२५ फाल्गुन २०८१, आईतवार

अबको महिला आन्दोलन समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षमा केन्द्रित हुनुपर्छ : बन्धु सी

0

अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस संयुक्त रूपमा मनाउने घाेषणा गरेको छ, यसलाई के-कसरी मनाउँदै हुनुहुन्छ?

हाम्रो संगठन अखिल नेपाल महिला संघ अन्तिकारीको पहलमा यस वर्ष चार वटा महिला संगठनहरु अखिल नेपाल महिला संघ कान्तिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी) र अखिल नेपाल महिला संघ मिलेर संयुक्त रूपमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली र सभा गरी मनाउँदै छौं । त्यस्तै देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमसहित यो दिवस मनाउने र समकालीन महिला आन्दोलनका मुद्दाहरुमा बहस, छलफल र विमर्शको वातावरण निर्माण गर्ने हामीले उदेश्य राखेका छौं ।

यो महिला दिवस हो कि श्रमिक महिला दिवस हो? कतिपयले नारी दिवस भनेर समेत विविध कार्यक्रम गर्छन् नि ?
हरेक वर्ष ८ मार्चमा मनाइने महिला दिवस खासमा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ हो । श्रमिक (मजदुर) महिलाले गरेको संघर्षको सम्झनामा मनाइने भएकोले यसलाई श्रमिक महिला दिवस भन्नु नै उपयुक्त हुन्छ । यो विश्वभर मनाउने भएकोले कुनै देशमा महिला दिवस मात्र भनिन्छ भने नेपालमा पञ्चायत कालदेखि मनाउन लागिएकोले तत्कालीन भाषामा ‘नारी दिवस’ भनियो । अहिले कसैले ‘नारी दिवस’ भन्छन् त कसैले ‘महिला दिवस’। हामी भने संगठनको तर्फबाट त्यसमा पनि खासगरी नेपालका वामपंथी महिला संगठनहरूले ‘श्रमिक महिला दिवस’ भनेर नै मनाउने गरेका छौं ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर सरकारी एवं गैरसरकारी क्षेत्रहरूमा मनाउने प्रचलन स्थापित हुँदै गएको पाइन्छ । खासमा ८ मार्च के हो ? यो कसरी सरकारी स्तरबाट मनाउन थालिएको हो ? यसको ऐतिहासिक सन्दर्भ बारेमा केहि भनिदिनुस् न ?

हो, यो दिवस विश्वभर नै सरकारी र गैरसरकारी क्षेत्रबाट प्रत्येक वर्ष मनाइने महिलाहरूको महत्वपूर्ण दिवस वा दिन हो । ८ मार्चको ऐतिहासिक सन्दर्भ केलाउँदा महिलाहरूले आफूमाथि हुने गरेका शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको इतिहास योसङ्ग जोडिएको छ । त्यस क्रममा औद्योगिक/ पुँजीवादी क्रान्ति पश्चात कारखानामा काम गर्ने महिलाहरुमाथि भएको चरम शोषण र असमानता विरुद्ध पहिलो पटक संगठित रुपमा सन् १८५७, ८ मार्चका दिन अमेरिकामा सुति कपडा कारखानाका मजदुर महिलाहरूले कामको घण्टा घटाउने र समान ज्याला पाउने मागसहित आन्दोलन गरे । यो क्रम विश्वभरि बढ्दै गयो र सन् १८९७, ८ मार्चका दिन न्यूयोर्कका महिलाहरुले आफ्ना मागसहित प्रदर्शन गरे । महिलाहरूको सङ्घर्ष र अधिकारको बारेमा बहस हुँदै गर्दा समाजवादी महिला नेतृ क्लारा जेट्किनको नेतृत्वमा सन् १९०७, ८ मार्चमा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरी श्रमिक महिला संघको स्थापना भयो । न्यूयोर्कका महिलाहरू सन् १९०८, ८ मार्चकै दिन मताधिकारको मागसहित र सन् १९०९, ८ मार्चकै दिन शिकागोका महिलाहरू समान अधिकारको मागसहित प्रदर्शनमा उत्रिए । यसले श्रमिक महिलाहरूको शक्तिलाई थप सुदृढ तुल्यायो । यही ८ मार्चको सङ्घर्षशील दिनको विशेष महत्वबाेध गर्दै सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको १७ देशका १०० भन्दा बढी श्रमिक र राजनीतिक महिला प्रतिनिधिहरूको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट क्लारा जेटकिनकै प्रस्तावमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय गरियो । सन् १९११ बाट यस दिनलाई महिला अधिकार र समानताका लागि आन्दोलनको रुपमा मनाउन थालियो । यसपछि ८ मार्च विश्वभरका संघर्षशील महिलाहरूको लागि संघर्षको पर्यायको रूपमा रहँदै आएको छ । यसलाई पहिलोपटक राज्यस्तरबाट सन् १९१७ मा रुसमा भएको अक्टुबर क्रान्ति पश्चात सोभियत समाजवादले मान्यता दिनुका साथै महिलाका थुप्रै मागहरूको सम्बोधन समेत गर्यो । संयुक्त राष्ट्र संघले सन् १९७५ लाई महिला वर्ष र १९७५-१९८५ को दशकलाई महिला दशकको रूपमा घोषणा गरेपछि विश्वभरि यसलाई सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमको आयोजना गरी महिला दिवसको रूपमा मनाउन थालिएको हो ।

