१२ मंसिर २०८१, बुधबार

हामीले हाम्रा कामहरुमा जनतालाई अपनत्व भएको फिल गराउनु पर्छ: विप्लव

0

जनआधारित पार्टी र संगठन बनाउने भनेको संसदिय  राजनीति जस्तो होइन यो जनतामा गएर पैसा  बाडेर खानपान आयोजना  गर्ने कुरा पनि  होइन । यो साच्चै नै विचार, शैली, चेतना, नयाँ सँस्कृति, आर्थिक सोचसहित जनतामा जोडिनु पर्छ भन्ने कुरा हो । यो विषय एकदमै महत्त्वपूर्ण छ ।

१- नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नवौं महाधिवेशन केहि समय अघिकपिलवस्तु स्थित  पार्टीको केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ । त्यसक्रममा केहि बाह्य अवरोध र चुनौतिसहित महाधिवेशन गर्नु भयाे । त्यो सन्दर्भलाई कसरी टिप्पणी गर्नुहुन्छ ?

हामीले आठौं महाधिवेशन गर्दाखेरि एउटा नीति सारेका थियौँ । त्यो के थियो भने पार्टीले कुनै पनि कामको निर्धारित समयभित्र र नीतिभित्र  पूरा गर्नु पर्छ भनेका थियौँ र त्यसमा हामीले पाँच वर्षभित्र महाधिवेशन गर्ने भनेका थियौँ। केहि समय कोभिड  उन्नाइस  र हाम्रा नेताकार्यकर्ताहरू विरुद्धका मुद्दा, गिरफ्तारी लगाएतका   राजनीतिक प्रतिकुलताको कारणले     यताउता भएतापनि हामीले निर्धारित समयमै नवौं महाधिवेशन गर्न पाएका छौँ र गरेका छौँ ।  त्यसमा सिङ्गै पार्टी पङ्तिले उत्साहका साथ भाग लिएको छ र त्यसलाई सफल बनाएका छौँ ।

दोस्रो कुरा महाधिवेशनको परिवेशको परिस्थिति  निकै नै उथलपुथलपूर्ण थियो । चाहे विश्वको राजनीतिक हेर्नुस् , चाहे नेपालको ।  जताबाट हेरे पनि राजनीतिमा ठुल्ठुला संकट, संघर्ष,ध्रुवीकरणहरु देखा परेका छन् । यसक्रममा   हामीले  मार्क्सवादका  मान्यताहरुदेखि लिएर अहिलेको विश्व राजनीतिका चरित्रहरु तथा नेपाली कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण विषयमा  संश्लेषण गरेका छौँ । यो कुरा निकै ऐतिहासिक र महत्त्वपूर्ण पनि छ ।

२- यहाँहरुले नेपालको एकीकृत क्रान्तिको प्रक्रियामा मार्क्सवाद- लेनिनवाद  र माओवाद वा विचारधारात्मक क्षेत्रमा केहि नयाँ संश्लेषणहरु गरेको  भन्नु भयो ।खासमा तपाइरईहरुले वैचारिक काममा विशेष जोड दिनुका पछाडि के कुराले प्रेरित गरिरहेको छ  जस्तो लाग्छ ?

२० औं  शताब्दी  कम्युनिस्ट आन्दोलनका लागि निकै महत्त्वपूर्ण समय रह्यो। र यो जताततै विजयको शताब्दी  पनि रह्यो तर  त्यसको आनन्द मानव जातिले पूरै लिन नपाउँदै कम्युनिस्ट – समाजवादी व्यवस्थाहरु दुर्घटनामा पर्ने, विघटन हुने र पराजित हुने दुखद परिस्थिति पनि आयो त्यसमा हामीले मसिनो ढङ्गले छलफल र बहस पनि गरेका छौँ ।

२०औं  शताब्दीका क्रान्तिकारी आन्दोलनका सफलता र विफलता, त्यसले हासिल गरेका  उपलब्धिहरुले हामीलाई  निकै  घचघचाई रहेको छ । त्यसलाई हामीले मसिनो गरेर हेरी  राखेका छौँ । जसको परिणाम  यी घटनाहरुलाई सफलता, असफलता , विजय-पराजय , संगठन -विघठनहरुलाई  केवल एउटा राजनीतिक घटनाको रुपमा मात्रै  हेरेका छैनौँ ।

