१४ बैशाख २०८१, शुक्रबार

स्मृतिमा कमरेड वीरजङ्ग

0

 

“सर वीरजङ्ग दाइको केही खबर पाउनुभयो ?” कमरेड आदर्शले फोनमा प्रश्न गर्दा हामी बिहानको शीतलमा लसुन रोप्दै थियौँ । उहाँको फोन गराइबाट सदाको भन्दा अलि फरक अनुमान लगाएँ । पछिल्लो समय वीरजङ्ग कमरेडको स्वास्थ्यमा उतार–चढाव पनि थियो । नभन्दै आदर्शले थप्नुभयो, “दुःखद् खबर आयो, आज राति कमरेड वीरजङ्गको निधन भएछ !” मलाई एउटा झट्का लागेजस्तो भयो ।

काममा जुटेका सबै युवा कमरेडहरूले पनि अनुमान लगाउनुभयो । मैले थोरै जानकारी गराएँ, काम स्थगित गयौँ । कामबाट फर्किएको देखेपछि छोरी सञ्जु पनि फटाफट भित्र आइन् । प्रकाशलाई बोलाउन लगाएँ । उनले त राति १२ बजे नै थाहा पाइसकेका रहेछन् । “पार्टीले नै खबर गरोस्, राति भन्दा बुबालाई तनाव होला” भनेर नभनेका रहेछन् । उनी हामीसँग काममा नजानुको कारण पनि त्यही रहेछ ।

जब छोरीले थाहा पाइन्, त्यसपछि निकै भक्कानिएर रुन थालिन् । वीरजङ्ग दाइले छोरीलाई निकै माया गर्नुहुन्थ्यो भने छोरीले पनि खुब सम्मान गर्थिन् । त्यसैमा शोभा मिसिइन् । कोठाको वातावरण भावुकताले भरियो ।

संयोग भनौँ, बितेको राती १०ः३० बजेसम्म सबै परिवारका सदस्य बसेर वीरजङ्गको बारेमा लामो कुरा गरेका थियौँ। हाम्रो निष्कर्ष थियो . अब ढिला नगरी वीरजङ्गलाई भारतबाट नेपाल ल्याउने र गङ्गालाल मुटुरोग अस्पतालमा भर्ना गर्ने या निरन्तर जाँचमा रहने, त्यसका लागि छोरा प्रकाश काठमाडौँ गएर डा. भोला र डा. त्रिमूर्तिलाई भेट्ने अनि मैले फोनमा भए पनि उहाँहरूसँग कुरा गर्ने एवम् अरू सबै काम पार्टीका कमरेडहरूसँग सल्लाह गरेर गर्ने  निष्कर्षपछि म सुतेँ ।

प्रकाश छिमेकीको घरमा सुत्न गए । शोभाले निकैपटक ‘सपनामा वीरजङ्ग दाइलाई यस्तो भएको देखेँ, उस्तो भएको देखेँ’ भन्दै चिन्ता व्यक्त गर्थिन् । मैले ‘सपनाको कुरा गरेर तनाव नगर’ भन्थे । खबर सुनेपछि पार्टीका सबै कमरेडहरूलाई फोन गरेँ । कमरेड प्रकाण्ड, सन्तोषसहित सबैसित कुरा भयो । कमरेड सन्तोषसँग कुरा हुँदा गएरातको आफ्नो अनौठो मनस्थिति सुनाउनुभयो, “म काम गर्दै थिएँ ।


एक्कासी झल्याँस्स वीरजङ्ग दाइलाई सम्झें र कृतिलाई फोन गरेँ । कृतिले पहिले अलि गम्भीर थियो, हिजोबाट सुधार भएको छ भनेपछि सुतेँ । तर, बिहान महासचिवको फोन आएपछि झसङ्ग भएँ । कतै दिमागी तरङ्गको प्रभाव होला कि ! उहाँ अन्तिम अवस्थामा पुग्दा हामीलाई सम्झिने र मैले पनि सम्झिने भयो कि !” कमरेड कृति, छोरी, शोभा, प्रकाशसहित माथि बूढो घरमा लाग्यौँ । त्यहाँ पुग्दा दिदी, भाउजु, बुहारी, नातिनीहरूको अवस्था विह्वल थियो । मैले सबैको बिचमा बसेर सम्झाएँ । दिदी, भाउजुहरू निकैबेरपछि मात्र थामिनुभयो । काठमाडौँ माइला दाइ जयन्द्रसँग कुरा भयो । उहाँ तुरुन्तै हिँड्न तयार हुनुभयो ।

रात नसकिदै हामी जुट्यौँ । कमरेड वीरजगलाई राख्ने ठाउँ बनायौँ । बिहानै प्रकाशहरू कृष्णनगर सीमामा शव भित्र्याउन गए । प्रहरीले पनि सहयोग गयो । त्यस्तै सात बज्दै थियो, भारतबाट आकस्मिक बाहनमा कमरेड वीरजङ्गको शव आयो । लामो समयदेखि वीरजङ्गको सहयोगमा रहनुभएका कमरेड नवीन, छोरा बीएस र सहयोगमा दिल्ली पुग्नुभएका सुवास भट्टराई ओर्लिनुभयो ।

एम्बुलेन्स आँगनमा प्रवेश गर्दा म थामिन सकिनँ । सबै भावुक भयौँ । उहाँको शव हेरेँ, अग्लो र बलियो शरीर शान्तसँग सुतिरहेको थियो । अङ्गालो मारेर राख्ने ठाउँसम्म लाग्यौँ । अनुहारमा कुनै खराबी थिएन, बोलौँलाझैँ उज्यालो थियो ! परिवारका सबै सदस्यमा पीडा र भावुकता पोखियो । फूल, अबिर राखेर श्रद्धाञ्जली दियौँ ।

मैले कमरेड नवीन र बीएससँग छुट्टै कुरा गरेँ। नवीनले भन्नुभयो, “पछिल्लो समय दाइले पार्टी, क्रान्ति र नेतृत्वको निकै चिन्ता गर्नुहुन्थ्यो । उहाँले नेतृत्वप्रति पूरा विश्वास भएको तर क्रान्ति र जनतालाई कुनै पनि स्थितिमा धोका नहोस्, म यदी बाँचिनँ भने यो खबर महासचिव र नेताहरुलाई सुनाइदिनू भन्नुहुन्थ्यो ।

परिवारमा बूढी आमा, दिदीहरू र भाउजुको पीर गर्नुहुन्थ्यो ।’ मलाई असह्य भइरहेको थियो। “घरमा ऋण धेरै छ नवीन, फर्किन पाएँ भने भाइसँग भनेर सबै बेचेर ऋण तिर्ने र बँचेकोबाट कम्युनसँग जमिन लिएर बस्ने पनि भन्नुहुन्थ्यो”, नवीनले भनिसक्दा म थामिनै सकिनँ । हुन पनि कमरेड वीरजंगले क्रान्तिसँगै परिवारको सारा भार थाम्नुभयो तर कहिल्यै पनि ‘समस्या छ’ भन्नुभएन । प्रमुख भएर भार थाम्नुपर्दा कति सोच्नुपर्छ ? म सम्झेर बेलाबेला उद्वेलित बन्छु ।

