६ बैशाख २०८१, बिहीबार

मानिसकोआक्रोश, विचार र दिमागको तरङ्ग पनि आन्दोलन नै हो: विप्लव

0

काठमाडौँ – नेकपाका महासचिव विप्लवले सडकमा उत्रिनु मात्र आन्दोलन नभएर हरेक व्यक्तिको दिमागमा उठ्ने तरङ्ग, विचार, आक्रोश र सोच पनि ससक्त आन्दोलन भएको बताएका छन्। शनिबार संयुक्त महिला संघर्ष समितिद्धारा आयोजित ‘वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

जहाँ, शोषण, दमन, अन्याय र अत्याचार हुन्छ, एउटाको सर्वभौम अधिकारलाई कुण्ठित गरिन्छ, आफ्नो एकपक्षीय स्वार्थ लाद्न खोजिन्छ त्यहाँ विद्रोहको तरङ्ग पैदा हुन्छ, आक्रोश पैदा हुन्छ ,त्यो पनि एक प्रकारको भिषण आन्दोलन नै हो ।’, गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले भने, ‘संसारमा विभिन्न खालका उत्पीडनहरु छन् त्यो मध्ये महिला उत्पीडनको विषय एकदमै भयावह छ, महिलामाथिको उत्पीडन आन्दोलनको केन्द्र हो, नेपालको कम्युनिस्ट आन्दोलनले हाम्रो दिदीबहिनीहरुलाई सामान्तवादी उत्पीडन र पितृसत्तात्मक उत्पीडनबाट यो उचाइसम्म आइनपुग्ने थिएन।’

महिला हिंसा पीडित बिनु यादव र र लघुवित्त पीडित सन्तोषी महर्जनको प्रसंग जोड्दै विप्लवले उनीहरु महिला हिंसा र उत्पीडनको नमूना भएको भन्दै यो सबै हुनुमा दलाल पुँजीवाद प्रमुख रहेको बताए । ‘यो त महिलाको कुरा भयो, त्यो भन्दाबढी युवाहरु यसको शिकार भएका छन् । युरोप जाने नाममा महिला र युवाहरु बेचिएका छन्, गाउँ गाउँका युवा र महिलाहरुलाई विदेश पलायन गराएर युवाविहिन गाउँ,युवा विहिन समाज, युवा विहिन देश बनाउनमा दलाल पुँजीवादीहरु सक्रिय छन् । यसलाई परास्त पार्न महिला आन्दोलन दलाल पुँजीवाद बिरुद्धको आन्दोलन छेड्न जरुरी छ, दलाल पुंजीवादाका समर्थक दलहरुले महिलाहरुलाई नङ्ग्याएका छन्, हरेक बस्तुलाई क्रय बिक्रयको मालमा बदलेर महिलाको ब्यापार गरिरहेका छन्।’, उनले भने ।

“यसको बिरुद्ध हाम्रो पार्टी लडेको छ, हामी चुपचाप छैनौं । लघुवित्तको चर्को ब्यजदर र महिला हिंसाको बिरुद्धमा बोल्दा, आन्दोलन गर्दा हाम्रा नेताकर्ता जेलमा रहेका छन् । कुनै अभियन्ता एन जी ओ ले गरेको सामान्य कामलाई बढाई चढाई गरेर क्रन्तिकारिहरुले गरेको बिद्रोह, आन्दोलन र दलाहरुलाई कारवाही गरेको कुरा अपराधीकरण गर्ने जुन नेपाली केही मिडियाको चरित्र छ , त्यो पनी चरम दलाल पुँजीवादको सेवा हो ।’ महिला मुक्तिका लागि दलाल पुँजीवादलाई जहिलेसम्म फाल्न सकिदैन महिला मुक्तिको पहिलो शर्त भनेको दलाल पूजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना गर्नु रहेको उनको भनाई थियो ।

https://fb.watch/j3Fk28_Xn-/

त्यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती) ले ८ मार्च महिला मुक्तिको दिवसमात्र नभएर एउटा राजनीतिक वैचारिक आन्दोलनको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । महिला मुक्तिको आन्दालनले पूर्णता पाउन नसक्नुमा दलाल पुजीवाद हाबी भएको भन्दै मार्च ८ लाई दलाल पुजीवादका विरुद्धमा प्रयोग गर्दै राजनीतिक र वैचारिक रुपमा विकास गर्नपर्ने बताएका हुन् ।

 

महिलाको समस्या सामान्तवाद नभएको भन्दै सामान्तवादले ल्याएको सुधारवाद र त्यसले महिलालाई दिएका सुविधाहरु मुख्य समस्या भएको उनको भनाई छ । ‘सामान्तवादका विरुद्धमा महिला आन्दोलन केन्द्रीत हुनुले मात्र पुग्दैन्, ‘गोष्टिमा धारणा राख्दै आहुतीले भने, ‘महिलालाई सुविधा दिएको जस्तो देखिन्छ । कसैलाई वडामा महिला सदस्य बनाएको छ, कसैलाई उपमेयर बनाएको छ, कसैलाई सांसद बनाएको छ, कसैलाई मन्त्री वा राष्ट्रपति बनाएको छ । यो समस्याको समाधान होइन । यो सुधारवाद हो । कसैको गल्र्ड फ्रेण्डलाई पद दिन समस्याको समाधान होइन ।’