विगतमा कम्युनिस्टहरुले आफ्नो विचारको श्रेष्ठता  जसरी कायम गरे त्यसलाई अझै उचाईमा उठाउनु पर्छ, जसको अपूर्णताले समाजवादी सत्ता र आन्दोलनमा  जुनप्रकारका असफलताहरु भए, त्यसमा विचारको  विकासको  क्षेत्रमा अपूर्णताका समस्या छन् भन्ने भए पछि नै हामीले  त्यसको  विचारधारात्मक विषयको रक्षा, अनुसन्धान तथा त्यसलाई दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे  संश्लेषणमा जोड गरिरहेका छौँ र केही हदसम्म हामी सफल भएका छौँ ।

३-नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनमार्फत मालेमावादी दर्शन विशेषत: द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दृस्टीकोणमा थप विकास गर्दै अनिश्चय – रक्षा र रुपान्तरणको नियम भनेर संश्लेषण गरेको भनिएको छ । यसको आवश्यकता र उचाइबारे  थप सरल र स्पष्ट रुपमा आम पाठक र श्रोतालाई कसरी बुझाउनु हुन्छ?
हैन ! विषय त जटिल जस्तो पनि छ तर यसलाई सरल बनाउन पनि सकिन्छ । के भनिन्छ भने  विज्ञान नबुझिदासम्म मात्रै अलि जटिल हो, बुझेपछि निकै सरल पनि हो भन्ने जस्तै कुरा हो यो । एउटा ठुलो ढुङगालाई सानो बलले हराउने कुरा मान्छेले सिकेपछि जति सरल  भयो नि यो समाजको नियम भन्ने कुरा पनि त्यस्तै नै मानिन्छ ।

समाजको विकास अथवा  मानव जातिको विकास बुझ्नका लागि प्रकृतिको  विकासक्रममा घटिरहने घटनाहरुको विशेषताहरुलाई बुझ्ने कुरासङ्ग सम्बन्ध छ । जस्तो कि  पहिले त संसार  कसले बनायो ? त्यसको  अन्त्य कसरी/ कसले गर्छ? भन्ने कुराहरूमा भगवानले बनाएको र भगवानले नै  त्यसको  अन्त्य गर्छ  भनेर   मान्छेले विश्वास गर्थ्यो।

पछि यसको उत्पत्ति   र यसको अन्त्यको पनि वैज्ञानिक कारण छ भनेर जसरी निष्कर्ष निकालियो, यसले  त के मार्क्सवादको  जन्म र विकासमा   योगदान  गर्न मद्दत पुर्यायो । विज्ञानको विकासले नै  मार्क्सवादी दर्शनमा  द्वन्द्वात्मक  भौतिकवादको जन्म  हुन सम्भव भयो  तर द्वन्द्वात्मक  भौतिकवादले  मानव जातिको विकासलाई बुझ्न मद्दत गर्यो, संघर्षलाई  बुझ्न मद्दत गर्यो, क्रान्ति  र नयाँ सभ्यताहरुलाई बुझ्न र खोज्नको लागी मद्दत गर्यो तर द्वन्द्वात्मक  भौतिकवादलाई नियमको रुपमा संश्लेषण गरियो । जो बढी चर्चामा पनि छन् ।  पछि माओले द्वन्द्ववादका तीन नियम मध्ये विपरितहरु बिचको एकता र संघर्षको नियम बाहेकका अरु दुई नियम यसभित्रै पर्छन् त्यसैले हामी  तीन नियम मान्दैनौं पनि भन्नु भयो ।

जुन  नियमहरू द्वन्दवादमा  संश्लेषण गरेका छन् यतापट्टी हेर्दा  हामी  २० औं शताब्दीमा  विजयसम्म त  पुगियो तर समाजबादमा जुन समस्याहरु देखिन थाले त्यसमा हाम्रो भनाई के छ भन्दा  द्वन्द्ववाद र भौतिकवादको नियम मात्रै प्रयोग गर्दा  समाजवादको  रक्षासहित रुपान्तरणको विकास गर्न सकेनौँ । त्यसैले हामीले के भनेका छौँ भने यदि जितेको चिजको रक्षा गर्ने हो भने विकास गरेको चिजको रक्षा गर्ने हो भने  निरन्तर रुपमा रुपान्तरण हुन आवश्यक छ। विकास र रक्षाको आवश्यकता छ । हाम्रो सोच अहिले यो बनाएका छौँ त्यसको लागि  द्वन्द्ववादी भौतिकबादको  थप विकास हामीले गर्नुपर्छ ।

