सहिदहरु कमरेड चन्द्रबहादुर पुरी र कमरेड हरि नेपालको ४५ औं स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै क. चन्द्रबहादुर पुरीप्रति सम्झना स्वरुप यो लेख ।
“कम्युनिष्टहरु आफ्नो विचार र उद्देश्यलाई लुकाउन खोज्दैनन् । उनीहरु खुलमखुल्ला के घोषणा के गर्छन् भने सारा विद्यमान समाज व्यवस्थालाई जवरजस्त खतम पारेरमात्र उनीहरुको लक्ष्य प्राप्त गर्न सकिने छ।” -कम्युनिस्ट घोषणा पत्र ।
सामन्ती सत्ताको कालो रात्रि चिदै पूर्वी क्षितिजमा उदाएका रातो तारा संशोधनवादी जिउँदो लासहरुको विरुद्ध जीवन बलिदानको चुनौती दिनुहुने वर्गशत्रुलाई घृणा गर्दै सामन्ती सत्ताको विरुद्ध बन्दुक उठाउँनुहुने कम्युनिष्ट क्रान्तिकारीका लागि ऐतिहासिक शिक्षा दिनुहुने नेपाली कम्युनिष्ट आन्दोलनका एक वीर योद्धा, महान् सहिद क. चन्द्र पुरीलाई लालसलाम अर्पण गर्दछु ।
सङ्खुवासभा जिल्ला तत्कालीन शिभुवा स्यावुन पन्चायत वडा नं.-४ खुदुर्कीको अत्यन्तै गरिब किसान परिवारमा बुवा मकरध्वज पुरी र आमा सञ्चमायाँ पुरीको ७ भाइ छोरामध्ये कान्छो सुयोग्य छोराको रुपमा वि.सं. २००४ साल मंसिरमा उहाँको जन्म भएको थियो । साहु महाजनको चुसाइ र उत्पीडनमा परेको उहाँको परिवार, अनगिन्ति दुःख, कष्ट, अभाव र भोकतिर्खा सहँदै उहाँको बाल्यकाल बित्यो । सानै उमेरमा आमाको देहान्त भएपछि आमाको न्यानो माया पाउनु भएन । औपचारिक शिक्षा पनि उहाँले पाउनु भएन । व्यवहारिक जीवनमा अत्यन्तै कष्ट खेप्नुपयो । सामन्तको घरमा हली गोठालो पनि बस्नुभयो । आफ्नै खेतबारीले जीवन धान्न नसकेपछि भारतको आसाम गएर उखु खेती गर्नुभयो । त्यहाँबाट फेरि भुटानतिर लाग्नुभयो । केही वर्ष यसरी विदेशी भू-भागमा रहेपछि फेरि उहाँ नेपाल आफ्नै गाउँमा फर्कनुभयो ।
क. चन्द्र पुरी साहस स्वभिमान र वर्गीय प्रेमको धनी मान्छे हुनुहुन्थ्यो । अन्याय अत्याचारको विरोध गर्ने विद्रोही स्वभावको हुनुहुन्थ्यो । जोर नारी भएको शारीरिक सुगठित स्वस्थ अग्लो अत्यन्तै मिलनसार हुनुहुन्थ्यो । घर फर्किएपछि उहाँले सामन्त खतम गर्ने आन्दोलन अर्थात समाजवाद स्थापना गर्ने अभियानमा जोडिनु भयो । यहि क्रममा क. बासुदेव शाक्य, हरि नेपाल लगायतसङ्ग भेटघाट सम्पर्क गर्न थाल्नु भयो । २०२८ सालदेखि कम्युनिष्ट पार्टीमा संघर्षशील भएर काम गर्नु भयो । क. बासु शाक्यको प्रभाव र प्रेरणामा कम्युनिष्ट बन्नु भएको उहाँले मार्क्सवादको स्वअध्ययन गर्नुभयो । अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारीको को-अर्डिनेशन कमिटीमा रहेर काम गर्न थाल्नु भयो ।
