
काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिको दोश्रो पूर्ण बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगरस्थित कार्यालयमा बैठक सम्पन्न भएको हो ।
पार्टीको वैचारिक संश्लेषणलाई मोर्चाले अवलम्बन गर्ने, गणतन्त्रवादी – गणतन्त्रवादी मित्र शक्तिहरुसंग सहकार्य गर्ने, नेपाली विशेषताको समाजवाद र श्रमिक समुदायको सवाल विषयमा अन्तरक्रिया गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी संगठनको कामलाई तीव्रता दिने, विभेदका घटनाहरुमा सशक्त संघर्ष गर्ने, र स्थानीय देखि संघीय सरकारमा श्रमिक समुदायको अधिकार खोज गरी जनतालाई सुसूचित गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ ।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले उत्पीडित जाती, समुदायको मुक्तिका लागि संघर्षको विकल्प नरहेको बताए । आम जनता र देशको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्नेमा उनले जोड दिए । नेकपा र संयुक्त मोर्चाले नयाँ निकास दिने विषयमा गम्भीर रुपले सोंचिरहेको कुरा उनले स्पष्ट पारे ।
नेकपाका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय सचिव उमेश सीले श्रमिक समुदायले नेतृत्व विकास गर्नका लागि सक्रियताका साथ संघर्ष गर्नुपर्नेमा जोड दिए । मोर्चाका बागमती प्रदेश इन्चार्ज पदम सीको अध्यक्षतामा बैठक सम्पन्न भयो ।