शान्तिनगर गाउँपालिका-३ भलानेटीका जनक सीलाई माघ ७ गते ठूलो बज्रपात पर्यो । विहान करिब ३:३० बजेतिर जनकले आफ्ना बुवालाई सदाका लागि गुमाए ।
उनका बुवा बल बहादुर सीको राप्ती प्रादेशिक अस्पतालमा ७४ वर्षको उमेरमा दुखद निधन भयो । बुवा दमको रोगी थिए ।
बुवाको निधन भएलग्गतै अस्पतालमा परिवारका सदस्यहरु, आफन्तजन, इस्टमित्र एवम समर्थक शुभचिन्तकको घुइँचो लाग्यो ।
जनक एउटा छोरा मात्रै होइनन्, उनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यसमेत भएकाले बुवाको निधनमा पार्टीका नेताकार्यकर्ताको अस्पताल परिसरमा घुइँचो लाग्नु स्वभाविक थियो ।
यसैपनि कसैको मृत्यु भएपछि मान्छेहरुको जमघट हुने, दु:ख साट्ने सामाजिक परम्परा नै हो ।
बुवाको निधनपछि नेता जनकलाई पुरानो सांस्कृतिक मूल्य, मान्यता तोड्नुपर्ने थियो ।
कम्युनिस्टहरुले यसलाई नैतिकताको प्रश्न बुझ्ने गर्दछन् । उनीहरु भौतिकवादी हुन्छन् । तर पछिल्लो समय माओवादी आन्दोलनमा जुन प्रकारका विचलनहरु देखापरेका छन् त्यसले तल्लो तहका नेताकार्यकर्ताहरुलाई पुराना मूल्य, मान्यताहरु भत्काउन पक्कै सहज छैन ।
जब उपल्लो तहको नेतृत्व नै जनयुद्धका मूल्य, मान्यता र कम्युनिस्ट आदर्शबाट विचलित भइरहेका छन् त्यस्तो बेलामा नेता जनकले परिवार, समाजलाई भौतिकवादी संस्कृतिमा रुपान्तरण गर्न पक्कै सहज थिएन होला ।
तर उनले आफ्नो परिवारलाई कन्भिन्स गरे र धार्मिक मूल्य, मानयतामा आधारित कुनैपनि प्रक्रिया पूरा गरेनन् ।
विशेषगरि हिन्दु धर्ममा मृत्यु संस्कारका थुप्रै धार्मिक मान्यता र परम्पराहरु छन् ।
शवको शुद्धीकरण, मन्त्र, पाठ र प्रार्थना, पिण्डदान, श्राद्ध कार्य, अस्थी विसर्जन लगाएतका परम्पराहरु कायम छन् ।
यो सम्पूर्ण प्रक्रिया मृतकको आत्मालाई मोक्ष प्राप्त गर्न सहयोग पुर्याउने विश्वासमा आधारित छ । स्थानीय परम्परा र ब्राह्मणको निर्देशन अनुसार यसमा केही भिन्नता हुन सक्छ ।
तर नेता जनकले यी कुनैपनि परम्पराहरु गरेनन् । उनले भौतिक संसारलाई वास्तविक मान्ने, चेतना र विचारलाई पनि भौतिक मस्तिष्कको उत्पादक मानिने, आध्यात्मिक वा अदृश्य तत्वलाई अस्वीकार गर्ने भौतिकवादी दर्शन अनुसार मृत्यु संस्कारको प्रक्रिया पूरा गरेका हुन् ।
अझ यसमा पनि उनले आफ्नो पार्टीको नवौं महाधिवेशनले अगाडि सारेको सी जाती र यसको मृत्यु संस्कार अवलम्बन गरेका छन् ।
सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल, फुल र जडिबुटी) रोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा गरिब, असहाय, अशक्त, बेसहारालाई लत्ताकपडा, राहत वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।
सोहि नीति अनुरुप सबै कामकाज पूरा गरिसकेका नेता जनकको परिवारले भोलि मृतक बुवा बल बहादुर सीको स्मृतिमा श्रद्धाञ्जली एवम शोकसभाको आयोजना गर्ने जनाएको छ ।
