
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेपालमा साम्राज्यवादले नयाँ रवि ल्याउन खोजिरहेकोबताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय समितिको सातौं बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
रविबाट नेपालमा आफ्नो स्वार्थ पूरा नहुने देखेपछि पश्चिमा शक्तिहरुले बालेन जस्ता पात्रहरूलाई अगाडि सारेको उनले स्पष्ट पारे । स्वतन्त्र र अभियानताहरुको नामबाट साम्राज्यवादले श्रमजीवीहरुविरुद्ध षड्यन्त्र गरिरहेकोले सचेत रहन समेत उनले सबैलाई आव्हान गरे ।
उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव भएको हुँदा आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले दोब्बर मेहनत गर्न समेत उनले बैठकमा उपस्थित सबैलाई निर्देशन दिए । कसैको दयाले मुक्ति सम्भव नहुने भन्दै उत्पीडित वर्ग समुदायहरु एकता, ध्रुवीकरण र सशक्त संघर्षमा जुट्नुपर्नेमा समेत उनले जोड दिए ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मोर्चाको बैठकले छैटौं राष्ट्रिय सम्मेलन छिट्टै गर्ने निर्णय गरेको जानकारी मोर्चाका अध्यक्ष रामलाल सीले जानकारी दिए । देशभर श्रमिक समुदायमाथि भइरहेका विभेदविरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विभिन्न जातीय संगठनहरुसंग प्रभावकारी सहकार्य गर्ने, वैदेशिक हस्तक्षेप विरुद्धका संघर्षमा सहभागी हुने लगायतका निर्णय समेत बैठकले निर्णय गरेको मोर्चाका महासचिव त्रिलोचन सीले जानकारी दिए ।