कमरेड वीरजङ्गलाई एक दिन, एक रात राखेपछि देशैभरबाट अन्तिम श्रद्धाञ्जलीमा केन्द्रीय सदस्य कमरेडहरू केन्द्रित हुनुभयो । कमरेड अनिल, शीलु, आस्था, आदर्श, हितमान, आधार, बन्धु, नयन, सन्देश, प्रज्वलन, सवीन, शीतल, सुवास, ओम, भगत पुग्नुभयो । बिहान नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर महरा, प्रचण्ड, नन्दकिशोर पुन ’पासाङ’ ले समवेदना दिनुभयो । त्यसमा पासाङले भारत नपठाएको भएहुन्थ्यो दाइलाई भन्नुभएको थियो, मैले धन्यवाद दिएँ ।

१० बजेपछि श्रद्धाञ्जली कार्यक्रम गरियो । ठूलो सङ्ख्याका बिचमा कमरेड भेषराज भुसालले उद्घोषण गर्नुभयो । कमरेड प्रकाण्ड, कृति, माओवादी केन्द्रबाट कमरेड सोनाम, बलदेव, क्रान्तिकारी माओवादीबाट ठुल्दाइ, पुराना नेता मेघराज, आँपकान्छा, एमालेबाट नेत्र अधिकारी, अर्जुन केसी, काङ्ग्रेसबाट अभिषेक शाह, मसालका जिल्ला नेता सबै आउनुभयो, श्रद्धाञ्जली मन्तव्य दिनुभयो ।

हाम्रो तर्फबाट कमरेड प्रकाण्ड र बन्धुले बोल्नुभयो । म अलि भावुक मान्छे, कमरेडहरू बोल्दा थामिन सकिनँ । मैले लामो बोलिनँ । श्रद्धाञ्जली, धन्यवाद र कमरेड वीरजङ्गबारे केही कुरा गरेँ र प्रतिबद्धता राखें । त्रियानब्बे वर्ष पुग्नुभएकी आमा, पाका उमेरका दिदीहरू, भाउजु, छोरा, बुहारी, सारा कमरेडहरू, साना नाति–नतिनाहरू सबैले अन्तिम बिदाइ गरेपछि घाटतिर हिंड्यौँ ।

वीरजङ्गलाई एकातिर म र अर्कोतिर कमरेड प्रकाण्डले काँध लगायौँ । कमरेडहरूले पहिले नै चिता बनाइसक्नुभएको रहेछ । विशाल आगोको ज्वाला दन्किदै जाँदा उहाँको भौतिक शरीर सकिँदै गयो तर उहाँको रापिलो विचार अजम्मरी भएर उभिएको अनुभूति भयो ।

२०७८ कात्तिक १० गते कमरेड वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरियो । जिल्ला पार्टीले कार्यक्रमको व्यवस्थापन गरेको थियो, निकै भव्य भयो । कार्यक्रममा कमरेड सन्तोष, कृष्ण महरा, मेघराज ज्ञवाली, बिनबहादुर कार्की, सुदर्शन आदिले बोल्नुभयो । बोल्ने वक्ताहरूले कमरेड वीरजङ्गको निधन राज्यको दमनकै कारणले भएको निष्कर्ष निकाल्नुभयो । उहाँलाई सहिद घोषणा गर्नुपर्ने सुझाव सबैको थियो ।

पछि मैले बोल्दा सबैका सुझावलाई पार्टीमा राख्ने । प्रतिबद्धता जनाएँ । चिरन पुनले गाउँको श्रद्धाञ्जली गीतले सबैलाई द्रवित बनायो । आजकल पनि हाम्री सानी नातिनी खुसीले त्यो गीत बेला–बेला मीठो बालबोलीमा गाउँर उमङ्गित बनाउँछिन् । त्यही सभामा कमरेड वीरजङ्ग प्रतिष्ठान बनाउने र एउटा स्मारिका निकाल्ने सोच घोषणा गयौँ । पछि केन्द्रीय समितिले निर्णय गर्योे र कमरेड अनिलको नेतृत्वमा स्मारिका प्रकाशित हुँदैछ ।

राजनीतिक आन्दोलनमा सहभागी

कमरेड वीरजङ्गको राजनीतिक झुकाव २०३५÷०३६ बाट सुरु भयो । उत्कर्षमा एकीकृत जनक्रान्तिको कमान्ड तहको जिम्मेवारीमा पुग्नुभयो । उहाँ युवा हुँदा २०३५÷०३६ को विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा पञ्चायतका विरुद्ध बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभयो । तर, उहाँको सक्रिय राजनीतिक जीवन २०४६÷०४७ पछि नै सुरु भएको हो । २०४९ सालमा उहाँ शिवगढी गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो ।

२०५० सालदेखि पार्टीले सञ्चालन गरेको ग्रामीण वर्गसङ्घर्षमा भाग लिंदै २०५२ सालबाट सुरु भएको जनयुद्धमा पहलकर्ताकै रूपमा सहभागी बन्नुभयो । अनवरत पूर्णकालीन राजनीतिज्ञको रूपमा सक्रिय रहनुभयो । एकीकृत जनक्रान्तिभित्रको सङ्घर्षशील जीवन नै उहाँको राजनीतिक जीवनको उत्कर्ष रह्यो ।

२०४३ सालबाट म विद्यार्थी सङ्गठनको जिल्ला तहमा सक्रिय भएँ । कलेज गएपछि पञ्चायती व्यवस्था रहेसम्म म लगातार गिरफ्तार हुने, जेल जाने र छुट्ने भयो । उहाँलाई सबै थाहा भएर पनि लगातार सहयोग गर्नुभयो । पहिले गाविस सचिव र पछि नापतौल विभागको खरदारमा जागिर खाँदै हुनुहुन्थ्यो तर जागिरप्रति उहाँको रुची नभएपछि राजिनामा दिनुभयो ।

२०४६ मा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि म गाउँमा फर्किएँ । गाउँमा कुन पार्टीमा जाने भन्ने भइरहँदा उहाँले पर्खिनुभएको रहेछ । सबै कुरा भएपछि उहाँ नेपाल कम्युनिस्ट पार्टी (मशाल) मा सङ्गठित हुनुभयो । पछि कपिलवस्तुको जिल्ला समितिमा चुनिनुभएछ । गाउँमा उहाँ, कृतिसहितको टोलीले यति मिहिनेत गर्यो कि २०४९ सालको स्थानीय निर्वाचनमा जनमोर्चाको तर्फबाट शिवगढी गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो ।

एकता केन्द्रले २०४८ सालमा जनयुद्धको कार्यदिशा पारित गर्यो । कमरेड वीरजङ्ग गाविस अध्यक्ष भए पनि विभिन्नखालका तालिम र वर्गसङ्घर्षमा सहभागी बन्नुभयो । काङ्ग्रेसको अत्याचार देशभरि थियो भने कपिलवस्तुजस्तो जनमोर्चा कमजोर भएको जिल्लामा झन् हुने नै भयो । म कहिलेकाहीँ जिल्लामा पुग्दा उहाँ, कृतिलगायतका साथीहरूसँग जनयुद्ध र क्रान्तिका विषयमा लामा छलफल हुन्थे । सङ्घर्षमा पनि निकै पटक परियो । उहाँलाई अनेकौँ मुद्दा लागे ।

