
सन्तोष सी
झट्ट सुन्दा र रुप पक्षलाई हेर्दा सी जाति र जातीय मोर्चासम्बन्धी दुई अवधारणा अन्तरविरोधी र विपरीत जस्तो लाग्छ तर सारपक्षमा यी अन्तरविरोधी नभएर अन्तरसम्बन्धित छन् । नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनबाट सी जातिको निर्णय सार्वजनिक गरेपछि स्वभाविक रुपले यसबारे केही प्रश्न र जिज्ञासाहरु उठेका छन् । तात्कालिक रुपमा यी प्रश्न र जिज्ञासाहरुको प्यास मेटाउने ध्येय यो आलेखको रहेको छ ।
२०७९ असोज २५ देखि कार्तिक २ गतेसम्म नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्पन्न पार्टीको नवौं महाधिवेशनमा अन्य महत्वपूर्ण प्रस्तावहरुसँगै महासचिव कमरेड कै निर्देशनमा संक्षिप्त जातीय प्रस्ताव पनि पेश भएको थियो । जातीय प्रस्तावमा महाधिवेशन प्रतिनिधिहरुको ध्यान विशेष रुपले आकर्षित पनि भएको थियो र गंभीर छलफल पनि भयो । यो बहसले जातीय प्रश्नमा नयाँ संश्लेषणलाई जन्म दियो र महासचिव कमरेड विप्लवले तत्कालिक रुपमा मोर्चाहरुलाई अरु क्रियाशील बनाउने र दीर्घकालिन हिसाबले सी जातिको संश्लेषण गर्नु भयो । यसले महाधिवेशन र सिङ्गो पार्टी पंक्तिमा सकारात्मक तरङ्ग पैदा ग¥यो । निर्णय सार्वजनिक भएसँगै सिङ्गो नेपाली वामपन्थी पंक्ति र बुद्धिजीवीहरुबिच यसले सकारात्मक तरङ्ग ल्याएको छ । समाज तथा कानुनी क्षेत्र र राजनीतिक क्षेत्रमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । उत्पीडित वर्ग, समुदायमा त यसले इतिहासमै एउटा नयाँ भविष्य, नयाँ आशावाद, नयाँ समाजको चित्र र खुशीको लहर आएको छ । यो सुखद विषय बनेको छ ।
नवौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एउटा जातीय विभाग पनि गठन ग¥यो । लामो समयपछि बसेको जातीय विभागको पहिलो बैठकले सी जातिसम्बन्धी पार्टी निर्णय दूरगामी महत्वको रहेको र यसले समाजमा साम्यवादी समाजको शिलान्यास गरेको र साथै सी जातिको पूर्वाधार तयार पार्न जातीय, क्षेत्रीय मोर्चाहरुलाई पूरकको रुपमा लिने र बुझ्ने निष्कर्ष निकालेको छ ।
नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । संक्षिप्तमा नेपाल बहुराष्ट्रिय र बहुविविधताको देश हो । त्यसो त सिङ्गो विश्व नै विविधतामा छ । त्यसको सानो इकाईको रुपमा नेपाल रहेको छ । चाहे नेपाल होस् या विश्व सन्दर्भ होस, विश्व साम्यवादमा नपुग्दासम्म जातीय प्रश्न उठी नै रहने छ र मोर्चाहरुको आवश्यकता पनि खड्किरहने छ । नेपाल जस्तो बहुजातीय देशमा त झन् यो ज्यादै आवश्यक छ । यस्तो सामाजिक संरचनाले अन्य अन्तरविरोधहरुसँगै जातीय अन्तरविरोधलाई पनि जन्म दिएको छ र