३ बैशाख २०८१, सोमबार

कम्युनिस्ट पार्टी र सङ्गठनात्मक प्रश्न

0

भूमिका

कम्युनिस्ट पार्टीले सही सिद्धान्त, विचार तथा नीति र कार्यक्रम तयार गरेपछि दोस्रो महत्वपूर्ण काम भनेको सही सङ्गठनात्मक संरचना र मान्यता स्थापित गर्नु हो । किनकि कुनै पनि विचार सही भएर मात्र हुँदैन; त्यसलाई भौतिक शक्तिमा बदल्नु पर्ने, कार्यक्रममा ढाल्नुपर्ने हुन्छ । विचारलाई व्यवहारमा लैजाने साधन भनेको सङ्गठन हो ।

विचारको शक्तिलाई भौतिक शक्तिमा बदल्न सक्नुपर्छ । अन्यथा विचारको वैज्ञानिकता पुष्टि गर्न सकिँदैन । विचार अनुरूपको पार्टी सङ्गठन निर्माण गर्न सकेपछि नै पार्टीले अपेक्षित सफलता प्राप्त गर्न सक्छ । यहाँ प्राचीनकालदेखि मार्क्स- एंगेल्स हुँदै वर्तमान समयसम्मका सङ्गठनात्मक प्रयोग, मूल्य-मान्यता र त्यसमा भएका विकास तथा आज हामीले विकास गर्नुपर्ने सन्दर्भमा सुझाव र धारणा प्रस्तुत गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

प्राचीनकालमा पनि त्यसबेलाका विचारक, चिन्तक तथा ऋषिहरूले समाज व्यवस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा आ-आफ्ना सोच-धारणा राख्दै आएको पाइन्छ । पश्चिमी सभ्यतामा ग्रीक सभ्यता (हालको इटाली वरपर) अग्रस्थानमा देखिन्छ । ग्रीक सभ्यताका दार्शनिक प्लेटो (ई. पू. ४२८/४२७-३४८/३४७)ले निजी स्वार्थ र सम्बन्ध नभएकाबुद्धिजीवीहरूले राज्य-व्यवस्था चलाउनु पर्ने बताएका थिए ।

प्लेटोको समय दास-युगको समय थियो उनले दासहरूलाई नागरिक मान्दैनथे । उनले महिलालाई पनि राज्य सञ्चालनमा सहभागी गराउनु पर्ने बताएका थिए । जसले इन्द्रिय होइन, बुद्धिसंगत ज्ञानको वकालत गरेका थिए । प्लेटोको जनवाद शासक वर्गको लागिमात्र थियो । पूर्वीय सभ्यताको आर्य समाजमा जनवादको उच्च अभ्यास भएको पाइन्छ ।

आर्यहरूले समय- समयमा शास्त्रार्थ (आज त्यसलाई गोलमेच सम्मेलन वा संसद अधिवेशन भन्न सकिएला) गर्थे । बहसमा श्रेष्ठसावित भएको वा धेरैले मानेको विचारअनुसार समाज चल्दथ्यो । त्यसको लागि सामूहिक संरचना हुन्थ्यो । जसलाई आजको ‘जनपरिषद मान्न सकिन्छ । यो प्रयास सबै युगमा जारी थियो । मार्क्सवादले त्यो प्रक्रियालाई उत्कर्षमा पुऱ्यायो ।

मार्क्सको योगदान

सङ्गठन भनेको क्रान्ति गर्नुभन्दा अगाडि क्रान्ति सम्पन्न गर्ने भौतिक साधन हो भने क्रान्ति सम्पन्न भएपछि समाज-व्यवस्था सञ्चालन गर्ने वा अधिनायकत्व लागू गर्ने साधन हो । त्यसकारण पार्टी सङ्गठनको विषय मार्क्सवादको महत्वपूर्ण विषय रहँदै आएको छ ।

मार्क्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गर्नुभयो । त्यसले अन्तर्राष्ट्रिय स्तरमा नै हलचल पैदा गयो । कम्युनिस्ट घोषणापत्रमा भनिएको छ, “युरोपलाई एउटा भूतले तर्साइरहेको छ- साम्यवादको भूत । यस भूतलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन प्रहरी अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् । मार्क्सले कम्युनिस्टको उद्देश्य निजी स्वामित्वको अन्त्य बताउनु भयो । अर्थशास्त्रमा अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाउनु भयो । सत्ता वर्गीय हुने र त्यो दमनको अस्त्र हुने मान्यता स्थापित गर्नु भएको थियो ।

मार्क्सले सर्वहारा वर्गको लक्ष, विचार र उद्देश्यहरू अगाडि सार्नुभयो । निजी स्वामित्व नै सबै समस्याको जड भएकोले त्यसको अन्त्य र सामूहिक स्वामित्व कायम गर्नुपर्ने मार्क्सको निष्कर्ष थियो । त्यो उद्देश्य परिपूर्ति गर्नका लागि सर्वहारा वर्गको स्वतन्त्र सङ्गठन (पार्टी) आवश्यक पर्ने र त्यसको नेतृत्वमा क्रान्ति गर्नुपर्ने धारणा कार्ल मार्क्सको थियो । मार्क्सभन्दा अगाडिका आदर्शवादीहरू, काल्पनिक समाजवादीहरूले सर्वहारा वर्ग तथा उत्पीडितहरूको स्वतन्त्र सङ्गठनको आवश्यकताबोध गर्नसम्म सकेका थिएनन् ।