आध्यात्मिक दर्शन भौतिक जगतभन्दा परको यथार्थता स्वीकार गर्दछ । आत्मा, परमात्मा, चेतना र आध्यात्मिक ऊर्जा जस्ता चीजहरूलाई मूल मान्छ ।
भौतिक संसारलाई अस्थायी वा माया (भ्रम) मान्दछ ।
आध्यात्मिक अनुभव, ध्यान, विश्वास र आन्तरिक चेतना मार्फत सत्यलाई बुझ्न खोज्छ ।
आत्म-प्राप्ति वा ईश्वर-प्राप्तिलाई ज्ञानको चरम लक्ष्य मान्छ । जीवनको उद्देश्य आत्मज्ञान, मोक्ष वा सर्वोच्च सत्यको खोजी हो । व्यक्तिगत र सार्वभौम अस्तित्वबीचको सम्बन्धलाई महत्त्व दिन्छ ।
तर कम्युनिस्टहरुले यसको विकल्पमा भौतिकवादी दृष्टिकोणलाई मान्ने गर्दछन् ।
नेता जनकले पनि ज्ञानको स्रोतलाई अनुभव र तर्कमा आधारित वैज्ञानिक पद्धतिबाट मात्र परिभाषित गर्ने प्रत्यक्ष प्रमाण र वस्तुनिष्ठ अध्ययनलाई मुख्य ठान्ने भौतिकवादी दृष्टिकोणले सम्पूर्ण परिवारलाई रुपान्तरण गर्न सफल भएका छन् ।
उनले आफ्नो बुवाको काजकिरिया गरेनन् । त्यतिमात्रै होइन आफ्ना दाईभाईलाई पनि काजकिरिया गर्ने मान्यताबाट रुपान्तरण गर्न सफल भए ।
उनका १ दाजु र १ भाई छन् भने ३ जना दिदिबहिनीहरु छन् । उनले परिवारलाई यतिसम्म रुपान्तरण गर्न सफल भएकी कसैले पनि पुरानो मृत्यु संस्कारलाई अवलम्बन गरेनन् । पार्टीको सी संस्कृतिलाई लागू गरे ।
दिवंगत बल बहादुरकी श्रीमती पनि छोराछोरीको यो कुराबाट प्रभावित छिन् ।
उनले भनिन्– ‘बाँच्दासम्म राम्रो गर्ने हो आमा, मरेपछि गरिने कर्मले केही अर्थ राख्दैनन् भन्छन् । छोराछोरीले हामीभन्दा धेरै बुझेका होलान्, हामी त नपढेका न लेख्न जान्छौं । उनीहरुले बुवाको राम्रो हेरचाह गरेका हुन् । नहुनु थियो भइहाल्यो, उहाँ त अब यो संसारमा हुनुहुन्न । उहाँको सम्झनामा बिरुवा रोपेका छौं, गरिब, दिनदुखीलाई लत्ताकपडा, खाद्यान्न सहयोग गरेका छौँ । अब तलको विद्यालयमा कोष बनाउने कुरा गर्छन् छोराछोरी, त्यो पनि त राम्रै हो ।’
‘भौतिकवादी संस्कृतिमा परिवारलाई रुपान्तरण गर्न कठिनाई नहुने कुरै भएन तर कन्भिन्स गर्न सफल भएको छुँ । बाहिर इस्टमित्रको दबाब पनि हुँदो रहेछ । गाउँमा किरिया नबसेका घरमा के जानू भन्छन् । बौद्धिक तप्काको समर्थन छ । गाउँका बुढापाका मान्छेको गुनासो छ । किरियापनि नबस्ने हुन्छ भन्छन् । मान्छे ज्युदो हुँदा नै सेवा गर्नुपर्छ, मरेपछि गरिने अनावश्यक कुराको कुनै तुक छैन । कम्युनिस्ट स्कुल र एकीकृत जनक्रान्तिको सी संस्कृतिको प्रभावले यो कदम उठाएका हौँ । अब भाषण र कुराले मात्रै कम्युनिस्ट हौं भनेर हुँदैन, व्यवहारमा पुष्टि गर्नुपर्ने बेला आएको छ । हिजोका महान आदर्श, मूल्य मान्यताहरु भत्किदा केही अन्योल भएकै हो तर अब यो कडीलाई जोड्नुपर्छ,’ नेता जनक सीले भने ।
विद्यालयमा लेखापालको जागिर छाडेर कम्युनिस्ट राजनीतिमा सक्रिय भएका नेता जनकले मास्टर डिग्री पास गरेका छन् । उनले ०५७/०५८ सालतिर विद्यार्थी राजनीतिमा काम गर्दै ०६२/०६३ सालमा माओवादी पार्टीको पार्टी सदस्यता प्राप्त गरेका थिए ।
