
लोकेश सी
गरिबीको झुपडी धाउछु चुलो बलेको देख्दिन
शैक्षिक क्षेत्र हेर्छु विकृति आसमानता देख्छु
यातायात, भन्सार, मालपोत कार्यालय धाउछु बिचौलिया दलालहरु देख्छु,
ए सरकार मैले आखामा पट्ती बाध्न सकिन
हो त्यसैले त म विद्रोही ठहरिए ।
हो म हिरासतको बन्दी हुँ,
जहाँ स्वतन्त्रताका नाममा बोलिमा हत्कडी लगाइन्छ
सुनिन्छ बजारमा गणतन्त्र आको छ रे
मालिक तिमी जनता दास बन्दैछन् अरे,
सत्ता र उन्मादमा बहुमतको निर्णय गर्नेहरू
चरम लापरबाही अनि सरकारी कदम देख्दा
मैले बुझेको अनि भोगेको गणतन्त्रका बिचमा
अग्लो पर्खाल अनि पहाड अडिएको छ अरे,
हिजोका दिनसम्म जनताको करबाट तलब खाने भन्नेहरु
आज आफै तलब लिन पेन्सनको वकालत गर्छन् अरे,
गणतन्त्रको सारलाई नाङ्गो बनाउनेहरु
क्रान्तिकारी योद्दालाई बन्दी बनाउने दुस्साहस गर्दैछन् अरे,
हो म त्यही सिपाही हुँ जो परिवर्तन चाहन्छु ।
आस्था र विचारका भरमा हामी हिरासत बस्नुपर्ने
दमन अनि जेलनेल क्रान्तिकारीहरुले झेल्नुपर्ने
ओ महासय, कति टिक्न सक्छ र त्यो तिम्रो दलाली सत्ता
कठै! तिमी मालिक अनि जनता दास बन्नुपर्ने
प्रेस स्वतन्त्रता, मौलिक हक मानवधिकार त्यसमाथि शान्तिका कुरा गर्नेहरु
कठै! बिचरा शालिन संस्कारको आशा गर्नेहरु
मुर्ख साबित भए अरे,
हो म त्यही बन्दी हुँ जो परिवर्तन चाहन्छु ।
राष्ट्रका यावत संयन्त्र कब्जामा लिनेहरु
दशौ वर्ष शासन गर्ने अर्बौं थुपार्ने भ्रष्ट तस्करहरु
देशलाई बेच्ने अनि जनतालाई गुमराहमा राख्ने रणनीति स्पष्ट देखिदैछ
हो हामी परिवर्तन चाहन्छौ तिमी के चाहन्छौ त्यो तिम्रो कुरा हो
त्यही परिवर्तनका खातिर लड्ने म एक सिपाही हुँ ।
कलम बोक्ने हातलाई जबर्जस्ती बन्दुक थमाइदैछ यहाँ
झुट्टा मुद्दामा जेलमा हालिन्छ भने
अवश्य एकदिन कलम बोक्ने हजारौं यी हातहरु
बन्धुक बोक्न बाध्य हुन्छन् होला यहाँ
तिमी थेग्न सक्दैनौं होला
गाउँगाउँबाट ज्वाला दन्किनेछन्
तिमी कति टिक्छौ त्यो भन्न सकिदैन
हो म त्यही बन्दी हुँ जसले तिम्रा विरुद्ध आगो ओकेल्दैछ ।
नेपाली जनताले मालिक बन्न सयौं वर्ष कुर्नुपर्ने
वेदना हुँदा कति पटक गर्भ अनि मातृत्वकै हत्या हुने
हजारौं नेपालीका छोरा सहिद भएको देश
कयौं नेपाली चेली विधुवा भए हजारौं आमाको कोख रित्तिएको देश
खै यहाँ कसले बुझ्ने गरिबका पिडा
लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर निर्दोष स्वाभिमानीले बलिदानी गरे
सयौं वर्षका तानाशाहहरुका पन्जाबाट मुक्ति पाएको देश
फेरि गाउँगाउँमा डबल तानाशाहहरुको बिगबिगी छ अरे,
हो म त्यही विद्रोही हुँ, जो परिवर्तन चाहन्छु ।
