८ मंसिर २०८१, शनिबार

मालेमावाद र आलोचनात्मक चेत: खोमा तरामु मगर

0

भौतिकशास्त्रका महान वैज्ञानिक स्टेफिन हकिङ्सले भने–“मानिस यस्तो जिज्ञासु जाति हो, जो विशाल संसारमा बसेर अनन्त आकाशलाई नियाल्दै सदा प्रश्न गरिरहन्छ र उत्तर खोजिरहेको हुन्छ ।”(स्टेफिन हकिङ्स\लियोनार्ड म्लोडिनो, The Grand Design, पृ.७) । हकिङ्सले भनेझैं मानव सभ्यताको सुरूवात नै प्रश्नबाट भयो । मानिस यस्तो जिज्ञासु प्राणी हो, यसले अन्ततः प्रश्न गर्दछ र उत्तर खोजिरहन्छ ।

सुरूदेखि नै मानिसले प्रकृतिमा हुने हरेक घटना र यसका रहस्यहरूबारे असीमित जिज्ञासा राख्यो । मानिसभित्र रहेका असीमित जिज्ञासा र प्रश्नहरूले करिब तेह्र अर्ब असी करोड बर्षअघि संघनीत सुक्ष्मतम् वस्तुबाट यो ब्रहमाण्डको उत्पत्ति भएको पत्ता लाग्यो । पृथ्वीको उत्पत्ति चाढेचार अर्बबर्ष अगाडी भएको पत्ता लाग्यो । पृथ्वीमा समुन्द्रहरू आजभन्दा चार अर्ब एक्चालिस करोड बर्ष पहिले अस्तित्वमा आएको पत्ता लाग्यो ।

कविलाबाट सुरूभएको मानव समाज आज ‘सुपरसोनिक मिसाइल’ युगसम्म आइपुग्दा ज्ञानको क्षेत्रले नयाँ फड्को मार्यो । पृथ्वीको उत्पत्तिसँगै जीवन र जगतका गति गहनतम र सुक्ष्म नियमहरू पत्ता लाग्यो । यसको मूलकारण मानिसभित्र रहेको असीमित जिज्ञासा र आलोचनात्मक चेत थियो ।

आलोचनात्मक चेत (क्रिटिकल कन्सस्नेस) मानव विकासको मूलस्रोत हो । आलोचनात्मक चेतले मानिसलाई प्रश्न गर्न सिकाउँछ । जब तपाइँ प्रश्न सुरू गर्नुहुन्छ, त्यहीँविन्दुबाट ज्ञानको सुरूवात हुन्छ । प्रश्न गर्नु नकरात्मक हुनु होइन, आलोचनात्मक चेतको विकास हो । अर्थात् आलोचनात्मक चेतको अर्थ नयाँ सिर्जनशीलता हो । आलोचनात्मक चेतले नै मानव समाजको विकास गर्यो । दास युगमा स्पार्टाकसले विद्रोह गर्नु आलोचनात्मक चेतको उपज थियो । स्पार्टाकसले गरेको प्रश्नले दास युगको अन्त्य गरिदियो र नयाँ समाजको विकास गर्यो ।

जर्मनीमा १२ बर्षसम्म हिटलरले किन शासन गर्यो ? नेपालमा राणाहरूले १०४ बर्ष किन शासन गर्यो ? त्यतिबेला प्रश्न गर्ने आलोचनात्मक चेत कमजोर थियो । जब प्रश्न गर्ने आँट गरियो, ती शासनसत्ताहरू ढले । युरोपमा भएको बेलायती औद्योगिक क्रान्ति र फ्रान्सेली क्रान्ति त्यहाँको लाखौं मजदुरले गरेको प्रश्न थियो । पेरिश कम्युन मजदुर वर्गको प्रश्न थियो र विश्वका पुँजीपति वर्गको मुटुमा ढ्याङ्ग्रो ठोक्यो । नेपालमा जनयुद्व श्रमजीवी वर्गको प्रश्न थियो र राजतन्त्र ढल्यो । भोल्टेयरले भनेझैं मानिसलाई उसको उत्तरले होइन, प्रश्नले मूल्याङ्कन गर्नुपर्दछ । प्रश्न कसरी गरिन्छ ? त्यो निकै महत्वपूर्ण बिषय हो । मानिस नकरात्मक हुनु नै आलोचनात्मक चेत हुनु होइन ।