उनीहरूले परिवर्तनको अपेक्षासम्म त गरे तर पुरानै शासक समक्ष आत्मसमर्पण गर्न पुगे अथवा चार्टिष्ट आन्दोलनको नियति भोग्न बाध्य भए ।
कार्ल मार्क्सले सर्वहारा वर्गको उद्देश्य पूर्ति गर्न आफ्नै स्वतन्त्र सङ्गठन र नेतृत्व आवश्यक ठान्नुभयो । जसले सर्वहारा वर्गलाई पुरानै सत्ताधारीको पुच्छर बन्नबाट बचायो । सामूहिक नेतृत्व र आफ्नै स्वतन्त्र सङ्गठन (पार्टी) यो सन्दर्भमा मार्क्सको मुख्य योगदान हो ।

लेनिनको योगदान

कार्ल मार्क्सले सर्वहारा वर्गको स्वतन्त्र पार्टीको परिकल्पना गर्नुभयो । प्रथम अन्तर्राष्ट्रियको विरूद्ध भित्र र बाहिर दुबैतिरबाट आक्रमण भयो । मार्क्सले आफ्नै आँखाले पेरिस कम्युन देख्नुभयो । तर पुँजीको लेखन सक्नुपर्ने दायित्व र अन्य अन्तर्राष्ट्रिय कामले गर्दा पार्टी सङ्गठनको क्षेत्रमा अरू धेरै काम गर्न सक्नु भएन । त्यसैगरी मार्क्सले सामूहिक स्वामित्व र सामूहिक नेतृत्वको प्रश्न उठाउनु भयो । सङ्गठन-सङ्गठन, समूह-समूह, पार्टी र जनता, नेता र कार्यकर्ता, तलका समिति र माथिका समितिका समस्याहरू आए ।

पुँजीवादमा सम्पत्ति र सामन्ती संस्थामा कुलिनता, नोकरशाह, पुरूषवाद र राजा-महाराजाले सबै कुराको फैसला गर्दथे । पार्टी सङ्गठनमा आउने यी तमाम् प्रश्नहरूको जवाफ दिने दायित्व महान् लेनिनको काँधमा आयो ।
लेनिनले पार्टी निर्माण र त्यसको सञ्चालनको विधिमा ऐतिहासिक योगदान गर्नुभयो ।

सङ्गठनात्मक क्षेत्रमा लेनिनले गर्नुभएका योगदानहरूलाई ‘लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनिन्छ र त्यसको मुख्य विषय ‘जनवादी केन्द्रीयता’ अर्थात् जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक सम्बन्ध सम्बन्धी अध्ययन हो । आजसम्म पनि कम्युनिस्टहरूको सङ्गठनात्मक विधिको आधार लेनिनको जनवादी केन्द्रीयताको नियम नै हो ।

लेनिनले कम्युनिस्ट पार्टी कस्तो बनाउने र कस्तो हुनुपर्छ भन्ने विषयमा मेन्सेभिकहरूसँग लामो सङ्घर्ष गर्नुभयो । त्यही विषय लम्बिँदै गएर रूसी सामाजिक जनवादी पार्टी विभाजनसम्म पुग्यो । पार्टी सङ्गठन निर्माणको विषयमा लेनिन कति गम्भीर हुनुहुन्थ्यो भन्ने कुरा त्यसले पुष्टि गर्दछ । मेन्सेभिकहरूले कम्युनिस्ट पार्टीलाई बुर्जुवा पार्टी जस्तै जनपार्टी (Mass Party) बनाउन चाहन्थे । कस्तो पार्टी बनाउने त भन्ने प्रश्नमा लेनिन भन्नुहुन्छ, “पार्टी मजदुर वर्गको अगुवा हो । पार्टी सर्वप्रथम मजदुर वर्गको अगुवा बन्नुपर्छ ।

पार्टीले मजदुर वर्गका सारा सर्वोत्तम तत्वहरूलाई उनीहरूको अनुभव, क्रान्तिकारी भावना, सर्वहारा वर्गको लक्ष्यप्रति उनीहरूको निस्वार्थ समर्पणलाई आत्मसाथ गर्नु पर्दछ । पार्टी साँच्चिकै अगुवा बन्ने हो भने पार्टी क्रान्तिकारी सिद्धान्तबाट आन्दोलन र क्रान्तिका नियमहरूसम्बन्धी ज्ञानबाट सुसज्जित हुनैपर्छ । यसो नभएमा त्यसले सर्वहारा वर्गको सङ्घर्षलाई सञ्चालन गर्न र सर्वहारा वर्गको नेतृत्व गर्न सक्नेछैन ।

“२ लेनिन अझ अगाडि भन्नुहुन्छ, “पार्टी उच्चतम् रूपको सर्वहारां वर्गको सङ्गठन हो र सर्वहारा वर्गका अन्य सबै सङ्गठनहरूमा त्यसको राजनैतिक नेतृत्व कायम हुनुपर्दछ ।३ पार्टी निर्माण गर्दा सर्वसाधारण (आम, सबै) जनतामा होइन जनताको पङ्तिबाट अग्रगामी तत्वहरूलाई लिएर पार्टी निर्माण गर्नुपर्ने विचारमा लेनिनको जोड थियो । उहाँले त्यसरी पार्टीमा रहने सदस्यहरू आम जनताभन्दा सचेत, अनुशासित र जुझारू हुनुपर्ने अन्यथा अग्रगामी तत्व मान्न नसकिने बताउनु भयो । पार्टीमा फौजमा जस्तै फलामे अनुशासन हुनुपर्नेमा जोड दिनुभयो । पार्टीको महत्वको बारेमा पार्टी सर्वहारा वर्गको अधिनायकत्वको साधन हो ।