‘महिलालाई भ्रममा पार्नका लागि, आन्दोलन सिध्याउनका लागि यस्ता खालका प्रलोभनहरु आउँछन्’, उनले भने, ‘महिलाले यसैलाई सर्वस्व मान्न हुँदैन । भ्रम दिनका लागि गरिएको सुधानलाई सुधार भन्न मिल्दैन । यो सुधारवाद हो । हामीलाई महिला मुक्ति चाहिएको छ । भ्रम होइन ।’

महिला र पुरुषलाई समान अधिकारले महिलाको मुक्ति नहुने भन्दै महिलालाई विशेष आरक्षणको व्यवस्था चाहिने उनको जोड थियो । ‘महिलालाई समान अधिकार दिने भनेको छ । असमान व्यवहार गरेको छ । यसले महिलाको मुक्ति सम्भव छैन ।’, उनले भने, ‘महिलालाई पुरुषसँगको प्रतिसपर्धामा उतारिन्छ । राती ९ बजे बैठक बोलाइन्छ । महिलाका लागि स्थनपानको व्यवस्था गरिएको हुँदैन । केटा केटी खेल्नलाई खेल मैदान हुँदैन । अनि समान अधिकारको कुरा गरिन्छ । यो त महिलामाथि अत्याचार हो । भ्रम हो । यसको अन्त्य हुन पर्छ । महिला मैत्री पार्टी हुनपर्छ । सरकार हुन पर्छ । र महिला मैत्री व्यस्था हुनपर्छ । त्यो भनेको वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।’

कार्यपत्र माथि टिप्पणी गर्दै नेकपा मशालका प्रवक्ता रामप्रसाद पुरीले महिलावाद र धार्मिकवादको विरोध गर्नु राम्रो भएको बताए । महिला मुक्तिको आन्दोलन वर्गिय मुक्तिको आन्दोलन बन्न सक्ने भन्दै यसका लागि वारावरणसमेत बनेको उनको भनाई छ । ‘क्रान्तिका लागि विश्वमा वातावरण बनेको छ ।’, उनले भने, ‘रुस, युक्रेन युद्धले यस्तो वातावरण बनाएकोले क्रान्ति गर्न तयार हुनपर्छ । उक्त क्रान्तिमा महिला मुक्तिको सवाललाई महत्वपूर्ण बनाउन पर्छ ।’

गोष्ठीमा धाराणा राख्दै नेकपामा अध्यक्ष ऋषि कट्टेलले सामाजिक र सांस्कृतिक चिन्तन अन्त्य नभएसम्म महिला मुक्ति सम्भव नभएको बताए । ‘महिलालाई अहिले पनि मालको रुपमा बुझ्ने गरिन्छ । विभिन्न पर्वमा महिलालाई लाइन ,मन्दिरमा देख्ने गरिन्छ । यसलाई एउटा संस्कृतिको रुपमा विकास गरिएको छ । यसलाई बदल्न पर्छ ।’, उनले भने, ‘धार्मिक रुपमा यसको अन्त्य गर्न पर्छ । सांस्कृतिक धरातलमाथि हमला गर्न पर्छ ।’

सांस्कृतिक, धार्मिक चिन्तनकोे अन्त्य गर्न बल प्रयोग अनिवार्य भएको भन्दै उनले त्यसका लागि सबैले योगदान गर्न पर्ने उनको भनाई थियो । बल प्रयोग विना महिला मुक्ति सम्भव नभएको उनको जिकिर थियो ।

नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले महिलाको बर्गिकरण गरेर आन्दोलनको रुप दिलाएर महिला मुक्ति सम्भव भएको बताए । ‘पहिलो महिलालाई बर्गिकरण गर्नुपर्यो , बर्गिकरण गर्दा कर्णालीको महिला र काठमाडौंको महिलालाई एउटै डालोमा हाल्न भएन ।’, गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘सहर र गाउँबाट गरिएको आन्दोलनले निश्कर्ष दिन्छ ।’ उनले ८ मार्चमा अन्तराष्ट्रिय महिला दिवस मनाउनु राम्रो भएको भन्दै नेपालमा पनि मौलिक दिवसको विकास गर्न सुझाव दिए ।

कार्यक्रममा महिला हिंसा पीडित विनु यादव, लद्युवित्त पीडित सन्तोषी महर्जन र वेपत्ता यौद्धा पूर्ण पौडेलकी आमा योगमाया पौडेलको उपस्थिति रहेको थियो ।

 गाेष्ठीमा नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्दले कार्यपत्र प्रस्तुत गरेकि थिइन् भने कार्यक्रमको अध्यक्षता धनकुमारी सुनारले गरेकि थिइन।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।