३१ भाद्र २०८१, सोमबार

माओवादी घटकहरुबिचको ध्रुवीकरण हुन नदिने षड्यन्त्र हुँदैछ : विषम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले माओवादी घटकहरु बिचको एकता हुन नदिने षड्यन्त्र सुरु भएको खुलासा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बाँकेको दोस्रो पूर्ण बैठकलाई शनिबार जिल्लाको कोहलपुरमा सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले यस्तो खुलासा गरेका हुन् ।
उनले माओवादी घटक तथा वामपन्थी कम्युनिष्ट शक्तिहरु बिचको एकता हुन नदिने मुख्य षड्यन्त्र साम्राज्यवादले सुरु गरेको खुलासा गरे ।
उनले भने, ‘नेपालमा माओवादी कम्युनिष्ट शक्तिहरु बिचको ध्रुवीकरण जरुरी छ, तर अमेरिकी साम्राज्यवादले एकता हुन नदिने चलखेल गरेको छ ।’
उनले नेकपा माओवादी केन्द्र भित्रैबाट जनार्धन शर्मा, अनन्त र नारायणकाजीहरु समेत माओवादी एकताको प्रस्तावमा खासै सकारात्मक हुन नसकेको टिप्पणी गरे ।
स्थायी समिति सदस्य विषमले भने,‘जनार्धन शर्मा, अनन्त र नारायणकाजीहरु एकताको विरुद्ध जस्तो देखिएका छन्, तल्लो तहमा र अरु नेताहरुमा माओवादी एकताको दबाव चर्को छ, माओवादीहरु एकता हुन नदिने डिजाईन साम्राज्यवादको हो । यो डिजाईनमा माओवादीहरु पर्नु हुँदैन, यसमा हामी सबै माओवादीहरुले बुझनु पर्छ र एकतालाई जोड दिनु पर्छ ।’
उनले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा साम्राज्यवादी र युरोपियन युनियनहरु लागेको बताए । नेता विषमले प्रचण्डको सरकार ढाल्ने खेलमा माओवादी भित्रैबाट पनि एउटा टिम लागेको आरोप लगाए ।
उनले अहिलेको गठबन्धन प्रतिगामी दिशामा जान खोजेको पनि बताए । उनले भने ‘अहिलेको गठबन्धन त्यति राम्रो होइन, मुख्यगरी यो गठबन्धन साम्राज्यवादले आफ्ना असली दलाल खडा गर्न बनाएको हो । त्यसका लागि संविधान संशोधन गरी सामानुपातिक प्रणाली हटाउने र राष्ट्रिय दल बन्ने थ्रेस होल्ड बढाउने कांग्रेस एमालेको दाउ छ । यो दाउ भनेको नेपालमा एमसीसी र एसपीपी कार्यान्वयन गर्ने र नेपाललाई रणमैदान बनाउने भित्र केन्द्रीत छ ।’
‘भारत, बेलायत र अमेरिका जस्तो देशमा ठुला दलहरुले मात्र सत्ता कब्जा गर्ने २ पार्टी सिस्टम छ, त्यो सिस्टम नेपालमा लागु गर्न कांग्रेस एमालेले खोजेका छन्’ उनले भने, ‘यो नेपालको लागि कुनै पनि हालतमा हुन सक्दैन, नेपालमा एमाले साम्राज्यवादी दबावले प्रतिगामी दिशातिर जान खोजेको छ, तर सबै पार्टीभित्र अन्तरविरोध छ, अहिलको गठबन्धन सरकारमा कांग्रेसभित्रै र एमालेभित्र पनि असन्तुष्टि देखिएका छन् ।’
उनले पार्टीलाई जनतासंग जोड्नका लागि विशेष ध्यान दिन आग्रह गरे । नेता विषमले बाँके जस्तो जिल्लामा आर्थिक विषयलाई मात्र केन्द्र बिन्दु नबनाई संगठन निर्माणमा विशेष ध्यान दिन सुझाव दिए ।

  बैठकमा नेकपाका पिविएम तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य शेखर सी र नारायण सीले पनि मन्तव्य राख्दै पार्टीलाई जनतातिर फर्काउनु पर्नेमा जोड दिएका थिए । नेकपा बाँकेका जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।