यहाँले ८ मार्चको विश्वसन्दर्भको चर्चा गर्नुभयाे, के त्यो बेलाको औद्योगिक पूँजीवादको आरम्भको समयका मुद्दाहरू र आजको कल्याणकारी पूँजीवादी युगका लैंगिक सवालहरुमा व्यापक परिवर्तन आइसकेको छ भन्न मिल्दैन र ?
निश्चय पनि त्यतिबेलाको ८ मार्चमा महिलाहरूले राख्ने माग र गर्ने संघर्षहरु र अहिलेको समयमा राख्ने मागहरुमा केहि भिन्नता अवश्य छन् । जस्तै त्यतिबेला मताधिकार श्रमको समय घटाउने समान कामको समान ज्याला, संगठित हुन पाउने अधिकार जस्ता मागहरु महिलाहरुका लागि महत्वपूर्ण हुन्थे । अहिले ती कुराहरु कानुनी रुपमा अधिकांश देशहरुले स्वीकार गरिसकेका छन् । अहिले महिलाहरुका मुद्दाहरु राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रहरुमा समान अधिकारका लागि उठ्ने गर्छन् । तर अहिले पनि समाजमा पुँजीवादकै दबदबा भएकोले शोषणको रुप मात्र फेरिएको छ, प्रवृति फेरिएको छैन । त्यसैले महिलाहरुले ८ मार्चको गौरवपूर्ण इतिहासलाई वर्तमानको सम्पूर्ण स्थिति बदल्ने कडिको रुपमा लिनुपर्छ ।

नेपालमा पनि सरकारले यस वर्ष `सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरणको नारासहित महिला दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ, यसबारे तपाईको टिप्पणी के छ ?

सरकारले प्रत्येक वर्ष जस्तै यस वर्षपनि सुन्दर नारा दिएर मनाउन लागेको बुझियो । सरकारलाई हाम्रो सुझाव के छ भने सरकारको दायित्व नाराको कार्यान्वयन गर्ने हो, नारा दिने मात्रै होइन । नारा अधिकार, समानता र सशक्तिकरणको दिने तर व्यवहारमा दिनहुँ महिला हिंसा, शोषण र उत्पीडनका घटना घटिरहने कुराले नाराको औचित्य पुष्टि गर्दैन ।

यो दिवस कसको सवाल हो ? के यो महिलाको मात्रै विषय हो कि समाज र राज्यको पनि सरोकारको विषय हो ?