द्वन्द्वात्मक भौतिकवादको अनुसन्धान गर्दासम्म  एउटा भौतिक विज्ञान अथवा एउटा निश्चयको सिद्दान्त  बढि  लागू भएको थियो । यस अनुसार केही निश्चित  नियमभित्र समाजको विकास हुन्छ, केही  निश्चित नियमभित्र पदार्थहरु चलिरहने कुरा प्रमाणित भयो । केहि निश्चित नियम भित्र ग्रह, उपग्रह  चलिरहन्छन भन्ने संश्लेषण थियो तर वैज्ञानिकहरुका ती मान्यताहरुमा फेरबदल आएका छन् ।

यसले हामीलाई मानव समाजको विशेषता र खासगरी मान्छेको विशेषता, मान्छेको सोच, जीवनको  पद्धति  माथि  अध्ययन गर्नको लागि हामीलाई प्रेरित गरेको छ ।त्यसले आफ्नो ठाउँमा  मान्छेको पनि सोच्ने र उसले काम गर्ने कुरालाई  एकै चोटी नाप्न सकिँदैन  भन्ने देखिन्छ । जस्तै  मान्छेले सोच्ने कुरा प्रकाशको गति  भन्दा पनि छिटो  हुन्छ भन्ने छ ।

द्वन्द्वात्मक  भौतिकवादका  तीन नियममा भौतिक विज्ञानको विकास जसरी भएको छ अथवा  अनिश्चयको सिद्धान्त जो छ त्यो कुरा समाज विज्ञानमा पनि जोड्न आवश्यक छ । फिलोसाेफिमा पनि जोड्न  जरुरी छ । मान्छेको विशेषतामा पनि जोड्न जरुरी छ ।यसलाई हामीले अनिश्चय, रक्षा र रुपान्तरणको नियम भनेका छौँ ।

४-नवौं महाधिवेशनले वैज्ञानिक समाजवादमा राज्यको एकीकृत आर्थिक प्रणालीको प्रस्ताव अघि सारेको चर्चा छ । यो भनेको के हो ? अथवा अरु आर्थिक प्रणाली भन्दा फरक यसलाई कसरी बुझ्ने?

हो, तपाईंले एक दमै सहि कुरा उठाउनु भो ।अहिले स्वामित्व बारेमा दुईटा विषय छन्  एउटा पुजीवादी  वा निजि स्वामित्वमा आधारित अर्थप्रणाली छ ,  उनीहरुले  सहकारीको ब्याख्या गर्छन्, निगमको ब्याख्या गर्छन्  त्यसमा सफल पनि देखिन्छन् तर सारमा  त्यसले निजि प्रभुत्व  रोक्न सकेन, त्यसले निजि  प्रवृत्तिलाई रोक्न सकेन, त्यसले अति केन्द्रियतालाई  रोक्न सकेन ,थोरै मान्छेको हातमा ठुलो पुजिको  केन्दिकरण हुन गयो, त्यसलाई  यो प्रणालीले रोक्न सकेन ।

मान्छेको  ठुलो हिस्सा पुजिको स्वामित्वबाट बञ्चित  भयो, त्यो रोक्न जरुरी छ तर हामीले अर्कोतिर  यो हेरेका छौँ  कि कम्युनिस्टहरुले सामुहिक स्वामित्व अघि सारेका थिए । यो पनि  मान्छेको जीवनमा हराभरा हुन सकेन,  असफल भयो यो टिक्न सकेन  । सिद्धान्तको हिसाबले राम्रो हुँदाहुँदै  प्रयोगमा जादा आफ्ना प्रक्रियाहरु पार गर्न सकेन । जसले गर्दा  अन्तत नाम सामुहिकता तर त्यहाँ भित्र अब नयाँ वर्ग जन्मिन  थालेपछि  सत्तामा बसेको वर्ग  सत्ता बाहिर बसेको वर्ग फरक भयो । सत्तामा बसेको वर्गले जो सामुहिकता बनायो त्यो  साच्चिकै सामुहिकता थिएन । त्यो आफ्नो सुख भोकको निम्ति  दिएको रुपवादी समानता थियो ।