आलोचनात्मक चेतले तर्कद्वारा सत्यको अन्वेषण गर्दछ । यसले जीवन र जगतको बोध गराउँछ । प्रकृतिमा घट्ने हरेक घटना र रहस्यहरूको खोजी गर्छ । अर्थात् प्रश्न सत्ताका लागि सबैभन्दा ठूलो खतराको बिषय हो । लिना नदीको किनारमा काम गर्ने लाखौं मजदुरहरूले पुँजीवाद विरूद्व सुन्दर भविष्यको सपनासहित समाजवादबारे जिज्ञासा राख्दा पेट्रोगाडमा आगो बल्यो र रूसी अक्टोबर क्रान्ति सम्पन्न भयो । अमेरिकामा हिंस्रक पुँजीवादको आलोचना गर्दै उठेको वालस्ट्रिट आन्दोलनले साम्राज्यवादको मुटुमा कम्पन पैदा गरेको थियो ।

महान दार्शनिक कार्ल माक्र्स तत्कालीन दार्शनिक चिन्तन र पद्वतिको विश्लेषण गर्दै खरो आलोचनामा उत्रिए र भने–“दर्शनको काम संसारको व्याख्या गर्नुमात्रै होइन, मुख्य कुरा बदल्नु हो ।” (फायरबाखबारे निबन्ध, १८४५, पृ.३८, माक्र्स एंगेल्स संकलित रचना, खण्ड १) । उहाँले लुडविग फायरबाखको अधिभूतवादी भौतिकवाद र जर्ज विल्हेल्म हेगेलको द्वन्द्ववादी आदर्शवादको तर्कसङ्गत आलोचना गरे । उनको यो आलोचना सामान्य थिएन, दर्शनको शासनविरूद्व ठूलो विद्रोह थियो । बर्गसङ्घर्षबिना नै सहकारी पद्वतिद्वारा पुँजीपति वर्गको अन्त्य गर्न सकिने प्रुँधो र बाकुनिनको अराजकतावादविरूद्व आलोचना गर्दै कार्लमाक्र्सले ‘दर्शनको गरिबी’ किताब लेखेका थिए ।

उनले फ्रेडरिक एङ्गेल्ससितको ४० बर्ष सहकार्यमा पुँजीवादको हिंस्रक अमानवीयतामाथि विशद् चर्चा गर्दै ‘कम्युनिस्ट घोषणापत्र’ लेखे र घोषणा गरे–‘आधुनिक राज्यसत्ता भनेको पुँजीपति वर्गको सञ्चालक समिति हो ।’(कम्युनिस्ट घोषणापत्र,पृ.७६) । उनीहरूले घोषणापत्रमार्फत विश्वका श्रमजीवी वर्गलाई वैज्ञानिक समाजवाद–साम्यवादको उज्यालो भविष्य देखाए । हो, यही विन्दुबाट समग्र मानव सभ्यतामा आलोचनात्मक चेतना र बहसले नयाँ उचाइँमा फड्को मार्यो ।

कम्युनिस्ट घोषणापत्रको तरङ्ग सामान्य थिएन । समग्र विश्व नै दुई कित्तामा बाँडियो । माक्र्स–एङ्गेल्सले लेखे–“युरोपलाई एउटा भूतले सताइरहेको छ–त्यो हो, साम्यवादको भूत ।” (उहीँ, पृ.७२) । उनीहरूले निकै साङ्गितीक र मिठासपूर्ण वाक्यसहित साम्यवादको विशद् चर्चा गरेका छन् । सिङ्गो युरोप साम्यवादको ‘भूत’ले आक्रान्त बन्यो र त्यसलाई निस्तेज पार्न सारा प्रतिक्रियावादी तथा पुँजीपति वर्ग एक ढिक्का बन्यो । माक्र्स–एङ्गेल्स फ्रान्समा क्रान्तिको ज्वालामुखी फुट्ने र त्यसको चपेटामा सम्पूर्ण युरोप पर्ने निष्कर्षमा पुगेका थिए । त्यसको ठीक २३ बर्षपछि पेरिश क्रान्तिको ज्वालामुखी विस्फोट भयो र त्यो सम्पूर्ण युरोपमा फैलियो ।