यो दिवस खासमा महिलाकै सवाल हो । किनभने मानव सभ्यताको क्रममा समान रुपमा रहेका एउटै प्रजातिका चेतनशील प्राणीको बिचमा विभेद खडा गरिएपछि त्यसमा उत्पीडनमा पर्ने प्राणीले गरेको विद्रोहको इतिहासको स्मरण गर्ने दिन भएकोले विशेष रुपमा उत्पीडित महिलाहरुकै सवाल मुख्य हुन्छ । तर यो महिला मात्रैको सवाल भने होइन । यो समाज, राज्यव्यवस्था र सिंगो मानव जातिकै सवाल पनि भएकोले यसबाट पाठ सिक्दै फेरि संघर्ष गर्नुपर्ने स्थिति बारम्बार नआओस् र राज्यले महिला उत्पीडन र विभेदलाई सहि रूपमा सम्बोधन गरोस् भन्ने कुरामा सबै पक्ष सचेत हुनुपर्छ ।

८ मार्च मनाउने नाममा यसको ऐतिहासिक उपलब्धीको चर्चा त गर्ने र सार्वजनिक मञ्चहरुमा महिलाका पीडा मात्र व्यक्त गर्ने खालको परम्परावादी र कर्मकाण्डी शैली मात्रै भएजसो लाग्दैन ?

८ मार्चको संघर्षशील र गौरवशाली इतिहासले सम्पूर्ण महिलाहरुलाई इतिहासप्रति गर्व गर्दै निरन्तर संघर्षको बाटोमा अगाडि बढ्न प्रेरणा दिने भएकोले जस्तोसुकै कार्यक्रमका साथ मनाइयोस् त्यसको गरिमा र सान्दर्भिकतामा कमी हुँदैन । जहाँसम्म परम्परावादी र कर्मकाण्डको कुरा छ, त्यो परिवर्तनशाली शक्तिको लागि जहिले पनि अगाडि बढने र लक्ष्य चुम्ने उदेश्यमा केन्द्रित हुन्छ र त्यसलाई तत्कालीन परिवेशको मुद्दामा केन्द्रित गरिन्छ । यथास्थितिवादीहरुका लागि दिवस मनाउने, विगतको सन्दर्भ कोट्याउने तर आन्दोलनका समकालीन समस्या एवम् समाधानबारे कुनै ठोस दिशानिर्देश गर्न नसक्ने एकप्रकारको परम्परावादी, कर्मकाण्डी कार्य पनि हुन सक्छ ।

आजको सन्दर्भमा नेपाली महिला लगायत आम महिलाहरु अब कुन-कुन सवालमा साझा ढंगले केन्द्रित हुनु पर्ला ?

आजको सन्दर्भमा नेपाली महिलाहरु तीन ओटा कुराहरूद्वारा प्रताडित छन्, पहिलो दलाल पुँजीवाद र त्यसबाट निर्देशित दलाल पुँजीवादी सत्ता जसले देखावटी रुपमा महिलालाई अधिकार सम्पन्न र स्वतन्त्र देखाउँछ तर सारमा यसले उनीहरुलाई बेरोजगार, उपभोक्तावादी र पराधीन बनाउँदै लागेको छ। दोश्रो सांस्कृतिक हिसाबले हेर्दा एकातिर धार्मिक संस्कारको जालोमा महिला लगायत समाजलाई फसाउँदै लगेको छ भने अर्कातिर छाडा र उपभोगको साधन बन्ने स्थिति बन्दै गएको छ । जसले महिलालाई विचारशून्यता तर्फ उन्मुख बनाउँदै मान्छेबाट वस्तु बनाउँदै छ । तेस्रो पितृसत्ताको कारण उत्पन्न समस्या छन् , त्यसले चाहे जुनसुकै वर्गका महिला किन नहोस् हजारौ वर्षदेखि सत्तासिन पितृसत्ताले महिलालाई बराबरीको नजरबाट हेर्न सक्दैन र दमनको शिकार बनाउँदछ । त्यसैले महिलाहरु यी खराब पर्खाललाई परास्त गर्न र यसको विकल्पमा निर्माण हुने मानवता र न्यायमा आधारित समाज निर्माणमा जुट्नुपर्छ ।

हामीले ८ मार्चको चर्चा र संवाद गरिरहँदा यहाँका वामपन्थी, प्रगतिशील अधिकारकर्मी महिलाहरुबीच साझा मुद्दा, सहकार्य र संयुक्त दबाव आन्दोलन आजको प्राथमिकता हुनुपर्ने हो । तर त्यो स्तरमा आन्दोलन उठान भएको देखिँदैन । यसका मुख्य समस्या र चुनौतीहरूको विश्लेषण कसरी गर्न सकिन्छ ?

