![](https://janapatrika.com/wp-content/uploads/2025/02/received_1776785379783112.jpeg)
नवलपूर । नेकपाको काधँमा असामान्य जिम्मेवारी आएको नेकपाका स्थायी समिति शिलुले बताएकी छिन् । चौथो आवधिक योजना अन्तर्गत नेकपा नवलपुर जिल्ला समितिको कावासोतीमा सम्पन्न प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता शिलुले नेकपाको काँधमा समाजवाद ल्याउने महत्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले त्यसको लागि सम्पूर्ण कार्यकर्ताले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
उनले पार्टी केन्द्रको स्पीडलाई प्रदेश, जिल्ला, पालिका स्तरमा पनि लागू गर्न जरुरी रहेको बताउँदै नेकपा नवलपूरले साङ्गठनिक र उत्पादनमा गरेको पहलको लागि धन्यवाद ज्ञापन गरेकी थिइन् । पार्टीमा ध्रुविकरण भएका कमरेडहरुलाई स्वागत गर्दै उनले देशव्यापी रुपमा देशभक्त, क्रान्तिकारी कमरेडहरु पार्टी अभियानमा लामबद्दध हुने विश्वास व्यक्त गरिन् । पार्टीमा एउटा नयाँ उभार आएको बताउँदै यो उर्जालाई जनतासङ्ग जोड्न पनि उनले जोड दिइन् ।
यस्तै नेकपाका केन्द्रीय सदस्य एवम् नवलपूर जिल्ला इन्चार्ज पदम सीले सबैको ध्यान नेकपाप्रति बढेको बताउँदै नेकपाले जनताका समस्या केन्द्रीत विषयमा आवाज उठाउनुपर्ने बताए । बढ्दो भ्रष्टाचार र बेथितिका विरुद्धमा नेकपाले आन्दोलन गर्ने उद्घाेष गर्दै उनले जनताका समस्या लिएर पार्टीमा आउन आग्रह गरे ।
बैठकमा नेता शिलुले नेकपामा ध्रुविकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीर बहादुर थापा (विश्वास), नेकपा एमाले नवलपुर जिल्लाका जिल्ला सल्लाहकार परिषद सदस्य आत्माराम पौडेल (अमित) लाई स्वागत गरेका थिए ।
आगामी फाल्गुन २१ गतेबाट झापादेखि सुरु हुने जनमार्च चैत ४ गते नवलपूरमा आउने र त्यसलाई सफल पार्न र आगामी बैशाख ५ गते पोखरामा हुने प्रदेशस्तरीय बृहत जनसभा सम्पन्न गर्नका लागि पनि बैठकले व्यापक छलफल र निर्णय गरेको छ ।
बैठकले युवा, विद्यार्थी, मजदुर, महिला लगायत जनवर्गीय सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ भने पार्टीले भ्रष्टाचार, मिटरब्याजी, सहकारी ठगी लगायतका विषयमा जिल्लाको अनुकूलतामा सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।
आगामी स्ववीयु निर्वाचनलाई केन्द्रमा राखेको नवलपूरले निर्वाचन हुने कलेजहरुमा सङ्गठन निर्माणलाई जोड दिने निर्णय पनि गरेको छ । पार्टीले पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु गर्ने पनि जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी सुमन सीको अध्यक्षतामा सम्पन्न भएको बैठकले पार्टी सदस्यसम्मलाई राजनीतिक प्रशिक्षण दिने निर्णय पनि गरेको छ ।