अन्य मुलुकहरुको भन्दा जटिल सामाजिक समस्याको रुपमा पनि रहँदै आएको छ । यसको समाधान नेपाली क्रान्तिले मात्र गर्दछ अर्थात नेपाली क्रान्तिले मात्र नेपाली समाजका सबै अन्तरविरोधहरुको सापेक्षिक समाधान गर्दछ । सबै अन्तरविरोधहरुको पूर्ण समाधान त साम्यवादमा गएर मात्र हुन्छ । तर नेपाली क्रान्तिले गर्ने समाधान नेपाली समाजको अन्तरविरोधहरुको सापेक्षिक समाधान हो ।
नेपाली समाजका विशिष्ट अन्तरविरोधहरुमध्ये जातीय अन्तरविरोध एक जटिल समस्याको रुपमा छ । यो नेपाली क्रान्तिले समाधान गर्ने एउटा विषय बनेको छ । नेपाली समाजका मुख्य ५ अन्तरविरोधमध्ये वर्गीय अन्तरविरोध सार्वभौम छ र यो सर्वव्यापी छ । यो बाहेक नेपालमा जातीय, क्षेत्रीय, लिङ्गीय, र सामाजिक–साँस्कृतिक असमानता (दलित समस्या) विशिष्ट अन्तरविरोधहरु हुन् । यी ५ ओटा ढिस्कोहरुमा नेपाली जनताका समस्याहरुले अन्तरविरोधको रुपमा गुँड जमाएर बसेका छन् । नेपाली क्रान्तिले यिनै ढिस्कोहरु भत्काउनुपर्छ र सम्याउन सक्नु पर्दछ र अन्तरविरोधका गुँडहरु भत्काउनु पर्दछ । यसरी मात्र नेपाली समाजका समस्याहरु समाधान गर्न सकिन्छ । यसबिनाको क्रान्ति नेपाली क्रान्ति हुँदैन । नेपाली क्रान्ति नै नेपाली समाजका अन्तरविरोधको गाँठो फुकाउने एकमात्र कुञ्जी हो र हुनुपर्दछ ।
सी जातिको अवधारणा अलि गहिरो र दूरगामी महत्वको छ । सी अवधारणा नेपाली क्रान्तिको शान्तिपूर्ण रुपबाट थालनी गरिएको सामाजिक रुपान्तरण प्रक्रियाको व्यवहारिक प्रयोग हो । यो सामाजिक रुपान्तरण प्रक्रियाको एउटा महाअभियानको सुरुवात पनि हो । यसले अलि लामो समय लिने छ तर प्रस्थान नवौं महाधिवेशनले निर्णय र पास गरेको विन्दुलाई शून्य (०) माइल मानेर यात्रा सुरु गरिसकेको छ । यसले हजार माइल पार गर्नुपर्ने छ । यो कुनै बेला शान्त नदी जस्तै भएर अघि बढ्नेछ, कहिले खहरे खोला झैं गडगडाउँदै अघि बढ्नेछ । अन्ततः यसले विशाल समुद्रमा पुगेर विलिन हुनेछ । यसरी महासागरमा पुग्ने लक्ष्य बोकेको सी अभियान एक दिन लक्ष्य र गन्तव्यमा अवश्य पुग्ने छ । समुद्रमा पुग्दा यसले आफ्नो अस्तित्व नामेट गर्छ अर्थात पहिचान बदल्ने छ, नदीबाट समुद्रमा परिणत (विलिन) हुनेछ । तर सुरुमा ती पहाडका विभिन्न मूलबाट निस्कने खहरेहरु, स–साना खोल्साखोल्सीबाट गड्गडाउँदै बग्छन् र विभिन्न नामका खोलाखोलीको पहिचान लिएर अघि बढ्छन् र ती नदीमा परिणत हुन्छन् । नदी बन्दा खोलाको पहिचान मेटिन्छ र नदीको स्वरुप र पहिचान ग्रहण गर्दछ । खोलाभन्दा नदी शान्त हुन्छ । नदीभन्दा समुद्र झन शान्त हुन्छ । यो प्राकृतिक नियमको सानो उदाहरण हो ।