जसले सर्वहारा अधिनायकत्व स्थापना गर्न र सुदृढ गर्न धाईको काम गर्दछ । लेनिनको सङ्गठनात्मक दृष्टिकोणको विषयमा मोहन विक्रम सिंह भन्नुहुन्छ, “लेनिनले यो कुरामा जोड दिएका छन् कि कम्युनिस्ट पार्टी मेहनतकश जनताको पार्टी भएर पनि त्यो उनीहरूमध्ये बढी सचेत र अग्रगामी तत्वहरूको पार्टी हो । त्यसले पार्टीमा आम जनतालाई होइन कि उनीहरूमध्ये विशेष, सचेत र अग्रीम तत्वहरूलाई नै पार्टीमा ल्याउनु पर्दछ ।

लेनिनले सामान्य जनतामा होइन कि जनतामध्ये अग्रगामी तत्वहरूलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिए । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरू आम जनताभन्दा बढि सचेत, अनुशासित र जुझारू हुन्छन् । त्यस्तो आवश्यकता पुरा गर्नका लागि उनले पार्टी सदस्यताको नियमलाई पनि अपेक्षाकृत कडा बनाए ।”४ यी बहसहरूबाट बुझ्न सकिन्छ कि सङ्गठनको मामिला सामान्य विषय होइन । पार्टी सङ्गठन कस्तो हुने भन्ने विषय पार्टी सदस्यता बिस्तार कै चरणमा धेरैकुरा निर्भर रहन्छ ।

लेनिनले सङ्गठन सञ्चालनको विधि विकास गर्ने क्रममा ‘जनवादी केन्द्रीयताको विकास गर्नुभयो । जसलाई जनवादी केन्द्रीयताको सामान्य सिद्धान्त भनिन्छ । जसलाई बुँदागत रूपमा हेरौं :
• व्यक्ति सङ्गठनको अधिनस्त हुन्छ
• अल्पमत बहुमतको अधिनस्त हुन्छ
• तल्लो समिति माथिल्लो समितिको अधिनस्त हुन्छ
• सम्पूर्ण समिति महाधिवेशनको अधिनस्त हुन्छन्
• अभिव्यक्तिको स्वतन्त्रता, काम-कारवाहीमा एकरूपता
अभिव्यक्तिको स्वतन्त्रता जनवाद हो भने काम-कारवाहीमा एकरूपता केन्द्रीयता हो ।

पेरिस कम्युन कै सन्दर्भमा युजिन एडिन पोत्तरले ‘लुटाहाबाट आफ्नो धन खोस्न, शोषणबाट मुक्त हुन आफ्नो कर्तव्य आफैले निर्णय गरी पुरा गर्न गीतमा प्रकट गरेको भावनालाई लेनिनले सङ्गठनात्मक विधिमा ढाल्नुभयो । व्यक्तिले निर्वाह गर्नुपर्ने कर्तव्य वा काम अरूको आदेशमा होइन कि आफैले निर्णय गरेर गर्न पाउनुपर्छ । आफूसमेत सहभागी भएर (निर्णय प्रक्रियामा सहभागी भएर) तयार भएको कर्तव्य वा केन्द्रीयता नै जनवादी केन्द्रीयता हो ।

निर्णय प्रक्रियामा सहभागिता प्रत्यक्ष र अप्रत्यक्ष (आफू वा आफूहरूद्वारा निर्वाचित समिति) दुई प्रकारका हुन्छन् । निर्णय प्रक्रियामा हिस्सेदारी नभएको अवस्थाको कर्तव्य केन्द्रीयता हो । त्यो नोकरशाही कन्द्रीयता हो र जनवादी केन्द्रीयता होइन । जनवादी केन्द्रीयताको विषयमा लेनिन भन्नुहुन्छ, “कम्युनिस्ट पार्टी सङ्गठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक संश्लेषण केन्द्रीयता र सर्वहारा जनवादको समिश्रण हुनु पर्दछ । यो समिश्रण सम्पूर्ण पार्टी सङ्गठनको निरन्तर समान कार्य र समान सङ्घर्षको आधारमा मात्र प्राप्त गर्न सकिन्छ ।

कम्युनिस्ट पार्टी सङ्गठनमा केन्द्रीयताको अर्थ औपचारिक र यान्त्रिक केन्द्रीयता होइन बरू कम्युनिस्ट क्रियाकलापको केन्द्रिकरण हो । अर्थात् युद्धको निम्ति तयार र हरेक किसिमको परिस्थितिमा आफूलाई त्यस अनुकूल बदल्ने क्षमता भएको दरिलो नेतृत्व निर्माण हो । औपचारिक वा यान्त्रिक केन्द्रीयता बाँकी सदस्य वा सङ्गठन बाहिर रहेका क्रान्तिकारी सर्वहारा जनसमूहमाथि प्रभुत्व जमाउने औद्योगिक नोकरशाहीको हातमा सत्ताको केन्द्रिकरण हो ।”५ लेनिनले केन्द्रिकृत पार्टी निर्माणमा जोड दिनुभयो ।

