![](https://janapatrika.com/wp-content/uploads/2022/09/received_1943372029204294.jpeg)
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा काठमाडौँका इन्चार्ज माइला लामा प्रज्वल सीले केन्द्रिय कारागार सुन्धारामा रहेका राजबन्दीलाई भेटघाट गरेका छन् ।
जेल भित्रको अवस्था, बन्दीहरुका समस्या र जेल प्रशासनसङ्गको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले भेटघाट गरिएको कुरा विद्यार्थी नेता ललिजङ बमले जानकारी दिएका छन् ।
भेटका क्रममा नेता प्रज्वलले भद्र सुधारगृह जगनाथदेवलमा रहेका आस्थाका बन्दीहरु शिव धिमाल र महिला बन्दीगृहमा रहेका रिता कार्की, आयुषा लिम्बु र आशा रावतलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्था र जेल भित्रको बन्दीहरुको अधिकारको पालनाको स्थितिबारे जानकारी लिएका छन् भने उनीहरुको समस्याबारे सुन्धारास्थित केन्द्रिय कारागारका जेलर (उपसचिव) इश्वरी प्रसाद पाण्डेसङ्ग समेत कुराकानी गरेका छन् ।
बन्दीहरुको स्वास्थ समस्याबारे गुनासो जेल प्रशासन कहाँ नपुग्ने, आफन्तहरुसङ्ग फोन गर्ने व्यवस्था नमिलाई दिने, पुस्तकालय लगायत समाचार सुन्ने व्यवस्था अपुग हुने, क्षमता भन्दा बढी कैदीबन्दी राख्ने गरेको जस्ता समस्याहरू जेल भित्र रहेको र ती समस्याहरूमा आवश्यक ध्यान दिन नेता प्रज्वलले जेल प्रशासनलाई अनुरोध गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीमाथि करिव ४ वर्ष अघि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएपछि राजनीतिक आस्थाका आधारमा राज्यले पक्राउ गरि जेल चलान गरेका आस्थाका बन्दीहरूलाई रिहा गर्ने लगायतका विषयमा तीन बुँदे सहमति भएको भएपनि अझै आस्थाका बन्दीहरुको रिहाई र मुद्दा फिर्ता गर्ने प्रक्रिया भने कार्यान्वयन भएको छैन ।