२०५७ साल फागुनमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले ऐतिहासिक र दूरगामी महत्त्वका राजनीतिक, सङ्गठनात्मक र फौजी निर्णय लियो । जनयुद्धलाई तीव्रतामा विकास गर्ने आधार इलाकाबाट कारबाहीका इलाका, श्वेतइलाका, प्रचारका इलाकामा नेता-कार्यकर्ता विस्तार गर्ने नीति लियो । सोही नीतिमुताविक देशका विभिन्न आधार जिल्लाबाट जनयुद्ध कम प्रभावित जिल्लामा नेता-कार्यकता विस्तार गरियो ।
यही सन्दर्भमा धौलागिरी क्षेत्रमा काम गर्नेगरी रुकुम जिल्लाबाट १६ जना सङ्गठक र २१ जना जनमुक्ति सेनाको टिमसहित जाने निर्णय भयो । हाम्रो स्थायीरूपमा काम गर्ने ३७ जनाको टिमसहित २ महिने सङ्गठन विस्तार, निर्माण र प्रचारको लागी झन्डै २५ जना नेता र कलाकारसहितको अभियान टिम पनि थियो । हामी २०५७ साल चैतको अन्तिम साता दोस्रो राष्ट्रिय सम्मेलनले गरेका ऐतिहासिक निर्णयको कार्यान्वयनका लागि हाम्रो अभियान सुरु भयो ।
दोस्रो राष्ट्रिय सम्मेलनले लिएको निर्णयको मूल नारा ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँ । केन्द्रीय जनसरकार निर्माणको दिशामा अधि बढौँ ।’ र, कार्यनीतिक नारा भने ‘सर्वपक्षीय गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा’ थियो ।दोस्रो राष्ट्रिय सम्मेलनले लिएका राजनीतिक र फौजी निर्णयअनुसार २०५७ चैत १९ गते फौजी धमर्काबाट सुरुआत भएको थियो; जसअनुसार रुकुम जिल्लाको रुकुमकोट प्रहरी चौकी, दैलेख जिल्लाको नौमुले प्रहरी चौकी र दोलखा जिल्लाको मैनापोखरी इलाका प्रहरी कार्यालय कब्जाबाट सुरुआत भयो । अन्य दर्जनौँ स-साना कारबाही र हजारौँ प्रचारात्मक कारबाही सम्पन्न भए ।
हामी पार्टीको सही योजनामुताविक रुकुम जिल्लाको पीपलबाट दुई दिने प्राशिक्षण लिएर बिदाइका हातहरू हल्लाउँदै मनमा जिज्ञासा तथा उमङ्ग लिँदै ३ दिन लगाएर बाग्लुङ जिल्लाको भल्कोट आएर बास बस्यौँ । हाम्रो कम्पनीस्तरको टिममा २०५६ तिर नै बाग्लुङ कार्यक्षेत्र लिनुभएका क. महेशले गाइड गर्नुभएको थियो । भल्कोटको वास र भोलि बिहानको निसी गाउँको खानापछि हाम्रो टिम एउटा ठूलो डाँडा काटेर चैतको अन्तिम दिन बाग्लुङ जिल्ला बोबाङ्गको सुकुदुङ गाउँमा पुगियो, जहाँ पुग्दा हामीलाई स्वागत र रिसिभ गर्न तत्कालीन जिल्ला सहइन्चार्ज कमरेड । भागीरथ खरेल ‘अनुप’ जिल्ला सेक्रेटरी क. वीरजङ्गलगायत १२/१५ जनाको टिम सहभागी थियो ।
पश्चिमतिर चलन थिएन । सुरुमा लाल सलाम गरेर मुट्ठी उठाएर हात मिलाइसकेपछि पुनः मुट्ठी उठाएर लाल सलाम गर्ने । हामीलाई यस्तो चलन अनौठो र रमाइलो लागेको थियो । क. वीरजङ्गसँग पहिलो वैचारिक र आत्मीय भेट मुट्ठी उठाएर लाल सलाम गर्दै क्रान्तिमा सहयात्रा गर्ने बाचासहित भएको थियो । उहाँसँगको भेटको पहिलो अनुभूतिको मानसपटलमा अझै ताजा अनुभूति हुन्छ । समय भने झन्डै २२ वर्ष बितेछ ।
हट्टाकट्टा, गहुँगोरो, अग्लो जिउडाल भएको ड्याम्म परेको खाइलाग्दो शरीर ,कम्मरमा माउजर पिस्तोल बोकेर दुश्मनलाई जिउँदै समातेर ठीक पार्ने व्यक्तिसँग साक्षात्कार भयो । बैठकमा आवश्यक छलफलपछि सङ्गठक र सेनाको कार्यविभाजन गरियो । हामीले अभियानको सुरुवात बोबाङ गाउँबाट गरियो । क्रमशः अधिकारीचौर हुँदै बाग्लुङ र म्याग्दी जिल्लामा वैशाख र जेठ महिना सांस्कृतिक कार्यक्रमसहित विशेष अभियान चल्यो; जुन अभियानले बाग्लुङ र म्याग्दी जिल्लामा जनयुद्धको पक्षमा पूरै माहोल तयार गर्यो ।