अल्पमत बहुमतको मातहत र व्यक्ति वा अंश सम्पूर्णको मातहत बस्न तयार भएमात्र पार्टीमा एकता सम्भव हुने लेनिनको निष्कर्ष थियो । जनवादी केन्द्रीयताको मान्यता लागू गर्दा लेनिनमाथि अमिवा जसरी आकार बदलिरहने ढुलमुले तत्वहरूको आक्रमण झेल्नु पर्यो । उनीहरूले लेनिनमाथि औपचारिकतावादी र नोकरशाही भएको आरोप लगाए । तर लेनिनले उक्त आरोपको कुनै प्रवाह गर्नुभएन । आफ्नो प्रसिद्ध कृति ‘एक पाइलो अगाडि, दुई पाइला पछाडि मा लेनिन भन्नुहुन्छ, “यो अभिजात वर्गीय अराजकतावाद खास रूपमा रूसी ध्वंसवादीहरूको विशेषता हो ।

उनीहरू पार्टी सङ्गठनलाई एउटा भयानक ‘कारखाना’ ठान्दछन् । अंश सम्पूर्णको अधिनस्त र अल्पमत बहुमतको अधिनस्त रहने कुरालाई उनीहरू भूदास प्रथा ठान्दछन् । एउटा केन्द्रको निर्देशन अन्तर्गत कार्य विभाजन देखेर उनीहरू मानिसलाई पाङ्ग्रा र दाँतीमा फेरेको भनेर रून्चे स्वरले र हास्यास्पद रूपमा होहल्ला मच्चाउँछन् ।” सर्वहारा वर्गको पूर्ण केन्द्रिकरण र अनुशासन नै पुँजीपति वर्गमाथि विजय प्राप्त गर्नको लागि एउटा अनिवार्य शर्त हो भन्ने लेनिनको निष्कर्ष थियो । लेनिनले पार्टी निर्माण र पार्टी सञ्चालनमा खुकुलो र हल्कापन हुन दिनु भएन । लेनिनले पार्टी सदस्यको मापदण्डको विषयमा जुलियस मार्तोव (१८७३-१९२३) सँग निरन्तर सङ्घर्ष गर्नुभयो ।

लेनिनले पार्टी सदस्य बन्न निम्नतम् तीन शर्त राख्नुभयो :
• पार्टीको नीति र कार्यक्रम स्विकार्नुपर्ने
• नियमित आर्थिक काम गर्नुपर्ने
• कुनै एक सङ्गठनमा बसेर सङ्घर्षमा भाग लिनुपर्ने
तर मार्तोवले भने ‘पार्टीको कुनै एउटा सङ्गठनमा रहेर पार्टीलाई नियमित व्यक्तिगत सहयोग पुऱ्याउने जुनसुकै व्यक्तिले पनि आफूलाई पार्टी सदस्य घोषित गर्न सक्छ भन्ने थियो । मार्तोवको त्यसप्रकारको चिन्तनको विरूद्ध लेनिन भन्नुहुन्छ, “कामरेड मार्तोवको दृष्टिकोणबाट पार्टीको सीमारेखा एकदमै स्पष्ट रहन्छ किनभने प्रत्येक हड्तालिले आफूलाई पार्टी सदस्य घोषणा गर्न सक्छ ।

यस अस्पष्टताबाट के फाइदा हुन्छ त ? पार्टीको नाम टाढाटाढासम्म फैलिन्छ । तर त्यसबाट के हानी हुन्छ भने पार्टीमा असङ्गठनकारी विचारले प्रवेश गर्दछ । वर्ग र पार्टीको सम्बन्धमा अन्यौल पैदा हुन्छ ।”” लेनिनमा दृढता र लचकता उत्तिकै देख्न सकिन्छ । पार्टी निर्माण र सञ्चालनमा त्यो व्यक्त हुन्छ । पार्टीको आन्तरिक समस्या बुझ्ने र समाधान गर्ने कार्यमा पनि लेनिन समकालीन नेताहरूभन्दा अगाडि हुनुहुन्थ्यो । लेनिनले जुलियस मार्तोभ (१८७३-१९२३) को कथित साङ्गठानिक स्वतन्त्रताको विरूद्ध सङ्घर्ष गर्नुभयो ।

लेनिनले पार्टी निर्माणको क्रममा अराजकतावादीहरू अवसरवादीहरूसँग निरन्तर लड्नुभयो । कुनै सम्झौता र मोलमोलाई गर्नुभएन । पार्टीमा अवसरवादको पकड हुनु भनेको पार्टी नबन्नु हो । अवसरवादसँग सम्बन्ध-विच्छेद नगरी पार्टी बन्दैनथ्यो । त्यति मात्र होइन ; सर्वहारा अधिनायकत्व लागू गर्नुपर्ने समयमा सर्वहारा वर्गको पार्टीको फलामे अनुशासनलाई कमजोर बनाउँदा पुँजीपति वर्गलाई सहयोग पुग्छ । सर्वहारा वर्गको आन्दोलनमा क्षति पुग्दछ ।

लेनिन भन्नुहुन्छ, “निश्चय नै अब प्रायः सबैजना के महसुस गर्छन् भने यदि पार्टीमा अधिकतम कडा, साँच्चिकै फलामे अनुशासन नभएको भए, यदि सम्पूर्ण मजदुर जनताले अर्थात् पिछडिएका जनसमुदायहरूलाई आकर्षित गर्न सक्ने वा नेतृत्व गर्न सक्ने, सारा चिन्तनशील, इमान्दार, आत्मबलिदानी तथा प्रभावशाली मजदुर तत्वहरूको पूरा समर्थन पार्टीलाई प्राप्त नभएको भए बोल्सेभिकहरूले अढाई वर्षको त कुरै छाडौं अढाई महिना पनि आफूलाई सत्तामा टिकाउन सक्ने थिएनन् ।” क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी पार्टी अनिवार्य शर्त हो । जनवादी केन्द्रीयता मार्क्सवाद र संशोधनवादबिचको लक्ष्मण-रेखा बन्न गएको छ । त्यसैले जनवादी केन्द्रीयताको सही बुझाई र सृजनात्मक प्रयोग आजका कम्युनिस्टको चुनौती हो । लेनिनका योगदानहरूलाई आत्मसात नगरी लेनिनवादमा थप योगदान गर्न र नयाँ विकास गर्ने कुनै सम्भावना हुँदैन ।

