
उदयपुर । सार्वजनिक शिक्षामा जनविश्वास पुनःस्थापना गर्ने अभियानअन्तर्गत उदयपुरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक श्री युबराज खत्रीले निजी विद्यालयमा अध्ययनरत आफ्ना दुई नानीहरूलाई त्यहाँबाट स्थानान्तरण गरी आफैं कार्यरत सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
उक्त निर्णय विद्यालय व्यवस्थापन समितिको २०८२ साल वैशाख २१ गते सम्पन्न बैठकमा पारित नीतिको व्यवहारिक कार्यान्वयन हो । सो बैठकमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावक संघ सदस्यहरूले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गर्नुपर्ने निर्णय गरिएको थियो ।
शिक्षक खत्रीको कदमले सामुदायिक शिक्षाप्रति देखाइएको निष्ठा र उत्तरदायित्वको स्पष्ट उदाहरण प्रस्तुत गरेको भन्दै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पौड्यालले प्रशंसा प्रकट गर्दै भने —“शिक्षकले आफू कार्यरत विद्यालयमा आफ्ना सन्तान भर्ना गर्नु शिक्षाको गुणस्तरप्रति विश्वासको अभिव्यक्ति हो । यो निर्णय अरु शिक्षक, अभिभावक, सरकारी कर्मचारी र जनप्रतिनिधिका लागि समेत अनुकरणीय छ ।”
बैठकमा नगर शिक्षा शाखा प्रमुख सन्जु दाहालको समेत उपस्थिति रहेको थियो । बैठकले सामुदायिक विद्यालयको सुदृढीकरणका लागि भर्ना अभियान सञ्चालन, शिक्षक कार्यसम्पादन करार, वार्षिक कार्ययोजना निर्माण, कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन र अभिभावक अभिमुखिकरण कार्यक्रमजस्ता महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको थियो ।
बैठकले यहि अवसरमा सरकारी कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरूलाई समेत आ-आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न प्रेरित गर्ने सन्देश दिएको छ । सार्वजनिक शिक्षामा सबैको साझा लगानी र सरोकार कायम रहोस् भन्ने उदेश्यले यो योजना लागू गरिएको छ ।
विद्यालय परिवारले शिक्षक खत्रीप्रति आभार प्रकट गर्दै यो निर्णयले सामुदायिक शिक्षाको सशक्तीकरणमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ । साथै, यस्ता उदाहरणीय क्रियाकलापहरूबाट सामुदायिक विद्यालयमा भरोसा बढ्दै जाने अपेक्षा गरिएको छ ।