गाउँकै माया शेर्पासँग अन्तर्जातीय विवाह गर्नुभयो । २०३४ साल चैत २८ मा जेठी छोरी मिनाको जन्म भयो । २०३४ साल चैत्रमा आफ्नी सुत्केरी श्रीमती र नाबालक छोरीलाई छाडेर देश र जनताको मुक्तिको खातिर कम्युनिस्ट आन्दोलनमा भूमिगत बन्नुभयो । २०३४ साल माघ २५ गते आनन्द सन्तोषी राईको उपस्थितिमा गठित “मकालु” जिल्ला कमिटीको सदस्य बन्नुभएको थियो । को-अर्डिनेशन केन्द्र ताप्लेजुङको होनाहार योद्धा बन्नुभयो भने मालेको २०३५ साल चैत्रको जिल्ला सम्मेलनले वैकल्पिक जिल्ला कमिटी सदस्य र २०३६ सालमा जिल्ला कमिटी सदस्य बन्नुभयो । आफ्नो कार्यक्षेत्रमा पार्टीले सुम्पिएको जिम्मेवारीलाई दृढ भएर अविचलित ढङ्गले बहस गर्दै लागिरहनु भयो ।
उहाँको हत्या भएको ६ महिनापछि कान्छी छोरी मनमायाको जन्म भयो । कान्छी छोरीले आफ्नो बुवाको अनुहार हेर्न पाउनु भएन भने उहाँले छोरा या छोरी के हुन्छ उसको चेहरा समेत हेर्ने चाहना पूरा भएन । जेठी छोरी मिना पुरीको विवाह भइसकेको छ भने कान्छी छोरी मनमाया पुरी (क.उषा) जनयुद्धमा लामवद्ध बनी रुम्जाटारको मोर्चा लडेर फर्कने क्रममा वेपत्ता हुनुभएको हो । हालसम्म पनि वेपत्ता नै हुनुहुन्छ । उहाँले आफ्नो बुवालाई देख्नसमेत पाउनुभएन ।
निरंकुश पंचायती व्यवस्थामा कम्युनिष्टहरुले आफ्नो राजनैतिक गतिविधि खुलमखुल्ला गर्न पाउँदैनथे । पञ्चे, मण्डले, सामन्ती शासकहरुको दबदबा थियो । सामन्तीहरुको शोषण दमन चर्को थियो । ऋण असुल गर्दा गरिबहरुले टिनका टिन घ्यू, मह, कुराउनी, मृगको सुकुटी, कालीज, खसी बोका, सिपि, कौडा, सुन र काँस, तामा, पित्तलका भाँडाकुँडा बुझाउनु पर्दर्थ्यो । यतिसम्मकी धरानबाट ल्याएको मोटा चामलसमेत किसानबाट उठाउने गर्थे । त्यसताका सामन्तहरु हातमा बन्दुक बोकेर धुपौरेहरुको दलबलसहित किसानहरुबाट चर्को ठेकी ब्याजसहित ऋण असुल गर्न किसानहरुको बस्ती बस्तीमा पुग्ने गर्दथे । घरमा गाई भैंसी ब्यायो भने बिगौती पुर्याउनु पर्ने, कुखुरा, बाख्रा गाई भैंसीको बच्चाहरु पनि केहि बुझाउनु पर्थ्यो भने राम्री छोरी र बुहारी हुनु पनि अभिशाप थियो किनकि सामन्तले दिउँसै खुलेआम छोरीबुहारीको इज्जत लुट्ने गर्थे, अत्याचार यहाँसम्मको थियो कि सामन्तीहरुलाई मनपर्ने राम्री छोरी, बुहारी र श्रीमतीसमेत छाडिदिनु पर्दथ्यो । केही सोझा सिधा इमान्दार किसानहरुलाई तमसुकमा शून्य थपेर सुकुम्बासी पारियो । किसानहरुमाथि सामन्ती शोषण दमन, अन्याय, अत्याचारको जतिसुकै निन्दा गरे पनि अपुरो नै हुन्छ ।
सामन्ती सत्ताको शोषण, दमन, अन्याय, अत्याचार सहन नसकी २०३४ साल चैत्रमा पूर्णकालीन बनी गुरिल्ला युद्ध प्रारम्भ गर्नुभयो । वर्ग शत्रुलाई खतम गर्ने अभियान अर्न्तगत चैनपुरको सामन्ती गोपाल श्रेष्ठलाई क. बासु शाक्यको कमाण्डमा उसैको टोटा बन्दुक कब्जा गरी २०३४ चैत्र २६ गते तेर्से उत्तर साउने चुली मुनि सफाया गरियो । त्यस बखत क. चन्द्र पुरी गुरिल्ला दस्ताको कमाण्डर हुनुहुन्थ्यो । सामन्ती सुदरखोर, जाली, फटाहाहरुको जाली किर्ते तमसुकहरुलाई च्यातेर जलाई किसानहरुलाई ऋण मुक्त गर्नुभयो ।