ठिक यस्तै सामाजिक क्षेत्रमा हे¥यौं भने पनि यहि नियम लागु हुन्छ । किनकि प्रकृतिको एउटै नियम हुन्छ । समाजको सबैभन्दा सानो इकाई परिवार हो । परिवारको इकाई व्यक्ति हो । व्यक्ति जाति जातिमा विभाजित हुन्छ । त्यहि व्यक्ति, परिवार र जातिहरु मिलेर समाज बन्दछ र समाजको अन्तिम र बृहत रुप विश्व समाजमा बदलिन्छ । त्यो विश्व समाजको परिकल्पना नै साम्यवाद हो । समाज परिवारको इकाईमा विभाजित हुँदा त्यो परिवार समाजको अवस्थाअनुसार विभिन्न जातिहरुमा विभाजित हुन्छ । ती विभिन्न जातिहरु पनि खहरे खोला जस्तै हुन् । परिवारहरु इनार वा कुवा जस्तै हुन् । जातिहरु पोखरी जस्तै हुन् । आखिरमा ती पोखरी वा कुवाका पानी बगेर खोलैमा मिसिने हो र खोला गएर नदी, नदी गएर समुद्र बने जस्तै यी विभिन्न जातिहरु मोर्चामा र मोर्चामा आवद्ध जातीय समुहहरु सी जातिमा गएर एउटा विशाल मानव समाजमा विलिन हुने हो । यो कुरालाई सी जातिले सबैलाई एउटै नदीमा सोझ्याउन खोजेको छ । सी जातिले यो प्राकृतिक र विज्ञानको नियम पछ्याएको छ र सामाजिक विज्ञानमा प्रयोग गर्न खोजेको छ । यो सचेतन प्रयत्नको पहलु पनि हो ।
जहाँसम्म जातीय मोर्चाहरुको प्रश्न छ– यो एउटा सङ्गठनात्मक पहलु हो । जबसम्म समाजमा जातिहरु रहन्छन्, तबसम्म जातीय मोर्चाहरुको आवश्यकता भइरहन्छ । जबसम्म जातीय विभेद र असमानताहरु रहिरहन्छन्, तबसम्म जातीय अन्तरविरोध पनि रहिरहन्छ । अन्तरविरोधको अर्थ हो जातिहरुको वर्गीकरण । जबसम्म कुनै जाति ठूलो, कुनै जाति सानो (यो आकार र संख्यामा भनेको होइन) रहिरहन्छन् अर्थात कुनै जाति उत्पीडक र कुनै जाति उत्पीडित, कुनै जाति सुविधाभोगी र सत्ताधारी, कुनै जाति सुविधाबाट बञ्चित, उपेक्षित र सत्ताविमुख भइरहन्छन्, कुनै जाति माथिल्लो दर्जाको र कुनै जाति तल्लो दर्जाको भइरहन्छन्, तबसम्म उत्पीडित र उपेक्षितहरु एक ठाउँमा उभिने र आफूमाथिको उत्पीडनको अन्त्य गर्न सङ्गठित बन्ने प्रक्रिया चलिरहन्छ । यो खासगरी सैद्धान्तिक रुपले उत्पीडितहरुले उत्पीडनबाट मुक्त हुने नैसर्गिक अधिकार हो । जसरी सयौं खोलाहरुमध्ये एउटा खोलालाई खुला छोडिन्छ तर सयौं खोलाहरुलाई थुनिन्छ, विनाविकल्प थुनिएका खोलाहरुले केही समय त सहन्छन् तर बढी भयो भने बाँध भत्काएर वरपर नाश गर्दै बौलाएर बग्छन् । यसलाई खोला बहुलाएको भनिन्छ । मानिस पनि, जाति वा वर्गहरु पनि बढी भयो, अति भयो भने यसरी नै बहुलाउँछन् र सीमा तोड्छन् । मानिस सचेत प्राणी भएको हुनाले उसले सही र गलत, कुन ठिक कुन बेठिक बुझ्दछ र सहीका पक्षमा गलतका विरुद्ध विद्रोह गर्छन् । मानिस सचेत प्राणी