यसलाई हामीले के भनेका छौँ भने  मान्छेले सोच्नुपर्ने जुन सामुहिकता थियो प्रकृतिले  समाजका लागि जे चिज उपलब्ध  गरेको छ त्यसको उपभोगबाट कोहि पनि मानव जाति बन्चित हुन नपरोस् यो चाहे सहि नै हो तर त्यसो गर्दा एकैनासले यान्त्रिक  तरिकाले जान  मिल्दैन । आ-आफ्ना क्षमतासहित आफ्ना आकाङ्क्षासहित आफ्ना विशेषताहरुसहित जान दिनुपर्छ ।

अहिले हामीले समाजवादको असफलतालाई जोडेर मसिनो  गरि हेर्दा के  देख्छौँ भने मान्छे भनेको निजि र सामुहिकताको योग हो । यसबारे  हाम्रो नवौं महाधिवेशनले वस्तुनिष्ठ ढङ्गले  संश्लेषण गरेको छ। हरेक मान्छेमा आफ्नो पन छ, आफ्नो मौलिकता छ जो कुरा अर्कोसंग ठ्याक्कै त्यो मेसिन जस्तो गरि मिल्दैन तर अर्कोतिर मान्छेले आफ्नो जीवन समाजमा सामुहिक प्रयत्नमा  लगाउनु पर्छ । यसलाई मिलाउन सक्नुपर्छ।  मान्छेको निजि जीवन पद्धतिले मात्रै   सुखपूर्ण, उत्साहपूर्ण,समृद्ध  नहुन सक्छ । निजि जीवन सामुहिकतासँग पनि जोडियोस् , समाजसंग जोडियोस् ,त्यो  हरेक विशाल मानव जातिसँग जोडियोस्, अन्तराष्ट्रिय शक्तिसंग जोडियोस् मानव शक्तिसंग जोडियोस् । 

व्यक्तिको आधारभूत आवश्यकतालाई समाजवादले हल गर्दै  समाजवाद तिर जाने नीति  हुनुपर्छ । त्यसलाई हामीले  व्यक्तिकोआधारभूत आवश्कता परिपुर्तिसहितको राज्यको अधिकतम समृद्धि  भनेका छौँ । यसलाई हामीले एकीकृत स्वामित्व भनेका छौँ ।

जहाँ मान्छेले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न पाउँछ। पुजिको उत्पादन पनि गर्न पाउँछ । उसले आफ्नो आवश्यकता र क्षमतालाई त्यहाँ राख्दै समाजको लागि बढी प्रयोग गर्न पाउँछ । त्यस्तो खालको स्वामित्व प्रणाली नै एकीकृत स्वामित्व प्रणाली भनेका छौँ र यसबारे   हामीले ठुलै बहस पनि गरेका छौँ ।

५-यहाँले  विगतका पुजीवादी र समाजवादी दुवै अर्थ प्रणाली भन्दा विकसित र दुवैका खराबीहरु भन्दा माथि एकीकृत अर्थ  प्रणाली हुन्छ भन्नु भो , यो भनेको नौलो जनवाद भन्दा कति टाढा हो ? प्रस्ट पारिदिनुहोस् न!

नौलो जनवादको क्यारेक्टर नै के हुन्छ भन्दा त्यसले पुजिको उत्पादनमा बढी जोड दिन्छ र समाजवादतिर जाने कुरा गर्छ । नौलो जनवादले   जनतालाई काम अनुसारको दाम हुनुपर्छ भन्छ । वैज्ञानिक समाजवादमा त्यो पनि हुन्छ तर वैज्ञानिक समाजवादले वर्गविलोपीकरण  तिर लिन्छ । समाजवादमा मान्छेहरुका विशिष्ट गुण  र चाहनाहरु कायमै हुन्छन् तर त्यसले समाज र सामुहिक हितलाई उल्लंघन गर्नु हुँदैन ।

साम्यवाद  भनेको पनि आखिर निजि जीवनको उत्कर्ष हो । जहाँ  हरेक मान्छेले जब स्वतन्त्रता अनुभूति गर्छ,  त्यो साम्यवाद हो । कुनै नियमले अर्कोलाई  लादुन्जेल  त्यो साम्यवाद हुन सक्तैन । 