अन्ततः अध्यक्ष हुँदा हुँदै उहाँ २०५१ सालबाटै भूमिगत बन्नुभयो । राज्यबाट छिपेर बस्दा उहाँहरूले तिनाउ नदीका ढुङ्गा फोरेर बेच्नेदेखि, दाउरा बनाएर बेच्ने र खेतहरूमा श्रम गर्ने काम गरेको पछि सुनाउनुहुन्थ्यो ।

२०५२ सालबाट जनयुद्ध सुरु भयो । उहाँ प्रत्यक्ष सहभागी बन्नुभयो । जनयुद्धमा सुरुमा उहाँ लडाकु दलमा काम गर्दै धौलागिरीमा पुग्नुभयो । पछि सेनाबाट उहाँ बाग्लुङ जिल्ला पार्टीको नेतृत्वमा छानिनुभयो । हामी आ–आफ्नो काममा व्यस्त भएकाले कमरेडहरूबाट जानकारी पाउनेबाहेक प्रत्यक्ष भेट २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनमा भयो ।

उहाँको उत्साह र आत्मविश्वास निकै माथि पाएँ । म कर्णालीबाट आधारक्षेत्रमा पुगेपछि धौलागिरी पनि विशेष ब्युरोमै आयो । उहाँसँग प्रत्यक्ष भेट्ने र छलफलमा भाग लिने मौका मिल्यो । जिम्माका हिसाबले म केन्द्रीय सदस्यमा थिएँ भने उहाँ ब्युरोमा हुनुहुन्थ्यो । तर हाम्राबिचमा क्रान्ति, पार्टी, परिवारका बारेमा एउटा कमरेडकै जसरी छलफल हुने गर्थे । परिवार र निजी मामिलामा खासै कुरा हुन्थेन ।

मैले नै कहिलेकाहीँ घर–व्यवहार, आमा, भाउजु, दिदीहरूबारे सोध्ने गर्थे । उहाँले छोटो जानकारी दिनुहुन्थ्यो । २०६० सालपछि जब जनयुद्ध प्रत्याक्रमणतिर बढ्न थाल्यो, उहाँले सेनामा जाने इच्छा राख्नुभयो । पार्टीले मुख्य जोड पनि जनमुक्ति सेनामै दिइराखेको थियो । मैले उमेरका कारण के हुन्छ भन्ने जिज्ञासा राखेको थिएँ । उहाँले सकिन्छ अझै १० वर्ष भन्दै हाँस्नुभयो । अरू साथीहरू विशेष त कमरेड सुनिल (सहिद) र पासाङको जोडमा उहाँ कमिसार बन्नुभयो ।

बेनी मोर्चामा घाइते

अँध्यारो रातमा हामी म्याग्दीबाट बाग्लुङ जाँदै थियौँ । अग्लो धारेडाँडो, मसिनो बाटो थियो तर क्षितिजको छायाले मान्छेहरू हिंडेको आकार–प्रकार देखिन्थ्यो । हाम्रा अगाडि त्यस्तै १० मिटर जतिमा एउटा अग्लो र एउटा मझौला कदका मान्छे विस्तारै हिंडिरहेको देखिए । मैले अग्लो मान्छेलाई चिर्ने, उहाँ वीरजङ्ग हुनुहुन्थ्यो । घाइते भएको थाहा थियो तर साथीहरूले बोकेर लगे होलान् । जस्तो लागेको थियो ।

नजिक पुगेपछि मैले सोधें, “तपाईं हिँड्न सक्नुहुन्छ र ?’’ उहाँको स्टाफले जवाफ फर्काए, “सरलाई गाह्रो भएको छ तर के गर्ने बोक्ने मान्छे पनि छैनन्, दुईजनाले उठाउनै सक्दैनन्, चारजना यो बाटोमा हिँड्नै मिल्दैन । मुस्किल भएको छ ।” वीरजङ्गले आफ्नो बम लागेको खुट्टा देखाउँदै भन्नुभयो “टेक्न गाह्रो छ तर साथीहरूलाई बोक्न झन् गाह्रो भो, सबै भोकाएका छन्, बरू विस्तारै भए पनि हिँड्नुपर्यो भनेर हिँड्दैछौँ । कार्यालय÷सुरक्षित ठाउँमा पुग्नुपर्यो, हामी यतै भए पनि मिलाइहालौँला ।’’ घाइतेको पीडा भए पनि उहाँको शरीर ठूलो भएकोमा हाँसो भयो ।

एउटा कमरेडले भन्नुभयो, “लडाइँमा त ठूलो शरीर पनि ठीक हुँदो रहेनछ । सानाहरूलाई कता पुर्याइसके, दाइको हालत यस्तो छ ।” मैले उहाँको खुट्टा हेरेँ, सुन्निएर खम्बाजस्तो भएको थियो । डाक्टरले पट्टी बाँधिदिएका रहेछन् । हड्डी नटुटेकाले केही सजिलो भए पनि निकै कठीन हुने भइहाल्यो । “बोक्नै परे हामी सबै लाग्छौँ तर यतापट्टि बस्नुहुँदैन, उतै जानुपर्छ ।” मैले भनें, “रातभरिमा पल्लोपट्टि पुगिहालिएला, नभए केही सोचिहाल्छौँ ।

तपाईंहरू अगाडि बढ्नुस् ।” उहाँले हामीलाई जान भन्नुभयो । थोरै नमज्जा लागे पनि हाम्रो टोली अगाडि बढ्यो । उहाँहरू पनि बिहानतिर ताराखोला पुग्नुभएछ ।

पासाङसहित हामी बैठक बस्दै थियौँ, डाँडामा लडाइँ सुरु भइहाल्यो । एकैछिन्मा त जमिन र आकास दुवैतिर लडाइँ परिहाल्यो । मलाई वीरजङ्गसहित घाइते कमरेडहरूको पीर लागे पनि लडाइँको चापाचापले धेरै सोच्न पाइएन। पछि थाहा भयो, उहाँहरूलाई जनताले सुरक्षित राखेका छन् ।

त्यसले मन हल्का भयो, दुई महिनापछि बैठकमा भेट्दा खुट्टा सञ्चो भएछ तर बेलाबखत चिसोमा नसाहरू फुल्ने र दुःख्ने गरेको छ भन्नुभयो । अलि सहज भएमा एकपटक देखाऊँला भन्ने सल्लाह भयो । त्यसपछि पनि उहाँ जनमुक्ति सेनामै खट्नुभयो । जब जनमुक्ति सेना शिविरमा पस्यो, उहाँ पार्टीमा फर्किनुभयो ।