भएकोले खहरे खोला झैं बहुलाउनको सट्टा सचेततापूर्ण आन्दोलन गर्छन्, सङ्घर्ष गर्छन् र विद्रोह गर्छन्, बहादुरीपूर्ण युद्ध लड्छन् । त्यसरी मानिस खहरे खोला झैँ विचेतमा नबहुलाउन् भन्नका लागि त्यसमध्येका सबैभन्दा सचेत तप्काको पहल वा नेतृत्वमा सचेततापूर्ण आन्दोलनको उत्थानको निम्ति सङ्गठन र मोर्चाहरु बन्छन्, बनाउनु पर्ने हुन्छ । त्यो प्रक्रियाको सचेत कदम हो जातीय मोर्चाहरुको अवधारणा । यी मोर्चाहरु आ–आफ्नै समुदायलाई अनावश्यक गलत तत्वहरुले विपन्नता, अशिक्षा र अचेतनाबाट फाइदा उठाएर गलत दिशामा प्रयोग नगरुन्, नभत्काउन् भन्नका लागि सुसङ्गठित गरिएको जातीय समुदायका अग्रदस्ताहरुको समुह हुन् । यी पनि प्रारम्भिक रुपमा आफ्नो समुदायलाई सचेत र सङ्गठित बनाउनेमध्येका सबैभन्दा सचेत तप्का हुन् । त्यसैले यी मोर्चाहरु आ–आफ्ना समुदायको नाम र पहिचानमै अघि बढ्छन् । समुदायकै नामबाट समुदायमा पस्छन् र समुदायलाई सुसङ्गठित बनाउँछन् । यो सङ्गठित हुने पहिलो प्रक्रिया हो । यो भनेको खोलालाई नदीमा सङ्गठित गर्ने प्रक्रिया हो ।
सी जाति समुद्रको चरित्र ग्रहण गरेको नदी जस्तै हो । जसको विशेषता समुद्र र खोला दुवैको हुन्छ । यो खोलाको विशेषतासहित बनेको नदी र समुद्रको विशेषता बोकेको सानो समुद्रको रुप पनि हो । जस्तै गंगा, ब्रम्हपुत्र, ओमेजन, नाइल नदी आदि । समुद्रमा ठूलो जहाज चल्छ । नदीमा सानो जहाज चल्छ । समुद्र पनि शान्त हुन्छ, ठूला नदीहरु पनि शान्तपूर्वक बग्छन् । सी जाति जातिभन्दा माथि उठेको चेतना हो । आफूलाई सचेततापूर्वक बदल्ने आँट गर्नसक्ने, पहिचान बदल्न तयार भएको सचेत व्यक्ति वा समुदाय हो ।
नेपाली समाजमा तीन प्रकारका समुदायहरु छन् । पहिलो आफूलाई सबैभन्दा उच्चकोटीको ठान्ने कथित उच्च जात भनिने मानव समुदाय छन् । दोस्रोमा दोस्रो दर्जामा राखिएका प्राकृतिक रुपले बनेका ऐतिहासिक जातिहरु छन् जसलाई आदिवासी जनजाति भनिन्छ । तेस्रो कथित जातभातकाको आधारमा समाजमा सबैभन्दा तल्लो श्रेणीमा राखिएका अछुत भनिने श्रमिक समुदाय छन् । श्रमिक समुदायहरु जातीय हिसाबले सबैभन्दा उत्पीडित र उपेक्षित समुदाय भएको हुनाले आफ्नो पहिचान बदल्नमा ठूलो समस्या छैन । किनकि अपमानित पहिचानबाट सम्मानित पहिचानमा जान यो समुदायलाई कुनै चीज गुमाउनु पर्ने छैन । यसैले श्रमिक समुदायले सी जातिलाई सहर्ष आत्मसात गर्नसक्छ र गर्नुपर्दछ । तर आफूलाई कथित उच्च जाति ठान्ने र भन्ने (कम्युनिस्ट चेतनामा उठेका बाहेक) वर्ग समुदाय अहिले समाजमा सबैभन्दा उच्च तहमा सामाजिक सम्मान र मान्यता पाएर समाजको सबैभन्दा उच्च