पार्टी कामको सिलसिलामा ताप्लेजुङबाट सङ्खुवासभा आउँदा २०३५ साल पौष ३ गते राति प्रहरी जत्थाले उहाँको घर घेरा हाली बन्दुक पडकाउदै आक्रमण गरे । उहाँले त्यसको प्रतिकार बन्दुकले के गर्नु भयो । घरको छाना उधारेर बाहिरको दुश्मनलाई तस्केर घटना स्थलमा एउटा प्रहरी बलबहादुर श्रेष्ठलाई ढाल्नु भयो भने २ जना प्रहरी घाइते भए । यो आमने सामनेको लडाइँबाट उहाँ फुत्कन सफल हुनुभयो । सामन्ती सात्ताका विरुद्ध यो ऐतिहासिक विद्रोह कम्युनिस्ट आन्दोलनकै सम्पत्ति, शिक्षा र प्रेरणाको स्रोत हो । यो विद्रोहमा वर्ग सत्रु खत्तम गर्दै सामन्तलाई बन्दुकले सफाया गरी ढालिएको छ । सामन्ती सुदखोरहरुको जाली किर्ते तमसुकहरु जलाउने युगान्तकारी भावको कार्य सम्पन्न भएको छ । सामन्ती भू-स्वामित्वविरुद्ध क्रान्तिकारी भूमिसुधारको आवाज पनि यो ऐतिहासिक “कुसुवा” विद्रोहमा देखिएको छ । सामन्तको विरुद्ध गुरिल्ला युद्धको प्रतिनिधित्व पनि यस विद्रोहले गरेको छ । यो बेलामा भएको संखुवासभाको गुरिल्ला युद्धले किसान आन्दोलन र कम्युनिष्ट क्रान्तिकारी वर्गसंघर्षको नेतृत्व र प्रतिनिधित्व गरेको थियो । यो विद्रोहमा क.चन्द्र पुरीले ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको छ ।
सहिद चन्द्र पुरी, हरी नेपाल र पूर्वका लाल तारा भनेर चिनिनु हुने आदरणीय दाइ बासु शाक्यको नेतृत्वमा संचालित यस जिल्लाको ऐतिहासिक विद्रोहलाई निस्तेज पार्न सामन्ती सत्ताले केन्द्रीय शक्ति नै परिचालन गरी दमन गरेको थियो । गरिब गाउँ बस्तीका किसान बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरुलाई संगीन, राइफल र फलामे टोपी (हेल्मेट) देखाई तर्साइयो । लाठी र बुटले कुल्चने काम गरियो । फच्याङ्ग, माथिल्लो स्याबुन, हाडिखर्क, कुसुवा, देउराली, नागी, चिन्खुवा, चुङ्खुरुङ पोख्राङ तेर्से सिरनागीका जनतामाथि धेरै ठुलो दमन गरियो । क. बासु शाक्य लगायतका कम्युनिष्ट नेताहरुहरुको टाउकाको मोल तोकियो । विशेष जासुसी कुकुर ल्याएर जनतालाई आतंकित पारियो । गाउँ, जंगल भीर, पाखामा सर्च गरियो । यसै क्रममा जलजला १ श्रीनागीका अडीग बहादुर दाहाललाई प्रहरीले लखेटेर भीरबाट खसालेर मारियो । सिरिसेका बृखबहादुर कोइरालालाई मरणासन्न हुने गरि कुटपिट गरियो र म रुखदेखि झरेको हो भन्न बाध्य पारियो । जनताको घरमा गएर प्रहरी बस्ने अनि छेउमा जनतालाई सुताएर आफू बीचमा सुत्ने गरेको त मैले नै भोगेको हुँ ।
वर्गसंघर्षमा निरन्तर डटिरहेको बेला सङ्खुवासभालाई सशक्त बनाउनको लागि ताप्लेजुङ्गबाट क. हरी नेपाल, क. बासुदेव शाक्य र क चन्द्र पूरी सङ्खुवासभा आउनु भयो । २०३६ साल पौष १२ गते राति उहाँ स्याबुनको खुदुर्की पुग्नुभयो । क. चन्द्र पुरीकै छिमेकी भिमे राई घरमा नदेखिएको हुँदा क. बासु शाक्यले यहाँ नबसौँ भन्नू हुँदा भिमेको विश्वासले चन्द्र र हरि बस्नु भयो भने क. बासु पारी कुसुवा जानू भएछ । अन्तर्घाती भीमे राईले काममा कही जाने बहाना गरी भिमे राइकै जेठो भिनाजु टेकबहादुर राई समेत मिलेर खादबारीदेखि पौष १३ गते राति प्रहरीलाई खबर गरि लिएर आए । आफ्नै घरमा सुतिरहेको बेला प्रहरीले घर घेरा हालेर सामन्ती