दमनकारी राज्य व्यवस्थाका विरुद्द जनताका वा महिलाका मागहरु राखी साझा आन्दोलन गर्दा सकारात्मक र अग्रगामी परिणाम पनि आएको कुरा विगतका आन्दोलनको अनुभवबाट बुझ्न र देख्न सकिन्छ । अहिलेको व्यवस्था कस्तो भयो भने जनताले प्राप्त गरेका अधिकारहरू पनि व्यवहारमा अलपत्र परे जस्तो, त्यसको कार्यान्वन नभएजस्तो एकातिर छ भने अर्कातिर यिनै अधिकार पनि धेरै भयो भन्नेहरुको जमात हुकर्दै गएको देखिन्छ । यस्तो बेला महिलाहरुको कुरा मात्र होइन हरेक उत्पीडित वर्गका मुद्दाहरू, ओझेलमा परिरहेका छन् । नेपालको राजनीतिक धरातल यस्तो भइरहेको छ कि सत्य कुरा कसैले पचाउन नसक्ने, खोजी कसैले नगर्ने, हावाको भरमा कुद्ने स्थिति बनिरहेको छ । यस्तो परिवेशमा अग्रगामी र परिवर्तनकारी शक्तिले नै सत्यतथ्य बुझाउँदै अघि बढ्नुपर्ने हुन्छ । यस्तो परिवेशमा सबैको साझा मोर्चा बनाउने कुरा फलामको च्यूरा चपाउनु जस्तै भएको छ । यद्यपि हामी त्यो दिशामा प्रयत्नशील छौं ।

महिला आन्दोलन खालि लैंगिक मुद्दा हो कि यसको सामाजिक आर्थिक र राजनीतिक आयाम पनि छ ? यसबारे के भन्नु हुन्छ ?

महिला आन्दोलन भन्दा र सुन्दा लैंगिक मुद्दा जस्तो देखिए पनि यो समाजका हरेक संरचनासँग जोडिएको विषय हो । किनभने मानवस‌माजको आधा हिसालाई पर राखेर गरिने कुनै पनि काम आफैमा अपूर्ण हुन्छ । त्यसैले समाजका विद्यमान सामाजिक आर्थिक र वर्गीय आयामहरुलाही पूर्णता दिनकै लागि अर्थात समाजलाई समानता र न्यायपूर्ण बनाउनकै लागि पनि महिला आन्दोलन जरुरी हो । जहाँसम्म विशुद्ध लैंगिक विषयको कुरा छ त्यो प्राकृतिक जैविक तत्वमा आधारित मनोविज्ञान र मानिस चेतनशील प्राणी भएकोले यस‌को स्वत्वको टक्रावमा पैदा हुने समस्या हो । त्यो उन्नत चेतना र वैज्ञानिक दृष्टिकोणबाटै समाधान हुन सक्छ ।

महिला मुद्दामा छलफल गरिरहदा कहिलेकाँही महिला उत्पीडनको मुख्य कारण पुरुषहरु हुन् भन्ने भावमा पनि विषयहरु उठ्ने गर्दछन् । खासमा महिला आन्दोलनको मुख्य समस्या पुरुष कि पुरुषवाद ?

मानव सभ्यता विकास‌को ऐतिहासिक भौतिकवादी दर्शनको आधारमा महान फ्रेडरिख ऐङ्गेल्सले अध्ययन र विश्लेषण गरे अनुसार असमानताको कारण राज्यव्यवस्था र निजि सम्पतिलाई आधार बनाइएको छ। जतिबेलादेखि पुरुष सत्तामा थिए, उनीहरुले महिलामाथि विभिन्न खालको दमनको हतियार अपनाए । जुनेबेलादेखि महिलाहरूले दमनको विरुद्धमा विद्रोह गरे । त्यसपछि संरचनागत उत्पीडन चल्दै आएको छ । त्यसैले महिला उत्पीडनको दोषी राज्य व्यवस्था र समाज व्यवस्था हो । त्यसैले हामीले त्यस्तो संस्थाको परिकल्पना गरेका हाैँ । जहाँ महिला पुरुष एकअर्काका अन्तर्द्वन्दी होइन समकक्षी भएर खुशीसाथ बाच्न सकून् ।