उनी तत्कालीन माओवादी पार्टीको युवाको गाविस उपाध्यक्ष हुँदै २०६८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भए ।
उनले नेकपाको जिल्ला सेक्रेटरीसम्मको जिम्मेवारी प्राप्त गरे । उनी हाल नेकपाको केन्द्रीय प्रतिनिधि समिति सदस्यको जिम्मेवारीमा छन् ।
नेता जनकले २०६९ सालमा शशीकला खड्कासंग अन्तरजातिय विवाह गरेका थिए । उनले विवाह पनि कम्युनिस्ट संस्कारमा आधारित जनवादी विवाह गरेका हुन् ।
नेता जनककी दिदी सुष्मा पनि ०५८ सालदेखि तत्कालीन नेकपा माओवादीमा होलटाइमर कार्यकर्ता हुन् । उनले करिब १८ महिना जेल जीवन समेत बिताएकी हुन् भने बहिनी उषा पूर्व जनमुक्ति सेना हुन् ।
उनका दाई कोल बहादुर र भाई खडक पनि एकीकृत जनक्रान्तिको दौरानमा नेकपा प्रतिबन्धित भएको बेला पार्टीलाई सहयोग गरेबापत प्रहरीले पक्राउ गरि २५/२६ दिन हिरासत राखेको थियो ।
दिवंगत बुवा बल बहादुर सीको जन्म २००७ साल चैत्र १८ गते दाङको शान्तिनगरमा भएको थियो ।
उहाँको विवाह २०४४ सालमा चन्द्रकली विकसंग भएको थियो ।
बुवाको रुचि सिकार खेल्ने, आयुर्वेदिक ओखतीमुलो गर्ने, काठको व्यवसाय (ठेकी बनाउने) रहेको नेता जनकका कान्छा भाई खडकले जानकारी दिए ।
छोराछोरीले राम्रोसंग पढुन्, लेखून् र देशको सेवा गरुन् भन्ने चाहना बुवाको रहेकोसमेत उनले बताए ।
परम्परागत काजकिरिया नगर्ने जनक र उनको परिवारको निर्णय व्यक्तिगत भएपनि मृत्यु संस्कारसँग जोडिएको ‘सामाजिक जकड’ तोड्न केही अर्थ भने राख्छ ।
किरिया बार्ने नियम समयक्रममा सरलीकरण हुँदै आएको इतिहास छ । यो कुनै बेला १३ वर्षको हुन्थ्यो । पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी छ ।
राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो । भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे । दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे । जुद्धशमशेरलाई भने शास्त्रीको भनाइ जच्यो । उनले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए । अयोध्याकाण्डमा भरतले १३ दिन बारेको उल्लेख छ ।
शुक्रराज उनै चार सहिदमध्ये हुन्, जसलाई राणा शासनविरुद्ध लागेको भन्दै फाँसी दिइएको थियो ।
त्यतिबेला ७९ वर्षदेखि चल्दै आएको ४५ दिने किरियाविधि १३ दिनमा झरेको थियो । यसलाई अझ सरल गर्नुपर्ने बहस छ ।
यो बहसमा मृत्यु संस्कार सुधार पक्षका दुईथरी अभियन्ताको फरक मत छ । एकथरी अभियन्ता पाँच दिनमा सीमित गर्नुपर्ने बताउँछन् ।
अर्काथरी भने ‘तीन दिन नै पर्याप्त’ भएको तर्क गरिरहेका छन् ।
यता नेकपाले पनि पार्टीको नवौं महाधिवेशनबाट मृत्यु संस्कारलाई बोझिलो, अप्ठ्यारो र अवैज्ञानिक बनाउन नहुने भन्दै ५ दिनसम्म मनाउने नीति पास गरेको छ ।
पार्टीले पुरानो परम्परागत जातीको विकल्पमा नयाँ जाती सी जाती र त्यसको सी संस्कृतिलाई बहसमा ल्याएको छ । पार्टीको आन्तरिक कमिटीमा लागू समेत गर्दै गएको नेकपाले जनाएको छ ।