३० कार्तिक २०८१, शुक्रबार

छिमेकी रामबहादुर चौधरीले देखेको भविष्य

0

 

बसन्ता कोरिडरको छेउबाट घना जंगलको बिचमा बगिरहेको कान्द्रा नदी अति रमणीय देखिन्छ । यो ठाँउ चलचित्र  सुटिङको लागि उपयुक्त सुन्दर भूगोल भन्दा अतिशयोक्ति नहोला । त्यही नदीको किनारमा रहेको रतिपुर गाउँको छेउमा हामी बस्छौं । सबै समुदायको मिश्रित बसोबास रहेको उक्त गाउँमा किसानहरुको बाहुल्यता छ । गाउँका धेरैजसो युवादेखि प्रौढसम्मका पुरुषहरू रोजगारीको खोजीमा भारत लगायत विदेशतिर छन् ।

हामी बस्ने गाउँ रतिपुरमा प्रायःजसो दिनहुँ तरकारी तथा फलफूल बेच्न, कवाड संकलन गर्न, ग्यास चुला तथा कुक्कर मर्मत गर्न, कुखुराका चल्ला तथा प्लास्टिकजन्य सामग्री बिक्री गर्न आदि काममा भारतीय नागरिक आइरन्छन् र उनीहरुले राम्रै आम्दानी गरेको बुझ्न सकिन्छ । यही कान्द्रा नदीको दक्षिणी क्षेत्रको किनारामा मंसिरदेखि जेठसम्म सयौं बिघामा बगरखेती गरेर वर्षेनी करोडौं रुपियाँ आम्दानी गरेर भारतीय नागरिक फर्कन्छन् । नजिकै रहेका स्थानीय बजारमा तरकारी तथा फलफूलका ठुला व्यापारीदेखि कपाल काट्ने आदि काममा प्रायःजसो श्रमिकहरु भारतीय नै भेटिन्छन् । यहाँ रहेका खाद्यान्न तथा डिटरजेन्ट उद्योगमा काम गर्ने दक्ष श्रमिक पनि भारतीय नै छन् । हामी बस्ने गाउँ नजिकै  एउटा कोल्ड स्टोर पनि छ, जहाँ अपरेटरको रुपमा काम गर्ने पनि भारतीय नागरिक छन् ।

नजिकै रहेका अन्य इट्टा भट्टामा काम गर्ने प्रायःजसो भारतीय दक्ष श्रमिकहरु भेटिन्छन् । सुदुरपश्चिमका मुख्य आर्थिक केन्द्र कैलाली र कञ्चनपुरमा प्रायःजसो इट्टा उद्योग, खाद्यान्न तथा चिनी मिलहरु लगायत जति पनि कलकारखानाहरु छन्, त्यहाँ काम गर्ने धेरैजसो दक्ष श्रमिकहरु भारतीय छन् । यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्रै होइन सायद देशभरिको अवस्था यस्तै हो । कपाल काट्ने पसलदेखि इट्टा उद्योग, सिमेन्ट उद्योग, टेक्स्टाइल उद्योग, खाद्यान्न मिलहरु, जुटमिल आदि उद्योग तथा कलकारखानामा काम गर्ने दक्ष तथा अदक्ष श्रमिकहरु प्रायःजसो भारतीय नागरिक रहेको समाचारहरु आइरन्छन् । पछिल्लो समयमा निर्माणको क्षेत्रमा काम गर्ने नेपाली श्रमिक भेटिन छोडेपछि महंगो ज्यालामा ठुलो संख्यामा भारतीय कामदार ल्याउन बाध्यता भएको निर्माण व्यवसायीले भन्ने गरेका छन् । हाइड्रोमा काम गर्ने दक्ष तथा अदक्ष श्रमिकहरु विदेशी छन् । उद्योग तथा कलकारखाना चलाउनेदेखि मिठाई पसल, कवाड व्यवसाय, ग्यारेज, मेसिनरी, कपडा, शृंगार, खाद्यान्न आदि व्यवसाय उल्लेखनीय संख्यामा भारतीय नागरिकहरुले गरिरहेको भेटिन्छन् ।

