८ पुष २०८१, सोमबार

मानव जाति ‘सी’ एक चर्चा

0

हालै नेपाली राजनीति तथा नेपाली वामपन्थी कम्युनिस्ट आन्दोलनकाे अत्यन्त लाेकप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नवाैं महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ। प्रतिक्रियावादी तथा दलाल पुँजिवादी संसदीय राज्य व्यवस्था र सरकारकाे हाम्रो पार्टी तथा मजदुर किसान जनताप्रतिकाे निरंकुश दमनका बाबजुद पार्टीद्वारा आफ्नै बलबुतामा निर्मित कपिलवस्तुकाे शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा असाेज २५ देखि कात्तिक २ गतेसम्म भएको ऐतिहासिक नवाै महाधिवेशनले समग्र नेपाली राजनीति र नेपालकाे कम्युनिस्ट आन्दोलनलाई दीर्घकालीन रुपले प्रभाव पार्ने गरि दुरगामी महत्त्वका केही प्रस्तावहरु पारित गरेको छ ।
पार्टीको ऐतिहासिक महाधिवेशनले मालेमावादी तथा ऐतिहासिक तथा द्वन्दात्मक भाैतिकवादी विज्ञानमा दर्शन, राजनीति र अर्थशास्त्रकाे क्षेत्रमा मात्रै हाेइन कम्युनिस्ट संस्कृति र रुपान्तरणकाे क्षेत्रमा समेत महत्त्वपूर्ण निर्णयहरु गरेको छ। निश्चय नै नेपाली राजनीतिकाे क्रान्तिकारी शक्ति  हुनुको हिसाबमा पार्टीको महाधिवेशनले नयाँ खालका संगठनात्मक निर्णय समेत गरेको छ। नवाै महाधिवेशन सफल पारेर सहभागीहरु आफ्ना कार्यक्षेत्रमा पुग्दा नपुग्दै नेकपाकाे महाधिवेशनबाट पारित निर्णणहरु अहिले नेपाली राजनीतिक बजारमा चर्चा, परिचर्चा, छलफल, टिकाटिप्पनी हुने मात्रै हाेइन यसमा विभिन्न काेणहरुबाट वहसहरु समेत भएको पाइन्छ ।
नि:सन्देह ऐतिहासिक नवाैं महाधिवेशनका सबै निर्णयहरुमा नेपाली राजनीतिक बजारमा चर्चा, छलफल र वहस हुने गरेको छ तर खास गरेर महाधिवेशनले गरेको एउटा खास निर्णयमा अहिले राजनीति र मिडियाकाे बजार अलि बढि तातिएकाे छ। त्यो बिषय हाे- पार्टीको नवाै महाधिवेशनद्वारा विशेष रुपमा निर्णय गरिएको पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले आफ्नो नामको पछाडि रहेको जात,थर हटाएर ‘सी’ लेख्ने कुरा।
मानिस मानिसबिचमा जन्मकाे आधारमा, रङ र वर्णकाे आधारमा, भेक, क्षेत्र, लिङ्ग र वर्गको आधारमा संसारमा हुने भेदभावबाट मानिसहरुलाई मुक्त गर्ने ऐतिहासिक जिम्मेवारी केवल क्रान्तिकारी कम्युनिस्टहरुकाे काँधमा मात्रै रहेको छ। किनकि पुँजिवादीहरुले त मानिसहरुबिचकाे विभेदलाई नै बढावा दिइरहेका छन्।
नेकपाकाे नवाैं महाधिवेशनमा सहभागीहरुले पाँचवटा महत्त्वपूर्ण काम गरेका छाैं। ती हुन्-१) महाधिवेशनमा महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा नीति र कार्यक्रम पास । २) पार्टीको विधान पास। ३) १० बुँदे समसामयिक प्रस्ताव पारित। ४) ३ बुँदे विशेष निर्णय पास र  नेपाली मजदुर, किसान, श्रमजीवी, सर्वहारा तथा प्रगतिशील वर्गको सेवा गर्ने कम्युनिस्ट पार्टीको संगठन निर्माण आदि ।
