११ बैशाख २०८१, मंगलवार

नेकपाको मेचीनगर सम्मेलन सम्पन्न, प्रधानको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन

0

 

मेचीनगर: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरकाे तेस्रो नगर सभा भव्य रुपमा सम्पन्न भएको छ । नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए । 

सम्मेलनमा प्रमुख अतिथिका रुपमा पार्टीका जिल्ला सचिव प्रशान्त थापाको उपस्थिति रहेको थियोे भने अतिथिहरुमा पार्टीका जिल्ला सल्लाहकार समिति सदस्य खोम मिश्र, जिल्ला सदस्य दिपक कुरुङवाङ, सौगात कटुवाल, गोपी लोहार , सहिद परिवारका सदस्य दिपक लोकान्द्री, सित खड्का , बाम बुद्धिजीवी गणेश लोहार लगायतको उपस्थिति रहेको थियोे । 

उक्त नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला सचिव प्रशान्त थापाले  अब सबै जनता क्रान्तिका पक्षमा एक भएर अगाडि बढ्नुपर्ने र आफ्नो हकअधिकारको रक्षा गर्नुपर्ने बेला आएको बताए ।  उनले भने, “हामी विकृति विसंगति र बेथितिका विरुद्ध घरघरबाट संघर्ष गर्नुपर्ने दिन आएको छ । यो सत्ताले युवायुवतीहरु रेमिट्यान्समा विदेशमा बेच्ने काम गरिरहेको छ भने जनताको  सुरक्षाको ग्यारेन्टी गर्न सकेकाे छैन । त्यसैले हामी यो दलाल राज्यसत्ताको विरुद्ध धावा बोल्न तयार छाैँ ।”

 सहिदहरुको बलिदानकाे धज्जि उडाउँदै केही नेताहरूले राष्ट्रघात गरेपनि नेपाल कम्युनिस्ट पार्टी सबैको साझा चौतारी रहेको र हरेक अप्ठ्यारो परिस्थितिमा उक्त चाैतारिकाे सहारा सबैले  लिनुपर्ने र अप्ठ्यारोलाई परास्त गर्नुपर्ने बताउँदै नेता थापाले जनताका यावत समस्याहरु थाती राखेर यो राज्यसत्ताका मतियारहरु लुटधन्दा मच्चाइरहेको र यसका विरुद्ध सबैले आवाज उठाउनुपर्ने, संघर्ष गर्नुपर्ने बताए ।

नेता थापाले मेचीनगरमा चरम  भ्रष्टाचार, बेथिति अन्याय र अत्याचार रहेपनि  कोहि यसका विरुद्ध बोल्न तयार नभएको र त्यसका विरुद्ध  नेपाल कम्युनिस्ट पार्टीले संघर्ष गरेर अगाडि बढ्ने उद्घोष गरे।

अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज  खगेन्द्र सिटौलाले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज सञ्जय राईले गरेका थिए भने राईले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए ।

नवनियुक्त कमिटीलाई खदा तथा अबिर लगाएर कार्यक्रमका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने नगर इन्चार्ज राईले सपथ ग्रहण गराएको थिए । सपथ ग्रहण पश्चात् नवनियुक्त  सचिव जीवन श्रेष्ठले प्रतिबद्धता मन्तव्य राखेका थिए भने बाम बुद्धिजीवीका तर्फबाट गणेश लोहार, सहिद परिवारका तर्फबाट दिपक लोकान्द्री, जिल्ला सल्लाहकार सदस्य खोम मिश्र लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।