यसरी सुरु भएको भेटसहित वीरजङ्गको नेतृत्वमा ३ वर्ष धौलागिरीमा सहकार्य भयो ।पार्टी र क्रान्तिको आवश्यकताअनुसार क. वीरजङ्ग वर्गसङ्घर्ष घनीभूतभइरहेको बेला २०५४ सालको सुरुमा धौलागिरी प्रवेश गर्नुभयो । पार्टी र आन्दोलनको विस्तार गर्दै धौलागिरीमा जनयुद्धलाई विस्तार गर्ने जिम्मेवारी काँधमा बोकेर जानुभयो । जमेर बसेको आन्दोलनलाई राप र ताप दिँदै स्थानीय फटाहाबाट कारबाही सुरु गर्नुभयो, जसको फलस्वरूप जमेर बसेका थुपै साथीहरू पूर्णकालीन कार्यकर्ता बन्नुभयो । यसले पार्टीलाई अगाडि बढाउन धेरै मद्दत गर्यो ।
क वीरजङ्गको उपस्थितिले क्रमशः धौलागिरी क्षेत्रमा पार्टी सेना र सफल मोर्चाले गति लियो । स्थानीय जाली फटाहामाथि कारबाही, वर्गदुश्मन सफाया, प्रहरी चौकीमाथिको रेड, एम्बुसदेखि दर्जनौँ कारबाही भए । हुन त उहाँभन्दा अगाडि धौलागिरीमा क. सुमन, क. प्रतीक, क. विश्वास, क. सन्तोष, क. अटल, क. ज्योतिलगायत पनि कार्यक्षेत्र लिएर काम गरिसक्नुभएको थियो । त्यति मात्र नभएर, रुकुमबाट आएको ३७ जनाको टिम पछि क्रमशः रुकुम, रोल्पा र सल्यानबाट पनि दर्जनौँ कमरेडहरू धौलागिरीमा कार्यक्षेत्र लिएर आउनुभयो, जसले पनि धौलागिरीको पार्टी आन्दोलनलाई उठाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
तर पनि कमरेड वीरजङ्ग उपस्थिति र कमान्डले विशुद्धरूपमा आन्दोलन अगाडि बढाउन निर्णायक भूमिका खेल्यो ।
क. वीरजङ्ग २०५४ सालमा भएको बहुदलीय संसदीय व्यवस्थाको स्थानीय चुनावकै सन्दर्भमा बाग्लुङ प्रवेश गर्नुभयो । त्यतिबेला बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाको एउटै पार्टी समिति थियो । सुरुमा उहाँले जिल्ला समितिको जिम्मेवारीमा रहरे काम गर्नुभयो । २०५७ सालको फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनपछि चैतमा बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाको संयुक्त जिल्ला समितिको सेक्रेटरी भएर जिम्मेवारी बहन गर्नुभयो ।
२०५९ साउनमा कम्पनी कमिसार भएर सैन्यफाँटमा जानुभयो । सेक्रेटरी हुनुअगाडि पनि प्लाटुन कमान्डर हुँदै कमिसारको भूमिका निर्वाह गर्नुभएको थियो । २०६० सालमा बटालियन कमिसार भएर धौलागिरीमा नै कार्यरत हुनुभयो । उहाँ कमिसार हुँदा कमान्डर क. शरद र भाइस कमान्डर क. विप्लव हुनुभयो, जो अहिले पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।
कमरेड वीरजङ्गको विभिन्न फौजी कारबाहीमा सक्रिय सहभागिता रहेको थियो ।
प्रिय एवम् आदरणीय कमरेड वीरजङ्गको ती सहभागिता ऐतिहासिक एवम् रणनीति रहेका छन् । हेरौँ,
१. बाग्लुङ जिल्लाको स्थानीय फटाहामाथि बाग्लुङ बजार क्षेत्र, गल्कोट, ताराखोला र म्याग्दी जिल्लाको भीरमुनिलगायत ठाउँमा स्थानीय जालीफटाहा
र सुराकीमाथि कारबाही
२. २०५५ साल कात्तिक १० बाग्लुङ जिल्ला खिस्ती प्रहरी चौकी कब्जा गर्दा सन्तोष कमाण्डर, भाइस कमाण्डर क वीरजङ्ग
३. २०५५ चैत बाग्लुङको ग्वालीचौर प्रहरी चौकीमा कारबाही, जुन कारबाहीमा भाइस कमान्ड र एसल्ट कमान्डको जिम्मेवारी बहन