जब तपाईंलाई यो गर्नुस्,त्यो गर्नुस् भनिन्छ त्यतिबेलासम्म त्यो साम्यवाद हैन, जब तपाईं हामी बसेर यो गरौँ, त्यो  गरौ भन्छौँ,यो गर्न सक्छौँ भनेर सोच्छौँ त्यो साम्यवाद हो । जबसम्म  एउटाले अर्कोलाई निर्देशन गर्छ त्यो चाहे कम्युनिस्ट होस् या कुनै पुजिवाद होस्, त्यतिबेलासम्म साम्यवादको प्रयोग भएको हुँदैन ।

पुजिवादले निजि जीवनबारे भ्रम हाल्छ । मान्छेलाई  पुजिवादले मेसिन जस्तै काम गराएको  छ तर उसलाई उत्पादनमा केही पनि दिदैन । कसैलाई पूरै हिस्सा लगाई दिएको छ । यसको  अन्त्य नै साम्यवाद हो । मान्छेले हरेक चिजको उत्पादनमा श्रममा भाग लिन्छ, हरेकले आवश्यकता अनुसार  उपभोग गर्न पाउँछ र निजि स्वतन्त्रताको स्वामित्व पनि सुनिश्चित हुन्छ त्यो भनेको  साम्यवाद  हो ।

निजि भन्ने चिजलाई पुजिवादसङ्ग मात्रै  दाजेर हुँदैन ।  पुजिवादले निजि स्वामित्वको त अन्त्य गर्दैगर्दैन जुन  निजि समाजसङ्ग जोडिएको छ । समाजका हरेक  सदस्यले स्वतन्त्र भएर काम गर्न पाउनु पर्छ अनि समाजको पूर्ण  विकास हुन्छ ।

६- तपाईंहरुले आजको साम्राज्यवादलाई भुमण्डलिकृत भन्नु भो । साम्राज्यवादबारे बाबुराम -प्रचण्डहरुले पनि यहि शब्द प्रयोग गरिसकेका थिए, अझ त्यो भन्दा अघि त ८० को दशक वरिपरि नै भुमण्डलीकृत साम्राज्यवाद भनिएको थियो । के फरक छ अरु र तपाईहरुको विश्लेषणमा?

तपाईंले भन्नु भएको एकदमै सहि कुरा हो । माओ हुँदाखेरि नै  भुमन्डलीकरण शब्द  प्रयोग भईसकेको  थियो । भुमण्डलीकरण शब्द प्रयोग गर्दै  बाबुराम जीले पनि आजको साम्राज्यवाद लेख्नु भो ,आजको पुजिवाद पनि लेख्नु भो । प्रचण्ड बाबुरामहरुले भुमण्डलीकृत साम्राज्यवाद  त भन्नु भो  तर त्यसलाई उहाँहरुले  भुमण्डलीकरण भैसकेकोले क्रान्ति हुँदैन भने  ढङ्गले  यो शब्द प्रयोग गर्नु भयो ।

  लेनिनले पुजिवाद  साम्राज्यवादमा विकास भयो वा यो  पुजीवादको मरणासन्न चरण भनेर भन्नुभएको छ वा मृत्युतिर गैरहेको चरणको दर्शन हो भन्नु भएको  थियो।  मार्क्सको कम्युनिस्ट घोषणापत्रसम्म मजदुर  जीवन बीभत्स र एकदमै अनौठो   थियो ।

तर साम्राज्यवाद  नयाँ तरीकाबाट  आएको छ जसलाई  बुझ्न अलि भिन्न ढङ्गले हेर्न जरुरी छ ।  हिजो  मजदुरलाई १८ घन्टा काम गराइन्थ्यो तर अहिले २ घन्टा  काम गर्छु भन्न पनि  पाइने भएको छ तर मान्छेलाई  घुमाएर शोषण  गरिरहेको छ ।

