३ बैशाख २०८२, बुधबार

वीरता दिवसमा विथोलडाँडा घटनाका घाइतेहरुलाई सम्मान

0

कालिकोट । माल्कोटमा जनदमनका लागि गाँउमा पुगेको प्रहरीको हतियार खोसेर पार्टीलाई बुझाउने क्रममा घाइते भएका महिलाहरुलाई सम्मान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कालिकोट र नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउँ कमिटीको संयुक्त आयोजनामा मंगलबार शेरापाटामा गरिएको २७ औं वीरता दिवसको कार्यक्रममा घाइते महिलाहरुलाई दोसल्लाह ओढाएर कदरपत्रसहित मायाको चिनो दिएर सम्मान गरिएको हो ।
आज भन्दा २७ बर्ष अघि २०५४ साल चैत्र २६ गते कुमालगाँउ प्रहरी चौकीबाट माओवादी खोज्दै जनदमनका लागि माल्कोट पुगेको प्रहरीमाथि महिलाहरुले संगठित रुपमा प्रतिरोध गरि हतियार खोसेका थिए ।
महिलाहरुले खोसेको हतियार तत्कालिन जनयुद्ध लडिरहेको नेकपा (माओवादी)लाई हस्तान्तरण गरेका थिए ।
सो प्रतिरोधका क्रममा एक पुरुष राईले विक, ५ जना महिला पुना विक, मनसरा विक, विजा विक, प्याउकली विक र गोरिकला विकसहित ६ जना प्रहरीको गोली लागि घाइते भएका थिए । घटनामा कोटवाडाका काली बहादुर विक सहिद भएका थिए ।
प्रहरीलाई माल्कोटको विथोल्डाँडाबाट घरेलु हतहतियारले प्रतिरोध गर्दै रहगाड हुँदै चिउरी मेला लिएर ओढारमा कैद गरेका थिए । ओढारमै आगो लगाएर ३ जना प्रहरीको हत्या समेत गरेका थिए भने अरु बेपत्ता भएका थिए ।
सोही घटनामा सहभागी भएका साहसी घाइते महिलाहरुमा पुना विक, मनसरा विक र विजा विक अहिले पनि जीवित हुनुहुन्छ ।
उहाँहरुलाई दोसल्लाह ओढाएर मायाको चिनो तथा कदरपत्र दिएर सम्मान गरिएको छ । यस्तै घटनामा अन्य घाइतेहरु प्याउकली विक र राईले विकको निधन भइसकेको छ ।
घटनाका अर्का घाइते महिला गोरिकला विक भने ०५५ साल असार ९ गते देहडुमाडुमा प्रहरीले गरेको सामुहिक हत्याकाण्डमा सहिद भइसक्नु भएको छ ।
उहाँहरुका आफन्तहरु मार्फत घाइते महिलाहरुको वीरता र साहसको उच्च सम्मान गर्दै दोसल्लाह ओढाएर कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको नेकपाका जिल्ला सेक्रेटरी बलवान सीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला इन्चार्ज विवेक सी, अतिथिहरु नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सचिवालय सदस्य सुनिल सी, अ.ने.म.संघ क्रान्तिकारीका महासचिव राजकुमारी सी लगायतका नेताहरुले अहिले जीवित नहुने घाइते महिलालाई उच्च सम्मान गर्दै आफन्तमार्फत दोसल्लाह ओढाएर सम्मानपत्रसहित मायाको चिनो हस्तान्तरण गरेबा छन् ।
कार्यक्रममा जीवित घाइते मध्य पुना विकको सहभागिता रहेको थियो । घाइते पुनाले पार्टीले आफ्नो योगदानको प्रत्येक बर्ष सम्मान गर्ने गरेकोमा धन्यवाद दिइन् ।
कार्यक्रममा प्रहरीको हतियार खोस्ने मुख्य भूमिका खेल्नु भएकी धनसरा विकलाई पनि उच्च सम्मान गर्दै आफन्त मार्फत कदरपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विवेक सीेले पनि जनयुद्धको राप र ताप चलिरहेको बेला प्रहरीमाथि प्रतिरोध गरी आफु घाइते भएर पनि हतियार खोस्ने जस्तो ऐतिहासिक काम गरेको भन्दै उच्च सम्मानसहित धन्यवाद दिए ।
कार्यक्रममा घाइते मनसराका आफन्त खगेन्द्र विक, विजाका आफन्त कर्ण विक, प्याउकलीका बुहारी सविता विक, सहिद कालि बहादुरका नातीनि निरुता विक,सहिद गोरिकलाका बुहारी मनकोइला विक, राईले विकका बुहारी तारा विक, हतियार खोस्ने धनसराका बुहारी जुना विकमार्फत दोसल्लाह ओढाएर कदर पत्र सहित मायाको चिनो दिएर सम्मान गरिएको छ । कार्यक्रममा क्रान्तिकारी स्थानीय देउडा तथा झाँकीहरु समेत देखाइएको थियो ।
बलमान सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विवेक सी, सुनिल, राजकुमारी र समग्र सीले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।