श्रेणीको अब्बल दर्जाको मानव समूहको वा जातिमा आसिन छन् । उनीहरुले सी जाति ग्रहण गर्दा र आफूभन्दा तल्लो दर्जामा राखिएका समुदायसँग एउटै दर्जामा बस्दा आफ्नो अपमान भएको ठान्ने छन् र सम्मानित पहिचान र सम्मान गुमेको महसुस गर्ने छन् र सी जातिमा जान हम्मेसी मान्ने छैनन् । यो समुदाय सी जाति बन्न उसले असली कम्युनिस्ट विचार ग्रहण गर्नुपर्ने छ । यो नगर्दासम्म ऊ सी जाति बन्न मान्दैन वा तयार हुँदैन । जबसम्म मान्दैन, उसले यसको विरुद्ध अनेक तर्क–वितर्क गर्नेछ । जबसम्म उसले यस्तो कुतर्कहरु गर्दै यसको विरोध गरिरहन्छ र ऊ न सी जाति बन्न तयार हुनेछ न कम्युनिस्ट बन्न नै तयार हुनेछ । यो गर्दासम्म ऊ कम्युनिस्ट होइन र बनेको छैन भन्ने बुझ्नुपर्दछ । यस अर्थमा सी कम्युनिस्टको मात्रा जाँच्ने कसी पनि हो ।
अब आयो आदिवासी जनजातिहरुको प्रश्न । आदिवासी जनजातिहरु ऐतिहासिक जाति हुन् । यी मानिसले कृत्रिम रुपले बनाएका जाति वा जातप्रथाभित्र पर्दैनन् । यी कुनै धार्मिक समुदाय पनि होइनन् । यिनलाई एङ्गेल्सले ऐतिहासिक जाति भन्नुभएको छ । यी ऐतिहासिक जातिहरु आदिम साम्यवादीकालदेखि सामाजिक सत्ताहरु बन्दै आउने क्रममा सामाजिक–साँस्कृतिक सत्ताले दिएको पहिचानको आधारमा बनेका जाति हुन् । यी जातिहरु नश्लीय, भौगोलिक, हावापानी, सामाजिक–साँस्कृतिक, समान आर्थिक प्रणालीको आधारमा निर्मित जाति हुन् । यिनलाई राज्यसत्ता सञ्चालन प्रक्रियामा राज्यसत्तामा सहभागी नगरेर सिङ्गो जातीय समुदायलाई सत्ताविमुख बनाएर शासित वर्ग बनाउँदै आएका र यसले सिर्जना गरेको सिङ्गो जाति नै उत्पीडित वर्गको रुपमा आएका समुदाय हुन् । खास गरी यी समुदलाई राज्यद्वारा आफ्नो जातीय पहिचानमाथि हस्तक्षेप र अतिक्रमण भएका, आत्मसम्मान, भाषा, संस्कृति र धर्ममाथि राज्यले जबरजस्त अर्को भाषा, धर्म र संस्कृति थोपरेर पछाडि पारिएका जातिमा पर्दछन् । नेपालमा यी मंगोल र द्रविड नश्लभित्र पर्ने आदिवासी–जनजाति समुदाय पर्दछन् । अहिले तिनको पहिचान आदिवासी–जनजाति कायम गरिएको छ । यो पनि जातीय हिसाबले खास सम्मानित पहिचान चाहिँ होइन तर तिनको नेपालमा सामाजिक, आर्थिक, साँस्कृतिक, भाषिक, भौगोलिक र मनोविज्ञानका दृष्टिले अलग्गै पहिचानमा रहिबसी आएका छन् । तिनको पहिचान भनेको उनीहरुको ऐतिहासिक थातथलोहरुको संरक्षण र सम्बोधन, उनीहरुको भाषा, संस्कृतिहरुको संरक्षणको प्रश्न हो । जनजाति समुदायका कतिपय राम्रा र प्रगतिशील संस्कृतिहरु पनि छन् जसलाई जनसंस्कृति पनि भनिंदै आएको छ । यसको राज्यले संरक्षण र जगेर्ना गर्न जरुरी छ । कतिपय पुराना, परम्परागत