माथि पनि भनियो, महाधिवेशनले पारित गरेका हरेक बिषयमा नेपाली राजनीतिक बजारमा चर्चा छ । बढी चर्चिएकाे बिषय भनेको महाधिवेशनद्वारा पास गरिएका उपर्युक्त बुँदाहरुमध्ये बुँदा नम्बर ४ अर्थात तीनबुँदे बिशेष निर्णयमा समेटिएको ‘संसारमा कुनैपनि विभेदरहित नयाँ मानवजातिकाे निर्माण गर्ने पहिलो पहलस्वरुप कम्युनिस्ट पार्टीका सम्पूर्ण सदस्यहरुकाे नामको पछाडि ‘सी’ लेख्ने बिशेष निर्णय’मा विभिन्न काेणबाट चर्चा परिचर्चा भइरहेको पाइन्छ भनेर माथि पनि उल्लेख भइसकेको छ। सर्वप्रथम पार्टीले अथवा पार्टीको महाधिवेशनले किन यस्तो बिशेष निर्णय गर्याे ? यसको अर्थ र महत्त्व के हाे भन्ने बिषयमा याे लेख मार्फत तपाइलाई सक्दाे जानकारी दिने काेशिस गर्दछु।
पार्टीको नवाैं महाधिवेशनद्वारा पारित प्रतिवेदनमा भनिएको छ, ‘विश्वकाे भू-मण्डलिकृत चरित्र एवं भू-मण्डलिकृत पुँजिवादकाे अन्तर्राष्ट्रिय प्रवृत्तिका कारणले पनि कम्युनिस्टहरुकाे अन्तर्राष्ट्रिय सम्बन्ध केवल व्यवहारिक आवश्यकता दृष्टिले मात्र नभई सैद्धान्तिक एवं नीतिगत रुपले नै विश्वव्यापी हुन आवश्यक छ।’ (नवाैं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन तथा नीति र कार्यक्रम पृष्ठ ८८) महाधिवेशनद्वारा पारित दस्तावेजमा उपर्युक्त वाक्यांशहरुले प्रतिध्रुविय खेमा विरुद्ध संसारका वामपन्थी, प्रगतिशील कम्युनिस्टहरु तथा समाजवादीहरु सैद्धान्तिक एवं नीतिगत रुपले पहिचान सहित विश्वव्यापी रुपले एकजुट हुनुपर्ने आवश्यकताकाे वकालत गर्छ। संसारमा विश्व कम्युनिस्ट आन्दोलनकाे एउटा कुनै आधिकारिक सर्वमान्य संजाल छैन। त्यसकारण सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा निर्माण गरिएको कम्युनिस्ट पार्टीको घाेषणा-पत्रलाई आधार मानेर संसारका जुनसुकै देशमा स्थापना भएर हँसिया र हथौडा अंकित झण्डामुनि गाेलवद्व भएका समाजवादीहरुकाे एउटै साझा उद्देश्य हुने भएकाेले तिनिहरुकाे एउटा प्रभावशाली अन्तर्राष्ट्रिय संजाल हुन आवश्यक छ।त्यसको निर्माण गर्न पनि ‘सी’ ले भुमिका खेल्न सक्छ भन्ने हाे।
शाव्दिक र राजनीतिक रुपमा ‘सी’
‘सी’ लाई अंग्रेजी वर्णबाट लिइएको हाे । याे केवल नेकपा वा हाम्रो पार्टीको मात्रै विशिष्ट कुरा नभएर एक सार्वभौम बिषय हाे। कम्युनिस्ट शब्दलाई अंग्रेजीमा लेख्दा Communist लेखिन्छ । कम्युनिस्ट सिद्धान्त मान्नेलाई वा कम्युनिस्टहरुमा एकअर्कालाई बाेलाउदा कमरेड भन्ने चलन रहेको छ। कमरेडलाई अंग्रेजीमा Commrade लेखिन्छ ।नेपाली शब्दकाेष अथवा राजनीतिक र सामाजिक अर्थमा कमरेड भनेकाे साथी, सहपाठी, पासा, लुङ्गा, साथदिने, साथमा रहेर सहयोग गर्ने, सहकार्य गर्ने, विस्वासकाे पात्र अथवा दुश्मनकाे उल्टाे भन्ने हुन्छ। अनि कम्युनिस्ट सिद्धान्त मान्ने संसार भरिका मानिसहरुकाे वा भनाैं कमरेड (Commrade) हरुकाे एउटै साझा उद्देश्य रहेको हुन्छ त्याे हाे- साम्यवाद (Communism) प्राप्त गर्ने । नेपाली शब्दकाेषलाई नै आधार मान्ने हाे