
काठमाडाैँ/ अखिल नेपाल महिला संघ क्रान्तिकारीले बहुविवाह गर्ने पाउने गरी कानुन आउन खोजेको भन्दै त्यसलाई तुरुन्त खारेज गर्न माग गरेको छ । । अ.ने.म.संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी कानून मन्त्रालयद्वारा बहुविवाह गर्न पाउने कानूनको मस्यौदा तयार शीर्षकको समाचारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै खारेज गर्न माग गरेकी हुन् ।
जारी विज्ञप्तिमा “बहुविवाह महिलाहरुको मात्र उत्पीडनको विषय होइन भन्दै यो सामाजिक, पारिवारिक, आर्थिक र सांस्कृतिक हिसाबले पनि अनुचित,विभेदकारी र अन्यायपूर्ण भएकोले यसका विरुद्ध नेपालको महिला आन्दोलनले लामो समयदेखि संघर्ष गर्दै आएको बताइएको छ ।
महिलामाथि भएका आर्थिक, सामाजिक र राजनीतिक उत्पीडनविरुद्धको लामो संघर्षपछि २०७५ साल भदौ १ गतेदेखि लागु हुनेगरी मुलुकी अपराध संहिता अन्तर्गत बहुविवाहलाई निषेध गर्ने कानून निर्माण भएको र अहिले आएर एकाध अवैध घटना र सम्बन्धलाई हवाला दिँदै कानुन मन्त्रालय र नेपाल सरकारद्वारा चालिएको यो कदम महिला हित र अधिकार विरोधी, विभेदकारी, महिला उत्पीडनलाई निरन्तरता दिन खोज्ने, परिवर्तन विरोधी एवम् घोर प्रतिक्रान्तिकारी कदम भएको उल्लेख छ ।
“बहुविवाह जस्तो गलत प्रथालाई प्रोत्साहित हुनेगरी आउन खोजेको कानुनले समाजलाई थप अराजक, स्वईच्छाचारिता र विभेदलाई बढावा दिने हुँदा सम्बन्धित निकायले यसलाई तुरुन्त खारेज गरोस्” भन्ने माग समेत गरिएको छ ।
पटक पटक महिलाहरुलाई अपमानित गर्ने, अधिकारविहिन बनाउने खालका कानुनहरु बनाउने अभिव्यक्तिहरु निरन्तर आइरहेको सन्दर्भलाई पनि हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं । अन्यथा यस्ता महिलाविरोधी अभिव्यक्ति र क्रियाकलापविरुद्ध सम्पूर्ण महिलाहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछन् जारी विज्ञप्तिमा भनिएको छ ।