समाचारमा आएका तथ्यांकलाई मान्ने हो भने लगभग १२ लाख बढी भारतीय श्रमिकले नेपालमा काम गर्ने रहेछन् । भारत बाहेक दर्जनौं अन्य देशका नागरिकहरुले पनि नेपालमा काम गर्ने गरेको तथ्यांकहरुले भन्छ । बार्षिक ४ खर्बको हाराहारीमा भारतले मात्र नेपालबाट आफ्नो मुलुकमा रेमिटेन्स भित्र्याउने रहेछ । यहाँ यी विषय किन जोड्न खोजेको भन्दा एकातिर विदेशी नागरिकहरुले नेपालमा भविष्य देख्दै कामको खोजीमा आउँछन् र हाम्रो घर, आँगन, खेतबारी, खोला नाला, भिरपाखा, सहर बजारबाट नेपालीहरुले घिन मानेका, लाज मानेका, अफ्ठ्यारा मानेका कामहरु गर्दै यहाँका प्राकृतिक श्रोत साधनको प्रयोग र उपयोग गर्दै वर्षेनी खरबौ रुपियाँ लगेर जान्छन् भने अर्कोतिर नेपालमा केही वर्ष पहिलेदेखि एउटा डरलाग्दो खालको हावा चलाइएको छ कि यहाँ केही छैन, नेपालमा भविष्य छैन, काम गर्ने र बस्ने वातावरण छैन, राज्य दलालहरुको कब्जामा गयो र नेताहरू भ्रष्ट भए, देश बर्बाद बनाए, जनयुद्ध भयो, जनआन्दोलन भयो केही भएन भन्दै आक्रोश र निराशा बोक्दै दैनिक हजारौं युवा जनशक्ति विदेश पलायन भैरहेको छ ।  यसमा केही विषय सही छन् तर सबै सत्य होइनन् ।

के कुरा सही हो भने राज्यले नै आफ्ना नागरिकहरुका लागि देश बस्न योग्य बनाएको छैन, नागरिकहरूलाई लावारिस छोडिएको छ । जनताको जीवन निर्वाहको विषय महँगो हुँदै गइरहेको छ । सोही अनुसारको आम्दानीको आधार राज्यले तयार गर्नुपर्ने हो, त्यो  भएको भेटिदैन । नागरिकहरुको जीवनको विषयमा सोच्नुको सट्टा दलहरू सत्ता लुछाचुडीको लागि छक्का पन्जाको खेल खेलिरहेका छन् । शासकहरु जनताको ढुकुटी सोहर्ने र राष्ट्रलाई विदेशीहरुको प्रयोगशाला बनाउने सवालमा दिनहुँ नयाँ नयाँ काण्डहरु मंचनमा व्यस्त देखिन्छन् । बरु फेरबदल भइरहने सरकारहरु नै कसैको नीहित स्वार्थमा संस्थागत र नीतिगतरुपमा नै युवा जनशक्ति निर्यात गरिरहेका छन् । राज्यले नै नागरिक पलायनतालाई प्रोत्साहन गरिरहेको छ ।

सिंहदरबारको कार्यकारी भूमिकामा पुगिसकेका नेताहरु नै नेपालमा केही छैन, टिक्ने वातावरण छैन त्यसैले विदेश जानु स्वभाविक हो भन्छन् । उदाहरण दिदै कोरियनहरु पनि कुनै बेला विदेश जानु गर्वको कुरा ठान्दथे, नेपाली युवाहरू पनि गर्वका साथ विदेश जानुपर्छ भन्छन् । मानव तस्करहरु नै गाउँ टोल, स्कुल कलेजमा गएर खुलेआम नेपालमा केही छैन हामी विदेश पठाउछौं, हामी तिमीहरूलाई रोजगारी दिन्छौं भन्दै बिज्ञापन गर्दै हिडिरहेका छन् । संसदवादीहरु जनता बेकुफ बनाउदै निर्वाचन मार्फत राज्य ढुकुटीको साँचो आफ्नो हातमा पार्न समृद्ध नेपाल ! सुखी नेपाली ! जस्ता ढोँगी नाराहरु लगाउदै हिडिरहेका छन् ।

अर्को सत्य र सबैले बुझ्नुपर्ने कुरा के हो भने श्रमले नै उत्पादन गर्ने हो, सृजना गर्ने हो, निर्माण गर्ने हो र समाजले समृद्धि हासिल गर्ने हो । जहाँ श्रम हुन्छ, पसिना बग्छ , समृद्धि त्यही समाजको हुने हो । त्यही मुलुकको पुँजी वृद्धि  हुने हो । यही शासन व्यवस्था र यिनी शासकहरु जनताको पक्षमा छैनन् भन्ने कुरा सही छ तर गलत व्यवस्था र शासकहरु विरुद्धको राजनैतिक संघर्षले नै सहि व्यवस्था र शासक निर्माण गर्ने हो। मानव समाजको विकास र अस्तित्व रक्षाको निमित्त सबै क्षेत्रमा संघर्ष चलिरहेकै छन् । समृद्ध भनिएका मुलुकहरू जहाँ लाखौं युवाहरु पुगेका छन् तिनीहरु यसरी नै अरुलाई रोजगारी दिने अवस्थामा पुगेका हुनुपर्छ ।

