
–अनिल शर्मा
कम्युनिष्ट आन्दोलनको नेता तथा महिला आन्दोलनकीसमेत नेता क्लारा जेटकिन (१८५७-१९३३) ले सन् १९१० मा कोपनहेगनमा भएको श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका एक सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्युयोर्कबाट भएको हो । सन् १९०८ मा न्युयोर्कमा आठ घण्टा काम, पुरुष सरह पारिश्रमिक र मतदानको अधिकार माग गर्दै बिरोध प्रदर्शन भयो । जसमा पन्ध्र हजारभन्दा धेरै महिला सहभागी भएका थिए । यसको एक बर्षपछि द सामाजिक जनवादी पार्टी अमेरिकाले नारी दिवस मनाउने निर्णय गर्यो । त्यसरी नारी दिवस सबैभन्दा पहिले अमेरिकी कम्युनिष्टहरुले मनाउन प्रारम्भ गरेका हुन् । त्यसपछि सन् १९११ मा डेनमार्क, अस्ट्रिया, जर्मनी र स्विजरल्याण्डमा नारी दिवस मनाइयो ।
सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा जार सरकारको बिरुद्ध ‘शान्ति र रोटी’ माग गर्दै सङ्घर्ष सुरु भयो । त्यसको समर्थन गर्दै महिलाहरु हड्ताल र प्रदर्शनमा उत्रिए । त्यसक्रममा रुसी महिलाले ठूलो बलिदानी गरे । जारको सत्ता ढलेपछि ती बहादुर महिलाले बलिदानी गरेको दिनको स्मरणमा ८ मार्चमा नै श्रमिक महिला दिवस मनाउन थालियो । सन् १९७४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्याता दियो । तर ‘श्रमिक’ पदावली राखिएन । त्यसलाई कतिपयले श्रमिक महिला दिवसको सारतत्व मार्ने र चाडपर्वमा झार्ने चालवाजीको रुपमा पनि व्याख्या गरेका छन्। संयुक्त राष्ट्र संघले सन् १९७५ मा पहिलो पटक यो दिवसको नारा ‘विगतलाई उत्सवको रुपमा र भविष्यको योजना निर्माण गरौ !’ राखेको थियो ।
नेपालमा भने दरबारिया तथा कुलीनवर्गका महिलाले वि.सं. २०३३ सालबाट महिला दिवस मनाउन थालेका थिए । वि.सं. २०३४ सालबाट साहित्यकार तथा महिला आन्दोलनका अगुवा पारिजातको अगुवाईमा भूमिगत रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ को श्रम तथा कानुन दफा (४१ )मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस किटान गरिएपछि यसले वैधानिक हैसियत प्राप्त गरेको छ ।
यो वर्ष विश्वले १११ औं ८ मार्च दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदैंछ । तर महिला हिंसा र विभेदका पर्खालहरु ढलेका छैनन् । महिलाहरुले स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन् । त्यसैप्रकारको अनुभूति छ भारतीयमूलकी अमेरिकी लेखक तथा नायिका पद्मा लक्ष्मीको । उनले संयुक्त राज्य अमेरिकामा महिला हिंसा भारतकै जस्तो रहेको बताएकी छन् । पीडाको विषय त के भने पद्माको परिवार भारतमा भइरहेको महिला हिँसाबाट त्रसित भएर अमेरिका पलायन भएको थियो ।
युद्ध, भोकमरी र महामारीको सबैभन्दा धेरै दुष्प्रभाव महिला र बालबालिकामाथि नै पर्दछ । कोभिड-१९ महामारीको दुष्प्रभाव पनि महिलामा नै धेरै परेको छ । विश्वमा कोभिड- १९ महामारी प्रारम्भ भएपछि महिला हिंसा २० प्रतिशतले बढेको थियो । नेपाल प्रहरीको वि.सं. २०७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कोभिड -१९ महामारीपछि सरदर ५ जना महिला दैनिक बलात्कार भएका थिए ।
