
काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वैचारिक गोष्ठीसहित सशक्त संघर्ष गर्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले सो कुरा जनाएको हो ।
समितिका संयोजक लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बैठक बसी गरिएको निर्णय संयोजक दलजित श्रीपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत आज सार्वजनिक गरिएको हो ।
बैठकले नेपाल दलित सङ्घका अध्यक्ष तथा सङ्घर्ष समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको कार्यकालमा सङ्घर्ष समितिको नयाँ आचारसंहिता र साझा माग जारी गरेको, उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको, विभिन्न सन्दर्भमा प्रधानमन्त्री, गृहमन्त्री तथा राजनीतिक दलका नेतृत्वसमक्ष डेलिगेसन र छलफल गरेको, सङघर्ष समिति दलित आन्दोलनको मियो बन्न सफल भएको निष्कर्ष निकालेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी बैठकले समितिको नेतृत्व नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीलाई हस्तान्तरण गरेको छ ।
बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको छ कार्यदलमा पदम विश्वकर्मा, टेक घतानी, मन्जित ताम्राकार, श्याम सुनार, शंकर सुनार, विक्रम सी, शोभा सेन्चुरी, र सविन नेपाली रहेका छन् ।
बैठकले आगामी दिनमा निरन्तर सङ्घर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । जसअनुरुप पहिलो चरणका कार्यक्रमहरु : फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का सन्दर्भमा दलित महिला आन्दोलनका राजनीतिक मुद्धाबारे अन्तरक्रिया/छलफल गर्ने, फागुन २९ गते दलित आन्दोलनको समिक्षासहितको राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने, चैत्र ८ गते अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) लाई सङ्घर्षको रुपमा मनाउने, प्रस्तावित निर्वाचन कानुनलाई दलितमैत्री बनाउन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, अपमान, हत्या, बलात्कार, बहिष्कार र अपशब्द प्रयोगका घटनाप्रति बैठकले घोर आपत्ति प्रकट गरेको छ । यस्ता घटनाहरु रोक्न, पीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न बैठकले सरकारसँग जोडदार माग गरेको छ ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिकामा आबद्ध घटक सङ्घ/संगठनहरू
१. लोकबहादुर विश्वकर्मा, अध्यक्षः नेपाल दलित सङ्घ
२. मनोहर पौडेल विश्वकर्मा, अध्यक्षः नेपाल उत्पीडत जातीय मुक्ति समाज
३. दलजीत श्रीपाली, अध्यक्षः नेपाल दलित मुक्ति मोर्चा
४. रामऔतार पासवान, अध्यक्षः नेपाल दलित मुक्ति सङ्गठन
५. रामलाल सी, अध्यक्षः श्रमिक समुदाय मोर्चा नेपाल
६. राजेश विश्वकर्मा, अध्यक्षः जातीय समता समाज
७. टेकबहादुर वि.क., संयोजकः एकीकृत दलित मुक्ति मोर्चा
८. प्रदिप घताल: समाजवादी दलित मुक्ति सङ्गठन
९. गजाधर सुनारः नेपाल समाजवादी दलित मुक्ति सङ्गठन
१०. कमला विश्वकर्मा : समाजवादी दलित शिल्पी मुक्ति संगठन
११ उपेन्द्र छटुन्जेल: नेपाल राष्ट्रिय दलित केन्द्र
१२. शिव वर्मा: समाजवादी दलित मुक्ति मोर्चा नेपालको तर्फबाट ।