अर्कोतिर  मार्क्सले  कम्युनिस्ट घोषणापत्रमा लेखेका अधिकाङ्श मुद्दाहरु  त अहिले पुजिवादीहरुले नै लागू गरिसकेका छन् । १८ औँ शताब्दी  या २० औं शताब्दीको समाजवाद एक प्रकारले भन्दा  समाजवादको प्रारम्भिक अभ्यास थियो । त्यसमा केही सैद्धान्तिक मान्यताहरू आफ्नो ठाउँमा सहि नै छन् तर त्यसका कतिपय आर्थिक राजनीतिक कार्यक्रमहरू पुजीवादीहरुले नै  पूरा गरिसकेका छन् ।

तर  हिजोको पुजिवादले  क्षेत्रीय स्तरमा  बाड्थ्यो, त्यहाँ  प्रत्यक्ष  सेना उतारेर लड्थ्यो । आफ्नो  अर्थतन्त्रको लागि कब्जा गर्थ्यो ।  राजनीतिक  रुपमा पनि आफ्नो मात्र प्रभुत्वमा कायम  गर्थ्यो । आज  स्थिति फरक छ । हिजो सेनालाई उतारेर पहिला कब्जा गर्थ्यो अहिले पहिला कानुन कब्जा गर्छ ।

उत्पीडित देशहरुको  सरकार कब्जा गर्ने, राजनीतिक कब्जा  गरेर साम्राज्यवाद आइरहेको छ । हिजो ऊ थर्काएर, धम्काएर लड्थ्यो, आज फकाएर, किनेर, दलालहरू खडा गरेर  आइरहेको छ । भुमन्डलीकरणको चरित्र यसरी  देखापरिरहेको छ । त्यसैले हामीले यसलाई मुर्त ढङ्गले संश्लेषण गर्दै आजको साम्राज्यवादलाई भुमण्डलीकृत साम्राज्यवाद भनेका हौँ ।

७-अलिकति फरक प्रसङ्गमा प्रवेश गरौँ, समाजमा विद्यमान जातमा आधारित व्यवस्था, असमानता र अन्तरमानविय विभेदको नयाँ निकासको रुपमा नयाँ जात वा” सि “जाति निर्माण गर्ने निर्णय गर्नुभएको छ, यो किन र कसरी हुन्छ ?

मलाई के लाग्छ भने सम्वेदना : अनुभूति र चेतनाको एउटा एकीकृत र एकदमै संकेन्द्रित अभिव्यक्ति हो । अथवा २० शताब्दीको समाजवादमा  सिङ्गै मानव जाती एउटै र नयाँ हुन्छ  भनिन्थ्यो  तर त्यो हुन सकेन । साेभियत संघमा समाजवादले जे चिज बनाउनु थियो, त्यो बनेन, त्यो धार्मिकतातिर फर्क्यो,  जातिवादतिर  फर्क्यो, क्षेत्रियतावादतिर फर्क्यो ।

सोभियत संघसम्म त्यहि भयो, आज क्युबामा त्यहि  छ ।त्यसैले हामीले आजैबाट नयाँ जाति निर्माणको  प्रक्रिया सुरु गरेका छौँ । यदि भोलि  बनाउनु  नै छ भने आजैबाट हामी किन बनाउन नसक्ने ? विश्व कम्युनिस्ट आन्दोनलनमा निश्चित रूपमा यसबारे  बहस पनि छ ।

जब मान्छेहरू अहिले पनि विभिन्न नाममा आ-आफ्ना पुराना सोच, जात  र समाजमा टास्सिएर बसेका छन् भने तपाईंले नयाँ कहिले  र कसरी बनाउन सक्नु हुन्छ? यो हाम्रो पार्टीभित्र  बहसको विषय छ । हिजोको समाजले दिएको अवशेष हो त्यो । त्यसको उपहार हो,  त्यसमा  हामी  टाँसिन हुँदैन ।

जब मेरो परिवारलाई नयाँ जातिद्वारा पुरानोबाट उन्मुक्ति गर्दैन जब वैज्ञानिक र  राजनीतिक ढंगले त्यसलाई मुक्ति गर्छौँ त्यो  नयाँ जाति हुनेछ । यदि यसरी नसोच्ने हो भने मानौँ मैले त कम्युनिस्ट भएर जेनतेन  गरुला तर मेरो परिवार त फर्केर त्यहि ठाउँमा जान्छ नि ! पुरानै समाज  हामीले  तयार पारेका छौँ भने हामीले नयाँ जाति कहिले बनाउने?