माओवादीमा दुई लाइन सङ्घर्ष र विद्रोह

२०६४ सालपछि प्रचण्ड–बाबुरामहरू संसद्वादमा फस्दै गएपछि सुरुमै बुझ्ने र सङ्घर्ष गर्नेमध्ये उहाँ पनि हुनुहुन्थ्यो । दुई लाइन सङ्घर्षमा लुम्बिनीमा बहुमत नै हामीतिर आयो । त्यसमा उहाँलगायतको योगदान मुख्य छ । हामीले २०६९ सालमा प्रचण्डहरूसँग विद्रोह गयौँ । उहाँहरूको टोली केन्द्रीय समितिमा आयो । उहाँले ब्युरोको नेतृत्व गर्नुभयो । किरणको नेतृत्वले पनि गति लिन नसकेपछि हामीले २०७१ सालमा पार्टी पुनर्गठन गर्यौँ । त्यसमा पनि लुम्बिनीमा राम्रो भयो । उहाँ लुम्बिनीको इन्चार्ज हुनुभयो । एकीकृत जनक्रान्तिले प्रतिरोध कारबाहीको चरण पकडेपछि हामी जनतामा फर्कियौँ ।

२०७४ को चुनावलाई बहिस्कार गरेपछि म बाहिर निस्किनँ । प्रायः उहाँकै व्यवस्थापनमा बसें ।दमन र प्रतिरोध चलिरहँदा आठौँ बैठकबाट वीरजङ्ग मध्य कमान्डको इन्चार्ज बन्नुभयो । उहाँले बनेका सबै योजनालाई जोडतोडले लागू गरिरहनुभएको थियो । धेरै जिल्लाहरूले नयाँ गति लिँदै गए ।

२०७६ मा हाम्रो आठौँ पूर्ण बैठक बस्यो । बैठकले प्रतिरोध सङ्घर्षका निकै महत्वपूर्ण निर्णयहरू लियो । उहाँ कमान्ड इन्चार्जका हिसाबले राप्ती ब्युरोको बैठकमा जानुभयो । मैले उहाँलाई सुरक्षा प्रणालीबारे बताएको थिएँ । यद्यपि उहाँ नै बढी सचेत हुनुहुन्थ्यो । केन्द्रीय कार्यालयलाई कसरी सुरक्षित गर्ने भन्नेमा उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । विडम्बना बैठक सक्दा–नसक्दै पार्टीभित्रैको गद्दारीका कारण उहाँसहित ब्युरो नै समातियो । एकैपटक २१ जना समातिनुभयो । यो घटनाले पार्टीलाई निकै ठूलो धक्का लाग्यो । देशैभरि चिन्ता छायो ।

वास्तवमा उहाँको निधनको कारण नै यही गिरफ्तारी भयो । उहाँहरूलाई हातहतियार, सङ्गठित अपराधका मुद्दा लगाएर जेल चलान गरियो । उहाँलाई भेट्न वकिल, मित्रहरू, परिवारका सदस्य, कार्यकर्ता पुग्नुभयो । उहाँले सबैसँग राजनीतिक विषयमा छलफल केन्द्रित गर्नुभएछ ।
जेलमा हुँदा पार्टीलाई दुईवटा पत्र पठाउनुभयो । ती पत्रमा आफ्नोभन्दा क्रान्ति, पार्टी र नेतृत्वको चिन्ता दर्शाउनुभएको थियो ।

सबैभन्दा बढी चिन्ता पार्टीमा घुसपेठियाहरूले क्षति गरिरहेको, नेतृत्वमा पुग्न अनेकौँ बाटा खोजिरहेको, पार्टीलाई शुद्धीकरण गर्नुपरेको, प्रतिरोध सङ्घर्ष उठाउनुपर्नेमा व्यक्त भएका थिए । दाङमा समातिएपछि उहाँ मानसिकरूपले जेलमा बस्न पूरै तयार देखिनुभयो । तर, कानुनविद् मित्रहरूको सुझाव उहाँको मुद्दामा लड्न सकिने आधार भएको, राज्यसँग प्रमाण खासै बलियो नभएको भन्ने भएपछि र पार्टीको सुझाव पनि पठाएपछि रिट हालेर निस्किन कोसिस गरौँ भन्नेमा पुग्नुभयो ।

दाङमा हुँदा प्रशासनको राम्रै व्यवहार थियो तर जब पूर्वतिर जानुपयो; त्यसपछि सताएको खबर पठाउनुभयो । त्यसमा पनि सङ्खुवासभा लैजाँदा र पूर्वबाट सिन्धुली हुँदै काठमाडौँ ल्याउँदा अमानवीय प्रकारले सताएको, यातना दिएको सूचना पठाउनुभयो । राज्यको फाँसिस्ट दमनको पार्टीले भण्डाफोर पनि गयो । देशका विभिन्न जिल्लामा घुमाउने क्रममा उहाँ स्वास्थ्य बिग्रेको खबर आयो ।

हामीले कानुनीरूपले बन्दीले पाउनुपर्ने उपचारको सेवा पाउनुपर्ने भनेर सरकारलाई सूचना दियौँ । चितवन, नवलपरासी पुगेपछि प्रशासनको पनि सहयोगी व्यवहार पाइयो । उहाँले बेला–बेलामा हस्पिटलमा भर्ना भएर उपचार गर्नुभयो । चितवनमा प्रकाशसहितका साथीहरूले प्रत्यक्ष उपचारमा सहयोग पनि गरे । जेलमै उहाँलाई कोरोना पनि लाग्यो । त्यसलाई पनि जितेर फर्किनुभयो ।

३ बुँदे र वीरजङ्गको रिहाइ

राज्यको प्रतिबन्धले दुई वर्ष पूरा गर्दै थियो । हामीले प्रतिरोध कारबाही गरे पनि सैन्य आक्रमणको कारबाही चलाएका थिएनौँ । तर हाम्रोबिचमा छलफल चल्दै थियो । यदि राज्यले रक्तपातपूर्ण दमन रोक्दैन भने पार्टीले पनि जवाफी कारबाही बढाउनुपर्छ । पार्टी तयार पनि थियो । तर,केपी–प्रचण्डहरूको सरकार सङ्कटमा पर्यो । सरकार जाने भएपछि केपीले संसद् नै विघटन गरिदिए ।

यता हाम्रो पार्टी, क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीका बिचमा रणनीतिक संयुक्त मोर्चा बनाउनेबारे छलफल भए । कमरेड किरण, ऋषि कट्टेल, सुशीलहरूसँग गाउँमा भेट भयो । रणनीतिक संयुक्त मोर्चा पनि बनायौँ । मोर्चाको निर्णयअनुसार प्रतिबन्धभित्रै बुटवल, कैलाली, सुनसरीमा जनसभा पनि भए । जहाँ जनताको सहभागिता उत्साहपूर्ण रह्यो ।

यी सबै कारणले सरकारसँग हाम्रो वार्ता सफलताको नजिक पुग्यो । विभिन्न चरणमा अनौपचारिक छलफलपछि सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ’बादल’ र डा. राजन भट्टराईको वार्ता टोली र हाम्रोतर्फबाट कमरेड प्रकाण्ड र दीपकको वार्ता टोली बन्यो । कमरेड प्रकाण्डसहितको वार्ता टोलीले विषय टुङ्ग्याएपछि म २०७८ फागुन २१ गते काठमाडौँ पुगेँ । सोही दिन २ बजे राष्ट्रिय सभागृहमा ३ बुँदे सहमतिमाथि हस्ताक्षर भयो ।

