सन् १८१६ को सुगौली सन्धिपछि गुमेको भु-भाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न इष्टइण्डिया कम्पनिलाई सहयोग गरेबापत गुमेको ४४ वर्षपछि सन् १८६० मा पुरस्कार स्वरुप प्राप्त गरेको नौलो नेपालको नाम हो बर्दिया । उत्तरको चुरे पर्वत शृङ्खला, पूर्व बाँके, पश्चिम कैलाली र दक्षिण भारतले घेरिएको ७४ कि.मि. लम्बाई र ३५.७१ कि.मि. चौडाई भित्र २०२५ वर्ग कि.मि. क्षेत्रफलमा अवस्थित यस जिल्लामा बाघ र अन्य वन्यजन्तु संरक्षित बर्दिया राष्ट्रिय निकुञ्ज, खाता संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, कर्णाली/भेरी तथा बबई नदी, थारु संस्कृतिको मौलिकता बोकेको, प्राकृतिक तथा पर्यटकीय स्थल रहेको जंगलैजंगलको जिल्लाको रुपमा चिनिन्छ ।साथै समथल भू-भाग, मलिलो माटो र सिचाईंका कारण अन्नबालीको भन्डारको रुपमा समेत यस जिल्लालाई चिनिने गरिन्छ ।
जिल्लाको नामाकरण सम्बन्धि विभिन्न जनश्रूति, धार्मिक एवं पौराणिक कथनअनुसार भिन्नभिन्न मतहरु छन् । तथापि थारु भाषामा गाई गोरुलाई बलीवर्द भनिन्छ ।यहाँ गाई गोरुलाई प्रशस्त चरन क्षेत्र भएकाले धेरै गाई गोरु पाल्ने र धेरै बर्दवाहरु बसोबास गर्ने भएकाले पछि अपभ्रंस भै यस जिल्लाको नाम बर्दिया रहन गएको ऐतिहासिक तथ्य छ । यो सुन्दर भूमिमा वि.स.२०७८ को राष्ट्रिय जनगणनानुसार करिब ५३% थारु समुदायको बसोबास रहेको छ । आफ्नै मौलिक भाषा, संस्कृति र संस्कारसहित बर्षौंदेखि तराईको टन्टलापुर गर्मी, मच्छर लगायत विषालु सर्प र किराहरुसंग जुध्दै चारकोसे झाडीलाई आवाद गर्दै पसिना चुहाएर खेतीयोग्य जमिन बनाउनमा यहाँका आदिवासी थारुको अतुलनीय योगदान रहेकोछ । साथै नेपालमा जहानिय राणा शासनदेखि सामन्ती राजतन्त्रको बलमा स्थानीय सामन्त र जमिनदारहरुले अन्याय, अत्याचार र थिचोमिचो गरि यहाँका सोझा थारुहरुको जमिन हडपेर सुकुम्बासी र कमैया बन्न बाध्य बनाइएको समकालीन परिवेशमा वि.स.२०५२ सालबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा संचालित महान जनयुद्धले सबैभन्दा पहिला यहाँका सुकुम्बासी र कमैया थारुहरुलाई छोयो र उनीहरु मुक्तिको कफन बाँधेर आगोको यात्रामा हामफाले । जसको प्रत्यक्ष नेतृत्व गर्नुभएको थियो क.रामचरण चौधरी (सागर) ले उहाँ साबिक बर्दिया जिल्ला भउँराटप्पामा अवस्थित पाथाभार गा.वि.स.को हाल गेरुवा गाउँपालिका वडा नं.१ जनकनगरमा बुवा मान बहादुर चौधरी र आमा टुन्नी थारुको कोखबाट २०१४ साल बैशाख महिनामा जन्मनु भएको थियोे । गाँउको सबैभन्दा ठुलो परिवार भनेर चिनिने मान बहादुर चौधरीका दश भाई छोरा र छ बैनी छोरी मध्ये जेठो सन्तानको रूपमा जन्म लिनुभएका रामचरण चौधरीको स-परिवार जनयुद्धमा सहभागी थियो । सेतिया देवि थरुनीसंग परम्परागत विवाहबन्धनमा बाँधिनु भएका क.रामचरणका चार छोरी र दुई छोरा मध्ये साँहिली छोरी क.