त्यसकारण हामीले के भनेका छौँ भने यो हल गर्नु पर्छ, नयाँ जाति बनाउनु पर्छ र हामीले सम्पूर्ण उत्पीडितहरुलाई खुल्ला रुपमा अपिल  गर्नुपर्छ कि नेपालका जतिपनि उत्पीडित जाति छन् आउनुस् हामीले  एक अब एक जाति बनाउनुपर्छ भनेका छौँ ।

हामी क्षेत्री, बाहुन, जनजाति, मधेसी  भनेर बाधिन पर्दैन । हामी त मानव जाति हौँ । त्यसमा हामी सबै उत्पिडित भएकाहरुको मात्रै हैन, यसको छुट्टै सारतत्व छ  ।नेपालमा मात्रै हैन विश्व कम्युनिस्ट आन्दोनलनकै लागि यो निकै अर्थपूर्ण हुनेछ भन्ने हाम्रो  विश्वास छ ।

८-यहाँले आफ्नै उत्पादन, संरचनासहितको जनआधारित पार्टी र संगठन निर्माण गर्ने भन्नु भयो , यो भनेको के हो? अरु पार्टीहरुले पनि जनताको भोट लिएर जित्न जनतामा जाने कुरा गर्छन नि!

यसलाई हामीले चाही नयाँ साँस्कृतिक क्रान्ति पनि भन्न सकिन्छ अथवा साँस्कृतिक क्रान्तिमा बढेको हाम्रो सोच पनि भन्न सक्छौँ ।हामीले देख्यौँ- विचारले क्रान्ति गर्नुस् चाहे सत्ता चलाउनुस्, चाहे तपाईले नयाँ जाति बनाउनु होस् वा  जे गर्नुस् अन्तत:समाजसंग नै  बस्नुपर्छ । हामीले जस्तो खालका युद्दकालिन संरचना बनायौँ अथवा खुल्ला खालका संसदिय संरचना बनायौँ त्यसको पीडा  सम्पूर्ण  पार्टी र  जनताले पनि भोग्नु परेको छ । यसको समाधानसहितको पार्टी सङ्गठन र त्यसको अर्थतन्त्रसहितको आधार निर्माण नगरि हामी अगाडि बढ्न सक्तैनौँ ।

एकपटक  माओले जननीतिको कुरा गर्नु भएको थियो, त्यसैलाई अर्को विषयमा  हामीले जनआधारित नेताकार्यकर्ता, जनआधारित पार्टी र जनआधारित काम  बनाउनुपर्छ  भनेका हौं ।  हाम्रा कामहरुमा जनतालाई  अपनत्व  भएको फिल गराउनु पर्छ ।

जबसम्म त्यो हुँदैन  तबसम्म कुनै चिज  सफल हुँदैन त्यसलाई हामीले  पूरा गर्न जनतामा जानुपर्छ ।  जनआधारित पार्टी र संगठन बनाउने भनेको संसदिय  राजनीति जस्तो होइन यो जनतामा गएर पैसा  बाडेर खानपान आयोजना  गर्ने कुरा पनि  होइन । यो साच्चै नै विचार, शैली, चेतना, नयाँ सँस्कृति, आर्थिक सोचसहित जनतामा जोडिनु पर्छ भन्ने कुरा हो । यो विषय एकदमै महत्त्वपूर्ण छ ।

संगठनात्मक क्षेत्रमा  यसको केहि प्रयोग त हामीले पहिले देखि  गरेका पनि छौँ, त्यसको अझै पनि एउटा  उचाइमा विकास गर्नुपर्छ। 

९- अब कुराकानीको अन्ततिर जाँदैछौँ । केहि समय अघि तपाईले झापाली आन्दोलन हुँदै जनयुद्ध र एकीकृत क्रान्तिसम्मका कम्युनिस्टहरु एक हुने बेला आयो भन्नु  भएको थियो । यसको अर्थ एमाले माओवादी केन्द्र लगाएतसङ्ग एकताको कुरा गर्नु भएको हो ?