संस्कृतिहरु जसले हामीलाई अझ पछौटे चेतनातिर फर्काउँछन् ती संस्कृतिहरुलाई समातेर बस्नु उचित हुँदैन । तिनलाई सङ्ग्रहालयमा संग्रहित गरेर राख्नु पर्दछ । जस्तै : हाम्रो पुर्खाहरु लँगौटी लगाउँथे, नाङ्गै हिँड्थे भनेर लगौंटीको संरक्षण, नाङ्गै हिँड्न पाउने संस्कृतिको संरक्षण जरुरी छैन । हाम्रा पुर्खाहरु जाँडरक्सी खान्थे, छोटी बस्थे भनेर त्यसको संरक्षण आवश्यक छैन । ती इतिहासको एउटा काल खण्डमा हाम्रा पुर्खाहरु अर्थात् हामी मानवजातिले बेहोरेको सामाजिक परिवेश हो । यसलाई इतिहासमा सुरक्षित गर्ने कुरा ठिक छ, तर आज पनि त्यहि लागु गर्ने कुरा ठिक छैन । तर जनजातिहरुको सामुहिक संस्कृति, सामुहिक मनोविज्ञान, सामुहिक क्रियाकलाप, सहयोगी भावना, परिश्रमी र मेहनती संस्कार, एकले अर्कालाई सम्मान गर्ने संस्कार, निडरता, साहसी, सरल र मिलनसार चरित्र, इमानदारिता आदि जनजातिका राम्रा र सबैले सिक्नलायक छन् जुन जनसंँस्कृति भित्र पर्दछन् जो सी जातिको पनि संस्कृतिभित्र पर्दछन् । यी कुराहरु सीले पनि अनुकरण गर्ने विषय छन् ।
यसरी हेर्दा सी जाति र जातीय मोर्चाबिच कुनै अन्तरविरोध छैन । मात्र चेतना र पहलमा अन्तर छ । यिनलाई बुझिने भाषामा यसरी पनि भन्न सकिन्छ– सी जातिको अवधारणा विकसित विचार र चेतनाको उपज हो तर जातीय मोर्चाको अवधारणा ती विभिन्न उत्पीडित जाति र समुदायहरुलाई उनीहरुको पहिचानको आधारमा सङ्गठित र एकताबद्ध बनाउने प्रारंभिक कदम हो । यसरी हेर्दा सी जातिको अवधारणा रणनीतिक विषय हो भने जातीय मोर्चाको अवधारणा कार्यनीतिक विषय हो । अर्थात् सी तयारी माल हो भने जातीय मोर्चा कच्चा पदार्थ हो । जातीय मोर्चाको सामाजिक विकास प्रक्रियामा पैदा भएको विद्यामानको आधारमा बनेको एकताको प्रक्रिया हो भने सी जाति सचेत रुपले थालिएको नयाँ पहिचान सीको पहिचान कायम गर्ने पहलु हो । यो पहिचानलाई निषेध गर्ने विषय होइन, बरु पुरानो पहिचानलाई नयाँ पहिचानमा विकास वा रुपान्तरण गर्ने नयाँ रुपान्तरण हो । यसलाई यसरी पनि बुझ्न सकिन्छ– जाति एकता हो, मोर्चा सङ्घर्ष हो र सी रुपान्तरण हो, निषेध होइन । जस्तै : उदाहरणको लागि जसरी एउटा मकैको गेडा सधैंभरि गेडा रहँदैन, जब त्यसले अनुकूल वातावरण पाउँछ, त्यो विरुवामा विकास हुन्छ । विरुवा हुँदा गेडा नष्ट हुन्छ, तर गेडाको गुण नष्ट हुँदैन; त्यो विरुवामा सरेको हुन्छ । यसको विकास प्रक्रिया विरुवामा रुपान्तरण भएको हुन्छ । विरुवाको विकास प्रक्रिया पनि पुरानो पात नयाँ पातमा रुपान्तर हुँदै अन्तिममा घोघाले सिङ्गो विरुवालाई नै अर्को रुपमा बदलिदिन्छ र एक