
ओखलढुंगा – ओखलढुंगामा ‘जेन–जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया भव्य रूपमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीले प्रस्तुत गरेको कार्यपत्रमा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न प्रतिनिधिहरूले टिप्पणी गरेका थिए ।
कार्यपत्रमा नेपाली जनताको बलिदान र ऐतिहासिक विद्रोहका आधारमा बनेको संविधानसभाको विघटन, दोस्रो संविधानसभाबाट आएको संविधानले जनताको मूलआकांक्षा समेट्न नसकेको तथ्य, दलाल संसदीय व्यवस्थाको चरित्र, भ्रष्टाचार र राष्ट्रघातका काण्ड अनि हालसालैको जेन–जि विद्रोहको कारण, उद्देश्य र असफलताको कारणबारे विस्तृत विश्लेषण गरिएको थियो ।
माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य रुपकले सरकारको असफलता नै हालको विद्रोही परिस्थिति सिर्जना हुने मूलकारण भएको उल्लेख गर्दै दलहरूको गैरजिम्मेवार चरित्रले जनतालाई सडकमा धकेलेको बताए । सिद्धिचरण नगरपालिकाका उपमेयर केदार बस्नेतले पनि दलहरूको गलत रवैया र संवेदनहीनताले नै नेपाली जनताको भावनाको विद्रोह जन्माएको भन्दै आफू उपमेयर पदमै भएपनि व्यवस्था र सरकारप्रति चित्त नबुझेको स्पष्ट पारे ।
नेकपा समाजवादी ओखलढुंगाका अध्यक्ष मेघ बहादुर श्रेष्ठले जेन–जि आन्दोलनको माग पूरा गर्दै संविधान पुनर्लेखन अपरिहार्य भएको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष शेर बहादुर खत्रीले जेन–जि विद्रोहलाई उपयुक्त समयमा आएको उपयुक्त कार्यक्रम भन्दै यसलाई असफल हुन नदिनुपर्ने धारणा राखे । जसपा नेपाल ओखलढुंगाका अध्यक्ष प्रकाश तामाङले भने जेन–जि आन्दोलनको भावना अनुसार सरकारले काम नगरे फेरि ठूलो विद्रोह हुने चेतावनी दिए ।
१ नम्नर प्रदेश नामाकरण पुनर्लेखन समिति संयोजक ठगेन्द्र राज राईले आगामी आन्दोलनमा पहिचानका सवाललाई मजबुत ढंगले उठाउनुपर्नेमा जोड दिए । जेन–जि पुस्ताकी प्रतिनिधि सम्झना कटुवालले नयाँ पुस्ताको आक्रोशलाई देश रूपान्तरणको शक्ति बनाउन आवश्यक रहेको धारणा राखिन् । वक्ताहरूका प्रतिक्रियापछि जवाफ दिँदै कार्यपत्र प्रस्तुतकर्ता नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीले व्यवस्थाको असफलता नै जेन–जि विद्रोहको प्रमुख कारण भएको उल्लेख गर्दै संविधान पुनर्लेखन, देशभक्त कम्युनिस्टहरूको एकता र नेपाली विशेषताको समाजवाद अबको अपरिहार्य निकास भएको बताए । उनले यस्ता छलफलहरू देशभरि गर्न आवश्यक रहेको समेत जोड दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा सिद्दिचरण नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता नेकपा ओखलढुंगाका सचिव बोज बहादुर सीले गरेका थिए भने सञ्चालन अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले गरेका थिए ।