हामीले आ–आफ्ना दृष्टिकोण राख्ने काम गयौँ । सहमतिमा बन्दी कमरेडहरूलाई छोड्ने र मुद्दा खारेज गर्ने विषय बुँदा ३ मा उल्लेख थियो र छ । तर, सहमतिअनुसार राज्यले हाम्रा बन्दी कमरेडहरूलाई विभिन्न बहाना बनाएर छोड्न मानेन ।
एउटा छफलफलमा केपी ओलीले हतियारको विषय उठाएका थिए । मैले “यो विषय ३ बुँदेसँग सम्बन्धित छैन, नभएको बुँदा ल्याउनु भनेको ३ बुँदेलाई भत्काउने हुन्छ । पहिले साथीहरू छोडौँ, त्यसपछि हतियारकै कुरा गर्नु परे पनि गरौँला” भनेको थिएँ । सरकारले मुखले ठिक्क पार्ने तर लागू नगर्ने तरिका प्रयोग गन्यो । जेलका कमरेडहरूलाई छट्पटी हुनु स्वाभाविक थियो । पार्टीले पनि जोड दिनैपर्ने थियो ।

कानुनविद् र राज्यका मान्छेहरूसँग सल्लाह गरेर कानुनी उपायबाट भए पनि निकालौँ भन्ने भयो । अनि स्वास्थ्य बिग्रेका कमरेडहरूलाई पहिले निकाल्ने गरी अदालतमा रिट दायर गर्नतिर लाग्यौँ । वीरजङ्गलाई रिटबाट निकाल्ने सोचिँदैछ भनेपछि सुरुमा उहाँले मान्नुभएन । उहाँले ‘कमरेडहरूलाई जेलमै छोडेर हामी निक्लनु ठीक हुँदैन । सकेसम्म राजनीतिकरूपले नै निस्किनेगरी पहल गरौँ’ भनेर खबर पठाउनुभयो । उहाँको स्वास्थ्य बिग्रेपछि फेरि चितवन अस्पतालमा भर्ना गर्नुपर्यो । केही आराम भएपछि चितवन जेलमै बस्ने व्यवस्था मिलाइयो ।

म काठमाडौँबाट फर्किंदै गर्दा भेटें । पहिलेभन्दा स्वास्थ्यमा सुधार त भएको रहेछ । तर, खोकी र कमजोरी धेरै थियो । जेलरले पनि राम्रै व्यवहार गर्नुभएको रहेछ । गरेपछि हामी लगभग आधा घन्टाजति समसामयिक र ३ बुँदेको विषयमा कुरा अलग भयौँ । भेटमा पनि उहाँ दृढ नै हुनुहुन्थ्यो । यो सहमतिलाई २०६४ पछिको जस्तो हुन दिनुहुदैन भन्ने उहाँको भनाइ थियो । “स्वास्थ्य जे भए पनि सकेसम्म सबैलाई छुटाउँदा राम्रो हुन्थ्यो’, उहाँले भन्नुभयो ।

दिन–प्रतिदिन स्वास्थ्य बिग्रिँदै गएपछि कानुनविद् कमरेड एकराज भण्डारी, कपिलचन्द्र पोखरेलहरूसँग छलफल गरेर रिट हालियो र ५० हजार धरौटीमा मुक्त गराइयो । जेलबाट मुक्त हुने भनेपछि कमरेड कृति, जुझारुहरू लिन जानुभयो । २०७८ वैशाख १९ गते उहाँ गाउँ फर्किनुभयो । म, असल, माला र अबिर लगाए स्वागत गयौँ । सबै कमरेडहरूले स्वागत गरेपछि चिया पियौँ । उहाँ घरतिर जानुभयो ।

घरसम्म हामी पनि पुग्यौँ । बूढी आमा निकै खुसी देखिनुभयो । धेरैपटक चन्द्र आएन ? भनेर सोध्ने आमाको अनुहारमा खुसी देख्दा म भावुक भएँ । दाइ पनि भावुक बन्नुभयो । क्रान्ति, वैज्ञानिक समाजवाद–साम्यवादबारे ठूलो ज्ञान नभए पनि हामी छोराहरूको सङ्घर्ष, दुःख–कष्ट, परिवारको कठिनाइमा आमा–बुबाले कहिल्यै गुनासो गर्नुभएन । बरू आमा सधैँ भन्नुहुन्छ, “सत्यको बाटो नछोड्नू, मेरो सत् छ, सत्रुबैरीको केही लाग्दैन ।’’ धेरै समयपछि सकुशल मिलन भएकोमा वीरजङ्ग पनि खुसी देखिनुहुन्थ्यो । हामीले मत जुटायौँ, यो वर्ष सबै परिवारलाई जुटाएर बूढी आमासहित फोटो खिँच्नुपर्छ ।

स्वास्थ्यमा समस्या

“ठुला बुबालाई सञ्चो भएन, के गर्ने हो ?” नक्षेत्रले चिन्ता राख्यो । हामी भेट्न बूढो घरमा पुग्यौँ । उहाँ सुतिरहनुभएको रहेछ । छामेको शरीर तातो थियो, खोकी थियो र पसिना आइरहेको थियो । ज्वरोको औषधी खानुभएको रहेछ तर आराम भएन । मैले एकपटक जाँचमा जान भनेँ । उहाँ तयार हुनुभयो । बुटवल पुगेर जाँच गराउँदा डाक्टरले मुटुमा समस्या भएको बताए । ‘बिरामीको अवस्था हेर्दा भन्न गाह्रो तर मुटुमा समस्या देखिन्छ, एकपटक काठमाडौँ जाँच गराउनुस्’ भनेछन् ।

औषधी खाएपछि केही आराम भएछ र साथीहरूसहित कम्युन घुम्न जानुभयो । भेषराज, जुझारुसहित भएर दुई दिनमा पुग्नुभयो । मैले नै घुमफिर गर्न सुझाएको थिएँ । तर, फर्किएपछि पुनः स्वास्थ्यमा समस्या आयो । मैले फेरि भेटें । भाउजुसहित काठमाडौँ जाने सल्लाह भयो । उहाँहरू हिँड्नुभयो । अवस्था चिन्ताजनक थिएन या हामीले देख्नेगरी थिएन; त्यो थाहा भएन । उहाँहरू सामान्य खर्च लिएर काठमाडौँ जानुभयो । म काठमाडौँ आउने र उही भेट्ने कुरा भयो ।

काठमाडौँमा गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले ज्वरो कम गर्न भनेछ । लगातार ज्वरो भनेपछि क्षयरोगको शङ्का गरिएछ । उहाँलाई माइला, प्रकाण्डहरूले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पठाउनुभएछ । ग्रान्डीले कति चेक गर्दा पनि रोग पत्ता नलागेपछि अलि चिन्ता लाग्यो । उहाँ माइला दाइ जयन्द्रकहाँ आराम गरिरहनुभएको थियो । ज्वरो नघटेपछि राती नै सिभिल अस्पतालमा पठायौँ । त्यहाँ सारा चेक गर्दा पनि पत्ता लागेन । ज्वरोमा कमी नै आएन । डाक्टरहरू नै हैरान भए । फेरि ग्रान्डीमा लगेर देखाउँदा भारत लैजाने भनियो । त्यसबिचमा मैले दुईपटक उहाँलाई भेटें । स्वास्थ्य कमजोर हुँदै गएको देख्दा चिन्ता लाग्यो ।