ज्योति थारु र भाइ हेलु थारु महान जनयुद्धमा सहिद बन्नुभएको थियो । उहाँ आर सी उपनामले पनि चिनिनुहुन्थ्यो । सानैदेखि विद्रोही स्वाभावका क.आर सीले श्री जनता मा.वि.गोलामा औपचारिक शिक्षा हासिल गर्नुभएको थियो । स्वास्थ्य सेवामा सरकारी जागीर खाँदै गर्दा वर्तमान राज्य व्यवस्थाद्वारा गरिएका अन्याय अत्याचारको विरुद्ध भुमिगत रुपमा संगठन निर्माण गर्दै महान जनयुद्धको प्रचार-प्रसार गर्न थाल्नुभयो र विद्रोहको मसाल भुसको आगो झैं सल्काउनु भयो । ती प्रारम्भिक संगठन निर्माण र प्रचारप्रसारका दिनलाई सम्झदै सहपाठी दुखिराम थारु भन्छन् ।” हामीलाई कम्युनिस्ट भन्ने कुरा थाहा थिएन; दिउँसो स्वास्थ्य संस्थामा नागरिकको उपचार गर्नुहुन्थ्यो ।रातिराति हामीलाई साथमा लिएर माओवादी आन्दोलनको प्रचार गर्नु हुन्थ्यो;हामी त कर्मचारी हाकिमले भनेको मान्नै पर्यो उहाँको संगतले हामी पनि कम्युनिस्ट भइएछ ।” यसरी एउटा स्वास्थ्य क्षेत्रको कर्मचारी थारु मुक्तिको सम्बाहक एवं जुझारु क्रान्तिकारी नेता भएर महान जनयुद्धमा समाहित हुनुभयो । सामन्ती राजतन्त्र एवं संसदीय व्यवस्थाका विरुद्धको सशस्त्र संघर्षमा जीवन मरणको लडाइँमा होमिएका बेलाका आफ्ना विगत सहकार्यका अविस्मरणीय क्षणलाई सम्झदै नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा भन्नुहुन्छ “उहाँ मेरो एकदमै मिल्ने साथी हो । जनयुद्ध लडिरहेको पार्टीको म मगर मोर्चाको अध्यक्ष र उहाँ थारु मोर्चाको अध्यक्ष, जातीय मुक्तिका हर सवालमा हामी घण्टौ छलफल गर्थ्यौं र निष्कर्ष निकाल्थ्यौं । उहाँ इमानदार एवं आफ्नो वर्गप्रतिको निष्ठावान नेता हुनुहुन्थ्यो । यस्तै २०५४ सालतिरको कुरा हो; एकपटक हामी लखनउबाट पार्टीको ब्यूरो बैठक सकेर नेपाल फर्कने क्रममा पलिया भन्ने स्थानमा पुगेपछि तत्कालीन राज्यसत्ताको धरपकटबाट कैलाली र बर्दिया जिल्लामा कार्यरत नेता कार्यकर्ताहरु क.यज्ञश्वर शर्मा, क.भिम भाट, क.टंक बोगटी लगायत कमरेडको शहादत भएको र कैयौं कमरेडहरु हताहत भएको खबर एकजना त्यतै पुगेका कमरेडमार्फत थाहा पायौं । हामी निकै भावविह्वल भयौं । सर्वस्व गुमेको अनुभूति भयो । त्यही बैठकले क.यज्ञश्वरलाई कैलाली जिल्लाको सेक्रेटरी बनाएको थियो ।
हाम्रो साथमा तत्कालीन कर्णाली उपक्षेत्रीय इन्चार्ज क.विप्लव पनि हुनुहुन्थ्यो । कमरेड विप्लव पुनः बदलिएको परिस्थिति र घटनाक्रमको रिपोर्ट गर्न ब्यूरो इन्चार्ज क.दिवाकरलाई भेट्न लखनउ जानुभयो; हामी भने त्यतै एउटा होटेलमा बस्यौं । क.