भनेपनि कम्युनिस्टकाे अर्थ साम्यवादी विचारकाे (Communism) काे अनुयायी हुन्छ। त्यसकारण यहाँ कमरेड (Commrade), कम्युनिस्ट (Communist) र साम्यवाद वा कम्युनिजम (Communism) भन्ने शब्दहरु अंग्रेजी वर्णकाे ‘C’ बाट शुरु भएका छन् वा हुन्छन् । साम्यवादी महान् आदर्श प्राप्तिको बाटोमा लामवद्व हुँदा प्रयाेग हुने विचार, सिद्धान्त, पद, लक्ष्य र उद्देश्य C बाट हुन्छ । त्यसकारण अंग्रेजी वर्णकाे C लाई नेपालीमा ‘सी’ लेख्ने नवाैं महाधिवेशनकाे राजनीतिक मर्म हाे। कम्युनिस्ट विचार ग्रहन गरेर कम्युनिजमकाे लागि संसारका हरेक कुनामा लडिरहेका र कयौं देशहरुमा सरकार र सत्ता संचालन गरिरहेका कमरेडहरुले राजनीतिक रुपमा यति गहिरो र सघन अर्थ राख्ने ‘सी’लाई आफ्नो नामको पछाडि किन नलेख्ने ? जाे कम्युनिस्ट हाे, उसले नि:सन्दह ‘सी’ लेख्ने ।धक फुकाएर ‘सी’ लेख्ने, गर्वकासाथ ‘सी’ लेख्ने । ‘सी’ लेखेरै भू-मण्डलिकृत पुँजिवाद अर्थात साम्राज्यवादलाई धुलाे चटाएर पृथ्वीबाट अन्त्य गर्ने ।
साँस्कृतिक रुपमा ‘सी’
साम्यवादी अर्थात कम्युनिस्ट आन्दोलन भनेकाे संसारभरिका श्रमजीवीहरुकाे एउटा वैज्ञानिक, जनवादी तथा प्रगतिशील संस्कृतिकाे निर्माण र स्थापना  गर्नु पनि हाे। पुँजिवादी छाडा, उपचाेक्तावादी संस्कृतिकाे विरुद्धमा जनवादी र कम्युनिस्ट संस्कृति लाखौंगुणा प्रगतिशील रहेको छ। विभित्र देशहरुमा क्रान्तिद्वारा कम्युनिस्ट समाजवादी सरकार र सत्ताहरु स्थापना भएको भए पनि साँस्कृतिक रुपमा सभ्य र व्यवस्थित हुन नसक्दा समाजवादी कम्युनिस्ट सत्ताहरु संसाेधन हुने, हराउने, विलाउने र ढल्ने भएका छन्। राजनीतिक क्रान्ति, आन्दोलन वा गतिविधि गर्ने कम्युनिस्टहरुले आन्दोलनकाे चरणदेखि नै कम्युनिस्ट संस्कृतिकाे विकास गर्न जरुरी देखिन्छ । हरेक देश र समाजका भिन्न भिन्नै चाल चलन र रितिरिवाज रहेका हुन्छन् । ती चाल चलन, रितिरिवाज र संस्कृतिहरुलाई वैज्ञानिकिकरण, जनवादीकरण साथै कम्युनिस्टकरण गराउनु त छदैछ । संसारभरिका कम्युनिस्टहरुलाई सार्वभौम रुपमा मान्यहुने केहि संस्कृति निर्माणकाे पहल गर्नुपर्ने हुन्छ। साँस्कृतिक रुपमा ‘सी’ संसारभरिका कम्युनिस्ट र समाजवादी, साम्यवादीहरुलाई एउटै मालामा उन्ने डाेरि वा सेतु बन्नसक्छ। त्यसकारण ‘सी’ संसारमा एउटा साझा कम्युनिस्ट जाति निर्माण गर्नकाे लागि विश्व साँस्कृतिक क्रान्तिकाे पहिलो र महत्त्वपूर्ण कदम सावित हुनसक्छ । यहाँनेर सम्झनुपर्ने र उल्लेख गर्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण बिषय रहेको छ, त्यो भनेको- संसारका जुनसुकै कुनामा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुले युजे पाेत्तरले लेखेको अन्तर्राष्ट्रिय गीत गाउने गर्छन् । ती कम्युनिस्टहरुले आफ्नो कुनैपनि औपचारिक कार्यक्रम शुरु गर्नुभन्दा पहिले “उठ जाग हे भाेका नाङ्गा ………….” भन्दै गीत गाएर हरेक कार्यक्रमकाे थालनी