आधुनिक प्रविधि र ज्ञानले पनि नभेट्दा असहज लाग्ने नै भयो । धेरैको शङ्का क्यान्सर या मुटु भन्ने भयो । उहाँलाई भारत पठाउने सल्लाह भयो र मैले ’हुन्छ’ भनेँ । यद्यपि मेरो चाहना भारतभन्दा नेपालमै गरौँ भन्ने थियो । अन्यत्र लैजाने सोच र सामथ्र्य हामीसँग थिएन । पार्टीमा सल्लाह गरेपछि भारत पठाउन प्रकाण्ड, जयन्द्रहरू लाग्नुभयो । उपचारमा जाँदा पार्टीका विशेष समिति सदस्य कमरेड नवीन जाने भन्ने भयो ।

भारतमा पार्टीको अवस्था जिम्मा लिनेस्तरको नभएकाले यतैबाट सबै मिलायौँ । कमरेड वीरजङ्ग र नवीन भारततिर उड्नुभयो । मैले फोनमा चिन्ताका साथ शुभकामना दिएँ । उहाँले मलाई नआत्तिन भन्दै उपचारपछि फर्किने विश्वास व्यक्त गर्नुभयो । तर, कहिल्यै कमजोर अनुभव नगर्ने वीरजङ्ग दाइ केही भावुक भएको पाउँदा म पनि उद्वेलित भएँ । तर, सञ्चो भएर फर्किनेमा विश्वस्त नै थिएँ ।

भारत पुगेको आधा घन्टामै म्याक्स अस्पतालले रोग किटान गरेर अप्रेसनको अनुमति मागेछ । उहाँलाई मुटुको समस्या देखियो । यति छिटो प्रक्रिया बढेकोमा भारतमा रहेका डाक्टर र प्रविधिप्रति मेरो पनि विश्वास माथि उठ्यो । पठाएर ठिकै गरिएछ भन्ने लाग्यो र जसरी हुन्छ उपचार गर्ने सल्लाह भयो । उपचारका लागि एकैपटक १० लाख भारतीय रूपैयाँ मागेपछि चाप त पर्यो तर प्रकाण्ड, कृति, जुझारुहरूसँग सल्लाह गरेर तयारी गयौँ । उहाँको अप्रेसन भयो । अप्रेसन सफल भएको खबर नवीनबाट पाउँदा खुसीको सीमा रहेन ।

उहाँसँग फोनमा साथीहरूले कुरा गर्नुभयो । अफ्सोचको कुरा, केही दिनपछि उहाँको ’घाउ बिसाएको’ खबर आयो । पैसाको चाप पनि निकै बढ्यो । भारतको पुँजीवादी बजारमा उचारभन्दा व्यापार बढी हुन्छ । बिरामीसँग पैसा छ÷छैन केही मतलव छैन । मनपरी मागेकोजस्तो लाग्छ । तथापि भारकै बिचमा पनि पैसा जोहो गयौँ । केन्द्र र लुम्बिनीले निकै ठूलो योगदान गरे । कम्तीमा पैसाका कारणले उपचारमा समस्या अनुभव भएन ।

यो वीरजङ्ग कमरेडप्रतिको पार्टी, नेता, कार्यकर्ताको अपार विश्वास थियो । उपचार महिना दिनभन्दा बढी लम्बियो तर सञ्चो हुनुको सट्टा अनेक समस्या देखिन थालेपछि मलाई पीर लाग्यो । कमरेडहरूसँग सल्लाह गरेर नेपालमै ल्याऊँ भन्न थालेँ । केही कमरेडहरूले पनि सुझाव यस्तै दिनुभयो । नवीनले बताएअनुसार वीरजङ्ग पनि भारतमा लामो समय बस्ने सोचमा हुनुहुन्थेन ।

एकपटक निकै च्यापेकोले छोरा र भाउजुलाई पठाइदिन भन्नुभयो कृतिले । मैले नआत्तिन भन्दै घरमा खबर गरेँ । जाने तयारी चल्दै थियो फेरि केही सञ्चो भएको खबर आयो । भाउजु रोकिनुभयो, छोरा बीएस भारत गए ।
म कपिलवस्तु फर्किएको थिएँ । प्रकाश पनि यतै आएका थिए ।

स्वास्थ्य अवस्थासहित चर्चा भएपछि हामी अब ढिला नगरी नेपाल ल्याउने निष्कर्षमा पुगेका थियौँ तर यही बेला कल्पना नगरेको खबर कमरेड वीरजङ्गको निधनले स्तब्ध र भावुक बनायो । हामी आफ्नो निर्णयलाई प्रयोग गर्नेमा सफल हुन सकेनौँ । कमरेड नवीनलाई खबर गरेर सबै हिसाब मिलाएर शव नेपालमै ल्याउन भन्यौँ । पार्टीका नेताहरूसँग सल्लाह गरेर कपिलवस्तुमै अन्त्येष्टि गर्ने निर्णय गर्यो ।

देशभरि सूचना र खबर भयो । कमरेडहरू वीरजङ्गको शव नपुग्दै आउन थाल्नुभयो । सबै भएर भारतबाट हिँडेको आकस्मिक वाहन र कमरेड वीरजङ्गको शवको  अधैर्यतापूर्वक प्रतीक्षा गरिरह्यौँ । हामीले परिवारको जेठो दाइ, बुबा–आमापछिको अभिभावक, एउटा भरपर्दो कमरेड, पार्टीको खम्बा, क्रान्तिको नायक, जनताको नेता, देशको भरपर्दो सिपाही भौतिकरूपले सदाका लागि गुमायौँ । तथापि उहाँले हाम्राबिचमा अमीट छाप छोडेर जानुभयो, जीवनभर अनेकौँ सङ्कटसँग लड्नुपरे पनि क्रान्तिप्रतिको निष्ठा एकरत्ति पनि तल–माथि पर्न दिनुभएन । यसमा हामी सबैले गौरव गयौँ ।

कमरेड वीरजङ्गका विशेषता

हरेक मान्छेमा केही जन्मजात विशेषता हुन्छन्, जो जीवनको अन्त्यसम्म बदलिँदैनन् । कुनै राजनीतिक दृष्टिकोणसँग तिनले सहयोगी सम्बन्ध बनाउँछन् । यसैलाई स्वत्व भनिन्छ । कमरेड वीरजङ्गका पनि केही यस्ता असल गुणहरू थिए, जो जीवनपर्यन्त कायम रहे । कमरेड वीरजङ्गको पहिलो गुण भनेको मिलनसार, खुलस्त बोल्ने तर गलत नबोल्ने थियो । परिवारका सदस्य, समाजका या राजनीतिक क्षेत्रका साथीहरू सबैसँग उहाँले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने गर्नुहुन्थ्यो ।

