
पोखरा – गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका महासचिव विप्लवलाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे अवगत गराए । उनले राज्यको उचित ध्यान र सहयोगको अभावमा उद्योग क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।
महासचिव विप्लवसँगको भेटलाई फलदायी मान्दै थापाले आफ्नो उद्योगले उत्पादनसँगै स्वरोजगारी सिर्जनामा पनि योगदान पुर्याएको जानकारी दिए । देशमा व्याप्त राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्ररी असर गरेको उनको भनाइ थियो ।
यस भेटघाटमा महासचिव विप्लवले राष्ट्रिय पुँजीपति र स्वदेशी उद्योगीहरूसँग सहकार्य गरेर देशलाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताए । उनले सहकारीमार्फत उत्पादन र पार्टीको स्वामित्वमा रहेको जग्गालाई एकीकृत रूपमा उपयोग गरी काम अगाडि बढाइएको जानकारी दिए । उद्यमी थापासँगको यो भेटले सकारात्मक सन्देश दिएको विश्वास उनले व्यक्त गरे ।