विश्व पुँजीवादलाई दुत्कार्दै फ्रान्सका मजदुर युजेन पोत्तरले श्रमिक वर्गको अमर गीत ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ !’ लेखे । माक्र्स–एङ्गेल्सलाई पुँजीपति वर्गले विश्वव्यापी रूपमा जति निन्दा र भत्र्सना गर्यो, त्यति नै लोकप्रिय पनि बनायो, र विश्वका मुक्तिकामी आन्दोलनको ढुकढुकीमा उनीहरूका विचार उत्प्रेरक बनिरह्यो ।
माक्र्सले युरोपमा पुँजीपति वर्गले मजदुर वर्गमाथि गरेको हिंस्रक शोषणको आलोचना गर्दै कालजयी कृति ‘पुँजी’ उपहार दिए । जब कार्ल माक्र्सको विचार सार्वभौम विज्ञानको तहमा विकसित भयो, माक्र्सवादले शानदारपूर्वक मानव जातिले आर्जन गरेका सम्पूर्ण ज्ञानका शाखाहरू दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र र कला साहित्यको सौन्दर्यचेत क्षेत्रमा निकै महत्वपूर्ण योगदान पुग्यो । यहीँविन्दुबाट श्रमजीवी वर्गले आफ्नो आलोचनात्मक चेतको हतियार प्राप्त गर्यो ।

सेन्ट साइमन, चाल्र्स फुरिए, थोमस मोरजस्ता काल्पनिक समाजवादीहरू, प्रुँधो, बाकुनिनजस्ता अराजकतावादी, रूसो र भोल्टेयरका विचारहरू तत्कालीन शासन र चिन्तन प्रणालीबारे आलोचनात्मक चेत राख्ने अगुवा विचार नै थिए । रूसमा क्रान्ति गर्न कम्युनिस्ट पार्टीको नीति कस्तो हुने ? भन्ने बिषयमा बोल्सेभिक र मेन्सेभिकहरूबीच विवाद भएपछि कामरेड लेनिनले ‘दुई कार्यनीति’ किताब लेखेर मेन्सेभिकहरूको दक्षिणपन्थी कार्यनीतिको आलोचना गरेका थिए ।

सोभियत संघको इतिहासमा समाजवाद निर्माण गरेका र दोस्रो विश्वयुद्वमा सोभियत रूसलाई विजयको शिखरमा पुर्याएका जोसेफ स्टालिन स्वयं आलोच्य भए । स्टालिनका सबैभन्दा निकटका वैचारिक मित्र कामरेड माओत्सेतुङले उनका केही अधिभूतवादी कमजोरीका आलोचना गरेका छन् । कामरेड माओत्सेतुङले सोभियत संशोधनवाद र निकिता खु्रश्चोभको आलोचना गर्दै ‘बर्नस्टिन र काउत्स्कीको चेलो’ भएको बताएका छन् । (महान बहस, पृ.२२७) । रोजा लक्जेम्बर्गले पुँजीवादको अधिनायकत्वमाथि आलोचना गर्दै ‘राजनीतिक स्वतन्त्रताबिना समाजवाद निसास्सिएर मर्ने’ बताएकी थिइन् । आन्तोनियो ग्राम्सीले माक्र्सवादका कतिपय आर्थिक कमजोरीहरूमाथि आलोचना गरेका छन् । यद्यपी उनले कार्लमाक्र्सलाई महान दार्शनिकका रुपमा स्वीकार गरेका छन् । गोञ्जालो, चे, क्यास्ट्रो, होची लगायत धेरै समाजवादी चिन्तकहरूले मानव समाजमा आलोचनात्मक चेत भर्न महत्वपूर्ण योगदान गरेका छन् ।

गौतम बुद्वले ‘चलिआएको चलन भनेर नमान्नु, गुरू वा मान्यजनले भनेको भनेर मात्रै नमान्नु, पुस्तकलाई आँखा चिम्लिएर समर्थन नगर्नु’ भन्नु र प्राचीन कालमा चार्वाक ऋषिले पूर्वीय आध्यात्मवादका अमानवीय पक्षविरूद्व जाहेर गरेका मतहरू आलोचनात्मक चेतना उद्भव र विकास गराउने चिन्तन थिए । स्पार्टाकसको विद्रोहपछि सामन्तवादी समाजमा भएका विद्रोहका स्वर आलोचनात्मक चेतकै द्योतक थिए । प्रकृति विज्ञान क्षेत्रका कोपर्निकस, ग्यालिलियो, न्युटन, आइन्स्टाइन, डार्बिन हुँदै हकिङ्सलगायत वैज्ञानिकहरूको खोज र अनुसन्धानहरू अधिभूतवादमाथिको आलोचनात्मक प्रहार थिए । इटलीका महान वैज्ञानिक ग्यालिलियोले ‘पृथ्वीले सूर्यलाई घुम्छ’ भनी सिद्व गरेबापत परमेश्वरको वाणी बाइबलमाथि धावा बोलेको अभियोगमा सन् १६४२ मा बन्दी अवस्थामै मारिनुपरेको थियो । ब्रिटिश वैज्ञानिक रोजर वेकनलाई ईश्वरलाई चुनौति दिएको अभियोगमा जीवनभर जेलमा सडाइयो भने गियो काल नामक किसान नेतालाई टाउकोमा तातो फलामको मुकुट पहिर्याएर मारिएको थियो ।