चीन र माओका योगदानहरू

अध्यक्ष माओ र उहाँको नेतृत्वको चीनले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई सफल प्रयोग गर्यो । त्यतिमात्र होइन, कैयौं नयाँ मान्यताहरू पनि विकास गरियो । क्रान्तिकारी पार्टी निर्माण नगरी क्रान्तिकारी विचार तथा सिद्धान्त लागू हुन सक्दैनथ्यो । माओले दर्शनशास्त्रको विषयलाई बुद्धिजीवी र ठूलाबडासम्म सीमित राख्न नहुने, खेत-खलिहानसम्म पुऱ्याउनु पर्ने बताउनु भयो । त्यसरी दर्शनलाई माओले सङ्गठनको विषय बनाउनु भयो र सङ्गठनलाई विचारधारात्मक कामसँग जोड्न जोड दिनुभयो ।

क्रान्ति र क्रान्तिकारी सङ्गठनको सम्बन्धमा माओ भन्नुहुन्छ, “क्रान्ति गर्नु छ भने क्रान्तिकारी पार्टी हुनै पर्छ । क्रान्तिकारी पार्टी बिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा त्यसका दलालहरूलाई पराजित गर्न वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।”९ माओले एकजना कम्युनिस्टले क्रान्तिको हितलाई आफ्नै जीवन सरह मान्ने र व्यक्तिगत स्वार्थलाई क्रान्तिको अधिनमा राख्न सक्ने विशाल हृदयको हुनुपर्ने, दृढ एवं सक्रिय हुनुपर्ने, सिद्धान्तको पालना गर्नुपर्ने र गलत विचारको विरूद्ध अथक सङ्घर्ष चलाउनुपर्ने बताउनु हुन्छ ।

सामूहिक नेतृत्व प्रणाली सुनिश्चित गर्न र कार्य सञ्चालनमा कुनै व्यक्तिको एकाधिकार रोक्न पार्टी समिति प्रणाली एउटा महत्वपूर्ण विधि हो भन्नुभएको छ ।सङ्गठनात्मक क्षेत्रमा माओको सबैभन्दा ठूलो योगदान भनेको आलोचना र आत्मालोचना हो । मैत्रीपूर्ण अन्तरविरोधहरू वा जनताका बिचका अन्तरविरोधहरू अल्पमत-बहुमत बनाउनु भन्दा अगाडि आलोचना र आत्मालोचनाको माध्यमबाट रूपान्तरणको प्रक्रियामा जानुपर्ने माओको धारणा थियो ।

मतमतान्तरहरूको समाधानमा लेनिनको सिद्धान्तलाई माओले आलोचना-आत्मालोचनाको सिद्धान्तद्वारा अझ समृद्ध बनाउनु भयो । ‘पार्टीमा गलत विचारहरूलाई सच्याउने बारे लेखमा माओ भन्नुहुन्छ, “अन्तरपार्टी आलोचना पार्टी सङ्गठनलाई बलियो बनाउने र यसको लड्ने क्षमतालाई बृद्धि गर्ने हतियार हो । १० जथाभावी आलोचना गर्ने शैलीको पनि माओले विरोध गर्नु भएको थियो । मतहरू तथ्यमा आधारित हुनुपर्छ र आलोचना राजनीतिक विषयमा केन्द्रित हुनुपर्छ । यो एकता- सङ्घर्ष-रूपान्तरणको अभिप्रायले गर्नुपर्छ र पार्टी एकतालाई मुख्य बनाउनु पर्छ । पार्टीलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्य राख्नुपर्छ ।

आलोचना र आत्मालोचनाको विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनको पार्टी विधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै वाङ हुग वेन भन्छन्, “यसप्रकारको राजनैतिक परिणामको सृजना गर्न जसमा केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता होऊन ।” यो भनाईको अर्थ के हो ? हामी यसको शब्दार्थमा होइन, त्यसको मर्ममा जानुपर्छ । उक्त प्रस्तावमा वाङ भन्छन्- त्यो बेला पार्टीमा दक्षिणपन्थी नेताहरूले आलोचनालाई ‘दबाउने र बदला लिने गर्दथे ।

त्यसप्रकारको प्रवृत्ति जो महान् सर्वहारा साँस्कृतिक क्रान्तिको मर्मको विरूद्ध थियो । त्यसकारण संशोधन प्रस्तावमा ‘आलोचनालाई दबाउने र बदला लिने कुरालाई एकदमै अनुमति दिइन्न ‘यो प्रश्नलाई ठीकसित बुझ्न दुई लाइन सङ्घर्षको उच्च धरातलबाट हेर्नुपर्छ र त्यसप्रकारका उल्लंघनको विरूद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ’ समावेश गरिएको थियो ।

आलोचना र आत्मालोचना सञ्चालन गर्दा दुई गलत दृष्टिकोण विरूद्ध लड्नु पर्दछ । पहिलो, गल्ती कमजोरीको आलोचना नगरी त्यससँग सङ्घर्ष नगरी एकतामात्र गर्ने प्रवृत्ति; दोस्रो, गल्ती गर्ने कामरेडहरूसँग एकता गर्नै नचाहने; आलोचना र सङ्घर्षको मात्र कुरा गर्ने । यी दुबै प्रवृत्ति पार्टीको निम्ति हानिकारक हुन्छन् । गलतसँग सङ्घर्ष गर्ने, गलत गर्नेलाई रूपान्तरण गर्ने, सच्याउने तरिका प्रयोग गर्नुपर्छ ।

