९ मंसिर २०८१, आईतवार

माओवादी – कम्युनिस्ट मोर्चाबन्दीबारे

0

हिजो- आज प्रधानमन्त्री पुष्पकमल दाहाल ` प्रचण्ड ´ को नाममा सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दा  अगाडि बढाएपछि माओवादीको मोर्चाबन्दी देखा परेको छ भने नयाँ कम्युनिस्ट वा समाजवादी केन्द्रको बहस पनि मुखरित भएको छ । यो सवालमा २/३ वटा माओवादी घटक भने साझा वक्तव्यमा प्रयोग हुने र गर्ने केहि शब्दावली नमिलेको भन्दै अलग भएका छन । त्यसैले यो बिषयमा स्पष्ट हुन आवश्यक छ ।
प्रचण्ड माथि मुद्दा किन ?

प्रचण्ड ( प्रधानमन्त्री ) माथि मुद्दा लोकतन्त्रको सुन्दरता होइन कि प्रतिक्रान्तिको ब्यबहारिक अभिव्यक्ति हो । यो मुद्दा  जनयुद्धकालीन प्रचण्डलाई अपराधी सावित गरेर दण्डित गर्ने र शान्तिकालीन प्रचण्डको विचलन र पतनको परिक्षण गर्ने हतियार हो ।

यो जनयुद्धलाई अपराध सावित गरेर जनयुद्धमा सहभागी सबैलाई अपराधी बनाई सजाय दिने प्रक्रियाको शुरूवात हो । यो कम्युनिस्ट बदनाम गरी एकापसमा लडाइ, विनाश गर्ने र त्यसको शुरूवात माओवादीबाट गर्ने भूमण्डलीय पुँजीवादी रणनीतिको एक हिस्सा हो । यो देश र जनताका समस्याहरु समाधानार्थ माओवादी / कम्युनिस्ट लगायत सबै सच्चा देशभक्त र लोकतान्त्रिक शक्तिहरु बीच हासिल गर्नुपर्ने बलियो राष्ट्रिय एकताको संभावनाको अन्त्य गर्ने बैधानिक अभिव्यक्ति हो ।

यो जनयुद्ध र जनआन्दोलनको अनि बिस्तृत शान्ति सम्झौताको मर्म र भावना विरुद्ध द्वन्द्वको ब्यापार गर्ने पुजीवादी युद्धका ब्यापारीको रणनीतिक योजनाको हिस्सा हो । यो नेपाललाई इतिहासको पुर्बी युरोप वा पश्चिम् बाङ्गाल र बर्तमानको युक्रेन जस्तै बनाई तत्कालीन चीनको र समग्रमा एशियाको उदयलाई रोक्ने षडयन्त्रको एक हिस्सा हो र यो मुद्दा बिद्यमान दलाल पुँजीवादी राज्यको स्वभाविक र अनिवार्य परिणाम पनि हो ।

साझा मोर्चा / मंच र परिवर्तन

साझा वा संयुक्त मोर्चा भनेको आफ्नो अलग अस्तित्व र मतसहित तत्काल देश र जनताको सामुन्ने आईपर्ने तथा मानव समाजले सामना गर्नुपर्ने समस्याहरुलाई सबै क्षेत्रका अगुवा ( खासगरी राजनैतिक क्षेत्रका ) ब्यक्ति र संस्थाले गर्ने सामुहिक प्रयासको ब्यबहारिक अभिव्यक्ति हो ।

त्यसैले अहिले प्रचण्डको मुद्दाले देश र जनताले चौतर्फी भोग्नुपरेका सबै समस्याहरु मध्यकै एक प्रतिनिधि घटनाको प्रतिनिधित्व गरेको छ । सरल रूपमा बुझ्दा प्रचण्ड- जो प्रधानमन्त्री छन- ले त सुरक्षाको प्रत्याभूति नगर्ने र उनको सुरक्षा नहुने देशमा अरु कसले सुरक्षाको प्रत्याभूति गर्न सक्छ ?

यदि भ्रष्टाचार गरेको वा एमसिसी पास गरेको कारण प्रचण्डले असुरक्षा महसुस गरेको भए अलग विषय हुन्थ्यो । यहाँ त उनले आजको राजनैतिक परिवर्तनको कारण बनेको जनयुद्धको नेतृत्व गरेको कारण असुरक्षा महशुस गर्नुपर्ने भयो । त्यसैले यो समाजका सामु उपस्थित जल्दोबल्दो समस्या नै हो ।