बाँच्दासम्म परिवारका सदस्य हामीलाई कहिल्यै कडा वचन लगाउनुभएन । सबैलाई असल संरक्षक र अभिभावकको व्यवहार गर्नुभयो । आफूले पीडा भोगेर पनि परिवारलाई सम्हाल्नुभयो । समाजमा पनि उहाँले देखेको र सही ठानेको विषय मात्र बोल्नुहुन्थ्यो । नेता, कार्यकर्ता, विरोधी, समर्थक जोसुकै होस्; गलत छ भने गलत, सही छ भने सही भन्ने उहाँको विशेषता बन्यो ।

दोस्रो, उहाँ निकै निडर, साहसी हुनुहुन्थ्यो । युवामा उहाँको ज्यान निकै मिलेको हट्टाकट्टा थियो । प्रायः आफन्तहरूले लाहुरे बन्नका लागि प्रेरित गर्नुहुन्थ्यो । एकपटक ब्रिटिस सेनामा नापिनुभयो र भर्ती पनि हुनुभयो । तर, ब्यारेकभित्रको व्यवहार सहन नसकेर सङ्घर्ष गर्दै फर्किनुभयो । कम बोल्ने तर कसैले गलत या अन्याय गरेमा सानैदेखि प्रतिवाद गर्नुहुन्थ्यो ।

आफूलाई लागिसकेपछि डर भन्ने उहाँमा थिएन भने पनि हुन्छ । निकै ठुला लडाइँहरू उहाँले लड्नुभयो । विद्यार्थीकाल, युवावस्था हुँदै राजनीतिक आन्दोलन, वर्गसङ्घर्ष, जनयुद्ध र एकीकृत जनक्रान्ति सबैमा उहाँको यो विशेषता कायम रह्यो । तेस्रो, वीरजगले पार्टीका आधिकारिक निर्णय र विषयलाई गम्भीरतापूर्वक लिनुहुन्थ्यो । छलफलमा आफ्ना धारणा प्रस्टसँग राख्ने र निर्णय भइसकेपछि कडाइपूर्वक लागू गर्ने विधि प्रयोग गर्नुहुन्थ्यो । उहाँको यो विशेषता नेता, कार्यकर्ता र जनतामा पनि स्थापित भएको थियो । यसले कार्यकर्ता र जनतामा ऊर्जा पैदा हुन्थ्यो ।

चौथो, उहाँमा सामाजिक एवम् सहयोगी भावना प्रवल थियो । मलाई अहिले पनि ताजै स्मरण छ, गाविस अध्यक्ष हुँदा सर्वसाधारण जनताका लागि आफैँ सदरमुकाम जाने र सहयोग गर्नु हुँदो रहेछ । घर पुग्दा बुबाले मलाई भन्नुहुन्थ्यो, “कान्छा यसलाई सम्झाएर जा है, अरू त भएन, गाउँलेका नागरिकता बनाउन जाँदा पनि आफैँले पैसा हालिदिन्छ । घरमा पैसा आउने भए पनि हुन्थ्यो ।” म हाँस्यें मात्र । पाँचौँ, उहाँ लडाकु र क्रान्तिकारी प्रवृत्तिको हुनुहुन्थ्यो ।

जति पनि वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष भए; सधैँ क्रान्ति र क्रान्तिकारी प्रवृत्तिका पक्षमा उभिनुभयो । बहुदल आएपछि वर्गसङ्घर्ष र जनयुद्धमा बढ्ने प्रवृत्तिलाई साथ दिनुभयो । जनयुद्धमा सबै मोर्चामा सहभागी बन्नुभयो र नेतृत्व गर्नुभयो । २०६४ सालपछि लगातार आत्मसमर्पणवाद, संसद्वाद र संशोधनवादका विरुद्ध सङ्घर्षमा भाग लिनुभयो ।

पछिल्लोपटक अकर्मण्यतावाद, अवसरवाद र जडसुत्रवादका विरुद्ध भएको सङ्घर्षमा नेतृत्व गर्नुभयो । यही प्रवृत्तिले उहाँलाई जीवनभरि अनेकौँ कठिनाइ र प्रतिकूलतासँग लडेर बाँच्न सहयोग गर्यो ।

छैटौँ, वीरजङ्गको जीवन सधैँ सरल र रमाइलो हुन्थ्यो । उहाँसँग भएपछि नेता÷कार्यकर्ताले निरस र रुखो जीवनको महसुस गर्नुपर्दैनथ्यो । जति सङ्कट आए पनि कार्यकर्ताको सुखदुःख, व्यवस्थापन, निर्देशन र परिचालनमा सहज र प्रस्ट हुनुहुन्थ्यो । कस्तै कठिनाइलाई पनि रमाइलो तरिकाले पार गरिदिने स्वभाव थियो ।

कमरेड वीरजङ्गका सीमा

हरेक मान्छे जति नै असल एवम् क्रान्तिकारी भए पनि उसका केही सीमा समस्या पनि हुन्छन् । त्यसरी भन्दा कमरेड वीरजङ्गमा पनि केही कमी थिए । पहिलो, उहाँ घरबाहिर जति सहज, सरल र व्यवस्थित हुनुहुन्थ्यो; घर र निजी जीवनप्रति व्यवस्थित हुनुहुन्थेन । सामाजिक एवम् राजनीतिक कामसँगै परिवार र निजी जीवनबारेमा पनि सम्भव भएसम्म सचेत र व्यवस्थित हुन जरुरी हुन्छ । अन्यथा कैयौँ व्यवहार अस्तव्यस्त हुने अवस्था पैदा हुन्छ । उहाँको यसमा कमी थियो ।

दोस्रो, राजनीतिक सङ्घर्षमा जति कडा देखिए पनि सङ्गीसाथी र कमरेडहरूसँग उदार स्वभावको हुनुहुन्थ्यो । एकछिन् कस्सिए पनि मिलौँ भन्दा भइहाल्यो भन्नेखालको हुनुहुन्थ्यो । उहाँको गिरफ्तारीका पछाडि पनि यो स्वभावले काम गरेको छ । यदि साथीहरू कसरी बसेका छन् भन्नेमा सतर्क भएको भए बँच्न सकिन्थ्यो ।

तेस्रो, उहाँको जुनखालको क्रान्तिकारी दृष्टिकोण र तार्किकता थियो, त्यहीअनुसारको लेखनमा ध्यान थिएन । कहिलेकाहीँ लेखे पनि बढी व्यवहारमै जोड दिनेखालको हुनुभयो; जसले गर्दा जीवनका अनुभव र ज्ञानलाई नयाँ पुस्ताका लागि जति छोड्न सक्नुहुन्थ्यो, त्यसमा कमी भयो ।

अन्त्यमा,

भौतिक जगत्मा मानव जीवनसँग जन्म र मृत्यु, बाँच्ने र बित्ने अनिवार्य हुन्छ । ढिलो या चाँडो, बुढो भएर या कलिलोमै, युद्धमा या घरमा, क्रान्तिमा या परिवारमा, सचेततापूर्वक या बाध्यताले संयोगको कुरा मात्र हो । मान्छे जन्मिन्छ र मर्छ यसलाई स्वभाविकरूपले नै लिनुपर्छ ।