सागरले अब यता बसेर हुँदैन म स्थानीय छु, देशभित्रको पूरा खबर बुझेर हजुरलाई खबर पठाउछु भन्दै भित्र पस्नु भयो र भित्रको ताजा अपडेट पठाइरहनुभयो । युद्ध लडिरहेको पार्टी कतिबेला के हुने हो ? कुनै ठेगान हुँदैन थियो । उहाँसँग संगै रहेर बर्षौंसम्म बर्दिया र कैलालीका बस्तीमा जागरण अभियान चलायौं । यी र यस्ता जोखिमपुर्ण यात्राका क्षणहरु ताजै छन् र रहिरहनेछन् । उहाँ सादा जीवन र उच्च विचारको खानी हुनुहुन्थ्यो ।” महान जनयुद्ध कालको कुरा हो । मिति ठ्याक्कै याद छैन । पाइन्ट सर्ट्मा चिटिक्क सजिएको, अग्लो ज्युडाल, पातलो शरीर, तिलचाम्ले दाह्रीजुङ्गा, मुसुक्क हाँस्दै कैलाली उत्तरको चुरे पहाडको कुनै खोंचमा राता-राता झण्डा र ब्यानरले झकिझकाउ हलमा थारु लवजमा पार्टीको केन्द्रिय सदस्य एवं थारु मुक्ति मोर्चाको केन्द्रिय अध्यक्षको हैसियतमा ओजस्वी भाषण गर्दै गर्दा एउटा कार्यक्रममा साक्षात्कार भएको यो पंतिकारलाई पनि धुमिल-धुमिल यादहरु मानसपटलमा छन् ।
उहाँको सरल जीवनशैलीले गर्दा नै भीषण वर्गसंघर्षमा हेलिदै गर्दा उहाँको आदर्श पछ्याउदै सयौं थारु नौजवान युवा-युवतीहरु त्यो परिवर्तनको महान यात्रामा मुक्ति या मृत्युको कसम खाँदै टाउकोमा लाल कफन बाँधेर लामबद्द भए। एउटा जमिनदारको घरमा कमैया बसेकी जुना चौधरी छापामार सेनाको कमान्डर बनिन् र कब्जा गर्ने क्रममा जमिनदारकै गोलि लागे शहादत प्राप्त गरिन भने विशाल चौधरी लगायत५७८ बढी योद्धाहरु अमर सहिद बने।सयौं घाइते तथा अपांग बने। साथै जनयुद्धको प्रारम्भदेढखि संघर्षमा होमिएका क.रामचरण चौधरी थारु मुक्ति मोर्चाको केन्द्रिय अध्यक्षका साथै वि.स.२०५४मा नेकपा(माओवादी)को भारतको दिल्लीमा भएको चौथो विस्तारित बैठकबाट क्षेत्रीय ब्यूरो सदस्य बन्नु भएको थियो भने वि.स.२०५७ सालको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा चुनिनुभयो । शान्ति वार्तापछि २०६३ मा अन्तरिम पस्थापिका सदस्य एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्नुभएको थियो ।साथै २०६४ मा बर्दिया क्षेत्र न.२बाट संबिधानसभा सदस्य निर्वाचित भएपछि नेपाल सरकारको भूमी व्यवस्था मन्त्री भएर चीन लगायत देश विदेशको भ्रमण समेत गर्नु भएको थियो ।
क्यान्सर जस्तो घातक रोगका कारण उपचारकै क्रममा वि.स.२०७३ असोज १५ गतेका दिन एक क्रान्तिकारी योद्धा, बर्दियाबासीको आशा र विश्वासको केन्द्र,महान योद्धाको अकल्पनीय दु:खद निधन भयो । उहाँको निधनले सिङ्गो कम्युनिस्ट आन्दोलन,बर्दिया जिल्लाबासी, पार्टी पंक्ति ,आफन्तजन र परिवारलाई अपूर्णनिय क्षती पुगेको छ । उत्पीडित वर्ग समुदायको प्रिय नेताको सम्मान स्वरुप गेरुवामा आर.सी.स्मृति प्रतिष्ठान र बारबर्दियाको जयनगरमा आर.सी.मेमोरियल अस्पताल स्थापना भएको छ । नेपाल सरकारद्वारा संविधान दिवस २०७८ को अवसरमा मरणोपरान्त सामाजिक अगुवा एवं आन्दोलनको योद्धाको रुपमा विभुषण प्रदान गरिएको छ । एउटा महान योद्धाको मृत्युको नवौं स्मृति दिवसमा उहाँप्रति शब्द श्रद्धाञ्जली!
क.हिमशिखर सी
केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज नेपाल कम्युनिस्ट पार्टी
२०८१ असोज १५