१३ बैशाख २०८१, बिहीबार

सांस्कृतिक योद्धाको स्मरण

0

संस्कृति भन्नाले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने साहित्य र कला हो; जसले पुराना संस्कार रीतिथिति, सुख, खुसी, दुःख, पीडालाई साहित्य र कलाको माध्यमद्वारा समाजलाई सुसूचित गर्ने गर्दछ । यसमा विचार, भावना र आवेग, संवेगको मिश्रण हुन्छ । यसलाई समाजमा कलाको माध्यमबाट प्रस्तुत गर्ने सक्षम साहित्यकार र कलाकारको आवश्यकता पर्छ ।

साहित्यकारले साहित्यको रचना गर्दछ र कलाकारले कलाको माध्यमबाट जनताको बिचमा प्रस्तुत गर्दछ । साहित्य पनि वर्गीय हुन्छ किनकि मानव समाज दुई वर्गमा विभक्त छ । एउटा पुँजीपति वर्ग र अर्को सर्वहारावर्ग । एउटा साहित्यले राष्ट्रिय स्वाधीनता र दुःखी गरिब, सर्वहारावर्गको पक्षपोषण गर्दछ । पहिलो साहित्यले समाजलाई भाग्यवादमा चित्रित गर्दै अधोगतितिर धकेल्छ । राष्ट्रघात, जनघात गर्दछ भने दोस्रोले मानव समाजका भइरहेको अन्याय, अत्याचार, शोषण, दमन र राष्ट्रघात विरोधको गर्दछ ।

त्यसैले, पहिलो साहित्यकार र कलाकारहरूले सत्ताबाट सबै सुविधा लिएर सत्ताको गुणगान गाउँदछन् भने दोस्रो साहित्यकार तथा कलाकारहरूले निःस्वार्थ भावनाका साथ जनताका कथा–व्यथालाई लिपिबद्ध गर्ने र कलाको माध्यमबाट प्रस्तुत गर्ने गर्दछन्, त्यसैलाई जनकलाकार भनिन्छ । म यहाँ एकजना जनकलाकारको बारेमा थोरै स्मरण गर्न गइरहेको छु ।

चम्किलो सांस्कृतिक परिवारको गठन

कपिलवस्तु जिल्ला, शिवगढी गाविस, वडा नं. ४, बनिया भार बस्ने सहिद रमा घर्ती ’आरती’ एक सशक्त जनकलाकार हुनुहुन्थ्यो । जनकलाकार मात्र होइन, एकजना नेता पनि हुनुहुन्थ्यो । २०४७ साल असोजमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सेल समिति शिवगढीद्वारा दसैँको अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि एउटा सांस्कृतिक टिम निर्माण गर्ने योजना बन्यो ।

त्यसबेला शिवगढीमा बलियो सेल समिति निर्माण भइसकेको थियो । क. विप्लव काठमाडौँमा पढ्ने र विद्यार्थीको केन्द्रीय सदस्य भएको र दसैँको बेला घरमा आएको मौकामा उहाँकै सल्लाह र सक्रियतामा तत्कालीन सेल सदस्यहरू चन्दबहादुर चन्द, बाला थापा, मालबहादुर घर्ती, पनिराम रोका, राममङ्गल चौधरी, चिन्तामणि पोखरेल, डिलबहादुर रोका, तुलाराम घर्ती, जयनारायण पुन, भेकबहादुर थापा चित्रबहादुर सेनसहितको करिब ५०÷६० जना युवाहरूको भेलाले ’चम्किलो सांस्कृतिक परिवार’ शिवगढी गठन गरियो ।

उक्त परिवारको अध्यक्ष र सदस्यहरूमा क. आरती, शुष्मा, क. विष्णु, क. जुना, क. देवी, क. लालबहादुर घर्ती, क. विकल्पलगायतको टिम गठन भयो ।

भारतीय पुलिसलाई घुस नदिँदा पिटाइ

’चम्किलो सांस्कृतिक परिवार’ ले दसैँको अष्टमीको दिन भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो भने तिहारमा भैलो कार्यक्रम सम्पन्न गयो । त्यो भैलो टोलीको नेतृत्व चम्किलो सांस्कृतिक परिवारले गरेको थियो भने त्यसमा सबै शिवगढीका युवाहरू सहभागी भए ।

त्यसले तत्कालीन अवस्थामा गाउँका जनताबिच जनवादी भैलो कार्यक्रम सञ्चालन गर्नुका साथै, ठूलो कम्युनिस्ट जागरण ल्यायो र आर्थिकरूपमा लगभग २७ हजार रूपैयाँ जम्मा भयो । सबै खर्च कटाएर बँचेको पैसाले क. विप्लव र जबी शाह भारतको गोरखपुर गएर एउटा अहुजा कम्पनीको माइकको सेट तथा राम्रो खालको पर्दा ल्याएर कृष्णनगर हुँदै कपिलवस्तु शिवगढी ल्याइयो । सो माइक ल्याउँदा भारतीय पुलिसले घुस माग्दा नदिएपछि पिटाइ खानुपरेको थियो ।