गर्दछन्। “उठ जाग हे  भाेका नाङ्गा…………” बाेलकाे गीतमा, “अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” भनेर लेखिएको छ र त्यहि शब्द भाका हालेर उहीँ लय र संगितमा संसारभरि गाइन्छ। गीतहरु केवल फगत गाएर कण्ठ गर्नकाे लागि मात्रै हाेइन कि सहि गीतको भावलाई जीवन व्यवहारमा लागू गर्ने पनि मानवको दायित्व हुन आउँछ। त्यसकारण संसारभरि गाइने साे गीतको भाव अनुसार भावलाई व्यवहारमा प्रयोग र लागू गर्दा ‘सी’ नै सर्वमान्य हिसाबले कम्युनिस्टहरुकाे अन्तर्राष्ट्रिय जातिकाे संकेतकाे रुपमा स्थापित हुनसक्छ। याे कम्युनिस्ट अन्तर्राष्ट्रिय संस्कृति पनि हाे।
भाषा विज्ञान र साहित्यिक रुपमा ‘सी’
भाषिक रुपमा ‘C’ अंग्रेजीभाषा वर्णकाे A र B पछिको तेस्रो वर्ण हाे। हामी नेपालीको संचारकाे माध्यम नेपालीभाषा भएकोले ‘C’ लाई पनि आफ्नै देशको भाषामा अभिव्यक्ति गर्नुपर्ने हुन्छ। त्यसकारण नेपाली वर्णमा ‘C’ लाई व्यक्त गर्दा ‘सी’ लेखिएको र भएको हाे। जहाँसम्म भनिरहनु पराेइन कि, नेपाली वर्णविन्यास अनुसार स्वरवर्णकाे स र व्यंजनवर्णकाे ई मिलेर सी बन्छ। अरु सजिलोकाे लागि स+ई= सी भएको हाे र हुन्छ । अंग्रेजी C लाई नेपालीमा सी लेख्दा भाषा विज्ञानमा यहि हाे।
साहित्यमा हरेक शब्दका तिनवटा अर्थ र सुविधा हुन्छन् ती हुन् – अभिधा, लक्षणा र व्यंजना । अब यहाँ ‘सी’ लाई साहित्यमा हेर्दा र बुझ्दा यसको अभिधा अर्थ भनेको माथि भनिए जस्तै कमरेड, कम्युनिस्ट र कम्युनिजम नै हाे। यहाँ संसारका सबै मानिसहरुकाे एउटै जाति बनाउने बिषय, पृथ्वीकाे एक कुनादेखि अर्को कुनामा बस्ने हरेक मानवमा विभेदरहित रहित भाइचारा सम्बन्ध (बसुधैव कुटुम्बकमकाे भावना जागृत गर्न) कायम बनाउने बिषय ‘सी’ काे लक्षणा अर्थ हाे। व्यंजना अर्थमा ‘सी’ भू-मण्डलिकृत पुँजिवाद तथा साम्राज्यवाद विरुद्धकाे विश्व सर्वहारा वर्गकाे एउटा साझामाेर्चा हाे।
र अन्त्यमा
पाठक वृद ! अब यति पढिसकेपछि किन ‘सी’ लेख्ने भन्ने बिषयमा तपाई स्पष्ट भइसक्नु भयो सायद। अब यसबारे बजारमा चलेका वहस र टिप्पणीबारे अलिकति कुरा गराैं।
‘सी’ लेख्ने बिषयबारे बजारमा तीन प्रकारका चासो र चिन्ता देखिन्छ १) ‘सि’ लेखेको देखेर, सुनेर याे के हाेला ? किन हाेला भनेर गरिने सामान्य चासो र चिन्ता । २) याे बेकार हाे सम्भव छैन भन्ने चासो र ३) ‘सी’ बारे कुपमण्डुकतावादी चासाे र आलोचना ।
यहाँ उल्लेख भएको र बजारमा चलेका चासो र चिन्ता मध्ये बुँदा नम्बर (१) काे सामान्य चासो र चिन्ता राख्ने पाठकहरु याे लेख पढिसक्दा स्पष्ट भइसक्नु भयो भन्ने मलाई लाग्छ। जहाँसम्म यसबारेकाे दाेस्राे चासो रहेको छ, त्यसबारेमा बुझ्नुपर्ने कुरा के हाे भने कुनै पनि वैज्ञानिक आविष्कार हाेस या राजनीतिक सिद्धान्त हाेस यात कुनै पनि साँस्कृतिक बिषय नै हाेस, यसका सुरुवातकर्ता वा निर्माणकर्ता थाेरै हुने गर्दछन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स