१३ बैशाख २०८१, बिहीबार

नेकपा गुल्मीको चौंथो जिल्ला सम्मेलन, सेक्रेटरीमा सुमन

0

नेपाल कम्युनिस्ट पार्टी गुल्मीको चौंथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुमनको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं सूचना तथा प्रचार विभाग इन्चार्ज प्रज्वलनले एकीकृत जनक्रान्ति रहरको विषय नभएको भन्दै नेपाली जनतामाथि अन्याय, अत्याचार, शोषण र उत्पीडन रहुन्जेल यो जारी रहने बताउनुभयो । उहाँले देशमा अशान्तिको कारण जनता र आफ्नो पार्टी नभएको भन्दै यसको मूलकारण संसदीय राज्यसत्ता भएको बताउनुभयो । उहाँले ३ बुँदे सहमति उल्लंघन गरेर अशान्ति मच्चाउन खोजिरहेको भन्दै आफुहरुले यसलाई अक्षरसः कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले देशको ढुकुटीमाथि लुट मच्चाएर शान्तिको कामना गर्नु मुर्खता भएको बताउदै राज्यले ३ बुँदे सहमति उल्लंघन गरेर पार्टीमाथि दमन गरे सामना गर्न तयार रहेको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादले जनताको गाँसबास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, मानवअधिकार र सूचनाको ग्यारेन्टी गर्ने बताउदै यसका लागी एकीकृत जनक्रान्तिको कार्यदिशा सहित पार्टी अगाडी बढेको बताउनुभयो । उहाँले दलाल राज्यसत्ताबाट उत्पीडित जाती, वर्ग, क्षेत्र, लैंगिक शोषणको अन्त्य नहुने बताउदै यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नेकपा कपिलवस्तुको सेक्रेटरी कमल र अर्घाखाँची सेक्रेटरी खेम घर्ती मगरले सम्मेलनको शुभकामना दिदै संसदीय व्यवस्थाविरुद्ध स्थानीय तहदेखि केन्द्रसम्म संघर्षलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँहरुले दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवाद विरुद्ध संघर्ष गर्दै गुल्मीको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो । 

सम्मेलनको उद्घाटन सत्र जिल्ला सदस्य भीषणले गर्नुभएको थियो भने स्वागत जिल्ला सदस्य प्रकाशले गर्नुभएको थियो । सम्मेलनमा संग्रामी सांस्कृतिक परिवारका कलाकार आत्मा, रेश्मी मगर र चन्द्रा मगरले सांगितीक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । बन्दसत्रमा सेक्रेटरी सुमनले जिल्लाको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उदयमानको अध्यक्षता, शीतलको सञ्चालनमा सम्पन्न भएको थियो । 

सम्मेलनमा जिल्लाको स्थानीय गाउँपालिकाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु, सहिद परिवार, बेपत्ता योद्धाका परिवार, जवस मोर्चाका प्रमुखहरु, सल्लाहकार, विशेष कमिटीका सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।