काङ्ग्रेसी गुण्डाहरूको आक्रमण र प्रतिरोध

शिवगढीमा चम्किलो सांस्कृतिक परिवारले प्रत्येक सालको दसैँको अष्टमीको दिन सांस्कृतिक कार्यक्रम र तिहारमा जनवादी भैलो सञ्चालन गर्दै आइरहेको थियो । सोहीक्रमअनुसार २०४८ सालको दसैंको दिन सांस्कृतिक कार्यक्रम सञ्चालनको तयारीमा जुटिरहेको बेला क. कृति, क. हिमाल, क. आरती, क. शुष्मालगायतको टोली भगवानपुरतिर जाँदै गरेको अवस्थामा नेपाली काङ्ग्रेसका गुण्डाहरूले बाटैमा आक्रमण गरेका थिए ।

त्यसबेला क. आरती, क. शुष्माहरू दौडेर मेरो घरमा आई “दाइ, बाला दाइ ’कृति’ लगायत साथीहरूलाई कुटपिट गरेका छन्, तुरुन्त जानुपर्यो” भन्ने खबर लिएर आएपछि हामी त्यहाँ गएर प्रतिरोध गर्यौँ र गुण्डाहरूलाई लखेट्यौँ । त्यसक्रममा क. विप्लव र तुलाराम घर्ती पनि गम्भीर घाइते हुनुभयो भने गुण्डाहरूको समूहमा ६÷७ जना घाइते भए । हामीलाई ज्यान मार्ने उद्योगको मुद्दा लगायो । हामीले त्यसको प्रतिरोध गरिरह्यौँ र चम्किलो सांस्कृतिक परिवारलाई निरन्तर अगाडि बढाइरह्यौँ । अहिले पनि त्यो नाम कायम नै छ ।

त्यही घटनाको बेलामा माथि नै भनिएको छ कि क. रमा घर्ती ’आरती’ र शुष्मा आएर तिखो स्वरमा दाइ बाला ’कृति’ दाइहरूलाई पिट्दैछन् भनेको स्वर अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ । अत्यन्तै मीठो स्वरकी धनी सहिद क. रमा घर्ती ’आरती’ कलाकार मात्र हुनुहुन्थेन; उहाँले सानै उमेरमा राजनीतिक चेतनाको राम्रो विकास पनि गर्नुभएको थियो ।

उहाँ गीत र नाचबाट जनताको चेतना उठाउनुको साथै, गीतको भावलाई राम्रोसँग पकडेर सर्वहारावर्गको मुक्तिको खातिर वर्गसङ्घर्ष उठाउनुपर्दछ भन्नेमा स्पष्ट हुनुहुन्थ्यो । शिवगढीमा हुने प्रत्येक वर्गसङ्घर्षमा उहाँ सहभागी हुँदै जानुभयो । सङ्घर्षले उचाइ हासिल गर्दै गयो ।

कमरेड आरतीको क्रान्तिप्रतिको अठोट

२०५२ सालमा नेकपा (माओवादी) पार्टी जुन नेपालको राजनीतिमा सर्वहारावर्गको आशाको केन्द्र थियो । त्यसले निरन्तरतामा क्रमभङ्गता गर्दै फागुन १ गते जनयुद्ध घोषणा गर्यो । सो समयमा हामी शिवपुरको पूर्व–पश्चिम राजमार्गमा मसाल जुलुससहित पोस्टर टाँस्ने र पर्चा छर्ने काम गयौँ । त्यसमा क. रमा घर्ती ’ आरती’ पनि सहभागी हुनुभयो ।

त्यसपछि उहाँ निरन्तर पार्टी र क्रान्तिमा सहभागी हुँदै एकपछि अर्को उचाइँ चुम्दै जानुभयो र नेताको स्तरमा विकास गरिसक्नुभएको थियो । उहाँ एउटा सशक्त महिला नेतृ हुनेमा म विश्वस्त थिएँ र त्यसको अपेक्षासहित बेला–बेलामा मैले भन्ने गर्थे, “बहिनी, तपाईं यो देशको एउटा सशक्त नेता बन्नुपर्छ ।” उहाँ भन्नुहुन्थ्यो, “दाइ, मेरो क्षमताले भ्याएसम्म एक थोपा रगत र एक मुट्ठी प्राण रहुञ्जेल देश र जनताको मुक्तियुद्धमा सहभागी भइरहनेछु ।“ यस्तो प्रतिबद्धताले मेरो गर्वको सीमा नै रहँदैनथ्यो ।

निश्चय पनि उहाँ यो देशको नेता बन्नुहुन्छ भनेर । समय अगाडि बढ्दै जाँदा २०५३ साल चैतमा मेरो सरुवा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी, मुस्ताङ र पर्वतको आधा जिल्लाको एउटा जिल्ला थियो । त्यहाँ सरुवा भयो ।