तपाईले समस्याको अन्तरसम्बन्ध व्यवस्थासँग जोडेर हेर्ने, व्याख्या गर्ने गरिरहनुभएको छ र विकल्प समाजवाद भनेर समेत चर्चा गर्नुहुन्छ । के समाजवाद आफैमा रामवाण हो र ? समाजवाद कार्यान्वयन भएका देशमा पनि लैंगिक उत्पीडन अन्त्य भएको देखिन्न नि ?

`रामवाण’ शब्दको भावार्थ आफैमा रहस्यमयी र आदर्शवादी लाग्छ । समाजविज्ञान अलौकिक तत्त्वबाट एक्कासी निर्माण हुने चीज होइन । यो निरन्ताको संघर्षबाट पैदा हुने चेतना र उत्पादन सम्बन्धबाट निर्माण हुने व्यवस्था हो । महिला उत्पीडन या लैगिक उत्पीडनको आँखाबाट हेर्दा सामन्तवाद र पुँजीवादी उत्पादन सम्बन्धमा आधारित समाज व्यवस्था भन्दा समाजवादी समाज व्यवस्था प्रगतिशील र उन्नत चेतनामा आधारित हुने र उत्पादन शक्ति र उत्पादनका साधनमा सामूहिक स्वामित्व निर्णायक हुने भएकोले मानव बिचको विभेद न्यून हुन्छ भन्न सकिन्छ । समाजवाद महिला उत्पीडनको सापेक्ष समाधान हो । जहाँसम्म समाजवाद कार्यान्वयन भएका देशहरुमा लैंगिक उत्पीडन अन्त्य नभएको भन्ने कुरो छ त्यसलाई सापेक्षतामा हेर्नुपर्छ । जस्तै पुँजीवादी विश्वको बीचमा संघर्षद्वारा स्थापना भएको सोभियत समाजवाद नै यस्तो व्यवस्था हो जसले इतिहासमै पहिलो पटक महिलालाई धेरै अधिकारको प्रत्याभूति दिलाएको थियो । त्यस्तै चीन, क्युवा, भियतनाम जस्ता मुलुकहरुमा सापेक्ष रुपमा महिला अधिकारको सुनिश्चितता गरिएको थियो । महिला उत्पीडनको उन्मूलन हुनको लागि त वर्गबिहिन र राज्यविहिन समाजको निर्माण हुनुपर्दछ ।

नेपालमा पनि समाजवाद साम्यवादको उद्देश्य बोकेका कम्युनिष्ट पार्टी पटकपटक राज्यको नेतृत्व गरिरहेको देखिन्छ तर महिला समस्याको आधारभूत सम्बोधन भएको छैन । समस्या केमा हो ? व्यवस्था वा अरु नै केहि समस्या छन् ?

हो, नेपालमा समाजवाद साम्यवादको उद्देश्य बोकेका कम्युनिष्ट पार्टीहरु पटकपटक सरकाको नेतृत्वमा पुगेका छन् तर उनीहरूको ताकतले पुरानो उत्पादन सम्बन्धमा आधारित राज्यव्यवस्था भत्काउन सकेको छैन । फलस्वरूप व्यवस्था बदल्न गएका कम्युनिस्टहरू आफै बदलिएका छन् जसका कारण समस्या समाधान हुन सकेको छैन । पूँजीवादी वा दलाल पूँजीवादी राज्यव्यवस्थाले वर्ग विभेद‌को खाडल झनै गहिरो पार्दै लाने भएकोले महिला विभेद‌को खाडल पनि पुरिने होइन, गहिरिँदै गएको छ । त्यसकारण महिला समस्याको आधारभूत कुरा हल गर्नपनि व्यवस्थाको संरचना बदलिनु आवश्यक छ ।

तपाईं जनयुद्धको विरासत र पृष्ठभूमिबाट आएको महिलाको क्रान्तिकारी महिला संगठनमार्फत अघि बढिरहनु भएको छ, यहाँ अरुपनि महिला संघ- संगठनहरू छन्, अरु भन्दा तपाईहरुको एजेण्डागत भिन्नता के हो ? अब आन्दोलनलाई कसरी दिशानिर्देश गर्नुपर्छ भन्ने लाग्छ ?

