कारेर
एउटा फलामे जिब्रो भएर म¥यौ
मरे पनि एउटा युगको
युगीन दस्तावेज भएर म¥यौ ’
जीवनी के हो ?
प्रसिद्ध जीवनी लेखक (Biography Writer) काई वर्डले जीवनीलाई उच्च स्तरको मन्थन (High Class Gossip) भनेका छन् भन्ने कुरा माथि उल्लेख भइसकेको छ । इतिहास अध्ययन गर्दा सचेतन पक्ष प्रमुख भएर आउँछ । त्यसो गर्दा निरस पनि लाग्न सक्छ । तर त्यो समस्या जीवनीमा हुँदैन । जीवनी लेखनमा कृतिलाई रसमय (सौन्दर्यानुभूति) गराउने र तथ्यहरूद्वारा सत्यलाई समृद्ध बनाउने चुनौति रहन्छ । जीवनीमा समकालीन समय र समाजको प्रतिबिम्वन आउनु पर्दछ । कस्तो समय थियो ? परिवेश कस्तो थियो र समाजको स्थिति के थियो ? व्यक्तिले समय र समाजसँग कसरी सम्वाद गरेको थियो भन्ने विषय आउनु पर्दछ । तर जति नै मेहनत गरे पनि लेखक व्यक्तिको मस्तिष्कभित्र प्रवेश गर्न सक्दैन र जीवनी अधूरै रहन्छ । त्यसैले चर्चित जीवनी लेखक काई वर्डले वैज्ञानिक ओपनहाइमरको जीवनीको सन्दर्भमा ‘म वैज्ञानिक ओपनहाइमरको मस्तिष्कभित्र प्रवेश गर्न चाहिं सक्दिन’ भनेका छन् । यो कृतिका लेखक त नजिक–नजिकसम्म मात्र पुगेका होलान् । त्यसैगरी लेखक काई वर्डले जीवनी लेख्दा समय, उर्जा र पैसा खर्च हुन्छ भनेका छन् । यो कोणबाट हेर्दा पनि निश्चित सीमाहरू देखिन्छन् । यसर्थ जीवनी लेखन एउटा महत्वपूर्ण सामाजिक कर्म हो । र, यो विचारधारात्मक र राजनीतिक सङ्घर्षको भिन्न, जटिल र संवेदनशील मोर्चा हो । यो कलमका सिपाहीहरूले लड्ने मोर्चा हो ।
२०८० चैत

स्राेत: जनपत्रिका मासिक ११ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।