गेडाबाट सयौं तर उस्तै गेडाहरु पैदा हुन्छन् । यसको मतलव पहिचान विकासमा बदलिन्छ र रुपान्तरण भएर फेरी नयाँ विकसित पहिचान बनाउँछ । एक गेडाबाट सयौं गेडामा परिणत हुन्छ । यसले के स्पष्ट गर्दछ भने पहिचान विकासक्रममा रुपान्तरण हुन्छ र हुनुपर्छ । पुरानो गेडा उस्ता–उस्तै धेरै समय रह्यो भने त्यसको अस्तित्व र गुण नष्ट हुन्छ । आधुनिक भाषामा त्यसको मिति सकिन्छ, म्बतभ भ्हउष्चभ हुन्छ । एक वर्षअघिको गेडा खाँदा नमीठो हुन्छ र गुण नष्ट भएको हुन्छ । यसलाई छिटोभन्दा छिटो रुपान्तरणको प्रक्रियामा लानुपर्ने हुन्छ । मकैको एउटा गेडाले कैयौं रुपान्तरणका नियमहरु पार गरेर मात्र अन्तिममा विकासको नयाँ चरणमा फड्को मार्दछ र सयौं गेडा पैदा गरेको हुन्छ । निषेध भनेको त्यसको गुण पूर्णरुपमा नष्ट भएर अर्को वस्तुमा बदलिनु हो । जस्तो मकैको विरुवाले गेडालाई नष्ट गरेको भए त्यो फेरी मकैको गेडा भएर आउँदैन । यो नष्ट नभएर अर्को वस्तुमा परिणत हुनु हो । यसरी गुण नै नष्ट हुने प्रक्रियालाई निषेध भनिन्छ । ठिक त्यस्तै समाज रुपान्तरणको प्रक्रियामा, मानिस वा व्यक्ति मकैकै गेडा जस्तै हो । मोर्चा विरुवा जस्तै हो र सी बन्ने प्रक्रिया घोघा जस्तै हो । व्यक्ति सङ्गठित हुन्छ । सङ्गठित चेतनाले मानिसलाई रुपान्तरण गर्छ र सी जातिमा जान तयार हुन्छ । जब सी बनेर सिङ्गो समाजलाई सी समाजमा रुपान्तरण गर्दछ, तब समाज साम्यवादी समाजमा बदलिन्छ, जहाँ मान्छे नयाँ संसारमा नयाँ समाज, नयाँ चेतनाको र नयाँ धरातलमा नयाँ मान्छे बनेर उभिएको हुन्छ । त्यसैले विपरीत जस्तो लाग्ने सी जाति र जातीय मोर्चाको अवधारणा र नीतिमा कुनै अन्तरविरोध छैन । बरु यी दुई एक अर्कामा पूरक मात्र छैनन्, यी एकविना अर्काको अस्तित्व पनि रहँदैन ।
सी र मोर्चाबिच अन्तरविरोधी दुई अवस्थामा देखिन सक्छ । पहिलो अन्जानमा र स्पष्ट नहुँदा यस्तो भान हुन्छ र दोस्रो आफ्नो अस्तित्व रक्षाका लागि पुरानो तत्वले आफ्नो पहिचान नासिने अवस्था देखेपछि यो अवस्थामा आउँछ । जब सुविधाप्राप्त समुदाय र वर्गले सचेततापूर्वक गर्ने यसको विरोध र विक्षमा प्रचार गर्न सुरु गर्छ तब यो अवस्था देखा पर्छ । यी दुवै अवस्थामा उब्जने प्रश्नहरु अस्वभाविक छैनन् । पहिलोथरि अन्जान र अस्पष्टताबस उत्पन्न जिज्ञासा रुपान्तरित हुन्छ र हुन सक्छ तर दोस्रोथरि अवस्थामा उठ्ने जिज्ञासामा नभएर प्रश्नको रुपमा उठ्छ र यो रुपान्तरित हुन सङ्घर्षपूर्ण र प्रतिरोधपूर्ण प्रक्रिया पक्रन सक्छ किनकि ती भनेर वा बुझाएर रुपान्तरित नहुन सक्छन् । यस्तो अवस्थामा यसले रुपान्तरित नभएर निषेधको माग गर्दछ । त्यो अवस्थामा सङ्घर्ष मुख्य बन्दछ । पहिलो प्रकारको अवस्थाले रुपान्तरणको माग गर्दछ भने दोस्रोथरिले निषेधको प्रक्रियाको माग गर्दछ । यसरी सी जातिको प्रयोगले एउटा अवस्थामा रुपान्तरणको प्रक्रिया समाउँदछ र अर्को अवस्थामा वर्ग सङ्घर्षको सामना गर्नुपर्ने हुन्छ किनकि सी आफै वर्गसङ्घर्ष कै एक पहलु पनि हो ।