महत्वपूर्ण प्रश्न उठाउनुभयो । हामी कम्युनिस्ट आन्दोलनको रणनैतिक लक्ष्य साम्यवादसम्मको निरन्तर क्रान्तिको यात्राका यात्री हैं । त्यसक्रममा जनयुद्ध, अनआन्दोलन हुँदै एकीकृत जनकान्तिको यात्रामा अघि बढिरहेका छौं । यहाँ आ-आफ्ना लक्ष्य, उद्देश्य बोकेका अन्य महिला संघ संगठनहरू पनि छन् । नेपालमा अहिले खासगरी महिलाका एजेन्डा बोकेर अगाडि बढ्ने तीन थरीका महिला संघसंस्था देखिन्छन् । पहिलो थरी महिलाहरु जो सडक आन्दोलनमा छन्, उनीहरुको उद्देश्य भनेको महिलाहरुका तत्कालीन समस्याहरुको उठान गर्दै वास्तविक महिला अधिकारका लागि व्यवस्था परिवर्तनको माग राख्नु हो र उनीहरु विभेदकारी सामाजिक संरचनाको आमूल परिवर्तनमा विश्वास गर्छन् । दोस्रोथरी महिलाहरू पनि सडकमा छन् र उनीहरु महिला सम्बन्धि कानुनीअधिकार कार्यान्वयनको कुरा गर्छन्, महिलाको कानुनी अधिकारका लागि पैरवी गर्छन् र त्यहीँबाट महिला अधिकार प्राप्त हुन्छ भन्ने विश्वास लिन्छन् । त्यस्तै तेस्रोथरी महिलाहरू छन्, जो गैरसरकारी संघ/संस्था (NGO/INGO) मार्फत महिलाका मुद्दा उठाउँछन् । उनीहरुको उदेश्य भनेको महिलाका लैंगिक र वैयक्तिक मुद्दामा जोड दिने तर व्यवस्थालाई नछुने देखिन्छ ।
हामी सडकबाट निरन्तर क्रान्तिको प्रक्रियाबाट अगाडि बढेको हुनाले अरु भन्दा हामी यस मानेमा फरक छौं कि हाम्रो दृष्टिकोण महिला विभेदको जरो पुरुष र कानुनी प्रक्रियामा मात्र होइन कि यसको गहिरो सम्बन्ध राज्यव्यवस्था सङ्ग जोडिएको छ त्यसकारण व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्छौं । र त्यसका लागि गर्नुपर्ने सम्पूर्ण संघर्षमा निशर्त भाग लिन्छौं ।

जहाँसम्म आगामी आन्दोलनको दिशाको कुरा छ । त्यसमा हाम्रो स्पष्ट धारणा छ । अबको महिला आन्दोलन समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षमा केन्द्रित हुनुपर्छ । त्यसको आधारभूत शर्त भनेको सहि दृष्टिकोण सहितको वैचारिक स्पस्टता, अर्थ उत्पादनसँग सम्बन्धित अनिवार्य श्रम र राजनीतिक- सामाजिक कार्यमा महिलाहरुको अनिवार्य सहभागिता ।यी तीन कुरामा आम महिलालाई गोलबन्द पार्न सके वास्तविक जगसहितको समाजवादको आधार तयार हुन्छ । यसै आधारमा सबै किसिमका महिलाहरुसङ्ग बहस, छलफल गर्दै महिला आन्दोलनको एकीकृत धारा निर्माण गर्ने गरी आन्दोलन अगाडि बढाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।

यहाँले महिला आन्दोलनका विभिन्न पक्षबारे आफ्ना विचार राख्नुभयो । कुराकानीको अन्त्यमा थप केहि भन्नु हुन्छ कि ?

लामो समयपछि ८ मार्चको सन्दर्भ पारेर महिला सम्बन्धी नीतिगत र अन्य केहि समसामयिक पक्षबारेमा छलफल गरी हाम्रा विचारहरु राख्ने मौका दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।