४. २०५७ गुल्मी जिल्लाको धुर्कोट प्रहरी चौकी कब्जा कारबाहीको भाइस कमान्डरको जिम्मेवारी
५. २०५७ असारमा म्याग्दी जिल्ला बाबियाचौर प्रहरी चौकी कब्जा र जुन कारबाहीको कमान्डर
६. २०५७ साल बाग्लुङ झिवाखोला, प्रहरीचौकी कब्जामा जिल्लाका तर्फबाट सहभागिता
७. २०५४ साल बाग्लुङ जिल्लाको ताराखोला कृषि विकास बैङ्क कब्जा
८. २०५५ मा म्याग्दीको बरङ्जामा कृषि विकास बैङ्क कब्जा ।
क. वीरजङ्ग धौलागिरीमा प्रवेश भएपछि पार्टी र आन्दोलन सघनतामा अगाडि बढेको थियो । उहाँले पार्टी, क्रान्ति र जनतालाई क्रान्तिकारी रसायनले जोड्ने काम गर्नुभयो । पार्टी आन्दोलन, कार्यकर्ता र जनताको बिचमा भूमिका निभाउनुभयो । उहाँसँग पार्टी सङ्गठनको काम, फौजी कारबाही अन्य जनसङ्घर्षका कार्यक्रममा जाँदा, सहयात्रा गर्दा छुट्टै आनन्द र उत्साहपूर्ण महसुस हुन्थ्यो ।
गोधुली साँझमा जनताको बासस्थानमा जाँदा गाँस र बासको विश्वनीयता हुन्थ्यो । जनतासँगको सम्बन्ध गहिराइसम्म आदान-प्रदान हुन्थ्यो । बाग्लुङ जिल्ला मसाल बाहुल्य भएको भूमि जसको नीति ‘नो सुराक, नो खुराक’ थियो । मसाल बाहुल्य रहेको गाउँमा जाँदा खाना पाइँदैन कि भन्ने पिर हुन्थ्यो । तर, क. वीरजङ्गसँग हुँदा त्यस्तो समस्या भएको अनुभूति हुनै पाएन ।
क. वीरजङ्गको मासलाइन जनप्रिय र कर्णप्रिय थियो । जनताको सुखदुःखमा साथ दिने, जनताको घरायसी काममा सघाएर मन जित्ने कुशलता थियो । उहाँमा बहिर्मुखी स्वभाव थियो । कार्यकर्ताको भावना बुझ्ने, पार्टी काम र जिम्मेवारीप्रति बोध बनाउन सक्ने कुशलता थियो । फौजी स्वाभाव, टिममा रमाउन मन पराउने, साहसी कमान्डर हो । लडाइँमा मसिनो व्यवस्थापन गर्ने, लडाइँ ढुक्कसँग लड्न सक्ने गुण थियो । निर्णय कार्यान्वयनमा दृढता निर्णय कार्यान्वयन नहुँदा वा असफल हुँदा कारण खोज्ने तथा मसिनो ढङ्गले केलाउने र निष्कर्ष निकाल्ने कुशलता थियो ।
जनयुद्धको बेलामा भूमिगत कार्यशैली, हेलचक्र्याइँ नगर्ने, फलामे अनुशासन अपनाउने, कहाँ कस्तो कार्यशैली अपनाउने भन्ने कुरामा पूरै ध्यान दिनुहुन्थ्यो । अघि बढ्दा, पछि हट्दा सही र वस्तुनिष्ठ मूल्याङ्कन गर्ने, हचुवाको भरमा कहिल्यै पनि नचल्ने, क. वीरजङ्ग होनहार कमान्डर हुनुहुन्थ्यो । उहाँ दृढ र निष्ठावान् तथा कुशल नेता हो । भोकनिन्द्रा, तुच्छ व्यक्तिगत स्वार्थ, वैभव र ऐसआरामलाई त्यागेर सधैँ जनताप्रति दृढता, काममा तत्परता उहाँको मूल विशेषता हुन् । क्रान्तिप्रति सतिसालझैँ उभिने उहाँमा रहेको अन्तर्निहित गुण हो ।
जीवनको अन्तिमावस्थासम्म हस्पिटलको शय्यामा रहँदा पनि पार्टी र क्रान्तिप्रतिको चिन्ता विशेष उल्लेखनीय छ । उहाँले हरपल र हरक्षण क्रान्तिको विषय चिन्ता गर्नुभयो । धौलागिरी क्षेत्रमा जनयुद्धलाई उचाइमा पुऱ्याउन उहाँको निकै महत्त्वपूर्ण भूमिका रह्यो । धौलागिरी क्षेत्रमा माओवादी नेता-कार्याकर्ता जनता, शुभेच्छुक उच्च स्मरण गर्दछन् ।
उहाँको धौलागिरीलगायत समग्र क्षेत्रमा माओवादी आन्दोलनमा गरेको योगदानलाई सदैव स्मरण भइरहनेछ । पछिल्लो चरणमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा गरेको नेपाल कम्युनिस्ट पार्टीभित्रको जिम्मेवारी र भूमिका इतिहासमा अङ्कित रहिरहनेछ ।
(स्मृतिमा वीरजङ पृ १२६- १३०)