सत्ताका भतुवाहरुले आत्मसमर्पणको आदेश जारी गरे । साहसका धनी क. हरी नेपाल र चन्द्र पुरीले जिवनको भिख माग्नुभएन । पार्टी गोपनीयता बचाउन घरभित्रै कागज जलाउनुभयो । बाहिरबाट गोली हान्ने आदेश दिइराखेको थियो । बन्दुकहरु पड्किरहेका थिए । भित्रबाट उहाँहरुले पनि साहसिक प्रतिरोध गरिरहनु भयो । प्रहरीहरु त डरले भित्र पस्न सकेका थिएनन् । २०३६ साल पौष १४ गते विहानी पख घरभित्र नै क. चन्द्र पुरीलाई गोली लाग्यो र उहाँ रगताम्मे भएर ढल्नु भयो । उहाँ ढलेपछि क. हरी नेपालले कम्युनिष्ट पार्टी जिन्दावाद ! वीर सहिद जिन्दावाद ! पंचायती व्यवस्था मुर्दावाद! जस्ता नारा लगाउँदै वैरीसामु नझुकी घरभित्रबाट बाहिर निस्कनुभयो । ‘म पनि यही मित्र छु गोली हान’ भनेर भन्नु भयो । भाडाका पाल्तु कुकुरहरुलाई जीवनको मूल्य के थाहा हुन्थ्यो र ? बाहिर निस्कने बित्तिकै क. हरि नेपाललाई पनि गोली हानी हत्या गरे । मरिसकेपछि पनि उहाँहरुलाई शरीर भरि गोली हानियो । घरभित्र र बाहिर रगतको आहाल जमेको थियो । यसरी २०३६ साल पौष १४ गते विहानै सङ्खुवासभाको भूमि रक्तरञ्जित भयो । सङ्खुवासभा स्तब्ध बन्यो । एकचोटी मकालु हिमालको शिर झुक्यो । क. चन्द पुरी र हरी र नेपाल दुई कम्युनिष्ट योद्धाहरुले जीवन बलिदान गर्नुभयो । अमरत्व प्राप्त गरी महान् सहिद बन्नुभयो ।
क. चन्द्र पुरीको हत्या भएको ६ महिना पछि २०३७ असार १५ गते कान्छी छोरी मनमायाको जन्म भयो । कान्छी छोरीले आफ्नो बुबाको अनुहार हेर्न पाउनु भएन भने वहाँले छोरा या छोरी के हुन्छ उसको चेहरा समेत हेर्ने चाहना पुरा भएन । दुबै छोरीले बुबाको न्यानो माया पाउनबाट भिमे राई र तत्कालीन सामन्ती आततायी सरकारले बन्चित गरिदियो । छिमेकी फटाहा भिमे राइले आफ्नो जेठो भिनाजु टेकबहादुर राईको सहयोगमा प्रहरी लगाएर क. चन्द्र पुरीको हत्या गरेपछि दुधे बालक दुई छोरी टुहुरा भए र अत्यन्तै कठिन परिस्थिति श्रीमती माया शेर्पाले बेहोर्नु पर्यो । म पनि कम्युनिस्ट पार्टीकै सदस्य हुँ भनी भ्रममा पारेर सहयोग गर्ने बहाना मिलाउदै माया शेर्पालाई भिमे राईले पुनः विवाह गर्यो । तत्काल प्रहरी दमन अत्याधिक भएकोले तत्कालीन पार्टीले भिमे राईलाई केही गर्न सकेन । जेठी छोरी मिना पुरी करिब ११ बर्षको हुँदै गर्दा एकदिन आमा भिमेको झगडा भएछ । झगडामा त अपराधीले मेरो श्रीमान्लाई मारेको मैले पहिले नै थाहा पाएको थिए भने म पनि तलाई मार्ने थिए र बिहे पनि हुने थिएन । तैले मलाई फसाइस भन्दै कराएको मिनाले सुनिन् । त्यसैको भोलिपल्ट हाडिखर्कमा टिकाराम पुरीको घरमा मिनालाई केहि काममा पठाएछन् । त्यहीँ पनि टिकाराम पुरीको आमाले मिनालाई भन्नू भएछ कि त हाम्री छोरी हो भिमेको होइन, तेरो बुवालाई भिमेले प्रहरी लगाएर मारेको हो । नानी अहिले त सानी छस् यो कुरा भिमेलाई वा कसैलाई नभन्नु अलिपछि तलाई हामी नै पाल्छौँ भन्नू भएछ । त्यो सुनेपछि मिनाको पनि दिमागमा पर्न थाल्यो । तर उनीहरु सानै थिए । यत्तिकै समय बित्दै गयो । जेठी छोरी मिनाको विवाह २०५४ सालमा भयो ।