नेपालमा केही छैन, सकिदैन, संभव छैन भन्ने  कुरा सही होइन । नेपालमा छ, संभव छ र गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ १२ लाख भन्दा बढी भारतीय श्रमिकहरु नेपालमा काम गरिरहेको कुराले सिद्ध गरिसकेको छ । गर्न सक्ने आँट, जाँगर र इख हुने हो भने नेपालमा गर्ने क्षेत्र छन्, संभव छ, सकिन्छ भन्ने एउटा अर्को उदाहरण हुन् हाम्रा छिमेकी राम बहादुर चौधरी । उनी हाम्रो छिमेकी गाउँ गणेशपुरका किसान हुन् । राम बहादुरका पाँच भाइ रहेछन् । उहाँका पाँच भाइसहित सिंगो परिवार विगत १५ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएको छ । आफू खानलाई खाद्यान्न बाली पनि लगाउनु हुन्छ तर मुख्यतः तरकारी खेतीबाट नै वर्षेनी लाखौं रुपियाँको तरकारी बिक्री गरेर आम्दानी गर्नुहुन्छ ।

एकातिर आम्दानीबाट घरायसी खर्च, स्वास्थ्य उपचार, केटाकेटीको शिक्षा दिक्षा लगयतमा खर्च गर्नुहुन्छ भने अर्कोतिर तरकारीको आयातबाट हुने ब्यापार घाटा कम गर्नमा सानो स्केलमा भएपनि राष्ट्रलाई टेवा पुर्याइरहनु भएको छ । अरु चार भाइहरुले पनि उहाँकै सिको गरिरहेका छन् । तरकारी खेती बाट नै एउटा छोरा पढाएर नेपाल मै जागिरे रहेछन् । अर्को छोरा पनि कृषिमा स्नातक गरिरहेका रहेछन् । विदेशमा कमाउन जानु भएन नि तपाईं ? आफ्नै गाउँमा कसरी भविष्य देख्नु भयो भन्ने उहासंग जिज्ञासा राख्दा -“भारतीय नागरिकहरुले यहाँ आएर कृषि कर्म गरेको र फलफूल तरकारी बेचेको देख्दा आत्मविश्वास र ईख पलायो । विदेशमा गएपनि साहुको खेतबारीमा,घरमा, पसल आदिमा यस्तै परिश्रम गर्नुपर्ने हो । त्यो भन्दा त आफ्नै खेतबारीमा,घरपरिवार , केटाकेटी, साथीभाई संग रमाउनु उचित लाग्यो । गरेपछि नेपालमा पनि राम्रै हुन्छ। मैले त गर्नलाई नेपालमै थुप्रै कामहरू देखिरहेको छु । महिनामा लाखौं कमाउन नसके पनि  वर्षभरीमा राम्रो आम्दानी हुन्छ । ” भनेर सुनाउनु भयो ।

निष्कर्षमा भन्दा सर्वप्रथम त नेपालको राज्यसत्ता दलाल पुँजीपतिवर्गको नियन्त्रणमा छ भन्ने कुरामा हामी स्पस्ट हुन जरुरी छ । यसले राष्ट्रिय पुँजिको विकासमा अवरोध सृजना गरिरहेको छ। यसले नेपालमा उत्पादन गर्नेमा भन्दा पनि नेपालका शासकहरुलाई एजेन्ट बनाएर यहाँ उपलब्ध तथा आफुलाई  चाहिने श्रोत साधन माथी कब्जा जमाएर  बहुराष्ट्रिय कम्पनीहरुमा उत्पादित वस्तु नेपाली बजारमा बेचिरहेको छ । त्यसैले दलाल पुँजीवादको सिकार उनीहरुको लागि सस्तो र सजिलोसँग प्राप्त हुने श्रमशक्ती नेपालको युवाहरु भैरहेका छन् । यस्तो अवस्थामा नेपालको दलाल पुँजीवादी सत्ताले देश नै रित्तो हुने गरी नेपाली युवाहरु योजनावद्व रुपले पलायन गराइरहेको अवस्थामा यसका विरुद्ध उभिने चेतनाको विकास गर्दै हामीलाई चाहिएको वास्तविक लोकतान्त्रिक व्यवस्था नेपाली विशेषताको समाजवादी क्रान्तिको लागि गोलबन्द हुनुपर्छ जसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ ।

समाजवादी व्यवस्था जसले स्थिरता, सुशासन, समृद्धि र स्वाधीनताको लागि आधार तयार गर्ने राजनैतिक कार्यक्रम र स्वदेशमा नै काम गर्ने न्यूनतम आधार तयार गर्छ । दोस्रो कुरा आफ्नो मुलुकको समृद्धिका लागि र आफ्ना नागरिकको सेवकको रुपमा पुँजीवादी मुलुकहरुले नेपाली श्रमिक युवाहरुलाई जुन किसिमले प्रयोग गरिरहेका छन्, त्यसका विरुद्ध हामीले श्रमले नै समृद्धि ल्याउछ भन्ने चेतना विकास गरेर राष्ट्र निर्माणका लागि स्वदेशमा नै उत्पादमूलक काम गर्ने श्रम संस्कृतिको विकास गर्नुपर्दछ । श्रम संस्कृतिलाई नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृवले जीवन व्यवहारमा लागु गरिसकेको छ । एकपटक सबैले सोच्नै पर्छ । धन्यवाद !

२०८१ असोज १२, कैलाली 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।