यसो गरेर नै सङ्गठनले सही दिशा लिन सक्छ । वस्तु जगतलाई बदल्न, पहिला आत्मगत जगतलाई बदल्न पनि जोड गर्दै आउनु भएको थियो । मैत्रीपूर्ण अन्तरविरोधको समाधान वर्ग सङ्घर्षको विधिबाट समाधान गर्नुपर्ने माओको धारणा थियो । संशोधनवाद रूपी मुख्यालयसँगको अन्तरविरोध यो विधिबाट हल हुँदैनथ्यो । त्यसैले माओले ‘बुर्जुवा मुख्यालयमा बम वर्षा गर भन्नुभयो ।

माओले अन्वेषण र रूपान्तरणलाई प्रोत्साहित गर्ने उद्देश्यले अनेकौं खोजि गर्नुभयो । ‘रूढिवादी लेखन शैलीको विरोध गर, तीन गर र तीन नगर, अध्ययनलाई सुधार, सयौं फूलहरूलाई फूल्न देऊ, हजारौ विचारलाई प्रतिस्पर्धा गर्न देऊ भन्नुभयो । गोप्य र षड्यन्त्रलाई निषेध गर्नुपर्ने तर क्षमताहरू, सोचाईहरूलाई कुण्ठित गर्न हुँदैन भन्ने माओको धारणा थियो । माओ भन्नुहुन्छ, “जबसम्म उनीहरूले गोप्य गुटबन्दीका गतिविधिहरू गर्दैनन् तबसम्म हामीले उनीहरूलाई बोल्ने अवसर दिनुपर्छ र यदि उनीहरूले बेठिक नै बोले पनि कारवाही गर्नु हुँदैन । यदि मान्छेहरूले गलत बोलेभने आलोचना गर्न सकिन्छ ।

परन्तु हामीले उनीहरूलाई तर्कद्वारा सहमतिमा ल्याउने कोशिस गर्नुपर्छ । ११ कार्यकर्तालाई मद्धत गर्ने भनेको के हो ? नेतृत्वको काम गर्ने तरिकाजस्ता अनेकौ साङ्गठानिक विषयमा माओले विषम व्याख्या गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा प्रारम्भमा नै गम्भीर सठनात्मक समस्याहरू प्रकट भएका थिए । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता र चालक शक्ति हो । त्यसैले यसले श्रमजीवी वर्गका हितहरूको रक्षा र परिवर्तन तथा अग्रगामी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

यसले पछौटे विचार र जनविरोधी शक्तिको विरूद्ध लड्नुपर्छ ।नेकपाको स्थापना भएलगत्तै वैचारिक समस्याहरू देखिए । सङ्गठनको प्रश्नमा त झन् भद्दा प्रयोगहरू भए । ३ बैसाख २०१३मा भएको नेकपाको राजनीतिक समिति (Political Beaurou) को बैठकले ‘राजाको वैधानिक नायकत्वमा समाजवादको शान्तिपूर्ण प्रचारप्रसार गर्ने निर्णय गर्यो । २००८ सालको भिमदत्त पन्त विद्रोह र २००९/०११को मध्य-तराईको किसान विद्रोहलाई लिएर नेकपामाथि प्रतिबन्ध लागेको थियो । त्यसपछि पार्टी माथिको प्रतिबन्ध फुक्यो ।

त्यसबेला संस्थापक महासचिव पुष्पलाललाई नेतृत्वबाट हटाएर रूसी समर्थक तथा काङ्ग्रेस परस्त मनमोहन अधिकारीलाई महासचिव बनाइयो । प्रथम महाधिवेशन (२०१०, माघ १३-१७, पाटन)द्वारा निर्वाचित महासचिवलाई हटाउनुमा वैचारिक समस्या नै मुख्य थियो । २०१४ सालमा भएको दोस्रो महाधिवेशनले पुष्पलालद्वारा प्रस्तुत गणतान्त्रिक प्रस्ताव पारित गर्दै राजतन्त्र समर्थक केशरजङ्ग रायमाझीको प्रस्ताव अस्वीकार गयो ।

बिडम्बना केशरजङ्ग नै पार्टी महासचिव बने । तेस्रो महाधिवेशन (२०१९ बैसाख ४-१५)ले तुलसीलालको ‘राष्ट्रिय प्रजातन्त्र र पुष्पलालको ‘नयाँ जनवादी क्रान्ति’ प्रस्तावमा छलफल गर्दै राष्ट्रिय प्रजातन्त्र (रूसी समर्थनवाला) पारित गयो र तुलसीलाल नै महासचिव बन्न पुगे । वैचारिक अस्पष्टता र त्यसको कारण साङ्गठनिक विचलन नेकपाको विरासत रहँदै आएको छ । सो सम्बन्धमा नेकपाको ९औं महाधिवेशनको मस्यौदा प्रस्ताव (पृष्ठ ५८) ‘साङ्गठनिक विचलन’ शिर्षकमा भनिएको छ, “कम्युनिस्ट पार्टीलाई नीति, नेतृत्व र सङ्गठनमा जोड्न नसक्ने कमजोरी पुष्पलालकै समयदेखि देखा परेको हो ।