उता नेकपा माओवादीले पश्चिमदेखि २०५२ बाट नेपालमा निभेको क्रान्तिको दियो फेरि बाल्न शुरु गर्यो । सङ्खुवासभामा पनि क्रान्तिको बिगुल बज्न थाल्यो । पन्चेहरु नयाँ रूपमा भेष बदलेर आफू जस्तै भएर आएका थिए । तर पनि क्रान्ति निरन्तर अगाडि आयो । क. चन्द्र पुरीको हत्याराको खोजी भयो र तत्कालीन पार्टीले भिमे राई नै सुराकी हो भन्ने निर्क्योल गर्यो । तत्कालीन नेतृत्वले १४ भनेर निर्देशन गरेको थियो तर ४ भन्ने बुझाइ भएर मिति २०५६ पौष ४ गते बेलुकी पार्टीले भिमे राईको सफाया गर्यो । करिब २२ बर्षपछि भए पनि सुराकी भिमे राईको सफाया गरेर दुधे नानीहरु र आम जनताको चोटमा केही हदसम्म भएपनि मलम लाउने काम गर्यो र वर्गसंघर्षको उचाइ प्राप्त भयो । फेरि दलाल सत्ताले दमन शुरु गर्यो । जेठि छोरी सुत्केरी हुँदै गर्दा पनि खादबारी धाउन बाध्य बनायो भने कान्छी छोरी मनमायालाई त हत्या अभियोगमा पक्राउ गरेर हिरासतमा राख्यो । स्याबुन ८ का कृष्ण कुमार राई, खिलराज दर्जी र भोलामान तामाङ लाई पनि पक्राउ गरेर हिरासतमा लियो । जिल्ला अदालतले भोलामानलाई तीन महिना, कृष्णलाई ६ महिना र खिलराजलाई ९ महिना कैद गर्यो । हिन्दु कुमार राई , गिताबहादुर कोइराला, पुस्पबहादुर कोइराला, तिलक श्रेष्ठ लगायतलाई धेरै तारिख दियो भने सिमलबारी समुहलाई खातापाता बोकाएर खादबारी धाउने बनायो । नेकपा माओवादीले एक विज्ञप्ति निकालेर जिम्मा लिएपछि मात्रै मनमाया लगायत सबैलाई तारिख छोडाउने, कम गराउने र छोड्ने काम गर्यो ।
जेठी छोरी मिनाको विवाह भइसकेको छ भने कान्छी छोरी मनमाया पुरी (क.उषा) जनयुद्धमा लामवद्ध बन्दै ओखलढुंगा रुम्जाटारको मोर्चा लडेर फर्कने क्रममा वेपत्ता बनाएको हो । हालसम्म पनि वेपत्ता नै हो र दिदी मिनालाई गणतान्त्रिक सरकारले कुनै पनि सान्त्वना दिएको छैन । सहिद घोषणा पनि गरेको छैन । राज्य बेखबर बनेको छ ।
बिडम्बनाको कुरा त क. चन्द्रबहादुर पुरी क. हरि नेपाल लगायतलाई सहिद घोषणा गर्न पनि संशोधनवादी गद्दारहरुसङ्ग क. बासु शाक्य लगायतका क्रान्तिकारीहरुले ठूलै संघर्ष गर्नुपर्यो । उहाँहरुलाई उग्रवामपन्थीको बिल्ला भिराइयो । क. चन्द्र पुरीको भौतिक शरीर ढलेपनि उहाँको नयाँ जनवादी सत्ता, समाजवादी सत्ता, वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्य ढलेको छैन ।
क. चन्द्र पुरीको रगतले रङ्गिएको बाटो, साहसको गुरिल्ला युद्धको बाटो जनक्रान्तिको बाटोलाई हाल नेपाल कम्युनिस्ट पार्टीले ” एकीकृत जनक्रान्ति” मार्फत निरन्तरता दिइरहेको छ । क्रान्तिकारी वर्गसंघर्षलाई थप उचाइमा पुर्याउन वर्तमान राष्ट्रिय संकटको अन्त्य दलाल पुजीवादी संसदीय व्यवस्थाको खारेज र नेपाली विशेषताको समाजवाद स्थापना एकमात्र विकल्प बनेको छ । एकपटक आउनुहाेस् साथ दिनुस् ।
वीर सहिद क.चन्द्र पुरी जिन्दावाद !!