हरेक मान्छेको मृत्यु हुने भए पनि सबै जीवन र मृत्युको प्रभाव एउटै हुँदैन । मान्छेका कर्म, योगदान र प्रभावले उसको स्थान र मूल्य खडा गरिदिएको हुन्छ । कसैको जीवन र मृत्युले परिवारमा अर्थ राख्छ, कसैको मृत्युले समाजको स्तरमा प्रभाव दिन्छ । कसैको मृत्यु राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एउटा सिङ्गै मानव जातिसँग अर्थ राख्छ ।

जुन जीवन र मृत्युले व्यापक क्षेत्रलाई आफ्नो प्रभावभित्र लिन्छ, स्वभावतः त्यस्तो जीवन र मृत्यको अर्थ र स्थान अरूको भन्दा उच्च रहन्छ नै । कमरेड वीरजङ्ग ६१ वर्षको उमेरमा बित्नुभयो । सरदर मान्छेको उमेरबाट हेर्दा केही वर्ष छिटो हो । आन्दोलनमा उहाँको भूमिका र आवश्यकताले पनि चाँडो भएजस्तो लाग्छ । तर नेपाली समाज, श्रमिक जनता, क्रान्ति र पार्टीलाई स्मृतिमा दिने योगदान धेरै पूरा गरिसक्नुभएको हो ।

उहाँको सहभागिता, समर्पण, त्याग, इमानदारिता, दृढता र क्रान्तिकारिताले ठूलो प्रभाव छोडिसकेको छ । यदि लेनिनको उमेरबाट हेर्ने हो भने उहाँ बढी बाँच्नुभएको हो । हाम्रा सहिद कमरेडहरूको उमेरबाट हेर्दा पनि उहाँको उमेर कम होइन । यद्यपि स्टालिन, माओ, होची मिन्ह, फिडेलको दाँजोबाट हेर्दा कमै उमेरमा बित्नुभयो ।

हाम्रो क्रान्ति र नेतृत्वको आवश्यकताका दृष्टिले पनि अरू बाँच्नुभएको भए एकीकृत जनक्रान्तिलाई धेरै राम्रा परिणाम दिन सक्नुहुन्थ्यो । यसमा कुनै दुविधा छैन ।

यतिबेला देशमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको अधिनायकत्व लादिएको छ । यो असफल र सङ्कटग्रस्त छ तर अमेरिकी साम्राज्यवाद तथा भारतीय साम्राज्यवादको आडमा तथा बन्दुक र कानुनको बलमा जबरजस्त सञ्चालन गरिएको छ । विश्व राजनीतिक अन्तर्विरोधका कारण नेपालमा अमेरिकी साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप असीमित प्रकारले बढेको छ ।

आजसम्म कहिल्यै भोग्नु नपरेको एमसीसी तथा एसपीपीजस्ता राष्ट्रघाती सम्झौताहरूका विरुद्ध जुध्नुपरेको छ । अमेरिकी साम्राज्यवादी हस्तक्षेपका साथै, देशका राष्ट्रिय आत्मसमर्पणकारी तत्त्वहरूका कारण देशको स्वाधीनता सर्वाधिक जोखिममा परेको छ । राज्य र जनताका बिचमा अन्तर्विरोध चर्किंदै गएको छ ।

नेपाली श्रमिक जनता, बुद्धिजीवी, देशभक्त, वामपन्थी, राष्ट्रिय उद्योगपति साराले यसबाट मुक्ति र परिवर्तन चाहेका छन् । देशको स्वाधीनता, जनताको अधिकार र वैज्ञानिक समाजवादको पक्षमा नेतृत्वदायी भूमिका हाम्रो पार्टीले निर्वाह गर्नुपरेको छ र गरिरहेको पनि छ ।

३ बुँदेपछि हाम्रो पार्टी शान्तिपूर्ण गतिविधिमा आयो । त्यसपछि पनि राज्यले सहमतिलाई लागू गरिरहेको छैन । उल्टै हामीमाथि प्रतिबन्धकै निरन्तरता जसरी दमनकारी व्यवहार गरिरहेको छ । झुट्टा मुद्दा खारेज गर्नु र बन्दी कमरेडहरूलाई मुक्त गर्नुको सट्टा ३ बुँदेमा हस्ताक्षर गर्ने हाम्रो नेतृत्वकै विरुद्ध पक्राउ पुर्जी जारी गर्ने ठाउँमा पुगेको छ ।

यो भनेको प्रतिक्रियावादी सत्ताको तानाशाही एवम् दमनकारी रवैया हो । यो जनताको नेतृत्व गरिरहेको पार्टीविरुद्धको धोकाधडी एवंम् षड्यन्त्र हो । यो काम साम्राज्यवादी तत्त्वहरूकै उक्साहटमा गरिएको छ । यसबेला हामीलाई प्रतिक्रियावादीका सारा घेराबन्दी तोड़ने नेता–कार्यकर्ताहरूको विशाल पङ्क्ति चाहिएको छ ।

यस्तो परिस्थितिमा कमरेड वीरजङ्गजस्ता इमानदार र निर्भिक कमरेडहरूको अभाव खट्किने गरे पनि हामीसँग एकीकृत जनक्रान्तिको विचारबाट प्रशिक्षित नेता–कार्यकर्ताहरूको शक्तिशाली पङ्क्ति छ, जसले देशको रक्षा र जनताको नेतृत्व लिने क्षमता राख्दछ ।

कमरेड वीरजङ्गले नेपाली श्रमिक जनता, एकीकृत जनक्रान्ति, जनयुद्ध र कम्युनिस्ट पार्टीका लागि जति लगानी र योगदान गरेर जानुभएको छ; क्रान्तिकारी आन्दोलनले त्यसको सदैव स्मरण गर्दै उच्च सम्मान गर्नेछ । उहाँले सारा जीवनलाई क्रान्ति र वैज्ञानिक समाजवाद साम्यवादका पक्षमा समर्पित गर्दै जसरी घाइते, जेलनेल झेल्नुभयो र जीवनको अन्तिम समयसम्म नझुकेर क्रान्ति, पार्टीका पक्षमा आफूलाई समर्पित गर्नुभयो, हामी अन्तरहृदयदेखि सम्मान र गौरव गर्दछौँ ।

कमरेड वीरजङ्गले जसरी अन्तिम क्षणसम्म क्रान्ति, पार्टी र नेतृत्वको रक्षा गर्नुभयो, हामी बाँचेकाले उहाँलगायत सारा सहिद बेपत्ता, घाइते तथा श्रमिक जनताको सपनालाई साकार पार्न जोडदार मिहिनेत गर्नुपर्छ । जुन दिन नेपालमा दलाल पुँजीवादी सत्ता तथा संसदीय व्यवस्थाको अन्त्य भएर वैज्ञानिक समाजवादी सत्ताको स्थापना हुनेछ, हाम्रा हजारौँ योद्धाहरूको सपना पूरा हुनेछ । कमरेड वीरजङ्गको चाहना पनि पूरा हुनेछ । हामीले आफ्नो प्रतिबद्धतालाई यिनै हजारौं योद्धाहरूको सपना र चाहनासँग जोड्नुपर्छ, जसले हाम्रो विश्वासमाथि आफ्नो जीवन नै समर्पित गरिदिनुभएको छ ।

(भदौ २०७९- वीरजङ्ग स्मृति पृष्ठ ९-२५ बाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।