सी जातिको टकराव अहिले विचार, चिन्तन, राजनीति, आर्थिक, साँस्कृतिक र कानुनी क्षेत्रमा पर्न गएको छ । विशेषतः कानुनी क्षेत्र र प्रशासनिक क्षेत्रमा टकराउन गएको छ । यो सिधै राज्यसत्तासँग टकराउन पुगेको छ । यो विशेषतः जातीय प्रश्नमा नागरिकता प्राप्त गर्ने कानुनी मान्यतासँग टकराउन पुगेको छ । यसको मतलब राज्यसत्ता अझै पुरानै छ भन्ने बुझ्नु पर्दछ । यसले राज्यसत्ता बदलिन तयार छैन वा राज्यसत्ताले टकरावपूर्ण सङ्घर्षको माग गर्दछ । साँस्कृतिक क्षेत्रमा पुराना रुढीवादी, खर्चिलो, भड्किलो सामन्ती र पुँजीवादी संस्कार, संस्कृतिसँग टकराइरहेको छ । राजनीतिक क्षेत्रमा त कम्युनिस्टहरुको शुद्धता नाप्ने “कम्युनीमीटर” नै बनेको छ । वैचारिक हिसावले अधिभूतवाद, जड्सूत्रवाद, रुढीवाद संंकीर्णतावादसँग टकराएको छ । सामाजिक रुपले पछौटे चेतना र धार्मिक संकीर्णतासँग टकराएको छ । जातीय हिसाबले अन्धजातिवादसँग र आर्थिक हिसावले श्रमचोर, कामचोर वर्ग र भ्रष्टाचारीसँग टकराएको छ । यसरी जन्मदा–नजन्मदै यसले आफ्नो विशेषताअनुसार सबै प्रकारका सामाजिक प्रवर्ग र पुरानो सत्तामा हस्तक्षेप गरेको छ । यसले यो एक प्रकारले अहिलेको सामाजिक क्रान्तिकै एक अभिन्न अङ्ग सावित भएको छ ।
अन्तमा सी जाति र जातीय मोर्चासम्बन्धी अवधारणा अन्तरविरोधी होइनन् बरु अन्तरसम्बन्धित छन् । यी एक अर्कामा पूरक पनि छन् । यिनको बिचमा रणनीति र कार्यनीतिको सम्बन्ध छ । सी जाति कम्युनिस्टहरुले भन्दै आएको जातीय विलोपीकरणको सैद्धान्तिक मान्यताको व्यवहारिक प्रयोग हो । व्यवहारिक प्रयोगको सन्दर्भमा आउने जटिलता र कठिनाई नै अहिलेको सी जातिको कार्यान्वयन र प्रयोगका समस्या हुन् जुन अस्वभाविक छैनन् र सामान्य पनि छैन । कुनै पनि वस्तुको आविष्कार गर्दा वा नयाँ प्रयोग गर्दा जति सिद्धान्तको व्याख्या गर्दा सजिलो हुन्छ, त्यतिनै प्रयोगको बेला कठिन हुने गर्दछ । फेरी पनि विज्ञानले सयौं पटकका प्रयोगबाट र असफलताहरुबाट आफूलाई विज्ञान सावित गर्दै सफलताको शिखर चुम्ने गर्दछ । सी जातिले यही प्रक्रिया समातेको छ । अनेक प्रश्न, आशंका, भ्रम, र जिज्ञासाहरु चिर्दै एक दिन गन्तव्यमा पुग्ने छ ।
२० फागुन २०८०
जनपत्रिका मासिक १७ औँ अङ्क