जनयुद्धले उचाइ प्राप्त गर्दै गयो । एकपछि अर्को सफलतासँगै हामी आ– आफ्नो मोर्चामा डटिरह्यौँ । म नयाँ भूगोलमा नयाँ कमरेडहरूसँगको सहकार्यसँगै अगाडि बढिरहेँ भने जिल्लामा रहने कमरेडहरू आफ्नो क्षेत्रमा डटिरहनुभयो । पछि २०५६ सालमा कमरेड अशोक, क. विकल्प, क. पृथ्वी सरुवा भई बाग्लुङ जानुभयो । उहाँहरू सैन्य टिममा सहभागी हुनुहुन्थ्यो । क. अशोक पनि जनकलाकार नै हुनुहुन्थ्यो ।

उहाँहरू त्यहाँ गएपछि मैले क. आरतीलगायतका कमरेडहरूको बारेमा सोध्ने गर्दथेँ । उहाँहरू “ठिकै छ दाइ, राम्रो विकास गर्नुभएको छ” भन्नुहुन्थ्यो । समयक्रमसँगै क. अशोक, क. विकल्प, क. पृथ्वीको पनि सहादत भयो । त्यसले मेरो मानसपटलमा ठूलो झट्का लाग्यो र मैले त्यसबेला ठूलो अठोट गरेँ, “सहिदहरूको रगतको बदला लिने र सपना पूरा गरिछाड्ने ।” ती तीनजना महान् सहिदहरूबारे मैले विस्तृत संस्मरण अरू कुनै बेला लेख्ने नै छु ।

कमरेड आरतीको सहादतको खबर

म धौलागिरीमा नै थिएँ । २०५९ सालमा अर्घाखाँचीमा शाही सेनाले घेरा हालेर क. रमा घर्ती ’आरती’ को हत्या गरेको भन्ने कुरा एक महिनापछि मात्र थाहा पाएँ । यो खबर सुनेपछि मलाई असाध्यै पीडाबोध भयो । नेपालको क्रान्तिकारी आन्दोलनकी एक चम्किलो तारा अस्ताएको अनुभूत भयो र एक रातभरि निंद्रा लागेन । फेरि पनि दोहोर्याएर क. आरतीको सपना साकार पार्ने प्रण गरेँ । त्यतिबेला फोन गर्नका लागि सञ्चार माध्यमको विकास भइसकेको थिएन ।

केवल चिठी आदान–प्रदानबाट नै सञ्चो बिसञ्चो सोध्ने र थाहा पाउने माध्यम थियो । त्यसकारण कमरेड आरतीको सहादतको खबर ढिलो थाहा भयो । सहिद आरतीको आमा–बुबालाई भेट्न जाँदा २०५९ फागुनमा म घरमा आएँ अनि क. आरतीको बुबा–आमालाई भेट्न गएँ । क. आरतीको तस्बिर मेरो आँखा वरिपरि झलझली आइरहेको थियो । मैले आमालाई सम्झाउन थालेँ। असाध्यै पीडाको महसुस भयो।

मैले आँसु थाम्न सकिनँ र आमा–बुबाको अगाडि प्रतिबद्धता जाहेर गरेँ, ’आमा–बुबा, क. आरतीको सपना पूरा गरिछाड्नेछु । कुनै पनि हालतमा सहिद, सहिद परिवार, देश र जनतालाई धोका दिनेछैन ।” अनि आमा–बुबाले भन्नुभयो, “तपाईंहरूले नै आरतीलाई पार्टी सङ्गठनमा लगाउनुभयो । ठूलो नेता बन्ने, देश, जनताको सेवा गर्ने भन्ने छोरीको सपना थियो । त्यो बैरीले पूरा हुन दिएन । उसको सपना तपाईंहरूले पूरा गर्नुहोला ।” मैले फेरि पनि दोहोर्याएर कुनै पनि हालतमा धोका नदिने अठोट गरेँ ।

यसरी एकजना जनकलाकार एवम् जननेताको सहादतले ठूलो क्षति भयो र आमा बुबासँग बिदा माग्दै म आफ्नो कार्यक्षेत्र फर्के । कमरेड आरतीलगायत हजारौँ सहिदहरूको सपना अझै पनि पूरा हुन सकेको छैन । हामी कमरेड आरतीलगायत महान् जनयुद्धका सहिदहरूका ती सपना पूरा गर्ने यात्रामा नै निरन्तर छौँ । म कमरेड आरतीलगायतका सहिदहरूको सपना पूरा गर्ने यात्रामा छु । ती महान् सहिदहरूको सपना पूरा तब मात्र सम्भव हुनेछ, जब सर्वहारावर्गको मुक्ति हुनेछ ।

(वीरजङ्ग स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा प्रकाशित ‘स्मृतिमा वीरजङ्ग’ पृ१८७ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।