दुईजनाले निर्माण गरेको कम्युनिस्ट घाेषणा-पत्रलाई आधार मानेर आज अरबाैं मानिसहरु कम्युनिस्ट भएका छन् । नेपालमा कमरेड पुष्पलाल सहितका पाँचजनाले स्थापना गरेको नेपालकाे कम्युनिस्ट पार्टीहरुमा लाखौं मानिस संगठित भएका छन् । कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त मान्छाैं भनेर लागेका र विभिन्न समयमा विभिन्न आन्दोलन गरेकाहरु मध्येबाट नेपालमै राष्ट्रपति र उपराष्ट्रपति सहित पाँचजना त याे देशका  प्रधानमन्त्री नै भइसकेको अवस्था छ। भन्नुको मतलव ‘सी’ लेख्ने कुरा एकदम ठिक समयमा ठिक बिषयकाे सुरुवात भएको छ। त्यसकारण याे सम्भव छ।
‘सी’ बारे तेस्रो खालको चासो राख्ने हरुले  बुझेर पनि बुझ पचाएका छन्। उनिहरुकाे चिन्तन भनेको कुवाकाे भ्यागुतोकाे जस्तो  साँघुरो चिन्तन हाे। नेकपाकाे महाधिवेशनले गरेको ‘सी’ लेख्ने निर्णयलाई उनिहरु नेपालीहरुकाे एउटा थरसंग जाेडेर आफ्नो कुण्ठा पाेखिरहेका छन्। याे बिषय पार्टीको आठौं महाधिवेशनबाटै पनि छलफल भएर एक प्रकारकाे निर्णय भइसकेको थियो । आठौं महाधिवेशनमा सहभागी भएका तर नवाैं महाधिवेशनसम्म आइनपुगेर अन्तै बरालिएका, क्रान्तिदेखि भागेका कुवाकाे भ्यागुताकाे जस्तो छाेटाे साेच र साँघुरो विचार राख्ने  कुपमण्डुकतावादीहरु यसको विरोध गरेर कुण्ठा पाेखिरहेका छन्। पार्टी महासचिव कमरेड विप्लवकाे जन्मकाे थर चन्द भएको र त्यहि थरलाई घुमाउरो पाराले ‘सी’ लेखेको भनेर कुतर्क गरि उनिहरुले आफ्नो कुपमण्डुकता प्रदर्शन गरेका मात्र छन्। सन् १८४८ मा कम्युनिस्ट घाेषणा-पत्र  सार्वजनिक भएपछि संसारमा कम्युनिस्ट विचार र सिद्धान्त आएको हाे। नेपालमै रहेका C बाट आउने केही थरहरु चन्द, चापागाइ, चाैलागाइ, चपाइ, चनारा, चेपाङ, चुमान आदि रहेका छन् । ती कुपमण्डुकहरुले बुझ्नुपर्ने कुरा के छ भने नेपालमा विप्लव जन्मनुहाेला र उहाँकाे नेतृत्वमा बनेको पार्टीले यस्तो निर्णय गर्ला भनेर कम्युनिस्ट घाेषणा- पत्र निर्माण भएको हाेइन्। नेपालमा विप्लव जन्मनु भन्दा ११७ वर्ष पहिले आधिकारिक रुपमा कम्युनिस्ट विचार र सिद्धान्त आएको हाे। गलत आलोचना गर्ने कुपमण्डुकहरुले झन राम्ररि बुझ्नु पर्ने कुरा नेपालमा भएका माथि उल्लेखित C बाट आउने जात र थरहरुका कारण कम्युनिस्ट विचार र सिद्धान्त बनेको हाेइन बरु ती थर र जातिहरुबिचमा रहेको विभेद हटाउन याे विचार र सिद्धान्त जन्मिएकाे हाे। उल्लेखित जात र थरहरुका कारण हाेइन कि कम्युनिस्ट विचार र सिद्धान्तलाई व्यापक, सहजका साथै समृद्ध बनाउन याे ‘सी’ लेख्ने निर्णय गरिएको हाे, तेतना भया।
: सन्दर्भ सामग्री
:-नेकपाकाे नवाैं महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन तथा नीति र कार्यक्रम ।
:- नवाैं महाधिवेशनमा चलेका छलफल र वहस।
:- नेपाली व्याकरण ।
:- अनलाइन, इन्टरनेट


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।