जब निराशा फैलिएको समाजमा असुरक्षाको भाव त्यो पनि अगुवा राजनीतिज्ञमा पैदा हुन्छ तब त्यो समाजले एक, आफ्नो अस्तित्व मेटिने जोखिम मोल्छ दुई, एक फासिस्ट तानाशाह जन्मको आधार प्रदान गर्दछ र तीन, एक अर्को क्रान्तिकारी परिवर्तनको कारण हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीले ८औं महाधिवेशनमा कुनै पार्टीलाई दुश्मन किटान नगरी नेपाली समाजको मुख्य शत्रु वा समस्या अनुत्पादक दलाल प्रवृत्ति हो भनेर किटान गरेको थियो भने भर्खरै सप्पन्न ९ औं महाधिवेशनले बैज्ञानिक समाजवादका लागि मिल्नसक्ने सबैसँग मिलेर (पार्टी एकता, संयुक्त मोर्चा / सहकार्य र न्युनतम तालमेल गरेर) जाने निति लिएको छ । किनभने आजको मुख्य समस्या भनेको बिद्यमान संसदीय दलाल पुजीवादी व्यबस्था हो । अझ यसो भनौ कि संविधानमा उल्लेख भएको समाजवादलाई कार्यरुप कसरी दिने भन्ने मुख्य चुनौती हो ।

आज हाम्रो समाजले भोगेका समस्याबारे सबै जानकार छन । अहिलेको प्रणाली संकटग्रस्त र असफलता उन्मुख छ भन्ने पनि थाहा छ । यतिमात्र होइन एउटा अर्को परिवर्तन आवश्यक छ भन्ने पनि महशुस छ तर त्यसको नेतृत्व भनौ वा आफैप्रति मान्छेहरु विश्वस्त छैनन । यो स्थितिमा समस्या समाधानका लागि सामुहिक वा एकीकृत रूपमा पहल गर्नु अनिवार्य छ । यो प्रक्रियामा जोसँग रणनैतिक बैज्ञानिक लक्ष्य,उदेश्य र कार्यक्रम हुन्छ उसले नै नेतृत्व लिनेछ ।

जसरी इतिहासमा आजको परिवर्तनको लागी प्रजातान्त्रिक र कम्युनिस्ट शक्तिको मोर्चा जरुरी पर्यो ठिक त्यसरी भविष्यको समाजवादका लागि सबै कम्युनिस्ट र समाजवादीहरुको मोर्चा जरुरी छ । यही वस्तुगत आवश्यकता पूरा गर्न कम्युनिस्ट वा समाजवादीको मोर्चा / मंच को बहस उठेको छ जसलाई परिणाममुखी बनाउन आवश्यक छ । यो दिशामा सोच्नु र सार्थक प्रयास थाल्नु जो कसैको पहल पनि सकारात्मक कुरा हो । झन यसमा प्रचण्डले सोच्नु अझै राम्रो कुरा हो । जसले अधुरो परिवर्तनकोअभियानलाई पुरा गर्ने संभावना बढ्छ । यदि प्रचण्ड वा पुरानो पीढीकाले नेतृत्व गरेनन भने नयाँ पुस्ताबाट त्यो आवश्यकता पूरा हुनेछ र समाजले परिवर्तनको मार्ग लिनेछ ।

केही किन अलग भए त ?

अहिले जनयुद्धसँग जोडिएर आएको समस्या र त्यसको प्रतिक्रिया वा प्रतिवादमा कमरेड किरण लगायत अरु दुई ( कन्चन र गोपाल  ) किन अलग भए त ? मान्छेहरु जिज्ञासु भएर प्रश्न गर्न उत्सुक छन । त्यसैले यो बिषयमा केही चर्चा गर्नु जरुरी छ । पहिलो, समस्या ती पार्टी -जो अलग छन- को संकीर्णताको हो- जो हाम्रो पुरानो उत्पादन सम्बन्धसग संबंधित छ भने दोस्रो, समस्या जडताको हो जसले परिस्थिति धेरै अघि बढ्दा वा परिवर्तन हुदा पनि आफुलाई बिकास गर्ने सामार्थ्य राख्दैन । तेस्रो, समस्या ती पार्टी र नेतृत्वमा बिद्यमान कम्युनिस्ट रुढीबादको हो जुन समस्याबाट बिश्वका साथै नेपाली कम्युनिस्ट आन्दोलन आक्रान्त छ । चौथो, समस्या अलिकति कुण्ठाको पनि हो किनभने त्यो साझा कार्यक्रममा प्रचण्डपछि विप्लवको नाम आउदा सायद असहज महसुस हुने पनि हुन सक्छ ।

अन्त्यमा रोहित/केसि र एमाले /माके बन्ने अतिबाट बच्दै अग्रगामी परिवर्तनको लागि नयाँ शिराबाट सकारात्मक रूपमा सोचौँ र गरौँ- जीत हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।