२२ आश्विन २०८२, बुधबार

जेन-जी आन्दाेलनका उपलब्धी जोगाउन सबैखाले चुनौतीको सामना गर्छाैँ : सन्तोष सी

0

लमही। शनिबार लमहीको देउखुरी बहुमुखी क्याम्पस हल जमघटले भरिएको थियो । क्याम्पसको हलमा नेता, कार्यकर्ता, शिक्षक, युवाहरू, पत्रकार, सामाजिक अगुवा, वन समितिका प्रतिनिधि, खेलकुद क्षेत्रका युवा-सबै एउटै मञ्चमा भेला भएका थिए । देशभर तरंग ल्याएको जेनजी विद्रोहबारे बहस गर्न, निकास खोज्न र भविष्यको बाटो के हुन सक्छ भनेर छलफल गर्न ।

नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको यो अन्तरक्रिया कार्यक्रममा सहभागी सबैको एउटै अनुहारमा चिन्ता र अपेक्षाको मिश्रण देखिन्थ्यो । देशको वर्तमान अवस्था, राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन र आर्थिक संकटकाबीच अबको बाटो के हो भन्ने प्रश्न सबैका ओठमा थियो। जनताको चाहना र विदेशी शक्तिको दबाबबीच नेपाल कुन बाटो जाने भन्ने प्रश्न अझै अनुत्तरित छ ।

“नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा ‘जेनजी विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रम सुरु भएको भयाे ।” सबैभन्दा पहिला बोल्न उभिए, नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सी । उहाँको स्वर कठोर थियो । इञ्चार्ज सविन सीले पार्टीले सञ्चालन गरेको ६ दिने अभियानबारे जानकारी दिँदै पुराना दलहरूलाई जनताको विश्वास गुमाएको आरोप लगाउनुभयाे । उहाँले क्रान्तिकारी शक्तिको ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको थालनीसँगै वक्ताहरूले विद्रोहको पृष्ठभूमि स्मरण गर्नुभयो । नेकपाका स्थायी कमिटी सदस्य सन्तोष सी ‘विषम’ ले आन्दोलनलाई “उपयुक्त र अपरिहार्य” भन्दै यसका उपलब्धी जोगाउन पार्टी कुनै पनि चुनौती सामना गर्न पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । “आन्दोलनको म्याण्डेटभन्दा बाहिर गएर सरकार गठन गरियो । नेपाल विदेशी शक्तिको क्रियास्थल बनेको छ। भूराजनीतिक चलखेल बढेको छ।” उहाँले लामो असन्तुष्टि, भ्रष्टाचार र नेतृत्वको असफलताले नै विद्रोह जन्माएको स्पष्ट पार्नुभयो । उहाँले भूराजनीतिक चलखेलले देशलाई रणभूमि बनाइरहेको भन्दै नयाँ राजनीतिक निकास खोज्नुपर्ने धारणा राख्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य प्रकाश सीले सहजीकरण गरेको कार्यक्रममा बाेल्दै जेनजी प्रतिनिधि रविन केसीले पुराना दलहरूले सत्ता कमाउने साधन बनाएको भन्दै भ्रष्टाचार अन्त्य नभएसम्म विद्रोह जारी रहने चेतावनी दिनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाह र प्रेस चाैतारी लुम्बिनी इञ्चार्ज टीकाबहादुर बस्नेतले विद्रोहले असन्तुष्टिको स्वरलाई उजागर गरेको तर समाधानका लागि साझा दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

हलमा मात्र नेताहरू रहनुभएको थिएन। स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी, वनका प्रतिनिधि, खेलकुदका युवा सबैले आफ्नो आवाज राखे। एमाले लमहीका अध्यक्ष रतन केसी, माओवादी केन्द्र लमहीका दीलकुमार श्रेष्ठ, एकीकृत समाजवादी लमहीका शशी परियार, नगर वडाध्यक्ष सागर सुवेदी, शिक्षकहरू शरद भट्टराई, वसन्त रिजाल, वसन्त अधिकारी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, लमही क्रिकेट संघका प्रेम पुलामी, उद्योग परिसर लुम्बिनीका प्रतिनिधि रेशम केसी, युवा आकाश शर्मा र युवराज भण्डारी लगायतको सहभागि सबैले आफ्ना विचार व्यक्त गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।