नीति निर्माणको हरेक तहमा महिला अधिकार कमजोर छ । यो इच्छाशक्तिको विषय पनि हो । अफ्रिकी मुलुक रुवाण्डाको संसदमा ६४ प्रतिशत महिला सहभागिता छ । तर त्यहाँको कानुनमा महिला आरक्षणको प्रावधान छैन । उता, लोकतन्त्रको ठेकेदार अमेरिकाका विद्यालयमा अध्ययनरत २५ प्रतिशत छात्रा यौन हिंसाको शिकार हुने गरेका छन् । गत वर्ष इरानका महिलाले हिजाफविरुद्ध लामो सङ्घर्ष गरे । पश्चिमी सञ्चार माध्यम र बौद्धिक जगतले हिजाफ विद्रोहमा सहयोग गर्यो । तर हिजाफ नलगाउने पश्चिमी देशका महिला हिंसाको विषयमा मौनता साध्ने गरेका छन् । महिला अभियन्ता डलिमा मोगाहेदले त्यसप्रकारको विरोधाभासको सन्दर्भमा ‘हामीले सार्वजनिक स्थलमा कामुक देखिंदा मात्रै महिलालाई स्वतन्त्र ठानेका हौँ ?’प्रश्न गर्छिन् । पश्चिमी संसारले कामुकता र उपभोक्तावादलाई नै स्वतन्त्रता मान्ने भाष्य निर्माण गरिरहेको छ ।
पुँजीवादको विरुद्ध समाजवादले महिला स्वतन्त्रतालाई गुणात्मक सुधार गरेको थियो । तर बहस र प्रश्नहरु थिए र छन् । रुसी क्रान्तिपछिको पहिलो मन्त्री मण्डल (समाज कल्याण कमिसार) मा एकमात्र महिला अलेक्जेन्ड्रा कोलनताई समावेश थिइन् । महिलाहरु विश्वस्त र सन्तुष्त हुनेगरी लैङ्गिक प्रश्नको समाधान नभएको गुनासो अलेक्जेन्ड्रा कोलनताई (सन् १८७२- १९५२ रुसी) को थियो । त्यही विषयमा लेनिनसँग मत नमिलेपछि अर्को वर्षमा नै राजिनामा दिइन् । सिमोन द वोउवरले समाजवादमा पनि पितृसत्ताको विरुद्ध महिलाको लडाई जारी राख्नु पर्ने बताएकी थिइन् । उता रोजा लक्जेम्वर्ग पनि पितृसत्ताबाट जीवनभरी प्रताडित थिइन् । मानव जातिको युग दश हजार वर्षमा आठ हजार वर्षदेखि विभेद भइ आएको कारण त्यसको दुष्प्रभाव बहुआयामिक रहेको छ । महिलामाथि प्रशिक्षण, तालिम र खानपानमा समेत विभेद भएको कारण चेतनास्तर र शारीरिक अवस्थामा पनि प्रतिकूल प्रभाव परेको छ ।
आजको महिला आन्दोलनले लेनिन र क्लाराबिचको अन्तिम बहस, सिमोन द वोउवर र ज्यापाल शास्त्रका विचारहरु, रोजाका भोगाई र पितृसत्ताका डराईहरु, लेनिन र कोलनताईबिचका मतभेदहरु, चीनमा माओकालिन चीनले महिला स्वतन्त्रताको लागि गरेका प्रयासहरु सबैको साङ्गोपाङ्गो अध्ययन गर्नुपर्छ । समकालीन नेपाली महिला आन्दोलन मध्यम वर्गीय महिलाको सरोकारको नारा वरपर चक्कर मारिरहेको छ । नेपालको कानून र महिला आयोगले तिनै मध्यमवर्गको नारालाई सम्बोधन गरेको छ । लड्ने श्रमिक महिला, समस्याको केन्द्रमा श्रमिक महिला तर कानूनी सम्बोधन मध्यमवर्गको गरिएको छ । कम्युनिष्ट पार्टीनिकट महिला संगठन पनि मध्यमवर्गीय सरोकारका नारा वरपर घुमिरहेका छन् । त्यसैले महिला आन्दोलन कमजोर भएको छ । त्यसकारण श्रमिक महिला आन्दोलनलाई क्रान्तिकारी विचारको जगमा पुनर्गठन गर्नुपर्ने चुनौती प्रकट भएको छ ।