खासगरी पहिलो महाधिवेशनबाटै पुष्पलाललाई हटाएर संसदवादी प्रवृत्ति भएका नेता मनमोहनलाई नेतृत्व दिनु, दोस्रो महाधिवेशनमा जाँदा झन् पर पुगेर रायमाझीजस्तो राजापरस्त व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नु त्यही विचलनको अभिव्यक्ति थियो । पछिल्लो समयमा कम्युनिस्ट पार्टीलाई संसदवादी पार्टीको तहमा झार्ने काम एमालेले गर्यो भने अहिले आएर माओवादीले एमालेलाई पनि उछिन्दै काङ्ग्रेसलाई नेतृत्व दिएर पुच्छरवादमा पतन हुने कार्य गरिरहेको छ ।” यसबाट प्रष्ट हुन्छ कि साङ्गठनिक रूपले नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो विचलन हुँदै आएको छ । त्यसप्रकारको विरासत विरूद्ध सङ्घर्ष आवश्यक छ ।

कम्युनिष्ट पार्टीलाई आर्थिक शोषण र अनेक प्रकारका उत्पीडनबाट मुक्ति चाहने मार्क्सवादी दृष्टिकोण भएकाहरूको पार्टी मानिंदै आएको छ । त्यसैले कम्युनिस्ट पार्टीलाई मजदुर किसान वर्ग (शोषित वर्ग)को पार्टी भनिन्छ । तर ८औं महाधिवेशनले कम्युनिस्ट पार्टीलाई मध्यमवर्गसहित सबै कम्युनिष्टहरूको पार्टी, श्रमिक वर्गको अग्रदस्ता र फौजीकृत संरचनामा बदल्ने निर्णय गर्यो । यो निर्णयले एकातिर पार्टीको क्रान्तिकारी चरित्रलाई सुदृढ गर्नेछ भने अर्कोतिर पार्टीको दायरालाई अझ फराकिलो पार्ने, बुद्धिजीवी, मध्यम वर्ग र सबै क्रान्तिकारी पङ्तिलाई अपनत्व बृद्धि गर्नेछ ।

८औं महाधिवेशनले द्वन्द्ववादको नियमको व्याख्या गर्दै ‘विपरितको एकत्वको नियम भौतिक विज्ञानमा जसरी नै समाज विज्ञानमा यन्त्रवत् (यान्त्रिक ढङ्गको नियम भौतिक विज्ञानमा जसरी नै समाज विज्ञानमा यन्त्रवत् (यान्त्रिक ढङ्गले) लागू नहुने तथा समाज विज्ञान नागवेली ढङ्गले बढ्ने बतायो । पार्टीमा आउने बहसलाई सजातीय (मैत्रीपूर्ण) र विजातीय (शत्रुतापूर्ण) के हो भनी छुट्याउनु पर्ने बतायो । सजातीय अन्तरविरोधले सृजनात्मकता र अन्वेषणको ढोका खोल्दछ भने विजातीय अन्तरविरोधले प्रतिक्रान्ति निम्त्याउँछ । जनयुद्धकालमा प्रचण्डले त्यसको गलत प्रयोग गरे ।

जसले गर्दा समस्याको अनुसन्धान नगरी पूर्व-धारणा अनुसार समर्थन वा विरोध गरियो । प्रचण्डले जस्तोसुकै विचलनकारी प्रस्ताव ल्याउँदा पनि समर्थन गर्ने र अरूले जति नै क्रान्तिकारी प्रस्ताव गर्दा पनि विचलन ठान्ने अधिभूतवादी, अनुभववादी विचलन पैदा भयो । चीनमा माओ त्सेतुङले प्रतिक्रान्तिकारी विचार प्रवृत्तिमाथि उदारवादी भूमिका अवलम्बन गर्नुभएको भन्ने बहस समकालीन विश्व नेताहरूले उठाएका थिए । त्यसैले समाज विज्ञानमा विपरीतको एकत्व भनेको सजातीय एकता हो र विपरीतको बिचमा सङ्घर्ष हो ।

पार्टीको नयाँ अन्वेषण

तथ्यहरूको आधारमा सत्य पत्ता लगाउने, अनुसन्धानद्वारा नयाँ तथ्यहरूको खोजी गर्ने कार्य सङ्गठनको क्षेत्रमा पनि महत्वपूर्ण कार्य हो । माओले संशोधनवादको विरूद्ध दूरदर्शक यन्त्र र सूक्ष्मदर्शक यन्त्र दुवैको प्रयोग गर्नुपर्ने बताउनु भएको छ । सङ्गठनात्मक समस्या समाधानको सन्दर्भमा हाम्रो पार्टीले भनेको छ, “समस्यालाई समाधान गर्नको लागि अनुसन्धानात्मक विधि प्रयोग गर्नु भनेको पार्टीभित्रका समस्याबारे कुनै पनि विषय अगाडि राख्दा केवल आलोचनात्मक तर्कमा मात्र उभिएर होइन, तथ्यहरू राखेर रचनात्मक तरिकालाई प्रयोग गर्नु हो । १२ जसलाई तथ्यद्वारा सत्यमा पुग्ने तरिका भन्न सकिन्छ ।

चिन्तक फ्रान्सिस बेकन (१७६२-१८२ ९)ले विश्वास बलियो बनाउने तीन आधार मानेका छन् । जसमा- अनुभव (Experience), तर्क (Logic) र तथ्य (Fact) छन् । जसमध्ये तथ्य वा प्रमाण प्रमुख हुन्छ र अरू दुई आधारको विश्वास अस्थिर वा कमजोर हुन्छ । हामीले यसलाई तथ्यद्वारा सत्य पत्ता लगाउने विधि भनेका छौं ।
सूचना प्रविधि, यातायात, शिक्षा र बढ्दो सामाजिक चेतनाको कारण सङ्गठनमा पनि प्रभाव परेको छ । क्रान्तिले विद्रोहात्मक चरित्र ग्रहण गर्दैछ ।