न राणा शासकले यो मुलुकमा राणाको अन्त्य हुन्छ भनेर सोचेका थिए
न त त्यसपछिका शासकले सजिलै लोकतन्त्रको कल्पना
यो व्यवस्था कुनै व्यक्ति दल तथा शासकको लागि ल्याइएको थिएन
सर्वहारा जनता अनि समुदायको लागि ल्याइएको थियो
पूर्ण न्यायिक जनतामा निहित सार्वभौमसत्ता
०५२ साल फाल्गुन १ गते ७० जनाले उठाएको त्यो रातो झन्डा
कस्तो रूपमा दमकिएको थियो तिमीले बुझेका छौ
कमजोर नठान क्रान्तिकारीहरुलाई, अवश्य एक दिन पतन हुनेछौं
प्रजातन्त्र नारा होइन नागरिक संरक्षण गर्ने स्तम्भ हो
गणतन्त्र शासकहरुको सम्पत्ति आर्जन गर्ने माध्यम होइन
यो त जनताको जिवनस्तर उठाउने माध्यम हो
ए! हजुर यो दुई तिहाईको सरकार होइन यो त कान्डको सरकार हो
जहाँ वाइट् बडी, निर्मला बलात्कार, हत्या, जग्गा प्रकरण, सुन कान्ड हुन्छन्
अ:ह म दुई तिहाइ सरकार स्वीकार गर्नै सक्दैन
त्यसैले त म देशद्रोही ठहरिए ।
गरीबको झुपडी धाउछु चुलो बलेको देख्दिन
शैक्षिक क्षेत्र हेर्छु विकृति असमानता देख्छु
यातायात भन्सार नापी कार्यालय धाउछु बिचौलिया दलाल देख्छु
ए! सरकार मैले आखामा पट्टि बाध्न सकिन
हो त्यसैले त म विद्रोही भए
आहा मिठो भाषामा लेखेका छौ नेपालको संविधान सर्वाेच्च कानुन हो अरे,
जहाँ राज्यका निर्देशक सिद्धान्त नागरिक हक अधिकार लेखेका छन् अरे,
जहाँ राजनीति आस्था विचार राख्ने अधिकार उल्लेख छ रे
उफ! मैले कतै देखिन तिम्रो त्यो कानुन
म बाध्य भएर विद्रोही भए सरकार
जुन आज बन्द पर्खालभित्र छुँ ।
सायद त्यही निर्देशिका हुनुपर्छ
जहाँ हामीले जेलको पर्खालभित्र लड्नु पर्ने
कठै तिम्रो जनतालाई लुट्ने लुटाहा गणतन्त्र जसलाई बुट्ले कुल्चनु पर्ने हो
हो म त्यही विद्रोही हुँ जो आज हिरासतमा छुँ
युवा शक्ति सम्भावना उत्साह र जोखिम मोल्ने हुन्छ
उपयोग गर्न नसके विद्रोह उसैभित्र लुकेको हुन्छ
परिवर्तनका अग्रज ६० लाख युवाहरु विदेशिएका गल्लीगल्लीमा पसिना बगाइरहेका छन्
रुपान्तरणका लागि कठिन संघर्षको यात्रा तय गर्नु हाम्रो कर्तव्य हुन्छ
जनताका हकहित र मुक्तिका लागी
टाउकोमा कफन बाधेर संघर्षमा उत्रेको सिपाही हुँ ।
जसमा ठूलो अठोट दृढ शक्ति चाहिन्छ
अनेक दु:ख कष्ट जेलनेल खेप्नु पर्ने हुन्छ
हो म त्यही विद्रोही हुँ जसले परिवर्तन चाहन्छ
जनताको हिड्डुल बन्द गरेर
लावालस्कर साथ साइरन बजाएर हिड्नेहरु
कालो सिसाभित्र बुलेटप्रुफ गाडीमा, सुरक्षाको घेराबीचमा हिड्डुल गर्ने भ्रष्टहरु
होसियार! जनताको करबाट मोजमस्ती गर्ने दलालहरु
तिम्रा विरुद्ध तोप उठाउन सयौं युवा जागिसकेका छन्
हो म त्यही विद्रोही हुँ, जसले अन्याय अत्याचारका विरुद्ध लडिरहने छुँ ।