नेपाली समाजमा पनि आलोचनात्मक चेतको विकास भएको छ । पुष्पलालका विचारहरू सामन्तवादका विरूद्व आलोचनात्मक चेतको उपज थियो । उनको नेतृत्वमा बनेको कम्युनिस्ट पार्टी आफैमा सामन्त तथा दलाल नोकरशाही पुँजीवादविरूद्व आलोचनात्मक चेतनाको परिणाम थियो । उनले विराटनगर जुटमिलमा मजदुरहरूले हड्ताल गरिरहेको बेला सामन्तवाद र राणाकालीन मालिक वर्गको आलोचना गर्दै कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरेका थिए ।

साहित्य लेखनको क्षेत्रमा कृष्णसेन इच्छुक, पारिजात, युद्वप्रसाद मिश्र, योगमाया, कृष्णलाल अधिकारी, गोपालप्रसाद रिमाल र भुपी शेरचनका रचनाहरूमा तत्कालीन समय र समाजको आलोचनात्मक चेत भरिभराउ छन् । जनयुद्वकालीन सबै सिर्जनाहरू आलोचनात्मक चेतका प्रतिबिम्बन हुन् । कम्युनिस्ट आन्दोलनमा देखिएका विद्रोहहरू आलोचनात्मक चेतका परिणाम हुन् । क्रिस्टोफर कड्वेल, जुलियस फ्युचिक र कृष्णसेनको बलिदान आलोचनात्मक चेतकै परिणाम थियो । २०६२\६३ को जनआन्दोलन सामन्तवादविरूद्व श्रमजीवी जनताको आलोचनात्मक चेतको उत्कर्ष थियो । माओवादी आन्दोलनमा प्रचण्ड र बाबुरामविरूद्वको विद्रोह विचारधारात्मक आलोचनाको चेत थियो ।

हामीलाई यतिमात्रै आलोचनात्मक चेतले पुगेको छैन । जनक्रान्तिका बलिदानीपूर्ण विरासतलाई निरन्तरता दिन कम्युनिस्ट पार्टीलाई आलोचनात्मक चेतले सुसज्जित पार्नुपर्दछ । आलोचनात्मक चेतसहितको कम्युनिस्ट पार्टीले मात्र श्रमिक वर्गलाई दलाल पुँजीवादको जुवाबाट मुक्त गरी वैज्ञानिक समाजवाद–साम्यवादको उज्यालो क्षितिजमा पुर्याउन सक्दछ । यसका लागी हामी मानव जातिले आर्जन गरेका सम्पूर्ण ज्ञानका शाखाहरूबाट दीक्षित हुनुपर्दछ ।
आज मालेमावादको रक्षा आलोचनात्मक चेतसहितको नयाँ मस्तिष्कले मात्रै गर्न सक्छ ।

आजको नयाँ मस्तिष्कलाई पुँजीवादको नौरङ्गी भ्रमजालको बन्धकी बनाएर भुत्ते बनाउनुहुँदैन । कामरेड विप्लवले भनेझैं ‘सिर्जनशीलताका नसा सुकेका’हरूबाट मालेमावादको रक्षा हुन सक्दैन । हामीले आलोचनात्मक चेतलाई सिर्जनशील र नयाँ मस्तिष्क निर्माणको कारखाना बनाउदै जानुपर्दछ । आन्तोनियो ग्राम्सीको भाषामा अहिले क्रान्ति सम्पन्न गर्न पुरेत मस्तिष्क होइन, जैविक मस्तिष्क निर्माणको आवश्यकता छ ।
२५ फागुन, ०७९, गुल्मी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।