यसका  दुईवटा विषयहरु छन् ।  अहिले म यसलाई अझै अगाडि ल्याउन चाहन्छु । यो प्रश्न तपाईंको एकदमै महत्त्वपूर्ण छ । एकदमै साचो कुरा के हो भने  नेपालमा जनताको दुई तिहाई जनमत कम्युनिस्ट मन पराउनेहरुको छ । एकचोटी समाजवाद हेर्ने चाहना राख्नेहरुको छ तर  त्यसअनुसार यहाँको नेतृत्वले गर्न सकेको छैन । कम्युनिस्टहरु जनताको चाहना अनुसार त्यहाँ पुग्न असफल  भए । हामीले के भनेका छौँ भने अब यो जनमतको आधारमा समाजवादमा जान चाहने नेपाली जनताको चाहनालाई अमेरिकी भूमण्डलीकरणमा आधारित  साम्राज्यवादी षड्यन्त्र  मिसिसकेको छ र यसलाई पूरै पुजीवादीहरुले पनि बुझिसकेका छन् ।

उनीहरु नेपालको कम्युनिस्ट जनमतलाई क्षयीकरण गर्न चाहन्छन्, यसलाई खन्डित गर्न चाहन्छन् । अन्तमा कम्युनिस्ट आन्दोनलनलाई  निस्तानाबुत गर्न चाहन्छन् । यो कुरा हामी सबै कम्युनिस्टहरुले बुझ्नु जरुरी छ ।  एउटा कम्युनिस्ट धारा  संसदबाट  केही हुन्छ कि भनेर लागिरहेको  छ  भने अर्को जनताको तागतद्वारा  रुपान्तरण गर्नुपर्छ भनेर लागिरहेका  छौँ तर  सबैले  के बुझ्नुपर्छ भने जनताको आन्दोलनको बलमा  जसरी हामीले  परिवर्तन गर्दै आएका हौँ, त्यसको नेतृत्व चाहि जनताको हातमा जोगाउन सकेनौँ । फर्केर सुधारवादीहरुकै हातमा गयो । संसदवादीहरुकै  हातमा गयो ।

त्यसैले झापा आन्दोलन अझ भिमदत्त पन्तदेखि  जनयुद्ध र  एकीकृत जनयुद्ध सम्मका जो-जो युवाहरु छन्, जसले  परिवर्तन खोजि राखेका छन्, त्यो शक्तिलाई  एक ठाउँमा ल्याउने बेला भयो  ।  एमाले-माओवादी  लगाएत  जति पनि संसदबाट समाजवादमा जान सकिन्छ भन्ने कुरा छ त्यो असम्भव छ ।  बरु एमाले माओवादी  पुग्ने  भनेको पश्चिम बङ्गालतिर हो भने हामीलाई पेरु, इन्डोनेसिया तिर पुर्याउने षड्यन्त्र गरिदैछ । तर नेपाली जनताको चाहनाको सम्मान  र विगतको सबैले समिक्षा गर्ने हो  भने अहिलेको स्थिति तथा  परिणामहरु, सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव, विघटनहरू हेर्दा  हामीले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रीकृत गर्न खोजेका छौँ । एमाले भित्र पनि यो बहस होस् । माओवादी केन्द्रभित्र पनि यो बहस होस् । हामी पनि बहस गर्न तयार छौँ । हामी सबै विषयमा बहस र छलफल गर्न ओपन छौँ । समाजवाद के  संसदवादबाट  सम्भव छ ? यसमा पनि हामी छलफल गर्न तयार छौँ । के बल प्रयोग भनेको हिजोको माओले गरे जस्तै मात्रै हो त्यसमा पनि बहस गर्न तयार छौँ ।जनताको चाहनाको रक्षा गर्ने हो भने नेपाललाई साच्चिकै समाजवादतिर लैजाने हो भने त्यसका सम्भावनाहरुलाई  हेर्नुपर्छ ।

अब त्यसबारे बहस गर्ने बेला भएको छ । यो कुरा सबैले बुझ्नुपर्छ । सबैले समिक्षा गर्ने हो भने नेपाललाई समाजवादतिर लिन सम्भव छ । त्यसकारण हामीले  यो दृष्टिकोण राखेका हौँ र सबैले छलफल पनि गर्दैछौँ ।सबैले सकारात्मक सुझाव पनि दिएका छन् । अरु पार्टीभित्र पनि सकारात्मक रुपमा  छलफल भएको छ । यो चाहि सत्य हो ।

(पत्रकार मनबहादुर सहकारीको सहयोगमा शेर बहादुर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश) 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।