१५ चैत्र २०८०, बिहीबार

युरोपेली संघ सहित”जी-सेभेन”ले रूसमाथि प्रतिबन्ध लगाउँदै

0

किएभ । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो । 

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् । 

भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ । 

एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले किएभको भ्रमण गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि आज किएभ पुगेका छन् । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशको फौजले परास्त गर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताउँदै युद्ध निम्त्याउनेहरूलाई हराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताउँदै हतियार उत्पादन बढाउने तथा राष्ट्रिय सेनालाई आधुनिक हातहतियारले सुसज्जित गर्ने वाचा गरेका छन् ।  ( एएफपी)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।