क्रान्ति र सङ्घर्षले पनि भूमण्डलीकृत चरित्र ग्रहण गर्दैछ । यस्तो वस्तुगत अवस्थामा जनताका अग्रगामी तत्वलाई सोभै नेतृत्वमा विकास गर्ने विधि र नीति आवश्यक छ । कार्यकर्ता आधारित (Caderbase) भनेको समय नभएर विचार, अनुशासन, क्षमता र आवश्यकता हो भने जनआधार (Massbase) भनेको पनि वैचारिक स्तर, अनुशासन, क्षमता, आवश्यकता, तत्परताको विषय हो ।

जनआधारित पार्टी भनेको विचार र सङ्गठनमा संसदीय प्रवृत्ति हो र कार्यकर्ता आधारित पार्टी भनेको विचार र सङ्गठनमा बोल्सेभिकरण हो । लेनिनले मजदुर वर्गको पार्टीलाई ‘जनताका अग्रगामी तत्वहरूको पार्टी भन्नुभएको थियो । वैचारिक स्पष्टता, आवश्यकता, क्षमता र सर्वहारा अनुशासन भएमा छोटो समयमा नै नेतृत्वमा ल्याउने विधिलाई पार्टीले स्विकार गरेको छ । त्यसो गरेर पार्टी नेतृत्वलाई जनताको विशाल पतिसँग जोड्न सकिन्छ भने पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्न सकिनेछ ।

नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि पार्टी सङ्गठन र समाज व्यवस्थाको विषयमा बहस हुँदै आएको छ । उतारचढाव र सीमासहित यो आन्दोलन अघि बढिरहेको छ । जनयुद्धले सङ्गठनमा क्रान्तिकारी भावना, इमान्दारिता, नैतिकता र बलिदानी भावना पैदा गयो । सङ्गठनको मेरूदण्डमा महिला, दलित, उपेक्षित, उत्पीडित तप्कालाई ल्याइदियो । विचारमा आएको स्खलनले सङ्गठनमा पनि विचलन सुरू भयो ।

प्रचण्डको विचलनको विरूद्ध विद्रोह भयो र किरणको नेतृत्वमा पार्टी पुनरगठन गरियो । किरणले पनि गति दिन र अगाडि बढ्ने सम्भावना नभएपछि कमरेड विप्लवको नेतृत्वमा पुनरगठन गरियो । जनयुद्धको तेस्रो पुस्ताले विचार, राजनीति र सङ्गठनात्मक क्षेत्रको नेतृत्व गर्नु परेको छ । यो गर्व र चुनौती दुबै हो । हामीले नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ कार्यनीतिको कुरा गरिरहेका छौं । अर्कोतिर विज्ञान र प्रविधिमा भएको विकास (मूलतः सूचना प्रविधिमा भएको विकास) ले उत्पादकशक्ति पुरानो अवस्थामा छैन ।

जनमनोविज्ञान र सामाजिक क्रियाकलाप पुरानो स्थानमा
छैन । नयाँ सर्वत्र नयाँ आवश्यक छ । तर त्यो नयाँ के हो ? कसरी पत्ता लगाउने ? अनुभवहरू पर्याप्त छैनन् । यो नै हाम्रो अहिलेको चुनौती हो । यो अवसर पनि हो ।
सार-संक्षेपनेपाल कम्युनिस्ट पार्टी सङ्गठनमा दुई लाइन सङ्घर्ष र विपरितको एकत्वलाई थप परिभाषित गर्ने कार्य आठौं महाधिवेशनले गर्यो । एउटै वर्ग र विचारबिचको सङ्घर्षलाई एकता र रूपान्तरणद्वारा समाधान गर्नुपर्छ तर विजातीय विचार र वर्गलाई निषेध वा सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

जहाँ सजातीय एकता हुन्छ, “कम्युनिस्ट पार्टीका लागि विपरितको एकत्व अनिवार्य हो तर दुई लाइन सङ्घर्ष अनिवार्य होइन अर्थात् दुई लाइन सङ्घर्ष र विपरितको एकत्व, एउटै नभएर फरक-फरक पक्ष हुन् । समाजवाद रहँदासम्म विपरित विचारसँगको सङ्घर्ष भइरहने भए पनि समाजवादको उच्चतम् विकाससँगै विपरितको गुण र मात्रा सजातीय र सवर्गीय हुन अनिवार्य छ । नेकपाको आठौँ महाधिवेशनको दस्तावेजको पृष्ठ ४० मा भनिएको छ ।

जनयुद्धको समयमा प्रचण्डले बाबुरामलाई दक्षिणपन्थी (विजातीय वा प्रतिध्रुवीय) भन्दै निरपेक्ष एकता गरे । सङ्घर्ष सापेक्षिक थियो । त्यो गलत बुझाइ पनि प्रचण्डको पतनको एउटा कारण हो । त्यसैगरी पार्टी, सेना, संयुक्त मोर्चा, भुमण्डीकृत 1 संसारमा भुमण्डलीकृत सङ्गठनात्मक संरचना अनिवार्य बन्दै गएको छ । यी चुनौती सामना गर्नुपर्ने भएको छ ।

(नेपाल कम्युनिस्ट पार्टी मुखपत्र ,जनक्रान्ति -अङ्क ६ पृ ६१-७५)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।